पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:     गतवर्षको च्याम्पियन संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ३–० ले पराजित गरेको हो ।  पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको पहिलो खेलमै साविक विजेता समेत रहेको संकटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।  आर्मीको जितमा दिनेश हेमजनले २ तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे । गतवर्षको प्रतियोगितामा संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल पराजित गरेको थियो ।  आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

पोखरा:   विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाईबेकरमा ४–३  गोल अन्तरले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो ।   निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।   च्याम्पियन बनेसँगै डोना एफसीले ५५ हजार ५ सय  रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    खेल संयोजक विकास साईका अनुसार सो प्रतियोगिताबाट डोना एफसीका विनय तामाङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।     यस्तै सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशिष गुरुङले प्रतियोगिता अवधिभर १० गोल गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए ।   कुल २८ टिमको सहभागिताबाट विजेता तथा उपविजेता बनेका टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरका २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्ण बहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साई लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:    गण्डकी प्रदेश टेनिस संघ तदर्थ समितिको अध्यक्षमा बिनोद कायस्थ सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शनिबार सम्पन्न भेलाले अध्यक्षमा कायस्थसहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, सचिवमा नविन चालिसे र कोषाध्यक्षमा प्रीती बराल चयन भएका छन् । यसै गरी कार्यसमिति सदस्यमा सञ्जय खड्का (बागलुङ), दिपक श्रेष्ठ (तनहुँ), मुकुन्द मल्ल (पर्वत) र चिन बहादुर पुन (नवलपुर) रहेका छन् । अध्यक्षमा निर्वाचित कायस्थ कास्की टेनिस संघको संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघको उपाध्यक्ष समेत् हुन् । उनको कास्कीको टेनिस खेल विकासमा महत्वपूर्ण योगदान रहेको छ । उनकै नेतृत्वमा पोखरा रंगशालामा टेनिस कम्लेक्सको निर्माण तथा विकास समेत भएको हो । अध्यक्ष कायस्थले कास्की केन्द्रित टेनिस खेललाई प्रदेशका ११ जिल्लामा नै विस्तार गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिवद्धता व्यक्त गरे । यस अघि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं खेल पत्रकार केशव पाठकले बधाई दिंदै गण्डकी प्रदेशको टेनिस खेलको विकासमा नयाँ नेतृत्वले योजनावद्ध रुपमा योजनाहरु अघि सार्न आग्रह गरे । कार्यक्रम भेला गठन समितिका संयोजक एवं नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले समेत आफ्ना भनाई राखेका थिए । 

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपका आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । र, माघ १७ गते जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एकजनासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

पोखरा:   अनेरास्ववियु जिल्ला कमिटी कास्कीको खेलकुद विभागद्वारा आयोजित प्रथम अखिल कपको उपाधि पोखरा विश्वविद्यालयले जितेको छ ।   पोखरा महानगरपालिका १६ स्थित चिन फुटसलमा आज (शुक्रबार) भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै पोखरा विश्वविद्यालयले उपाधि जितेको हो ।   उपाधिसँगै पोखरा विश्वविद्यालयले ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले ८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलका अनुसार सो प्रतियोगिताबाट अन्नपूर्ण गाउँपालिकाका सविन नेपाली सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।     यस्तै पोखरा विश्वविद्यालयका  सागर अधिकारी उत्कृष्ट गोलरक्षक  र माछापुच्छ्रे गाउँपालिकाका सफल ढकालले प्रतियोगिता अवधिभर कुुल ११ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए ।   विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज विजय पौडेल, अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य किशोर सुवेदी, अनेरास्ववियु कास्की इन्चार्ज अनुप लामिछाने, अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेल, पिइएनका अध्यक्ष शैलेन्द्र क्षेत्री अनेरास्ववियु कास्कीका खेलकुद विभाग प्रमुख सागर पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।   प्रतियोगिताको समापन समारोह पूर्व आयोजक कमिटी र पोखराका मिडियाकर्मीबीच भएको मैत्रीपूूर्ण खेलमा मिडियाकर्मी टोलीले आयोजक कमिटीलाई ६–४ गोल अन्तरले पराजित गरेको थियो ।    कास्की जिल्ला भित्रका विभिन्न १९ क्याम्पसको टिमले सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।   सो अवसरमा बोल्दै अधिकारीले खेलकुदको माध्यमबाट सबै विद्यार्थीलाई एउटै सुत्रमा बाँध्न सहयोग पुर्र्याउने धारणा व्यक्त गरेका थिए ।   

काठमाडौं:    नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यू–१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९  विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् । नेपालको सुरुवात भने खराब रहेको थियो । नेपालका शीर्ष तीन ब्याटर सस्तैमा पेभेलिएन फर्किएका थिए । अर्जुन चौथो ओभरमा फरिदुन दावुडजाइले १ रनमा रहेको अवस्थामा बोल्ड गरेका थिए । यस्तै आज ब्याटिङ अर्डरमा माथि ब्याट गर्न आएका गुलशन झालाई सातौं ओभरमा १२ बलमा १ रन बनाएको अवस्थामा खलिल अहमदले बोल्ड आउट गरे । विपिन रावल पनि खलिलकै बलमा १९ बलमा २ रन बनाएर आउट भए । चौथो विकेटका लागि कप्तान देव खनाल र आकाश त्रिपाठी मिलेर ४९ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए । २४औं ओभरमा आकाश ३९ बलमा १६ रन बनाएर नासिर खानको बलमा क्याच आउट भए । त्यसपछि नेपालले दुई विकेट छिट्टै गुमाउन पुग्यो । दीपक डुम्रे ५ र दिपेश कंडेल ४ रन बनाएर क्रमशः अरब गुल र नासिर खानको बलमा आउट भए । घजनफरले देवलाई ३७औं ओभरमा १९ रन बाँकी रहँदा आउट गरे । दीपक बोहरालाई ४२ बलमा २७ रन बनाएर दावुदजाईले बोल्ड गरे । त्यो अवस्थामा नेपाललाई ६ रन आवश्यक थियो । सुवाष भण्डारी र तिलक भण्डारीले नटआउट रहँदै नेपाललाई जित दिलाए । सुवाष ९ रनमा र तिलक शुन्यमा अविजित रहे ।   त्यसअघि इस्ट लन्डनमा टस हारेर पहिले बलिङ गरेको नेपालले तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतमा अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा समेट्न सफल भएको थियो । नेपालले पहिलो दुई ओभरमा नै पहिलो दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।    जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए ।  हसन इशाखिल पनि ३५ बलमा २० रन बनाएर आकाशकै बलमा आउट भए । यो विकेट सँगै आकाशले ५ विकेट पूरा गरेका थिए । आठौ नम्बरमा आएका अल्लाह घजनफरले भने विष्फोटक इनिङ खेले । उनी २१ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएर आउट भएका थिए ।  शुन्यमा किपर बिपिन रावलले उनको क्याच छोडेपछि उनी विष्फोटक ब्याटिङ गर्दै तिलक भण्डारीको बलमा सुवाश भण्डारीले क्याच आउट भए । अरब गुललाई भने दिपेश कंडेलले शुन्यमा आउट गरे । नवौ विकेटका लागि भने कप्तान नासिर खान र फरिदून दावुदजाइ मिलेर ५५ रनको साझेदारी गरेका थिए । सो साझेदारी लाई दिपेश कंडेलले नासिरलाई और गरेर गरेका थिए । नासिरले ८३ बलमा ३ चौका सहित ३१ रन बनाए । फरिदूनलाई सुवाष भण्डारीले २९ रनमा अन्तिममा आउट गरे ।  नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर ५ विकेट लिएका हुन् । यस्तै दिपेश कंडेलले ८ ओभरमा १ मेडन सहित १७ रन दिएर २ विकेट लिए । गुलशन झा, सुवाष भण्डारी र तिलक भण्डारीले समान एक(एक विकेट लिए ।      समूह डी मा रहेको नेपाल समुहमा तेस्रो रहँदै सुपर सिक्समा पुग्न सफल भएको हो । सुपर सिक्समा नेपालले समूह ए का शीर्ष तीन टोलीविरुद्ध खेल्ने छ । सो समूहबाट भारत सुपर सिक्समा पुगिसकेको छ भने बाँकी दुई टोली बंगलादेश र आयरल्याण्ड रहने प्रबल सम्भावना रहेको छ । सुपर सिक्समा नेपालको समुहबाट छनोट भएका टोली विरुद्धको अंक र रनरेट पनि गनिने छ । नेपालले न्युजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको हुँदा नेपालको सुपर सिक्सको सुरुवातमा कुनै अंक रहने छैन ।    

पोखरा:   सहारा क्लब पोखरालाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।   तमु धिं जापानका निवर्तमान अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा त्यहाँ संकलित २ लाख १५ हजार जापानी येन सहयोग गरिएको हो ।  पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अवसरमा बिहीबार एनआरएनए आइसिसी उपाध्यक्ष रोविनप्रसाद शेरचनले उक्त रकम सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेका हुन् ।  नेपाली फुटबलको इतिहासमा जनस्तरको सहयोगबाट साढे दुई दशकदेखि निरन्तररुपमा प्रतियोगिता आयोजना गर्नुका साथै सहारा एकेडेमी सञ्चालन गरेर पुण्य काम गरेकोमा पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका  सिलवालको संयोजकत्वमा खेलकुदप्रेमीबाट उक्त रकम संकलन गरिएको थियो ।  सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै क्लब अध्यक्ष बरालले उक्त रकम सहारा एकेडेमीमा सदुपयोग गरिने प्रतिबद्धता जनाए ।  वर्षेनी फुटबल प्रतियोगिता गरेर क्लबले पोखरा १७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुलाई निशुल्क शिक्षा, दीक्षा दिलाउँदै आएको छ । हाल ८ जिल्लाका १४ बालक आश्रित छन् ।   

पोखरा:   गण्डकी प्रदेश पुरुष भलिबल टोलीका सदस्य घनश्याम चौधरी र राजन दर्लामीलाई समेट्दै तेस्रो मुख्यमन्त्री कप भलिबल खेल्न गण्डकीको टोली घोषणा गरिएको छ ।  सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय स्तरको तेस्रो मुख्यमन्त्री कपमा सहभागी जनाउन गण्डकी प्रदेश भलिबल संघले हरि पाण्डेका कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । घरेलु भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट खेल्दै आएका घनश्याम चौधरी र राजन दर्लामी लामाचौर कप, सुर्खेतमा सम्पन्न भएको राष्ट्रिय भलिबल र पोखरामा सम्पन्न भएको टाइगर भलिबलमा टोली बाहिर थिए ।  सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म आयोजना गरेको तेस्रो मुख्यमन्त्री कपमा गण्डकी प्रदेशसहित सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने जनाइएको छ ।  गण्डकीको टोली:  गण्डकी प्रदेश भलिबलको कप्तानमा खोमप्रसाद पाण्डे (हरी, स्याङ्जा), सुजन चोखाल (म्याग्दी), विवश आले मगर (तनहुँ), इन्द्रबहादुर विक, रवि केसी, कुञ्जन शाही, जीवन सुनार, सन्तोष विक (बागलुङ),विश्वास अधिकारी, घनश्याम चौधरी, किरण गुरौं, हिमाल सुनारी, सरोज बर्देवा (नवलपुर), राजन दर्लामी (स्याङ्जा), प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् । 

काठमाडौं:     आईसीसी यू–१९   विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ ।  नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरीसकेको छ ।  यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।