काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

पोखरा:  सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित संस्कृति संरक्षणमा जोड दिएको डकुमेन्ट्री पोखरामा एक कार्यक्रमकाबीच प्रदर्शन गरिएको छ ।  सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र, ठाडोभाका, भैरवथानको यात्रा, बाजेबज्यैको पूजा, तलु र रेडियो नेपालको एक परिचय डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो ।  डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खीमनारायण मानन्धरले गाउँपालिका भित्र रहेको कला संस्कृतिलाई संरक्षणमा जोड दिने बताए ।  ‘कला संस्कृति हाम्रो सम्पत्ति हो, सम्पत्तिको संरक्षण गर्ने सबैको दायित्व हो, गाउँपालिकाको विकासमा संस्कृतिमा पनि महत्वपूर्ण पक्ष हो, अध्यक्ष मानन्धरले भने, ‘भाषा, कला, संस्कृतिको संरक्षणकोसँगै गाउँपालिकाको विकासमा लागि परेका छौं, अबको युवा पुस्ताले कला संस्कृतिसँगै भाषाको संरक्षणमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।’ उनले सबै ठाउँको भाषा, कला, संस्कृति डकुमेन्ट्रीमा मात्र नभएर सबैले संरक्षणमा गर्न आवश्यक रहेको बताए ।  यस्तै कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रा.डा. कुशुमाकर न्यौपानेले भाषा, कला संस्कृतिमा युवा पुस्ताले विशेष ध्यान पु¥याउन आग्रह गरे ।  ‘अहिले भाषा, कला, संस्कृति लोप हुँदै जान थालेको छ, आधुनिकता मिसिदै जाँदा पुर्खाहरुले बचाएर राखेको कला संस्कति भाषा लोप हुने खतरामा छ, अबको युवापुस्ताहरुले संस्कृति संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक छ ।’ उनले भने ।  साहित्यकार र कलाकार सम्मानित चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीले साहित्यकार र कलाकारहरुलाई सम्मान गरेको छ ।  मञ्चले सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री प्रदर्शनको अवसरमा कला संस्कृतिको संरक्षणमा योगदान पु¥याउने साहित्यकार, कलाकार र समाजसेवीलाई सम्मान गरेको हो ।  नेपाल आदिवासी जनजाति महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णबहादुर थापामगर, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, कवि इन्द्रबहादुर राना‘प्रतिक’, रेडियो नेपाल गण्डकी प्रदेशका प्रमुख सुरेन्द्र प्रसाद यादव, समाजसेवी महेशकुमार थापा, मगर एनआरएन डङकङका सदस्य रीवीका मगर, समाजसेवी कृष्णप्रसाद शर्मा, नेत्रबहादुर थापा, हुमाकुमारी थापा र लिलम्वर थापालाई मञ्चले सम्मान गरेको हो ।  लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र कवि इन्द्रबहादुर राना ‘प्रतिक’लाई १० र ५ हजारसहित सम्मान गरेको हो । 

पर्सा:    पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ ।   सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको अभियनता सरोजराय यादवले बताउनुभयो । वीरगञ्जबाट सुरु भएको पैदलयात्रा ११ औँ दिनमा राजधानी काठमाडौं पुग्ने र सिंहदरबार अगाडि सिर्सिया नदीको पानी पोखेर विरोध जनाउने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । यसपछि पनि सरकारले ध्यान नदिए माइतीघरमा धर्ना बस्ने कार्यक्रम रहेको उहाँको भनाइ छ । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले पनि अभियान चलाउँदै आएको छ । नदी प्रदूषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीतिअनुसार नदीमा फोहोर गर्नेलाई महानगरपालिकाले जरिवाना गरिसकेको छ ।  पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको छ । महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारीअनुरुप मरियम लेदरसहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ । सिर्सिया नदीलाई फोहोररहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाले जथाभावी फोहर नफ्याँक्न पटक पटक आग्रह गरे पनि उद्योगीले बेवास्ता गर्दै आएकाले कारबाही गर्न लागेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको अनुगमनसमेत गरेको थियो । महानगरका उपप्रमुख इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले केही महिनाअघि श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको पाइएपछि फोहर व्यवस्थापन गर्न उद्योगीहरुलाई सुझाव दिएपनि कार्यान्वयन नभएपछि कारबाही गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगी जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै हेर्ने गरेकाले अब सिधै कारबाही गरिने महानगरपालिकाले जनाएको छ । बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज सहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहोर पदार्थ सिधै नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यतादेखि प्रदूषित बनेको हो । छाला, डिस्टीलरी, टेक्सटाइल, घिउ साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन गर्दै आएका छन् ।

रसुवा:    रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार) देखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत  आरम्भ  भएको  १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्  । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन् । समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई  पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहनुभएको बताइएको छ । कुण्डमा डुबुल्की मारेपछि  शक्तिले उकालोमा जाँदा लागेको सम्पूर्ण थकाइ समाप्ति भएको अनुभव प्राप्त हुँदै आएको छ । निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ । स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल ९टङ्कु गुरु० ले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा  पुण्य मिल्ने मान्यता रहेको बताउनुभयो । आज पहिलो दिन करिब पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजनको आउनेक्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो । दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ । यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले भनेको छ सबै यात्रुको सङ्ख्यात्मकरूपमा लगत राखिने छ । यात्रुको चापलाई मध्यनजर राखी नेपाल प्रहरीले यथेष्ट सुरक्षा प्रबन्ध मिलाइसकेको जनाउँदै जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले कुनै स्थानमा सुरक्षा चाहिएमा वा उद्धार गर्नुपर्ने अवस्था सिजर्ना भएमा नेपाल प्रहरीको निःशुल्क फोन नं १०० मा खबर गरिदिन यात्रुसमक्ष  अनुरोध गरिएको बताउनुभयो । ट्राफिक व्यवस्थापनअन्तर्गत यात्रुले ल्याएका सवारी साधन धुञ्चेमा पार्किङ एवं सुरक्षाको प्रबन्धसमेत तय गरिसकिएको  उहाँले जानकारी दिनुभयो । यात्रुको चापलाई मध्यनजर राख्दै भोजनको उचित व्यवस्थापनका लागि होटल व्यवसायीले आवश्यक दाल, चामल, नुन, तेलजस्ता खाद्यान्न धार्मिक मार्गका चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्डसमेतका सबै स्थानमा भण्डारण गरिसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल ९निसान० ले बताउनुभयो । हिमाली क्षेत्रमा उकालो चढ्दै जानुपर्ने भएका कारण वातावरण सहजताको लागि काठमाडौंबाट एक दिन धुञ्चे, भोलिपल्ट चोलाङपाटी वा लौरीविनायक बसेर शरीरमा लेकाली हावापानीको वातावरण मिलाउँदै तेस्रो दिन कुण्ड पुगेर स्नान गर्दा लेक लाग्ने समस्या हल हुने उहाँको भनाइ थियो । गोसाइँकुण्डका यात्रुले बास, निगालोको मात्र लठ्ठी प्रयोग गरी वन सम्पदा संरक्षणमा योगदान पुर्‍याउन र आफूबाट उत्पन्न फोहरलाई सुरक्षित स्थानमा फ्याकी  वातावरणको संरक्षणमा समेत सहयोग गरिदिन लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ । यसैगरी, हिमालय पुत्री पार्वती माता विराजमान रहनुभएको रसुवाको गतलाङस्थित पार्वती कुण्डमा समेत स्नान तथा पूजाआजाका लागि भक्तजनको ओहरदोहर भइरहेको छ । गोसाइँकुण्डमा उकालो हिँड्नुपर्ने र पार्वती कुण्डमा भने सवारी साधनबाटै पुग्न सकिने भएका कारण गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनले पार्वती कुण्ड स्नान गरेर भए पनि धार्मिक लाभ प्राप्त हुने जनाइएको छ । 

काठमाडौं:   मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताउनुभयो ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताउनुभयो। “अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, कमजोर राजस्व परिचालन तथा बाह्य क्षेत्रमा परेको चापलाई क्रमशः सम्बोधन गरिँदै लगिनेछ”, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो। अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको सहभागिता, चुस्त राजस्व प्रशासन, प्रभावकारी पुँजीगत खर्च, सार्वजनिक खर्चमा कटौतीजस्ता विषय वार्षिक नीति तथा कार्यक्रममा अटाएका छन्। राष्ट्रिय आयको वितरणलाई समन्यायिक बनाउने र निजी क्षेत्रलाई आर्थिक विकासको मुख्य साझेदार बनाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।  अहिले सरकारी राजस्व निकै कम उठेको बेला सरकारले कर प्रणालीमा सुधारका लागि केही महत्त्वपूर्ण कदम चाल्ने योजनासहित वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ। वार्षिक बजेटको खर्च प्रणालीलाई प्रभावकारी र व्यवस्थित गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्ने सरकारको योजना छ। आर्थिक प्रशासनलाई पारदर्शी, नतिजामुखी र सूचना प्रविधिमा आधारित बनाइने पनि नीति तथा कार्यक्रममा जनाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत सरकारी खरिद अनुगमन प्रक्रिया थप पारदर्शी र व्यवस्थित गरिने तथा सार्वजनिक खरिद अनुगमनसम्बन्धी कानुनी व्यवस्थामा संशोधन र परिमार्जन गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। विद्युतीय खरिद प्रणालीलाई क्रमशः अनिवार्य बनाउँदै लग्ने सरकारको योजना छ।   वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरिने जनाइएको छ। खर्चको आवश्यकता र राजस्वको क्षमताका आधारमा वित्तीय हस्तान्तरण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। वित्तीय हस्तान्तरणलाई कार्यसम्पादनसँग आबद्ध गर्ने पनि आगामी आवको नीति तथा कार्यक्रम जनाइएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको समस्यालाई पनि नीति तथा कार्यक्रमले समेटेको छ। बैंक, वित्तीय संस्था, सहकारी तथा पुँजीबजारलाई व्यवस्थित गर्नका लागि सरकारले विभिन्न योजनासहित वार्षिक नीति तथा कार्यक्रम ल्याएको हो। सहकारी सङ्घसंस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण र बचत तथा लगानीको सुरक्षा गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख छ। सहकारी क्षेत्रको पुनःसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने नीति तथा कार्यक्रममा जनाइएको छ।  नीति तथा कार्यक्रमको पूर्णपाठ   

पोखरा:    अन्नपूर्ण गाउँपालिका, कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए ।  जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीले ‘अन्नपूर्ण दर्पण–१’ पुस्तक सार्वजनिक गरेका हुन् ।   एक वर्षमा १५ वटा कानून पारित गरिएको, ५० प्रतिशत शुल्कमा नागरिकको स्वास्थ्य बीमा, घरमै बसेर सबै खाले राजस्व तिर्न सक्ने व्यवस्था गरिएको, युवालाई गाइड तालिम दिइएको, पर्यटक सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको, रैथाने बाली प्रवद्र्धनलाई पहल गरेको, सुशासनका लागि बिहान १० बजे नै कर्मचारी कार्यालय हाजिर भएर राष्ट्रिय गानमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको र शाखा प्रमुखको नियमित बैठक गरिँदै आएकोलगायत काम गरिएको पुस्तकमा उल्लेख छ ।  कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कार्यकालको एक वर्ष केही नयाँ कामको सुरूआत र सिकाइमा बितेको बताए । आफूहरू नीति तथा कार्यक्रम, बजेटको तयारीमा रहेको र सबै क्षेत्रका जानकार, स्थानीयसँग छलफल गरेर ल्याउने उनले सुनाए । ‘गहन छलफल गरेर नीति तथा कार्यक्रम ल्याउँछौं । हिजो के गर्नुपर्ने के थियो र के गर्न सकिएन भन्ने हेर्छौं । त्यसलाई अहिले सुधार्छौं,’ अध्यक्ष केसीले भने ।  विकास निर्माणको काममा दलीय हिसाबले लाग्न नहुने केसीको भनाइ थियो । जसले योजना ल्याए पनि त्यसले गाउँ बन्ने भएकाले एकजुट हुनुपर्ने उनले बताए । ‘संघ र प्रदेशसँग बजेट मागेका छौं । सबैले कहाँ कसको पहुँच पुग्छ त्यहाँ योजना मागौं,’ अध्यक्ष केसीले भने, ‘बाटो राम्रो बन्यो भने त्यो सबैलाई राम्रो हुने हो ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवरले एक वर्षको समीक्षा गरेर अबको चार वर्ष नागरिकको सेवामा अझै गम्भीर भएर लाग्नुपर्ने बताए । पर्यटनमा अन्नपूर्णको सम्भावना धेरे भएकाले त्यसैअनुसारका योजनामा जोड दिन उनले गाउँपालिका नेतृत्वलाई आग्रह गरे ।   

काठमाडौं:     सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्व समाधान गर्ने घोषणा गरेको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।   आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसार कारोबार लगायत सबै प्रकारकाक अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ । त्यस्तै सरकारले आगामी ५ वर्षमा कारबासमा कैदीको चाप नहुनेगरी निर्माण भएका कारागारहरुको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ ।

काठमाडौं:  मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार मध्याह्न साढे १२ बजेबाट बैठक सुरु भएको हो । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।   राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।

तनहुँ:    पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । “गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । “पहिलो चरणको परीक्षण कालोपत्र सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौँ, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौँ”, प्रमुख सुवेदीले उल्लेख गर्नुभयो । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्डअन्तर्गत परीक्षण कालोपत्र गरिएको उहाँले बताउनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी प्रमुख सुवेदीले दिनुभयो । साथै सबवेस र फेसको काम पनि भइरहेको छ । पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताउनुभयो । यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको काम भने धिमा गतिमा भएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगाँैडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । 

काठमाडौं:   सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा पर्सि आइतवारदेखि लगातार केही दिन छलफल हुनेछ । यो छलफल सकिएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुनेछ ।