पिएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा
काठमाडाैं | फागुन २९, २०८०

काठमाडौं: हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र जोड्न सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् ।
कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । उनले कप्तान असद भाला र लेगा सिआकालाई क्याच आउट तथा किप्लिन डोरिगा र नोर्मन भानुआलाई बोल्ड गरेका थिए । प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १/१ विकेट लिएका थिए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो ।
पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे । आठौं ओभरमा विनोद जोन कारिकोको शिकार बने । क्याचआउट हुनुअघि उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।
लगत्तै अर्को ओभरमा कप्तान रोहित मात्र १ रन जोड्दै कट बिहाइन्ड भए । नवौं ओभरमा आरिफ शेख पनि ७ बलमा ४ रन जोड्दै विकेटकिपरबाट समातिए ।
त्यसपछि कुशल र सन्दीप जोराले ३० बलमा ५० रनको आक्रामक साझेदारी गरे । कुशलले १३ औं ओभरको चौथो बलमा गार्डनरलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । उनले ३२ बलमा आफ्नो नवौं अर्धशतक बनाएका थिए । उनी १५ औं ओभरमा आउट भए । नोर्मन भानुआको बलमा बाउन्ड्रीनजिक क्याच हुनुअघि उनले समान ४ चौका र ४ छक्का प्रहार गरे ।
कुशल आउट भएपछि सन्दीप जोराले आक्रमण सम्हाले । उनले मात्र २१ बलमा आफ्नो दोस्रो टी-२०आई अर्धशतक पूरा गरे । सन्दीपले १८ औं ओभरमा क्याच आउट हुनुअघि २६ बलमा ५६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
लोकेश बम ६ बलमा २ छक्कासहित १४ रन जोड्दै १९ औं ओभरको अन्तिम बलमा रनआउट भए ।
अन्तिम ओभरमा विवेक यादवले ३ छक्का प्रहार गरेपछि नेपाल बलियो स्कोरसम्म पुग्यो । उनी ४ बलमा १९ रन जोड्दै नटआउट रहे । गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए ।
पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १/१ विकेट लिए ।
यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...