काठमाडौं: प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो । बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।
काठमाडौं: नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
काठमाडौं: जनता समाजवादी पार्टी “जसपा” को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । ‘सरकारमा जसपाले अझै एकजना मन्त्री र एक जना राज्यमन्त्री पाउने भन्ने कुरा हो क्यारे, कसलाई पठाउने भनेर आज छलफल हुन्छ,’ बस्नेतले भने । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन जितेर जसपा अध्यक्ष उपेन्द्र यादव सांसद बनेपछि उनी नै सरकारमा जाने चर्चा छ । सांसद पदको शपथग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा यादवले सरकारमा को जाने भन्ने विषयमा पार्टीको बैठक बसेर छिट्टै निर्णय गर्ने बताएका थिए । जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकिको छ ,तर त्यसको तयारी पूरा भइसकेको छैन । ‘विधान अधिवेशन सर्ने सम्भावना छ, किनभने तयारी नै पुगेको छैन,’ प्रचार विभाग प्रमुख बस्नेतले भने, ‘आजको बैठकमा यसबारे पनि छलफल हुन्छ ।’
काठमाडौं: हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू-भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाँण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता खाँण पक्राउ परेका हुन् । खाँणकी पत्नी मञ्जु खाँण र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो सम्वादसमेत यसअघि सार्वजनिक भैसकेको छ । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरेको छ ।
पोखरा: वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत् शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ।बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो। चिठी युगको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा हल्काराको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ।विक्रम सापकोटाले निर्देशन गरेको फिल्मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य अभिनय रहेको छ। फिल्मले अमेरिकाको प्रतिष्ठित वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा ३ विधामा अवार्ड समेत जितेको थियो। निर्माण टिमले हातले लेखिएको पत्रमार्फत् निम्तो दिने शैलीबारे सामाजिक सञ्जालमा चर्चासमेत भएको छ । आइतबार मात्रै राजधानीमा टिम ‘मुभी लभर्स’ले विशेष शो’को आयोजना गरेको थियो।‘मुभी लभर्स फिल्म स्क्रिनिङ’को परम्परालाई निरन्तरता दिँदै यसपालि बहुप्रतीक्षित चलचित्र ‘हल्कारा’को विशेष शो’को आयोजना गरेको थियो । विशेष शोपछि अधिकांश चलचित्रकर्मीहरुले चलचित्रको प्रशंसा गरेका थिए।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई ‘ फायर ’ खोल्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्। उनले सरकारले नक्कली भुटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए, र सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै दोषीलाई उम्किन दिनु नहुने बताएका छन् । उनले भने् “भुटानी शरणार्थी सन्दर्भको जुन फाइल खोलिएको छ । यसलाई सरकारले निष्कर्षमा पुर्याउनुपर्छ। भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन । मलाई लाग्छ राज्यले फायर खोल्नुपर्छ ।’’ बितेको १० वर्षमा अर्बौँको बेरुजु र भ्रष्टाचार मुलुकको सामु रहेको उनको भनाइ छ। नेता शर्माले बितेका दशकमा निरन्तरको व्यापार घाटा र खान पुग्नेसम्मको उत्पादन नभएको स्थिति रहेको बताए । उनले मुलुकको व्यापार घाटा कम गर्न मुलुकमा उत्पादन र निर्यात बढाउन आवश्यक रहेको भन्दै सरकारले त्यही अनुसार नीति बनाउन आवश्यक रहेको बताएका छन् । उनले गत वर्ष मात्रै ४५ अर्बको चामल र २२ अर्बको तरकारी र फलफूल आयात भएको भन्दै हजारौँ युवा कृषि क्षेत्रमा लाग्न तयार रहेको बताए भने, उनले त्यसको लागि अर्थमन्त्रीले बैङ्किङ सहजता बनाइदिनु आग्रह गरएका छन् । अमुख उद्योगमा अमुक दलको झोली भर्ने खालको मनोविज्ञानबाट मुक्त हुनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गरेकी छिन् । उनले क्यान्टनमेण्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न पनि आग्रहसमेत गरेकी छिन् । उनले भनिन् ‘‘धेरै लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको छ, त्यसको छानबिन गर्न जरुरी छ । धेरै लामो समयदेखि उठेको काण्डअन्तर्गत क्यान्टनमेण्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसङ्गत रूपमा कानुनी तवरबाट बाहिर ल्याउन जरुरी छ ।’’ त्यस्तै, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको छानबिन गर्न माग गर्नुभएको छ, र भ्रष्टाचारविरुद्ध कडा प्रतिरोध सुरु गर्न पनि आग्रह गरे । उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौती गर्न समेत माग गरे । दिपा गुरुङले भनिन् , ‘‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा प्रतिरोध सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै कटौती गरियोस् ।’’
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार शुभारम्भ गरे । अब गाउँपालिकाको करदाता पोर्टल खोलेर सेवाग्राहीले आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपीएस र इसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाले जानकारी दिए । गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले अब प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो । जनतालाई सुशासन प्रत्याभूत गराउन र पालिकालाई सकारात्मक काम गरेर नमुना बनाउने दृढता सुनाए । प्रविधिमैत्री पालिका निर्माणमा विद्युतीय सेवाले इँट्टा थप्ने काम गरेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् । यसअघि नै गाउँपालिकाले क्यू–आर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । त्यसका लागि पालिकाको कार्यालय जानैपथ्र्यो । अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३५ सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् । प्रणालीमा आबद्ध हुन बाँकी अन्य सेवाग्राहीले सुरुमा एकपटक गाउँपालिका अथवा वडामार्फत आफ्नो सम्पत्ति विवरण प्रविष्ट गराएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

