पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

   बाजुरा:  जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ ।       बूढीनन्दा–२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेनी राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुवै महिलालाई लामो समयदेखि सुत्केरी व्यथा लागेको भए पनि जिल्लामा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा सुविधासम्पन्न अस्पतालमा उद्धार गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।       राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका दर्जनौँ गर्भवतीको उद्धार गरिएको छ । उक्त कार्यक्रम दुर्गम तथा विकट जिल्लाका लागि प्रभावकारी बन्दै गएको छ । 

  काठमाडौं:   जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ ।       नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “कामको व्यस्तताले गर्दा पत्रकारले यस पत्र बनाउन नभ्याएसँगै हामीहरुले उहाँहरुको समस्यालाई मध्यनजर गरी यस कामको सुविधा दिन लागेका हौँ ।” सो सेवा सदस्यहरुले पाएसँगै सम्बन्धित कार्यालयमा हुने दैनिक चाप र घण्टौँ बस्नुपर्ने लाइनको समस्याबाट पत्रकारहरु मुक्त हुने उहाँको बुझाइ छ ।      सो परिचयपत्र बनाउन आउँदा हरेक पत्रकारले अनलाइन फारम भरेको विवरणको प्रिन्ट तथा विवाहिताको हकमा सक्कल विवाह दर्ता गरेको प्रमाणपत्र एवं सक्कल नागरिकता र अविवाहिताले भने सक्कल नागरिकता अनिवार्य लिएर आउन सचिव कार्कीले आग्रह गर्नुभएको छ ।

  झापा:   झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।   गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।   उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो । 

  काठमाडौँ:   प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ ।  कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ ।”   कल्की अवतारपछि कलि युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ । पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका लागि कल्की अवतार प्रकट हुन्छ ।    ‘सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मनः भवने विष्णुयशसः कल्कि प्रादुर्भविष्यति ।।’ अर्थात् – सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान् कल्कीको जन्म हुनेछ । भगवान् कल्की देवदत्त नामको घोडा चढेर सवारी भई आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने मान्यता छ । त्यसपछि सत्य युगको प्रारम्भ हुने विश्वास गरिएको छ । कल्की अवतार कलि युगको अन्त्यका लागि हुने मान्यता छ । कल्की भगवान्को कथा कल्की, अग्निलगायत पुराणमा उल्लेख गरिएको छ ।

  पोखरा ।  गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गरेका हुन् ।   उद्घाटनपछि मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने,‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’   मिडियाको क्षेत्रमा टिकिरहन सजिलो नभएपनि निखारिएका व्यक्तिहरु पब्लिक टिभीसँग जोडिएकाले आफ्नो कर्ममा सफल हुने मन्त्री थापाको भनाइ थियो । उनले समाजमा लुकेर रहेका विषयको उजागर गर्न शुुभकामना दिए । ‘यसले पोखरामा एउटा उत्कृष्ट मिडियाको पहिचान बनाउन सकोस्,’ उनले भने, ‘समाजमा देखिएका, नदेखिएका विकृति, विसंगतिलाई उजागर गर्न र जनताहरुको आवाज बोल्न सक्ने बनोस् ।’    टिभीका निर्देशक रुद्रप्रसाद अर्यालले प्रविधिले लगातार फड्को मारिरहँदा अवस्थामा पछिल्लो  प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको बताए । मिडिया क्षेत्रमा लामो अनुुभव र दक्षता हासिल गरिसकेका अनुुभवी जनशक्तिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाए । ‘यस टेलिभिजन समाचार, मनोरञ्जनको माध्यममात्रै नभई सूचना सम्प्रेषण, जनता र सरकारबीच पुलको काम गर्ने र आवाजविहीनको आवाज बोल्ने वाहकको रुपमा यसलाई विकास गर्नेछौंं,’ उनले भने ।   टिभीका प्रबन्ध निर्देशक मन क्षेत्रीले वर्षौ अघि देखेको सपना टिभीको परीक्षण प्रसारण सुरु भएसँगै पूरा हुने बाटोमा पुुगेको बताए । उनले बार्दली मिडियाले ५ वर्ष अघिबाटै टिभीका लागि योजना बनाइरहेको सुनाए । उनले भने, ‘यसलाई हामी आजको आवश्यकता बमोजिम कन्टेन्टबेस बनाएर अघि बढ्छौं ।’ निकट भविश्यमा अनलाइन पोर्टल पनि सुरु गर्ने र टिभीलाई अहिलेका सबै सामाजिक सञ्जाल एक साथ हेर्न मिल्ने बनाइने क्षेत्रीले बताए ।    नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले पत्रकारितामा विकृति देखिएको समयमा पब्लिक टिभीबाट व्यावसायिक पत्रकारिता प्रदर्शन हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलबाट सुरु भएपनि पब्लिकले केन्द्रीय स्तरको परिचय दिने र आफैं केन्द्र हुने शुभेच्छा प्रकट गरे । पब्लिक टिभीका समाचार प्रमुख अमृत सुवेदीले मिडियाको संख्या बढाउन नभइ जनताको आवाज बोल्ने र सत्यतथ्य खबरको उजागरसहित पत्रकारिकताको मर्म अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।    

  पोखरा  ।  आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ।   पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्।   खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्।   वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएरआफै अग्रसर भएपछि राम बजारका स्थानीयवासी  नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइ भएको नेतृत्वको संज्ञा दिएका छन्।    अध्यक्ष बानियाँ र सदस्य आशिष भण्डारी हालैको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।

पोखरा ।   गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक भएको छ । पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फस्ट लुक र टिजर सार्वजनिक गरिएको हो ।   ओम चित्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको टिजर सार्वजनिक गर्दै लेखक तथा निर्देशक विवेक गुरुङले ‘एउटा चित्र’ सस्पेन्स चलचित्र भएको उल्लेख गरे । ‘एउटा चित्र सस्पेन्स मुभी हो । बनिरहेका गुरुङ चलचित्र भन्दा केही फरक बनाएका छौं । पुरानो धार भन्दा फरक पाउनुहुनेछ ।’, उनले भने    उनले चलचित्रको छायाँकन पोखरा, गोरखा जिल्लाको बारपाक गाउँ, माम्चे डाँडा साथै इलाममा गरिएको जानकारी गराए । ४० लाखको लगानीमा निर्माण भएको चलचित्रमा नायकको भूमिकामा नविन गुरुङ, ओम गुरुङ रहेका छन् भने नायिकाको भूमिकामा उर्मिला गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ ।  सुसन गुरुङ, कुशल गुरुङ, आशिष गुरुङ र एसटी पुन लगायतले समेत अभिनयमा साथ दिएका छन् । चलचित्रमा मिना गुरुङ, शान्ती गुरुङ(युके),रोशन घले गुरुङ(एच के), खेम गुरुङ(एच के),गंगा देवि गुरुङ(पोखरा), कौशिला गुरुङ(जापान) को संयुक्त लगानी रहेको छ ।   चलचित्रका नायक नबिन गुरुङले आफु एक चित्रकारको भूमिकामा देखिएको बताए । उनी‘एउटा चित्र’ बाट आशावादी देखिन्छन् । चलचित्रको कथा फरक भएकाले आफु अनुबन्धित भएको भनाई उनको छ ।   नायिका उर्मिला गुरुङ चलचित्रमा एक विवाहित महिलाको भूमिका देखिएकी छिन् । यसअघि ५ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी उर्मिला पहिलो पटक विवाहित महिलाको भूमिकामा देखिएकी हुन् । चलचित्र मार्फत विवाहित महिलाको जीवनका विषयमा बुझ्ने अवसर मिलेको उनले बताइन् ।   नायक ओम गुरुङ भने एक प्रसिद्ध व्यवसायिका रुपमा देखिएको निर्देशक विवेक गुरुङले जानकारी गराए । नायिक अञ्जु गुरुङ भने फोटोग्राफरको भूमिकामा अभिनय गरेकी छिन् ।   कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले गुरुङ चलचित्रको इतिहासमा नयाँ थालनी भएको बताए । उनले गुरुङ चलचित्रलाई प्राविधिक रुपमा समेत माथि उठाउन आवश्यक रहेको बताए । ‘एउटा चित्र’ मार्फत गुरुङ चलचित्रमा परिवर्तन आउने भनाई उनको छ ।     चलचित्रको छायाँकन तथा सम्पादन निकोलस गुरुङले गरेका हुन् । चलचित्रमा संगीत मविन्द्र राई, विकास चौधरीले भरेका हुन् । चलचित्रका गीतलाई प्रताप दास, मविन्द्र राई, अस्मिता अधिकारी र ममता गुरुङले गाएका हुन् । सुदीप जंग थापा र मविन्द्र राईको गीतलाई चलचित्रमा समावेश गरिएको छ । विनोद रसाईलीको पाश्र्व संगीत रहेको चलचित्रको पोस्ट प्रोडक्सन ‘चङ्गा प्रोडक्सन’ ले गरेको हो ।

  पोखरा ।  पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले डुबानमा परेको कमलपोखरीका बासिन्दालाई नआत्तिन आग्रह गरेका छन् ।  उनले बिस्तारै पानीको सतह कम भएको बताउदै स्थानीयलाई नआत्तिन आग्रह गरेका हुन् ।    करिब सय बढि घर डुबानमा परेपछि स्थानीयको दैनिकीमा प्रभाव परेको बताउँदै निकासको लागि पहल गरिरहेको उनले बताए । ‘हामीले निरन्तर जाली सफा गरिरहेका छौ, उनले सुनगाभा न्यूजसँग भने,  ‘अहिले पानीको सतह केही कम भएको छ । आत्तिनु पर्ने कुनै अवस्था छैन ।’     सो क्षेत्र डुबानमा परेपछि संभावित जोखिम न्यूनिकरण गर्न बराल नेतृत्वको टोलीले स्थलगत अवलोकन गर्दै आएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।    वडाध्यक्ष बरालका अनुसार सो क्षेत्र बर्षेनी डुबानमा पर्दै आएको छ । बर्षेनी डुबानमा परेपनि सो सिमसार क्षेत्रमा नयाँ घर भने धमाधम निर्माण हुदैं आएको छ । सरोकारवाला तथा सरकारी निकायले उक्त क्षेत्रलाई डुबानबाट जोगाउन आवश्यक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ ।

  सुर्खेत ।    कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका १०९ वटा विद्यालयमा नर्स राखेर यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका १० वटा विद्यालय रहेका छन् । दैलेखको नारायण नगरपालिकाका १०, कालिकोटको खाँडाचक्र नगरपालिकाका १० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका ५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका ४ वटा विद्यालय रहेका छन् ।   त्यस्तै, सल्यानको शारदा नगरपालिकाका १० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाक १४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गर्नुभएको थियो ।