तनहुँ: तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलीफर्म) भेटिएको छ । पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो । तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो । काठमाडौँमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाका खानेपानीका स्रोतको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिनुभयो । खानेपानीका मूल र स्रोतको नमूना परीक्षण गर्दा अधिकांश क्षेत्रको पानी पिउनयोग्य नरहेको पाइएको रानाभाटले बताउनुभयो । “अधिकांश मूल र धाराको पानी खान योग्य छैन, परीक्षण गर्दा इकोलीफर्म भेटियो”, उहाँले भन्नुभयो । जिल्लाका ७६ पानीको स्रोतको नमूना परीक्षण गरिएकामा ५१ स्रोतमा दिसामा पाइने जीवाणु भेटिएको हो । व्यास नगरपालिकामा १० नमूना परीक्षण गरिएकामा दुई स्रोतको मात्र पानी पिउनयोग्य पाइएको रानाभाटले जानकारी दिनुभयो । भानु नगरपालिकाको तीन नमूना परीक्षण गरिएकामा सबैमा इकोलीफर्म भेटिएको छ । आँबुखैरेनीमा पाँच ठाउँमा परीक्षण गरिएकामा तीनमा इकोलीफर्म भेटिएको छ । घिरिङको तीनवटै नमूना परीक्षणका क्रममा इकोलीफर्म पाइएको रानाभाटले जानकारी दिनुभयो । त्यसैगरी देवघाटमा नमूना परीक्षणका क्रममा पाँच पिउनयोग्य रहेको पाइएको, बन्दीपुर गाउँपालिकाको पाँच वटामध्ये एउटा मुहानमा मात्रै योग्य र म्याग्देको सात नमूना परीक्षणमा दुई योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकाको ११ नमूना परीक्षणमा तीन स्रोत योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकामा वितरण गरिएका धाराको पानीमा जीवाणु भेटिएको उहाँले बताउनुभयो । त्यसैगरी ऋषिङ गाउँपालिकाको नमूना परीक्षणमा चार मूलको पानी पिउनयोग्य पाइएको छ । पहिलो चरणमा ससाना मूल, ट्याङ्की, धारा र इनारको पानीको नमूना परीक्षण गरिएको हो । नमूना परीक्षण गरिएका अधिकांश खानेपानीका स्रोत अयोग्य भेटिएको छ । ठूला खानेपानी आयोजनाको पनि छिट्टै नमूना परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पानीका स्रोतमा इकोलीफर्म देखिएका सम्बन्धित पालिकालाई जानकारीसहित खानेपानीको रिपोर्ट पठाइएको कार्यालयले जनाएको छ । पानीका मुहानको सरसफाइ गर्न, पानी शुद्धीकरण गर्न, तताएर, फिल्टर गरेर मात्रै पिउन सुझाव दिइएको छ । अस्पतालको पानी पनि पिउन अयोग्य दमौली अस्पतालकै पानीको नमूना परीक्षण गर्दा इकोलीफर्म भेटिएको छ । अस्पतालको धारो र जमिनमुनिको पानी पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । दमौली अस्पतालको दुई स्रोतको पानीमा इकोलीफर्म भेटिएको छ ।
मेक्सिकोसिटी: मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकोप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले शनिबार जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकोप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ । राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।
काठमाण्डौँ: पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका ६ आयुर्वेद औषधालय र तीन नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको सङ्ख्याले पनि आयुर्वेदिक औषधिको प्रभाव तथा आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दो देखाएको छ । बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशत सर्वसाधारण चालु आर्थिक वर्षमा आयुर्वेदिक पद्धतिबाट औषधि उपचारका लागि आर्युेवेदिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । अठ्ठाइस हजार ९३८ बिरामीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयुर्वेदिक पद्धतिबाट उपचार सेवा लिएको तथ्याङ्क छ । बागलुङ नगरपालिकामा रहेको धौलागिरि आयुर्वेदिक औषधालय, बलेवा आयुर्वेदिक औषधालय, जैमिनीमा रहेको दमेक आयुर्वेदिक औषधालय, जैदी आयुर्वेदिक औषधालय, काठेखोला गाउँपालिकामा रहेको बिहुँ आयुर्वेदिक औषधालय र ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ आयुर्वेदिक औषधालय तथा बडिगाड, बरेङ र ताराखोला गाउँपालिकामा रहेका नागरिक आरोग्य केन्द्रबाट बिरामीले आयुर्वेदिक पद्धतीबाट उपचार सेवा लिएका हुन् । यहाँका आयुर्वेदिक औषधालय तथा नागरिक आरोग्य केन्द्रले आफैँले उत्पादन गरेको औषधि र आयुर्वेदिक पद्धतिका प्रचलित विधिबाट बिरामीको उपचार गर्ने गरेका छन् । बागलुङका आयुर्वेदिक औषधालयले आर्थिक वर्ष २०७८÷७९ मा ६६० किलो औषधिको उत्पादन गरेर सर्वसाधारण बिरामीको उपचारमा खर्च गरेका छन् । दुई वर्षअघि कोरोना सङ्क्रमणका बेला गुर्जोलगायतका विभिन्न जडीबुटीको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । त्यसयता बागलुङमा आयुर्वेदिक औषधिको माग र प्रयोग बढ्दो छ । चालु आवमा मात्रै दमेक आयुर्वेदिक औषधालय जैमिनी–२ दमेकले ३१४ किलो, धौलागिरि आयुर्वेदिक औषधालय बागलुङले ३०६ किलो र बलेवा आयुर्वेदिक औषधालय बागलुङले ४० किलो चूर्ण औषधि उत्पादन गरेका हुन् । जिल्लास्थित आयुर्वेद औषधालयको चालु आवको वार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्याङ्क प्रस्तुत भएको हो । दमेक आयुर्वेदिक औषधालयका प्रमुख डा लक्ष्मीप्रसाद शर्माका अनुसार यो अवधिमा सबैभन्दा धेरै औषधि ग्यास्ट्रिकका बिरामीले लिएका छन् । हाडजोर्नी, नसा च्यापिएको, दीर्घरोगी र अन्य विभिन्न खालका बिरामी औषधिका लागि औषधालय आउने गरेका छन् । सीमित दरबन्दी तथा साधन स्रोतका बीच आयुर्वेदिक औषधि उत्पादन र वितरणमा काम जिल्लाभरिका औषधालय तथा नागरिक आरोग्य केन्द्रबाट भइरहेको धौलागिरि आयुर्वेदिक औषधालयका प्रमुख सरोजकुमार रायले बताउनुभयो । वार्षिक समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखले आफ्नो क्षेत्रमा भएका कामको प्रगति विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाभित्रको बलेवा आयुर्वेदिक औषधालयतर्फका कविराज निरीक्षक हरिप्रसाद पौडेलले प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममा उपस्थित सबैले सीमित दरबन्दी, कम बजेट र तोकिएको बजेट पनि समयमा निकासा नहुने समस्याबारे बताउनुभएको थियो । कतिपय अवस्थामा बजेट भए पनि अन्यत्र रकमान्तर भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको पनि बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले समस्या समाधानमा आफ्नो सहयोग रहने बताउनुभयो ।
काठमाडौँ: काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । ठमेल पर्यटन विकास परिषद्को २५, २६ र २७ औँ वार्षिक साधारणसभा एवं निर्वाचनको आज उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो । “पर्यटन क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको छ, कोरोनाबाट थलिएको पर्यटनलाई अगाडि बढाउन स्थानीय प्रशासन सधैँ सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । केही पर्यटन व्यवसायीबाट ठमेललाई बद्नाम गराउने कार्य भएको भन्दै उहाँले त्यस्ता व्यवसायीमाथि स्थानीय प्रशासनले निगरानी गरिरहेको उल्लेख गर्नुभयो । प्रजिअ रिजालले देशकै पुरानो पर्यटकीय क्षेत्रलाई जोगाएर राख्नु सबै व्यवसायी तथा घरधनीको उत्तिकै दायित्व हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल क्षेत्रमा कसरी पर्यटक बढाउन सकिन्छ भन्नेबारे सोच्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो । ठमेलको विकासका लागि स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । “ठमेलको विकासका लागि सोच्नुभन्दा पनि कसरी नेतृत्व आफ्नो हातमा ल्याउन सकिन्छ भन्नेबारे व्यवसायी लागेका छन्, यो ठमेलका लागि दुर्भाग्य हो”, उहाँले भन्नुभयो । रात्रिकालीन व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे व्यवसायीले सोच्नुपर्ने बेला आएको अध्यक्ष तिवारीको भनाइ छ । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले रोजगारी सिर्जना गर्ने व्यावसायिक थलो ठमेलको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । ठमेल पर्यटन परिषद्का पूर्वध्यक्ष डा रामशरण थपलिया र समीर गुरुङले घरधनी तथा व्यवसायी मिलेर ठमेल क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । विसं २०४७ मा स्थापना भएको ठमेल पर्यटन परिषद्मा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा ठमेल क्षेत्रका एक हजार ५९९ घरधनी तथा व्यवसायीले आफ्नो मताधिकार प्रयोग गर्ने परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले जानकारी दिनुभयो । ठमेलको नयाँ नेतृत्वका लागि भविश्वर शर्मा र ध्रुव अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाण्डौँ: साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । निर्देशिकामा बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने, बीमक आफैँले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बीमा लेखको हकमा छोटो अवधिका लागि बीमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ ।
चितवन: नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ रासस चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् । कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो । सो क्रममा आचार्यको शरिरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ । कुटपिट भ पछि उहाँ भागेर बाच्नुभएको थियो । उहाँको साथमा रहेका दुई मोबाइल विद्युत्का कर्मचारीले खोसेर राखेका छन् । जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिनुभयो । आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुनुहुन्छ । उहाँ प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुनुहुन्छ । घटनाको नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले निन्दा गरेका छन् ।
इलाम: कोरोना प्रवाभित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनुभयो । वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ । कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई अनुदानका कार्यक्रममा पूर्ण सहभागी गराउने वडाको लक्ष्य रहेको बताइएको छ ।
तनुहँ: व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो । उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुरुप विद्यालय सञ्चालन गर्न लागेको व्यासका प्रविधि सूचना अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । विद्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि यसअघि नै विज्ञापन गरिसकेको नगरपालिका कार्यालयले जनाएको छ । विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका र सुरक्षाकर्मीलगायतका जनशक्ति माग गरिएको नोडल अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिनुभयो । विद्यालय सञ्चालनको लागि विद्यार्थी भर्ना गर्न साउन २ गतेदेखि ८ गतेसम्म आवेदन फाराम वितरण गर्न सूचना जारी गरेको शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिनुभयो । कक्षा ५ सम्म विद्यार्थी भर्नाको लागि आवेदन फाराम वितरण गरिएको व्यास शिक्षा शाखाले जनाएको छ ।
महोत्तरी: मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ । असार मध्ययता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् । असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ । “ल, भन्नोस् न, आज ९शनिबार० असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होला रु” भङ्गाहा नगरपालिका–४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले वीरक्तिँदै भन्नुभयो । मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनैलाग्दा धान रोपाइँ जिल्लामा एकतिहाई नाघेको छैन । “उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघाखोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्नुहुन्छ, “यो बढ्दो तापले सबै भताभुङ्ग पा¥यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।” जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेकोे छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गिखरिक्क परेको छ । रोपेको खेतमा धाँजा फाट्दै छ । जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् ।