झापा: पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिएका छन् । यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए । त्यस्तै जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारी रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन रु ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।
जाजरकोट: भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो । भेरी नगरपालिका-७ का वडाध्यक्ष दीपबहादुर शाहीले आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु भएको जानकारी दिए । बिहीबार दिउँसो सामुदायिक वनमा आगो फैलिए पछि अध्यक्ष लगायत उपभोक्ताहरू आगो निभाउन सामुदायिक वनमा गएका थिए । दिनभरि प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकेपछि राती गाउँलेहरूले आगो नियन्त्रण गरेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक नवीन चुदालीले क्रममा सामुदायिक वनका अध्यक्षको जलेर मृत्यु भएको खबर पस्चात प्रहरी घटनास्थलमा पठाइएको बताए ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’ लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । आज बिहीवार आफूसँग भेट गर्न आएका नेकपा ९एकीकृत समाजवादी० का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्’, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । ‘यो भ्रष्टाचारमात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’, उनले भने । यस प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ । ‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिएका छैनन्। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस्, निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।’ उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईँहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु’, भने । भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।
पोखरा: जनआन्दोलन २०६२/६३ मा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने बनेपा नगरपालिका–८ का कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिएका हुन् । यसअघि एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो ।
काठमाडौं: रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँ दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । चापागाईँले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए । स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो । आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रूपमा मानवीय सहयोग गर्दैआएको छ । दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईँले भने, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।” तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईँले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटापन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई आइएफआरसीले बर्सेनि मानवीय सहायता पुर्याउने गरेको छ । रासस
बाजुरा: बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताएका छन् । प्रधानमन्त्री प्रचण्ड, पाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । छलफल सदनलाई सुचारु गर्ने सन्दर्भमा केन्द्रित भएको बताए । सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, “मिडियामा जसरी तपाईंले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हाम्रो भेट सदनलाई कसरी सुचारु रुपमा लैजाने, संसदीय समिति बनाउने, संयुक्त समिति बनाउने विषयमा नै बढी छलफल भएको छ।” यसैगरी, उनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको सन्दर्भमा यसमा प्रहरीले आफ्नो काम अघि बढाएको र सरकारले पनि ठीक ढंगले काम गरोस् भनेर ‘स्ट्याण्डिङ अर्डर’ दिएको बताए । “आशंका गर्नुपर्ने केही कारण छैन। हामीले विल्कुल क्लियर भाषामा भनेका छौं। दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्ने काम ठिक ढंगले गरोस् भनेर स्ट्याण्डिङ अर्डर दिएकै छौं। प्रहरीले आफ्नो काम गरेको छ, त्यसकारण यसमा दुविधा, आशंका गर्नुपर्ने केही कारण छैन। जे भएको छ, विधि, विधान, नियम पद्दति अनुसार काम भएको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं”, उनले भने ।
काठमाडौं: पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो। बयानपछि प्रहरीले खाँणको स्वास्थ्य परीक्षण गरेको थियो।

