माछापुच्छ्रेमा भरुवा बन्दुकले ढुकुर हान्दा गाउँले फुपुको छातीमा लागेपछि ...
अदालतबाट घट्यो सजाय र जरिवाना
कास्की | जेठ २५, २०८०
कास्कीः बाजे लालबहादुरको १९ वर्ष अघि मृत्यु भइसकेको छ । उनै बाजेले प्रयोग गर्ने भरुवा बन्दुक लिएर माछापुच्छ्रे गाउँपालिका खैमराङका आइत सिं तामाङले खेतबारीमा बाली खान आउने बाँदर धपाउँदै आएका थिए ।
०७९ साल कात्तिक ५ गते बिहानै सोही बन्दुक बोकेर आइत गहुँबारीतिर लागे । गहुँ खान आएका ढुकुरको बथान देखेपछि उनले फायर खोले । तर उनले हानेको छर्रा लागेर बोडी टिप्न गएकी नातामा फुपु पर्ने छिमेकी मैरानी (बुद्धिमाया तामाङ)को दायाँ छातीमा लाग्यो ।
घटनापछि डराएका ३६ वर्षे आइतले बारीको कान्लामा बन्दुक लुकाएर घर लागे । छातीमा छर्रा लागेर चिच्याएपछि ६० वर्षीया मैरानीलाई गाउँलेले पोखराको फिस्टेल हस्पिटलमा उपचारार्थ ल्याए । प्रहरीकहाँ खबर आइपुगेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लुकाइराखेको हतियार र लुकिबसेका आइतलाई पोखरा ल्याए ।
प्रहरीसँगको सोधपुछमा दुईबीच कुनै रिसइबी नभएको र भवितव्यले घटना घटेको बताइयो । यस कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्न कानूनी माग गर्दै कास्की अदालतमा मुद्दा दायर गरियो ।
उक्त मुद्धाको फैसला ०७९ को पुसमा भएको छ । फैसला अनुसार आइतलाई १ वर्ष कैद र १० हजार रुपैयाँमात्र जरिवाना भयो । उल्लिखित कैदमध्ये अदालतले फैसला गर्दासम्म आइतले २ महिना १३ दिन भुक्तान गरिसकेका थिए ।
अदालती फैसलामा बाँकी कैदको ८६ हजार १ सय रुपैयाँ तिराई थुनामुक्त गर्नु भन्ने आदेश दिएपछि उनी छुटिसकेका छन् । उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ ।
अदालतबाट घट्यो सजाय र जरिवाना
आइतको अपराधमा सरकारी वकिलको कार्यालय कास्कीले मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला माग गरिएको थियो ।
उक्त उपदफाअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । जसमा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ ।
यसो गरेमा उल्लेखित सजाय र जरिवाना हुनेसमेत उल्लेख भएपनि अदालतबाट भने आइतले कम सजाय र जरिवाना पाए । तर आइतले १ वर्ष कैदमध्ये बाँकी रहेको अवधि पनि जरिवाना तिरेर छुटेका हुन् ।
‘यस्तो कसरी हुन्छ ?’ सरकारी वकिलको कार्यालयको एक सह न्यायधिवक्ता भन्छन् ‘हामीले घटनाको प्रकृतिअनुसार ऐनको आधारमा कारवाही माग गरी अदालतमा पेश गर्छाै तर बहस र सवालजवाफकाक्रममा सजाय र जरिवाना तल माथि हुने गरेको छ ।’
यस मुद्दामा आइतले बिना इजाजत हतियार राखेको मात्र हैन फायरिङ् गर्दा छर्रा लागेर व्यक्ति घाइतेसमेत भएका छन् । अदालतमै पुगेको मुद्दामा पनि वादी र प्रतिवादीको मेलमिलापमा फैसला निर्भर रहेको हुनसक्ने उनको आंकलन छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

