काठमाडौं: आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ गर्दैछ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्षनेताले जननेता भण्डारी र नेता आश्रितको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । भण्डारीको निधनबाट नेपाली कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोेरेको नेताहरू बताउँछन् । एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो । जबजलाई एमालेले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा लिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भण्डारीको निधनबाट कम्युनिष्ट आन्दोलन मात्र नभई मुलुकले नै क्षति व्यहोरेको बताउनुभयो । छोटो समयमा संसद्मा खेलेको भूमिकाको चर्चा गर्दै उहाँले भण्डारीको अभाव अहिले पनि खट्किएको बताउनुभयो । “भण्डारी अहिले भइदिएको भए मुलुकमा अहिलेको समस्या आउँदैनथ्यो होला”, सभामुख घिमिरेले भन्नुभयो । भण्डारी छोटो अवधिमा कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजान, संसदीय राजनीतिमा जनताको बीचमा गएर पार्टीलाई लोकप्रिय बनाउन र पार्टीले लिएका नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा सभामुख घिमिरे स्मरण गर्नुहुन्छ । विचारलाई व्यवहारमा उतारेर सबैलाई सञ्चालन गर्न सक्ने नेताको अभावले गर्दा अहिले राजनीति जसरी विकास हुनुपर्दथ्यो त्यो हुन नसकेको उहाँको भनाइ छ । “नेता भण्डारी भइदिएको भए अहिले मुलुकमा जे समस्या देखापरेका छन्, यस्तो स्थिति आउँदैन्थ्यो भन्ने कुरा सजिलै भन्न सकिन्छ । त्यो कुराको महसुस मैले गरेको छु र अन्यले पनि गर्नुभएको होला”, सभामुख घिमिरेले भन्नुभयो । विश्वभरि कम्युनिष्ट अन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन उचाइमा पु¥याउनुभएको थियो । भण्डारीले समकालीन राजनीतिमा माक्र्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरुप लागू गर्र्नुभयो । “भण्डारी आफ्नो समयमा माक्र्सवादलाई कस्तो र कसरी प्रयोग गर्नुपर्दछ भन्ने बारेमा माक्र्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद ९जबज० परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो”, सभामुख घिमिरेले भन्नुभयो, “माक्र्सवादलाई सिर्जनात्मक ढङ्गबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो ।” एउटै कमिटीमा रहेर काम गर्नुभएका सभामुख घिमिरेले भण्डारी स्पष्ट दृष्टिकोण, सरल व्यवहार र आफ्नो कुरालाई तर्कले पुष्टि गर्न सक्ने नेताका रूपमा परिचित रहेको बताउनुभयो । भण्डारीले पुष्पलालसँग विद्रोह गरेदेखि नै आफुले सङ्गत गरेको घिमिरेले बताउनुभयो । यसैबीच मदन–आश्रित स्मृति दिवसका अवसरमा आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोटेश्वरस्थित मदन बाटिकामा हुने कार्यक्रममा सहभागी हुनुहुने छ । भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज)को नेपालमा आधारस्तम्भ निर्माण गर्नुभएको थियो । जुन जबज माक्र्सवादको नेपाली संस्करण थियो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीसँग १५ वर्ष को–अर्डिनेशन केन्द्रको एउटै कमिटीमा रहेर काम गरेको बताउनुभयो । उहाँले जबजजस्तो गतिशील विचार निर्माण गरेर भण्डारीले माक्र्सवादलाई नेपालको विशिष्टितामा लागू गरेको उल्लेख गर्नुभयो । “भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ”, पोखरेलले भन्नुभयो, “एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ ।” एमालेको नीति तथा कार्यक्रम जबजकै आधारमा रहेको उहाँको भनाइ छ । “सिद्धान्तलाई सिर्जनशीलतामा लागू गर्ने नेताका रूपमा भण्डारी चिनिनुहुन्छ”, नेता पोखरेलले भन्नुभयो, “भण्डारीले कम्युनिष्ट पार्टीका विचारलाई विशिष्टतामा लागू गर्नुभएको छ ।” एमाले नेता मुकुन्द न्यौपानले भण्डारी र आश्रितको निधनले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले विलक्षण प्रतिभा, सरल व्यवहार, आफ्नो अडान र दृष्टिकोणलाई तर्कसङ्गतरूपमा राख्न सक्ने कहिल्यै नबिर्सने दूरगामी नेताका रूपमा दुवैजना चिनिएको बताउनुभयो । न्यौपानेले २०३४ सालदेखि भण्डारीसँगै काम गरेको स्मरण गर्दै उहाँ जनताको भावना बुझ्ने नेताका रूपमा परिचित हुनुहुन्थ्यो भन्नुभयो । “दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्यो”, न्यौपानेले भन्नुभयो, “जननेता सबै हुदैनन्, उहाँमा जननेता हुने गुण थियो ।” नेता न्यौपानले मनमोहन अधिकारीले पनि रुचाएको नेता भण्डारी भएको उल्लेख गदै अधिकारी र भण्डारीको साङ्गठनिक एकताले नै एमालेले २०४८ सालमा ६९ सिट तथा २०५१ सालको निर्वाचनमा पहिलो पार्टी भएको बताउनुभयो । उहाँले जनताको बीचमा गएर सङ्गठन विस्तार गर्ने भण्डारीको कार्यशैलीका कारणले एमाले जनताबीच लोकप्रिय भएको बताउनुभयो । भण्डारीलाई अध्ययनशील, छिटो कुरा बुझ्ने नेताका रूपमा न्यौपाने सम्झनुहुन्छ । उहाँका अनुसार भण्डारीमा विचारको व्यवस्थापन, सङ्गठन व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनजस्ता गुण थिए । “उहाँ सधैँ जनताकहाँ जाने, जनतासँग लिने र जनतालाई नै दिनेजस्ता कुरा गर्नुहुन्थ्यो”, नेता न्यौपानेले भन्नुभयो । भण्डारीले अघि सार्नुभएको जबज सिद्धान्तलाई नेपालको माटो सुहाउँदो परिस्कृत गर्न सके मुलुकको विकास गर्न सकिने धारणा उहाँले राख्नुभयो । विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमाक्र्स लिभ्स’ लेखिएको थियो । विसं २०४६ मा भएको नेकपा (माले) को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच एकता भई भण्डारी नेकपा (एमाले)को महासचिव बन्नुभएको थियो । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको थियो । भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौ: सर्वोच्च अदालतले अयोग्य लडाकुलाई रु दुई/दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले अयोग्य लडाकुलाई जनही रु दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदाललते रकम दिने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । अदालतले लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ ।
काठमाडौं: सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो । जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि सुनुवाइपछि सफाइ दिन नपर्ने फैसला उल्लेख गर्दै उक्त आदेश गरेको हो । अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च दिपायलले ठहर गरेको पाँच वर्ष कैद सजायलाई घटाएर तीन वर्ष सजाय ठहर गरेको जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको छ । नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको छ । उक्त घटनामा जेल सजाय भोगिरहेका गङ्गाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक उरीकी मृगौला पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला पीडित लिनाका बुवा जगनप्रसाद गुरुङलाई आर्थिक सहयोग हस्तातरण गरेका हुन् । फाउण्डेशनका सस्थापक अमृत गुरुङले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरेर ६ लाख ४१ हजार २ सय ६० रुपैयाँ जगनप्रसाद गुरुङलाई आज (मंगलबार) काठमाडौं टिचिङ अस्पताल परिसरमा हस्तातरण गरेका हुन् । अन्नपूर्ण-११ घान्द्रुक उरीकी ८ वर्षीय लिना गुरुङलाई चैत १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा )मा स्वास्थ्य जाँच गर्दा स्वास्थ्यकमीले दुवै मृगौला फेल भएको जानकारी गराएपछि उपचारका लागि काठमाडौं लगिएको परिवारले जनाएको छ । लिना गुरुङले अहिले काठमाडौंको टिचिङ अस्पतालमा नियमित डायलासिस गरारहेकी छिन् । जगनप्रसाद गुरुङको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग संकलन गरेर हस्तातरण गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सदन अरुले नै चलाउने अनुभूति आफूले गरेको बताएका छन् । मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताए । मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भन्दै आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे । उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको बताए । त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई उनले आग्रह गरे । संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सोमबार पद बहाली गरेका छन् । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको गत बैशाख २८ गतेको निर्णयले उनलाई रिक्त सदस्य सचिव पदमा नियुक्त गरेको हो । सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराएका थिए । सो अवसरमा बोल्दै नवनियुक्त सदस्य सचिव शर्माले आफूले संधै अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने बताए । उनले भने–“प्रदेश सरकारले मलाई जुन जिम्मेवारी दिएको छ त्यसका लागि म आभार व्यक्त गर्न चाहन्छु । आफू बाट नै खेलकुदले दिएको अनुशासनलाई मार्गदर्शनको रुपमा अघि बढाउने छु ।” आफ्नो कार्यकालमा कुनै गल्ती नगर्ने प्रतिवद्धता जनाउँदै उनले खेलकुद र परिषदको गरिमालाई बचाउन सके परिषदले ठूलो फड्को मार्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले सबै मिलेर नै खेलकुदको विकासलाई अघि बढाउन सकिने उल्लेख गरे । लामो समय पछि परिषदले सदस्य सचिव पाउनु सुखद रहेको बताउँदै उनले खेलकुदमा रहेका चुनौतीहरुलाई समाप्त गर्न सबैको एकता आवश्य रहेको बताए । मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तथा यस अघि सदस्य सचिवको रुपमा कार्यरत पौडेलले नवनियुक्त सदस्य सचिवलाई पदबहाली गराउँदै खेलकुदमा संघियताको मर्म अझै प्राप्त नरहेको बताउँदै प्रदेश खेलकुदमा रहेका चुनौतीहरु चिर्न सबैको सहयोग र सहकार्य रहेको बताए । सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख टोपलाल भुसालले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, तारामायाँ थापा मगर लगायत परिषदका सदस्यहरुले नवनियुक्त सदस्य सचिव शर्मालाई स्वागत गरेका थिए । यस अघि परिषदको सदस्य सचिवको रुपमा तेज बहादुर गुरुङ कार्यरत रहेका थिए । उमेर हदका कारण गत २०७९ असोज २५ गते उनले अवकाश पाएका थिए । सदस्य सचिवको पद चार वर्षको रहने प्रदेश खेलकुद विकास ऐनले तोकेको छ ।
बागलुङ: चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको छ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा रहेको उक्त बस्तीमा यसअघि मोवाईल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो । गाउँ देखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरि नमस्ते मोवाईल सेवा सुचारु गरेपछि अहिले स्थानियबासी खुसी भएका छन । मोबाइल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सिमा क्षेत्रका झण्डै २ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । सदरमुकाम बागलुङ बजार देखि ८२ किलोमिटर पश्चिम उत्तरमा अवस्थित उक्त गाउँमा यस अघि कुनै पनि मोबाइल सेवा उपलब्ध थिएन । मोबाइल सेवा नहुँदा सुचना र सञ्चारमा त्यहाँका नागरिकले सास्ती खेप्दै आईरहेको बडिगाड गाउँपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष कृष्ण गुरुङले बताए । स्थानिय लघु जलविद्युतबाट टावर सञ्चालन भएपछि अहिले जिएसएम मोबाइल सेवा टुजी र तेस्रो पुस्ताको मोवाईल सेवा थ्रिजी एकैसाथ सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्ताले भ्वाईस र डाटा चलाउन पाएको कार्यालय प्रमुख शर्माको भनाई छ । निकट भविष्यमा उक्त टावर मार्फत चौंथो पुस्ताको मोवाईल फोरजी सेवा उपलब्ध गराईने शर्माले बताए । पहिले फोन गर्न छिमेकी गाउँ र भिमगिठे बजार नै पुग्नु पर्ने त्यहाँका स्थानियको बाध्यताको अन्त्य भएको स्थानिय बिमल पाईजाले बताए । टावर निर्माण, उपकरण टावर सम्म पुर्याउन स्थानियले सहयोग गरेका थिए । टुनिबोटमा मोबाइल सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले बताईन् । गाउँपालिका अध्यक्ष थापाले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम टुनिबोट र आसपासका नागरिकको दैनिकी सहज बनेको बताईन । उनले गाउँपालिकाका सबै वडामा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन टेलिकम सँग आवश्यक समन्वय गरिने समेत उल्लेख गरिन् । पहिलो पटक मोबाइलमा कुराकानी गर्दै इन्टरनेट चलाउन पाउँदा वडाबासी नागरिकहरु खुसी भएको बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसीले बताए । नेपाल टेलिकमले बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ नयाँ गाउँमा रहेको टावरबाट रेडियो लिङ्कमार्फत त्यहाँ टुजी र थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ ।
पोखरा: नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो पोखरा चाईल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्नशन शिशु निकेतनका विद्यार्थी हुन् भने सायना कुश्माकी हुन् । तीन हप्ताको विभिन्न तालिमपछि पोखराको उद्योग बाणिज्य संघको हलमा ग्राण्ड फाईनल भएको थियो । उक्त कार्यक्रममा १२ जनाको सहभागिता रहेको थियो । पोखरा चाईल्ड स्टार केटातर्फ फस्र्ट रनर अप कान्तिपुर एकेडेमीका प्रनिश सिंह भण्डारी, सेकेण्ड रनर अप लावि रेसिडेन्टलका प्रविश गुरुङ्ग, थर्ड रनर अप प्राञ्जल पोखरेल, फोर्थ रनर अप मदरल्ययाण्डका श्रीयान पोखरेल हुन सफल भए । छात्रातर्फ फष्ट रनर अपमा हिमाञ्चल बार्डिङकी स्वस्तिका शर्मा, सेकेण्ड रनर अपमा मदरल्याण्डकी अदिती पौडेल, थर्ड रनर अपमा कुमुदिनी होम्सकी सरगम क्षेत्री र फोर्थ रनर अप मदरल्याण्डकी आरोही आचार्य भए । मोस्ट ईन्टलएक्चुल अवार्ड गण्डकी बोर्डिङ स्कुलकी आलिया सिटौला र मिस एन्जल टाईटलको उपाधि कुमुदिनी होम्सकी अल्जिना सिटौलाले हात पारेका थिए । वेस्ट फादर अवार्डद्धारा निमेस सिटौला सम्मानित भए । उक्त कार्यक्रममा क्राउन र अवार्ड, मिस पोखरा २०१८ विजेता सारा बजिमय, समाजसेवि माया गुरुङ्ग, साहित्यकार चन्दावती वाग्ले, फेसन डिजानर एवम मोडल रोशनी छिनाल, सञ्चारकर्र्मी आर्जु बिष्ट सल्यानी र प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले प्रदान गरेका थिए । पोखरा चाईल्ड स्टारको कोरियोग्रफर रक्षा कुँवर रहेकी थिइन् । गण्डकी प्रदेश तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले । प्रतियोगिताले पोखराका बालबालिकामा रहेको प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुन आवश्यक भएको बताए । यसअघि कार्यक्रममा सहभागिहरुलाई सार्थक अधिकारीले गरेका थिए । शूभकामना मन्तव्य गीता पाण्डे, शारदा रेग्मी, सफल देवकोटाले दिएका थिए भने कार्यक्रमको निर्देशकमा कमलराज खनाल रहेका थिए । कार्यक्रमको मुख्य प्रयोजक इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम निर्देशक रोशन गुरुङ्ग र सञ्चारकर्मी देवेन्द्र शाहीले गरेका थिए ।
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । २० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

