म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

तनहुँ:    पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । “गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । “पहिलो चरणको परीक्षण कालोपत्र सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौँ, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौँ”, प्रमुख सुवेदीले उल्लेख गर्नुभयो । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्डअन्तर्गत परीक्षण कालोपत्र गरिएको उहाँले बताउनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी प्रमुख सुवेदीले दिनुभयो । साथै सबवेस र फेसको काम पनि भइरहेको छ । पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताउनुभयो । यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको काम भने धिमा गतिमा भएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगाँैडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । 

काठमाडौं:   सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा पर्सि आइतवारदेखि लगातार केही दिन छलफल हुनेछ । यो छलफल सकिएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुनेछ ।

काठमाडौं:   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो ।   नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिनुभएको हो । “जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ”, उहाँले भन्नुभयो ।   विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनैपनि उडान भएका छैनन् । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ । पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताउनुभए पनि कुन–कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने खुलाउनु भएन । जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान   पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ–क्लालम्पुर–भैरहवा–काठमाडौँ सेक्टरमा उडान हुने छन् । उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ ।       पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराउनुभयो । नेपाल वायुसेवा निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी तीन थान जहाज खरिद प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।       पर्यटनमन्त्री किरातीले भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति नागरिक तवरबाट खबरदारी हुन जरुरी भएको उल्लेख गर्नुभयो । नेपालको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकामा जोड दिँदै उहाँले सरकार र निजी क्षेत्रको साझेदारीलाई बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले समय सापेक्षा पर्यटन क्षेत्रलाई अघि बढाउन नीतिगत सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  बजेटपछि ऐन निर्माणको दिशामा मन्त्रालय लाग्ने र त्यस प्रक्रियामा व्यवसायीको रायसुझाव लिइने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीपछि पर्यटन क्षेत्र पुरानै लयमा फर्केको सङ्केतले यो क्षेत्रमा उत्साह थपेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।            नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले पर्यटन क्षेत्रको सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रको सक्रियताको खाँचो औँल्याउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनका कामसँगै अघि बढाइनुपर्ने धारणा राख्नुभयो ।            नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन अझै केही मेहनत जरुरी रहेको बताउनुभयो । सो अवसरमा संस्थाले पर्यटन क्षेत्रमा योगदान पु¥याउने व्यवसायी शाक्यलगायत विभिन्न व्यक्तिलाई कदरपत्रद्धारा सम्मान गरेको थियो । पर्यटनमन्त्री किरातीले ती पुरस्कार प्रदान गर्नुभयो ।

पोखरा:   मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगायत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । चितवन अडिसनबाट करिब १० देखि १५ जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा पुनः अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक बुटवल, चितवन, दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।  

काठमाडौं:   प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्न सोध्ने र जवाफ दिनेक्रम सुरु भएको छ।    बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ दिनुभएको छ।    बैठकमा ईश्वरीदेवी न्यौपाने, पदम गिरी, पूर्णबहादुर घर्ती, शिशिर खनाल, ज्ञानबहादुर शाही, दीपक कार्की,  शेरबहादुर कुँवर, अनिता देवी, सर्वेन्द्रनाथ शुक्ल,  गंगाराम चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभू साह, डा अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, दीपक गिरी, रघुजी पन्त, दिलेन्द्रप्रसाद बडू, विद्या भट्टराई, रामहरि खतिवडाले प्रश्न सोधेका छन् ।     बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न भनी गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहनुभएकाले समस्या समाधान हुने आशा गरिएको बताएका छन्।       नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनः शून्यबाट सदनमा प्रक्रिया सुरु गरी एक महिनाभित्र समाधान गरिने उनको प्रतिबद्धता थियोे। प्रम नियुक्त हुँदा छ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनी दाहालले बोलेको विषय पनि सांसदहरुले स्मरण गराएका थिए।    भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही  प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छने र दोषी कोही उम्कन नपाओस्, निर्दोष कोही नपरोस् भन्ने भावनाले सरकारले काम गरिरहेको उनले बताए।    “स्वतन्त्र र निष्पक्षरुपमा सरकारले छानबिन गरिरहेको छ, अपराधीलाई कानुनको दायरामा ल्याउने काम भएको छ, यस विषयमा दृढतापूर्वक छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छु, शरणार्थी प्रकरण देशकै निम्ति गम्भीर र संवेदनशील विषय बनेकाले यसमा संलग्न कसैलाई पनि माफी दिइने छैन”, प्रधानमन्त्री प्रचण्डले भने।    प्रधानमन्त्री प्रचण्डले मौसमी प्रणालीमा आधारित कृषि रहेकाले समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् र  यस वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकता दिइने उनको प्रतिबद्धता छ।   जनमत पार्टीका तर्फबाट निर्वाचित सांसद अनिता देवीले धानको बीउ छर्ने बेला भइसक्यो, मल र बीउ एकैपटक पाइन्छ कि पाइन्न ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले मल कारखाना खोल्नेलगायत कार्यक्रमलाई आगामी वर्ष प्राथमिकतामा राखिएको बताएका थिए।   भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता प्रम दाहालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताएका छन्। शरणार्थी प्रकरणमात्र होइन, सम्पत्ति शुद्धीकरणका ठूला घटनालगायत अन्य ठूला प्रकरणका बारेमा आवश्यक परेमा कानुन संशोधन गरेर पनि कारबाही हुने प्रतिबद्धता उनले जनाए ।    सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रष्टाचारविरुद्धका काम कारबाही फलदायीरुपमा अघि बढ्न सकेको छैन रु यसमा सरकारको कार्यक्रम के छ ? भन्ने प्रश्नको जवाफमा “अहिलेको अवस्थालाई सच्याउने अवसरका रुपमा सबै दल लाग्नुपर्ने अवस्थामा हामी छौँ, देशमा सुशासनका लागि यो अवसरलाई गुम्न दिनुहुन्न”, प्रम प्रचण्डले भने।   लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ प्रधानमन्त्री प्रचण्डले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको बताउएका छन्। सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा घुसपैठ गरी हिंसा गराइएकाले न्याय भयो त , रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ ,  भनी गर्नुभएको प्रश्नमा उक्त जवाफ दिएका हुन।    सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन , किन बाधा, अड्चन आयो ? भनी उहाँले प्रश्न राखेका थिए। टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिए। रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उनको भनाइ छ ।     प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीले पहिले भारतबाटै भ्रमण गर्नुपर्ने बाध्यता नभएको स्पष्ट गर्नुभएको छ। सांसद चित्रबहादुर केसीले नेपाली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के छ ? भनी गर्नुभएको प्रश्नको जवाफमा उनले यस्तो उत्तर दिएका हुन।    सांसद प्रभु साहले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको सङ्ख्या कति छ , उनीहरुको सम्पत्ति के भएको छ , भन्ने प्रश्नको जवाफमा प्रम दाहालले नेपालबाट सम्पत्ति बेचेर विदेश लैजान नपाइने बताए।     गौरलगायत विभत्स हत्याकाण्ड र दरबारबार हत्याकाण्डको पनि नयाँ शिराबाट छानविन हुनुपर्छ भनी सरकार लागेको प्रधानमन्त्री दाहालले बताए। गौर हत्याकाण्डको छानबिनमा के काम के भइरहेको छ ,भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हृन। मदनआश्रित हत्याकाण्डको पनि फेरि छानविन गरिनुपर्नेमा उनको जोड छ। सांसद अमरेशकुमार सिंहले विभिन्न भ्रष्टाचार काण्डको छानविन कहिलेदेखि सुरु हुन्छ , नेपालीले मल, बीउ समयमै कहिले पाउँछन् ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन।    सांसद योगेन्द्र मण्डलले छ महिनाभित्र नागरिकता दिने प्रधानमन्त्रीको भनाइमा कसरी विश्वास गर्ने , भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधि सभाको  बैठकमा प्रधानमन्त्री प्रचण्डले बैठकमा प्रश्नोत्तर कार्यक्रममा नियम निलम्बन गर्नुपर्ने अवस्था नमिठो लागे पनि सर्वसम्मत भएकामा खुसी लागेको बताउछन्। संसद्‍मा प्रश्न–उत्तर प्रारम्भ गर्न सहमति जुटाउनका लागि झण्डै दुई घण्टा समय लागेको थियो।  रासस  

तनहुँ:   तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।      आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो । आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो ।       विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

काठमाडौं:    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्रको वितरण सुरु गरेसँगै शैक्षिक परामर्श संस्थाहरुको ट्याकिङ गर्ने भएको छ । शैक्षिक परामर्श संस्थाहरुलाई व्यवस्थित र नियमन गर्नका लागि ट्याकिङ गर्ने भएको हो । शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइएको बताउँदै दर्ता भएका शैक्षिक परामर्श संस्थाहरुको विवरण अनलाइनमै राख्ने तयारी गरिएको जनाएको छ । मन्त्रालयले ‘बैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका २०७९’ को दफा ५ उपदफा ३ (ञ) अनुसार शैक्षिक परामर्श संस्थाको परामर्शमा उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने विद्यार्थीहरुको आवेदन फारम भर्दा परामर्शदाताको सिफारिशपत्र (अन्डरट्याकिङ लेटर) अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । यो सँगै दर्ता भएका शैक्षिक परामर्श संस्थाहरुको विवरण मात्रै अनलाइनमा राखिने भएको छ । मन्त्रालयका अनुसार अनलाइन प्रणालिमा सूचिकृत शैक्षिक परामर्श संस्था बाहेक दर्ता नभएका संस्थाहरुले उच्च शिक्षा अध्ययनका लागि विदेशमा विद्यार्थी पठाउन र परामर्श दिन पाउने छैनन् । त्यसैगरी जापानमा भाषा अध्ययनका लागि पठाउने शैक्षिक परामर्श संस्थाहरुले परामर्श सेवा उपलब्ध गराउन प्राप्त गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गर्ने लागिएको मन्त्रालयले जनाएको छ । उक्त व्यवस्था अनुसार सेवा उपलब्ध गराउन प्राप्त गरेको प्रमाणपत्र पेश नगर्ने शैक्षिक परामर्श संस्थाहरुले परामर्श दिन पाउने छैनन् । नेपालमा दर्ता नभएका विदेशी संस्था वा एजेन्टको नाममा एनओसी जारी नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा दर्ता भएका तर नेपालमा दर्ता नभएका कुनैपनि शैक्षिक परामर्श संस्था वा एजेन्टको नाममा एनओसी जारी नगर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएको छ । नेपालमा रहेर गैरकानुनी रुपमा विद्यार्थीहरुलाई परामर्श दिने गरेको, राजस्व छलि गरेको र कमिशनका लागि उनीहरुको नाम सहित सिओई र अफरलेटर आउने गरेको बताउँदै अबदेखि दर्ता नभएका संस्था वा एजेन्टको नाममा एनओसी नदिने व्यवस्था गर्न लागेको जनाएको हो । मन्त्रालयले त्यस्ता संस्थाहरुको विवरण संकलन गरिरहेको जानकारी दिँदै एनओसीका लागि नेपालमा दर्ता नभएका शैक्षिक परामर्श संस्था तथा एजेन्टको नाममा जारी भएका सिओई र अफरलेटर अपलोड गरेको पाइएमा कानुनी कारबाही गर्नुका साथै कालो सूचिमा राखिने जनाएको छ ।

काठमाडौं:   यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ ।   डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।   विभागले घटेको मूल्य आज (बुधबार) देखि नै लागू भएको जानकाे छ ।   विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।   यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।  

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।    आज बिहान  बालुवाटार निवासमा भएको भेटमा उहाँले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको थियो । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो ।    भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गर्नुभयो । उहाँले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो ।