फुङ्लिङ: खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्छ । मेसिनले नै धानको बीउ रोप्छ । तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ । मानवीय जनशक्तिको आवश्यक पर्दछ । पहाडी क्षेत्रमा तराई जस्तो समतल जमिन छैन । भिरालो जमिन, थुम्का–थुम्की स–सानो डिलहरु त्यसमा पनि चट्टान, माटो र चट्टान बराबर हुने भएकाले पहाडी क्षेत्रका कृषकले कृषिका लागि अविष्कार भएका मेसिन प्रयोग गर्न सकेका छैनन् । विभिन्न प्रविधिको प्रयोग हुन नसक्नुले पनि पहाडी क्षेत्रमा खेतबारी बाँझिदै गएको कृषि विज्ञ भिङमारे हेल्लोकले बताउनुभयो । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन् । युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा विदेश र सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमीन बाँझो हुँदै गएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमूत्रको समेत अभाव झेल्न किसान बाध्य छन् । सरकारले कृषिमा यान्त्रिकीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याए पनि पहाडी क्षेत्रका किसान यान्त्रिकीकरणको प्रयोगबाट वञ्चित रहेको कृषि विज्ञ हेल्लोकले बताउनुभयो । धान रोप्न छोडेर किसान फलफूल खेती, अलैँची खेती जस्ता वैकल्पिक खेती गर्न बाध्य छन् । खेताला पाउन मुस्किल विगतमा गाउँघरमा पर्मा खेल्ने प्रचलन थियो । एक दिन एक परिवारको रोपाइँ र अर्को दिन अर्को परिवारको रोपाइँ गर्ने त्यसरी नै खेतीपाती गर्ने चलन थियो । तर आजभोलि गाउँघरमा पर्मा खेल्ने चलन हराउँदै गएको सिदिङवा गाउँपालिका–४ का अनिता लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो “खेताला पाउनै छोडेको छ ।” खेतालाको ज्यालादर प्रत्येक वर्ष बढ्दै गएको छ । एक खेतालाको रु ५०० ज्याला दिनु पर्दछ । एक हल गोरुको रु एक हजार ज्याला पुगेको सिरिजङ्घा गाउँपालिका–१ आम्वेगुदिनका वडाध्यक्ष असिम कुवँरले बताउनुभयो । ज्याला बढ्दै गए पनि उत्पादन भने घट्दै गएकाले अन्न बाली छोडेर नगदेबालीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । कृषि पेसा अपहेलित गाउँ घरमा भन्ने गरिन्छ, “अहिले राम्ररी पढ । नत्र पछि हलो जोत्दै बस्नु पर्ला ।” समाजमा पढे लेखेकाले जागिर खाने र नपढेकाले कृषि कर्म गर्नु पर्छ भन्ने मानसिकताले जरा गाडेको छ । कृषि प्रविधिक प्रत्येक वर्ष सयौँको सङ्ख्यामा उत्पादन हुन्छन् । कृषि पेसा गर्ने सोच भने हुँदैन । कृषि व्यवसाय सीमितले मात्र अङ्गाल्ने गरेको विज्ञ हेल्लोकको भनाइ छ । कृषकलाई अनुदान र प्रविधिक सहयोग सहुलियत व्याज दरमा ऋणको सहजीकरण हुन सके उर्वर जमिन बाँझो रहने समसइा हट्ने कृषक बताउँछन् । गाउँमै कृषि कर्म गर्न प्रोत्साहन गर्न सके जमिन बाँझो हुनबाट जोगिने फक्ताङलुङ गाउँपालिका–४ का विक्रम माबोहाङले बताउनुभयो । धान रोपाइँ क्रमिक रुपमा घट्दै यसवर्ष ताप्लेजुङको नौ स्थानीय तहमा धानखेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले बताउनुभयो । गत वर्ष आठ हजार ३०० हेक्टरमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७५ मा ताप्लेजुङमा आठ हजार ५६२ हेक्टरमा धानखेती गरिएको थियो । सो खेतीबाट १८ हजार १५१ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७६ मा आठ अजार ३८.०४ हेक्टरमा धानखेती गरिएकामा २० हजार ७६.९७ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७७ मा आठ हजार ३००.१५ हेक्टरमा धानखेती गरिएकामा २१ हजार ८२.३८ मेट्रिकटन धान उत्पादन भएको सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।
रसुवा: रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पुर्याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको दुई एम्बुलेन्समध्ये एउटा दक्षिणी भेगको जिबजिवे ग्रामीण अस्पताल तथा अर्को उत्तरी भेगको गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ उपचार सेवा प्रभावकारी बनाउन एम्बुलेन्सले मद्दत पुग्ने बताउनुहुन्छ । “गाउँपालिकाको ६ वडाका साथै आमाछोदिङ्मो गाउँपालिकाका बिरामीलाई समेत सेवा दिन सकिने छ”, उहाँले भन्नुभयो । यस्तै जिबजिवेस्थित ग्रामीण स्वास्थ्य अस्पतालले प्राप्त गरेको एम्बुलेन्स अस्पतालकै मातहतमा राखी सञ्चालनमा ल्याइने कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बताउनुभयो । एम्बुलेन्समार्फत छिमेकी जिल्ला नुवाकोटका बासिन्दालाई समेत सेवा दिन सकिने उहाँको भनाइ छ । गोसाइँकुण्ड, कालिका गाउँपालिकाका साथै उत्तरगया गाउँपालिकाले समेत हाल एम्बुलेन्स सञ्चालन गर्दैआएका छन् ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा: प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले गुरु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गुरुपूर्णिमा एवम् भानु जयन्तीको अवसरमा प्राज्ञिकले २० बढि गुरु (प्राध्यापक) हरुलाई पुष्पगुच्छा, कलम र डायरी प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका प्रमुख डा।सरोज कोइरालाले आफुहरुलाई सहायक स्वीपर भएको बताए । ‘क्याम्पसभित्रको गतिविधि र वातावरणलाई बिग्रनबाट बचाई क्याम्पसका फोहोरहरु र विकृतिलाई हटाउदै विद्यार्थीमैत्री र स्वच्छ परिवेश निर्माण गरि असल शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनले भने । क्याम्पसको इतिहासमै पहिलो पटक गुरुपूूर्णिमाको अवसरमा गुरुपुजन एंव सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउदै प्राज्ञिकको उदाहरणीय काम गरेको प्राज्ञिकका राष्ट्रिय सह–संगठन सचिव रमेश बताए । उनले प्रसंशनीय कार्य गरेको भन्दै खुशी समेत व्यक्त गरेका थिए । यसैगरि कार्यक्रममा पोखरा विश्वविद्यालयका औषधी विज्ञानका उप–प्राध्यापक शिव संकल्प आचार्यले भानुुभक्तले नेपाली साहित्यमा दिएको योगदान र त्यसको मुल्याकंनको बारेमा चर्चा गरे । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक शोभाकान्त गौतमले रामायणको कथालाई जोड्दै भने, ‘छ करोडको घरमा रामायण, जहाँ गयो त्यही रामायण’ रामायण नेपाली छोरीहरुको व्यथा हो ।’ गुरु र शिष्यबिचको सम्बन्धलाई उल्लेख गर्दै गौतमले भने, ‘गुरु एउटा मार्गदर्शनको सहयात्री मात्र हो । गुरुले २५ प्रतिशत सिकाउँछ भने ७५ प्रतिशत तपाई आफैले सिक्नुपर्दछ । त्यो नै गूरुको लागि गुरु दक्षिणा होे ।’ कार्यक्रममा पिएन क्याम्पसमा अध्ययनरत ७० बढि विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जिवन नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्देश लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पारस खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।
बागलुङ: बागलुङका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामीलाई उपचार सेवा लिन समस्या भएको हो । हरेक पालिकामा नगर अस्पताल बनाउने सरकारी योजना छ । त्यो बाहेक तत्कालीन निर्वाचन क्षेत्रअनुसार एक निर्वाचन क्षेत्रमा एकएक वटा प्राथमिक स्वास्थ्य केन्द्र रहने व्यवस्था थियो । उक्त व्यवस्था अझै कायम छ । तर बिरामीले भने नगर अस्पतालका भवन बन्दै गरेको दृश्य र प्राथमिक स्वास्थ्य केन्द्रका भवन मात्रै भेट्ने गरेका छन् । एक केन्द्रमा ३ जनासम्म डाक्टर रहने र सोही अनुसारको स्वास्थ्य सेवा दिने चलन थियो । तर, बागलुङका गलकोट र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा अधिकांश समय चिकित्सक नभएको गुनासो आइरहन्छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार आजकल जानकारीबिनै चिकित्सक आउने जाने हुँदा रिर्पोटिङसमेत गलत हुन थालेको छ । सदरमुकामदेखि ५० किमी पश्चिमको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीका चिकित्सक छैनन् । तर, एकजना छात्रवृत्ति कोटाका मेडिकल अधिकृत भएकोले केही सहज थियो । ती अधिकृतले समेत बिना जानकारी जिल्ला छाडिसकेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले ‘ओएनएम’ सर्भे नगरेकोले दरबन्दी बढाउने र सेवा सुविधा थप गर्ने काम रोकिएको बेला भएका चिकित्सकले पनि छाडेपछि नियमित उपचार सेवासहित शवपरीक्षण सेवा पनि प्रभावित भएको हो । हरिचौरस्थित केन्द्रमा पुरानै मोडल अनुसार पाउनुपर्ने तीन जना चिकित्सकमध्ये एक जना मात्रै कार्यरत हुनुहुन्थ्यो । कार्यरत डा सन्देश पौडेल जेठ मसान्तमा हिँडेपछि अत्यावश्यक सेवा पनि ठप्प भएको हो । “अहिले डाक्टर नभएर शव परीक्षण सेवा पनि प्रभावित भएको छ”, स्थानीय देवी थापाले भन्नुभयो, “सदरमुकाम पुगेर शव परीक्षण गर्नु पर्दा मृतकका परिवारलाई सास्ती हुन्छ ।” डा पौडेल छात्रवृत्ति कोटामा दुई वर्षका लािग गलकोट आउनुभएको थियो । सङ्घीयतापछि विभागले सोझै पठाउने गर्दा केही थाहा हुन छाडेको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । जिल्ला छाड्दा स्वास्थ्य कार्यालयमा बोधार्थ पनि नआएको घिमिरेले बताउनुभयो । स्वास्थ्य सेवा विभागले खटाउँदा पनि कार्यालयमा जानकारी नदिएकाले दरबन्दीबारे जानकारी पाउनै छाडेको घिमिरेको अनुभव छ । केन्द्रमा दैनिक ५० देखि ६० बिरामी आउने गर्छन् । केन्द्रमा गलकोट नगर अस्पतालसमेत राख्ने गरी निर्णय भएको थियो । वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पवन हमालले जनशक्तीबारे खोजी गर्ने बताउनुभयो । हमाल तीन दिनअघि अस्पतालको अध्यक्ष चुनिनुभएको हो । गलकोट नगर अस्पताल बन्नका लागि १५ शय्या, एक जना मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मीको दरबन्दी चाहिने व्यवस्था छ । केन्द्रको भवन अझै हस्तान्तरण भएको छैन । जेनेरेटर छैन । विद्युत् आपूर्ति बन्द भएपछि सबै सेवा अवरुद्ध हुन्छ । “हामीले अस्पताल र स्वास्थ्य केन्द्र कुनैपनि सेवा पाउन सकेका छैनौँ”, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले भन्नुभयोे,“अस्पताल चलाउन पहल गरिरहेका छौँ मन्त्रालयलाई ओएनएम सर्भे गरिदिन आग्रह गरेका छौँ ।’ मन्त्रालयका प्राविधिक आएर संभाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ हो । गुरौले भन्नुभयो, “सर्भे नभएकोले घोषणा भएका सबै नगर अस्पताल कागजमै सीमित छन् ।” ओएनएम सर्भेको प्रतिवेदन स्वीकृत नभएसम्म दरबन्दी नपाइने गुरौले बताउनुभयो । अस्पतालको मान्यता पाएपछि मात्रै यहाँ २४ घण्टे सेवा सञ्चालन गर्न सकिन्छ ।(
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बन्दुक भन्दा पत्रकारको कलमको कलम बलियो हुने बताएका छन् । फोनिज कास्कीले आयोजना गरेको कर्म– कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०७९ अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । गुरुङले कहिकतै बन्दुकको निशानामा एकजना मात्र पर्ने बताउदै पत्रकारहरुको कलमले निमले हजारौलाई निशाना लगाउन सक्ने धारणा राखे । उनले मुलुकको विकासमा पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताए । उनले फोनिजमा आवद्ध पत्रकारहरुले आफ्नो कला, संस्कृति तथा ऐतिहासिक महत्व बोकेको सम्पदाको पक्षमा कलम चलाउन आग्रह गरे । प्रदेश प्रमुख गुुरुङले विश्वको राजनैतिक, सामाजिक, आर्थिक जस्ता परिवर्तनमा पत्रकारको कलमको अहम् भुमिका रहेको बताएका थिए । त्यस्तै पोखरा महानगरपािलकाका उपप्रमुख मञ्जुदेवी गुरूङले आदिवासी जनजातिको क्षेत्रमा फोनिज कास्कीले विभिन्न कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने धारणा राखिन् । पुरस्कार ग्रहणपश्चात बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्र श्रीसमगरले आदिवासी जनजातिहरूको मौलिक संस्कारको जर्गेना गर्नुसबैको कर्तव्य रहेको भन्दै आफ्ना कला, संस्कृतिलाई समेत कर्म बनाएर कलम चलाउदा आनन्दको महसुस गर्नेगरेको बताए । यसैगरि पुरस्कारदाता समाजसेवी कर्म गुरुङले आफुले स्थापना गरेको पुरस्कारले आदिवासी जनजातिको पक्षमा खटिने र कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्न पाइरहेको बताउदै पुरस्कृत पत्रकारहरूको थप हौसला बढ्ने विश्वास व्यक्त गरेकी थिइन् । श्रीसमगरलाई कर्म–कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार सोही कार्यक्रममा ‘कर्म –कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रूद्र श्रीसमगरलाई प्रदान गरिएको छ । तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङद्वारा वैवाहिक वर्षगांठको अवसरमा स्थापित आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा प्रदान गर्दै आइएको पुरस्कार पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै श्रीसमगरलाई सो अर्पण गरिएको हो । उक्त पुरस्कार गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरूङ, पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवि गुरूङ, पुरस्कार स्थापिका कर्मा गुरुङ, र फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले संयुक्त रुपमा १० हजार रुपैयाँ नगद सहित गुरूङ जातिको पहिचान झल्काउने भांग्रा र सम्मानपत्र प्रदान गरे । सोही अवसरमा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित फोनिज, कास्की शाखाकी संस्थापक कोषाध्यक्ष समेत रहनुुभएकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादी गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित पूर्व कार्यसमिति सदस्य देवीजङ्ग गुरुङलाई भांग्रा, खादा र सम्मानपत्रले सम्मान तथा बधाई ज्ञापन समेत गरिएको थियो । यस पुरस्कारबाट यसअघि, रीता गुरुङ, तिलक पुन, उदयबहादुर अमात्य, राजबहादुर गुरुङ, शान्ति गुरुङ, हुमबहादुर गुरुङ, एमबी आस्था मगर पुरस्कृत भइसकेका छन् । फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन फोनिज कास्कीका सचिव सुशील श्रेष्ठले गरेका थिए ।
काठमाडौं: बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि आक्रमण गरेर घाइते बनाएको अभियोगमा एक ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटा पाख्रिबास घर भई गोकर्णेश्वर(६ बस्ने बर्ष ४८ वर्षीय सुवास घिसिङ (सुन मुन्द्रे) रहेका छन्। घिसिङले सोमबार गोकर्णेश्वर ६ नयाँबस्तीस्थित एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै फोहोर अनुगमनमा निस्केका बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर घाइते बनाएका थिए। श्रेष्ठको अहिले उपचार भइरहेको छ। अनुगमनका क्रममा ठेकेदार घिसिङले फोहोरको विषयलाई लिएर विवाद गरी एक्कासी श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरकाअनुसार तत्कालै प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरी टोलीले घिसिङलाई नियन्त्रणमा लिइएको थियो। घिसिङलाई मुलुकी अपराध (सहिंता) ऐनअन्तर्गत ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। बागमती सभ्यताका कर्मचारीमाथि भएको घटनाको चौतर्फी विरोध भइरहेको छ।
काठमाडौं: भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भृकुटीमण्डपमा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसरले बताए । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।
काठमाण्डौँ: नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको महाधिवेशन अगामी साउन ६ र ७ बागमती प्रदेश राजधानी हेटौँडामा आयोजना हुँदैछ । उहाँ युनियनको कार्यसमितिको कोषाध्यक्ष हुनुहुन्छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले विभिन्न कार्ययोजनाका साथ आफूले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । ती कार्ययोजनामा पत्रकारको पेसागत सुरक्षा र श्रमको मूल्य, पेशागत दक्षता, सीप, विकास र क्षमता अभिवृद्धि, मर्यादित र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, मिडिया मैत्री कानुन निर्माणका लागि निरन्तर पैरवी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र विस्तार छन् । उहाँले भन्नुभयो, “म प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । श्रमजीवी पत्रकारको साझा संस्था युनियनको गरिमालाई अझ माथि उठाउनका लागि मेरो अध्यक्ष पदमा उम्मेदवारी हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, युनियनको निर्धारित समयमा महाधिवेशन, युनियनको सचिवालय चुस्त बनाउनेछु । पत्रकारको व्यावसायिक दक्षता बढाउनेछु ।” आफू सधैँ श्रमजीवी पत्रकारका साथमा रहेको उल्लेख गर्दै उहाँले यसका लागि कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले यसअघि नेपाली कांग्रेस ‘बिट’मा काम गरिरहेको क्रियाशील पत्रकार, विभिन्न सञ्चारमाध्यमका सम्पादक, युनियनका जिल्ला अध्यक्ष तथा केन्द्रीय पार्षदहरुसँग राय तथा सुझाव लिनुभएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आन्दोलनमा सक्रिय उहाँ विसं २०५८ देखि विभिन्न सञ्चारमाध्यममा आबद्ध रही पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।