धनुषा:    मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गर...

काठमाण्डौँ:   सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएकोे हो ।   यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।   यसअघि ६०० अमेरिकी डलरभन्दा महँगा फोन आयातमा रोक लगाइएकामा त्यसलाई खुकुलो बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका फोन आयातमा रोक लगाइएको छ । यसैगरी यसअघि २५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।

काठमाण्डौँ|:   राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधिकरण गर्ने सन्दर्भमा श्रव्य दृश्य (भिडियो) सेवा सुरु गरिएको बताउनुभएको छ ।   राससले आजदेखि सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देशमा अध्यक्ष झाले भन्नुभयो, “हाम्रा सेवाहरू देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन्, समय र प्रविधिको विकासँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ, राससको स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गर्दैछौँ, सबैको सुझाव र सहयोगको अपेक्षा राखेका छौँ ।”   उहाँले विश्वका समाचार एजेन्सीहरूसँग राससले पनि सँगसँगै हिँड्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै रासस नेपालको मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको जानकारी दिनुभयो । “राससलाई जनताको सूचनाको संवाहक बनाउन आम दर्शक, स्रोताको महत्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु”, अध्यक्ष झाले भन्नुभयो ।    उहाँले राससले आफ्ना सेवाहरूलाई विविधिकरण गर्दै लैजाने क्रममा श्रव्य दृश्य सेवाको पनि सुरुआत गर्न लागेकामा राससका समग्र पत्रकार एवं कर्मचारी र समग्र सेवाग्राहीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो । 

काठमाण्डौँ:    राष्ट्रिय समाचार समिति(रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।   कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राति नै पक्राउ परेका हुन् । उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।   कार्यालय परिसरभित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीले समाचारदाता आचार्यलाई कुटपिट गरी दुव्र्यवहार गरेका थिए । उहाँको हातमा चोट लागेको छ भने कपडासमेत च्यातिदिएका थिए । समूह नै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उहाँले बताउनुभयो । समाचारदाता आचार्यलाई ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए । उहाँलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए । 

  काठमाडौँ:     काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदामघरमा आगलागी भएको चार दिन बित्यो । तर आगलागीका कारण र क्षतिका विवरण यकिन हुन सकेको छैन । आगलागी बुधबार दिउँसो भएको थियो । बुधबार आगलागी नियन्त्रणमा आएको पनि थियो तर बिहीबार फेरि सोही स्थानमा आगलागी भएको थियो ।   समाज कल्याण परिषद् स्थापना हुँदा अर्थात् २०४३ देखिका महत्वपूर्ण दस्तावेज, विभिन्न दातृनिकायसँग गरिएका सम्झौता र समझदारीका फाइल, विभिन्न ऐतिहासिक मठमन्दिरमा भएका सुन–चाँदीका गरगहनाका विवरणयुक्त कागजात र ऐतिहासिक पुस्तक र फर्निचर जलेर नष्ट भएका छन् । त्यस्ता वस्तुका क्षतिलाई मूल्यमा आँकलन गर्नै नसकिने सरोकारवालाहरू बताउँछन् ।    ती दस्तावेज लैनचौरस्थित परिषद्को कार्यालय उपराष्ट्रपतिको कार्यालय र निवासका लागि लिइएपछि परिषद्को कार्यालय ललितपुरको पुल्चोकस्थित पुरानो बालपरिषद्को साँघुरो स्थानमा सार्नुपरेको थियो । २०७५ मङ्सिरमा परिषद्को कार्यालय त्यहाँ सार्दा सबै दस्तावेज त्यहाँ राख्ने ठाउँ नभएपछि ‘केही समयका लागि’ भनेर भृकुटीमण्डपको सोही गोदाममा राखिएको थियो ।    ‘केही समयका लागि’ भनेर तत्कालीन व्यवस्थापन गरिएका दस्तावेज तीन वर्षभन्दा बढी समय पनि स्थायी रूपमा सुरक्षित व्यवस्थापन भएन । जसकारण आगलागी हुँदा ती ज्यादै महत्वपूर्ण दस्तावेज जलेर नष्ट भए । तर कति के–के जलेर नष्ट भए भन्ने यकिन छैन ।   समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्ट आगलागीबाट भएको क्षतिको विस्तृृत विवरण सङ्कलन भइरहेको बताउनुहुन्छ । परिषद्मा दरबन्दीभन्दा करिब आधामात्र जनशक्ति रहेको भन्दै उहाँले परिषद्सँग जोडिएका विभिन्न सङ्घ संस्थाका कागजातसमेत भिडाएर यकिन गर्नुपर्ने भएकाले केही बढी समय लागेको बताउनुभयो । उहाँले आफूहरू त्यसको मुचुल्का बनाएर विस्तृत विवरण तयार पार्नेक्रममा रहेको र केही दिनमै सार्वजनिक गर्ने बताउनुभयो ।    आगलागी भएको चार दिन बित्दा पनि के–कति क्षति भएको भनेर मुचुल्कासमेत तयार हुन नसक्दा अगालागीका कारण खोजी गर्ने कार्यमा पनि ढिलाइ भएको छ । कुनै विद्युतीय लाइन नजोडिएको गोदामघरमा मध्यबर्खाको समयमा भएको आगलागी कतै सुनियोजित त होइन भन्ने शङ्का पनि गर्न थालिएको छ । प्रहरी प्रशासनले पनि मुचुल्का नउठेका कारण त्यसमा कुनै किसिमको छानबिन अगाडि बढाएको छैन ।   महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले क्षतिका विवरण परिषद्ले नै यकिन गर्न नसकेकाले मुचुल्का बनाउने र थप छानबिन गर्ने कार्य नभएको बताउनुभयो । आगलागी कतै सुनियोजित त होइन भन्ने प्रश्नमा सदस्य–सचिव भट्ट भन्नुहुन्छ, “आगलागी भइसकेपछि यस्ता शङ्का स्वाभाविक हुन् । दस्तावेज नष्ट हुँदा कसलाई के फाइदा हुन सक्छ भन्ने विषयमा हामी पनि अनुसन्धान गरिरहेका छौँ ।” बुधबार नियन्त्रणमा आएको भनिएको आगो बिहीबार फेरि फैलेको कुरालाई पनि शङ्काका रूपमा हेरिएको छ ।     आगलागी हुँदा परिषद्का दस्तावेजमात्र होइन, त्यही गोदाममा राखिएका राष्ट्रिय अपाङ्ग कोषका अरू सामग्री पनि जलेर नष्ट भएका छन् । तिनमा कोषलाई विभिन्न दातृनिकायले सहयोगस्वरूप उपलब्ध गराएका अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्न राखिएका ह्विलचेयर, वाकर, कृत्रिम हात–खुट्टा, बेल्ट, सेतो छडीलगायतका अपाङ्गता सहयोगी सामग्री छन् । कोषका सभापति बेकराज भट्टराईका अनुसार कोषले त्यहाँ भण्डारण गरेका करिब पाँच लाख मूल्यबराबरका सामग्री जलेर नष्ट भएका छन् ।

खोटाङ:   दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित दिक्तेल डोजोले प्रथम भएको हो ।   जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा छ स्वर्ण, आठ रजत र १५ कास्यसहित हलेसी डोजो दोस्रो भएको छ । यस्तै तीन स्वर्ण, तीन रतज र १६ कास्य पदकसहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।   कूल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगिताका वितेजालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।    प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष अनुशासित खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेया राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।    प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी विचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो ।    कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्लास्तरीय प्रतियोगिता यसपल्ट आयोजना गरिएको आयोजकले जनाएको छ । विसं २०७७ चैतमा १२औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

  काठमाण्डौँ:     दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् ।  जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास,  गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् ।   खासगरी पर्वते मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि आज एकाबिहानै बस्ती–बस्तीबाट युवायुवतीको समूह ती वनस्पतिको खोजमा वन क्षेत्र पसेका छन् । पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, बिन, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवा पनि सरिक देखिएका छन् । एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आफूहरु लुतो फाल्ने पर्व मनाउने साथीहरूसँगै रमाइलोमा मिसिएको भङ्गाहा–४ का बासिन्दा २० वर्षीय इस्लाम धर्मावलम्बी युवा अमिरुल राइन बताउनुहुन्छ ।   “समूहमा एकसाथ हिँड्दा रमाइलो लाग्छ, फेरि हाम्रा पुराना परम्परा जगाइराख्ने पनि त भयो”, बर्दिबास–७ मनहरिपुरकी २२ वर्षीया मीना खत्री भन्नुहुन्छ, “बस्तीका एक उमेरका साथीबीचको हेलमेलले संस्कृति थेग्ने कुरामात्र नभई सामाजिक काम पनि सहज बन्छन् ।”   आफ्ना  बस्तीमा नयाँ युवापुस्तामा  हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुसी देखिएका छन् । तराईमा मनाइने छठ, चौरचन र जुडशीतललगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरइद र मुहर्रमजस्ता पर्वमा  पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वहरूमा मधेसी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ का सामाजिक, राजनीतिक कार्यकर्ता गङ्गाराम महतो बताउनुहुन्छ ।   “हामी उमेरदारी तन्नेरी हुँदा ‘लुतो फाल्ने’ चलन त्यति थिएन, पहाडी मूलका हिन्दूको बसोबास बढेपछि थाहा पायौँ”, उहाँ भन्नुहुन्छ, “अहिले हाम्रा छोरा पुस्ता सँगसँगै यो पर्व मनाउँदै छन्, सबै एकसाथ मिलेको देख्दा खुसी लाग्छ ।” जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरू अब  सबैका साझा बन्दै गरेका देखिन्छन् । फरक–फरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमछिमले पुराना राजनीतिक आग्रह र पहाडी मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण  हराउँदै, मेटिँदै जाँदा खुसी लाग्ने गरेको बर्दिबास–९ पशुपतिनगरका पाका व्यक्तित्व ७० वर्षीय रामचन्द्र महतोको धारणा छ ।   पर्वका अवसरमा आज जिल्लाको सुदूर उत्तरी क्षेत्रको सघन वनक्षेत्रमा विभिन्न ठाउँका युवाको समूह ‘लुतो फाल्ने’ पर्व प्रयोजनका वनस्पति खोज्न व्यस्त छन् । साँझमा ‘लुतो फाल्ने’ विधिको परम्परा अति नै रमाइलो लाग्ने हुँदा पर्वते मूलका साथीसँगै मिसिएर आफु पनि वनस्पति खोज्न आएको वन क्षेत्रमा भेटिएका गौशाला नगरपालिका–१ का १७ वर्षीय किशोर पङ्कज साह बताउनुहुन्छ ।   जिल्लाको उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ । जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरूपमै मनाउने गरेका छन् । मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई बोलाएर ख्वाउने परम्परा छ । बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन् ।   फरक–फरक परम्परा, संस्कृति र रीतिथितिका भए पनि एक ठाउँमा बस्ने युवा र किशोरवयका छोराछोरीको आपसी घुलमिल देख्दा बाबु, काका पनि मख्ख देखिन्छन् । “यहाँ मधेसी हउन् कि पहाडी मूलका हुन्, अनि हिन्दू हउन् कि इस्लाम, सबै सँगसँगै चाडवाड मनाउँछन्”, भङ्गाहा–४ कै इस्लाम धर्मावलम्बी ५० वर्षीय सहबुल अन्सारी भन्नुहुन्छ , “आफ्नो बस्तीका पछिल्ला पुस्ताका युवा र किशोरबीचको प्रेम र आपसी हेलमेल देख्दा मन प्रशन्न हुन्छ ।”   पर्व मनाउने नेपाली परम्परा अति नै सहिष्णु र सहकार्यमा आधारित भएको बुद्धिजीवीको ठहर छ । फरक–फरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमूना नै रहेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोबहादुर ठकुरी बताउनुहुन्छ ।

काठमाण्डोैँ:     चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ । आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।     प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ:    नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन ।    हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा राखेको छ । नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको विज्ञको धारणा छ ।      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धीसागर लामिछानेले नेपालको हवाई सुरक्षा दर विश्वस्तरको भएकाले अब पनि उडान सुरक्षासूचीमा राखिरहनुको तुक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विश्लेषणमा इयुले उडान सुरक्षा सूचीमा राख्नुपर्ने कुनै तर्क भेटेका छैनौँ, उडान सुरक्षा सुधारमा हामीले गर्नुपर्ने काम गरेका छौँ र गरिहन्छौँ, त्यसकारण इयुले सुरक्षा सूचिमा राखिरहनुपर्ने आवश्यकता देखिँदैन ।”           मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव लामिछानेले नेपालको उडान सुरक्षा दर विश्वको औसतभन्दा माथि रहेकाले इयुको उडान सुरक्षा सूचीबाट नेपाल चाँडै हट्ने विश्वास व्यक्त गर्नुभयो ।      नेपालले हवाई सुरक्षामा गरेको प्रगतिलाई लिएर इयुसँग प्रतिबन्ध फुकुवाका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । आइकाओको हालैको अडिटले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ । उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७०।१ प्रतिशत अङ्क प्राप्त गरेको छ । जुन एशिया र विश्वको औसत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।     इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकामा सन् २०१७ जुलाईबाट हटाएको थियो ।     “इयुले किन सुरक्षा सूचीमा राख्यो यसको कुनै लजिक छैन, यो प्राविधिक विषय हो, खाली प्राविधिक पक्षमा प्रश्न र सुझाव दिनसक्छ, दुई वटा बनाउँ यो नबनाई असुरक्षित छ भन्ने कुनै तुक छैन, दुई संरचना बनाउने नबनाउने भन्ने कुरो मुलुकको आवश्यकताअनुसार हुन्छ, राज्यले चाहेमा दुई वा तीन वटा संरचना बनाउन सक्छ, यसमा हामी आत्तिनुपर्ने केही छैन, ढिलोचाँडो इयुले यसलाई हटाउनेछ”, मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो ।    युरोपेली आयोगले वर्षमा दुई पटक हवाई सुरक्षामा कमजोरी औँल्याउँदै त्यस्ता मुलुकलाई उडान सुरक्षा सूचीमा राख्ने गरेको छ । उक्त आयोगको बैठक वर्षमा दुई पटक बस्छ । आयोगको टेक्निकल कमिटीको सुझावमा पोलिटिकल कमिटीले डिसिजन गर्ने बताइन्छ ।      त्यस्तै सरकारले इयुको उडान प्रतिबन्ध फुकुवाका लागि बारम्बार पहल गरिरहेको छ । पर्यटन मन्त्रालयले आइकाओलगायतका अन्तर्राष्ट्रिय फोरम तथा नेपालस्थित युरोपियनलगायत मुलुकका राजदूतसँगको भेटमा उक्त विषयमा छलफल हुने गरेको छ । मन्त्रालयका सहसचिव लामिछानेले अन्तर्राष्ट्रिय फोरमका साथै नेपालका लागि युरोपेली सङ्घका राजदूतसहित विभिन्न मुलुकका कूटनीतिक क्षेत्रका व्यक्तिसँग इयुको उडान फुकुवा गर्नेबारे कुरा उठाउँदै आएको बताउनुभयो ।      “हामी (मन्त्रालय) ले इयुको उडान सुरक्षाबारे कुरा उठाउँदै आएका छौँ, इयु आफैँले विश्लेषण गरेर हटाउँछ भन्नेमा मन्त्रालय विश्वस्त छ, हामी हवाई सेफ्टीमा कुनै सम्झौता गर्दैनौ, बरु कुन क्षेत्रमा सुधार गर्नुपर्ने हो त्यो इयुले प्रष्ट भनिदिए सहज हुन्छ”, उहाँले भन्नुभयो ।      सहसचिव लामिछानेका अनुसार नेपालको नागरिक उड्डयन प्राधिकरणले एओसी जारी गरेका सबै वायुयानलाई युरोपका आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको छ । इयुसँगको सहकार्यमा नेपालसहित विश्वभरको हवाइसुरक्षा सुदृढीकरणमा मन्त्रालय, प्राधिकरण लागि राज्यको प्रतिबद्धता रहेको छ । विज्ञान र प्रविधिको परिवर्तन तथा मौसम अनुकूल सुधारका प्रक्रिया निरन्तर चलिरहने मन्त्रालयले जनाएको छ ।      नेपालले विभिन्न ४० मुलुकसँग द्विपक्षीय हवाइसेवा सम्झौता गरेको छ भने इयुसँग छुट्टै हवाई सम्झौता भएको छ । इयुको प्रमुख चासोमध्ये प्राधिकरण विभाजन गरी सेवा प्रदायक र नियामक बनाउनुपर्ने सुझावअनुरुप प्रधिकरण विभाजन विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेश हुने अवस्थामा छ ।      आइकाओ मापदण्डअनुरुप नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार भएको छ । राज्यले पनि यो क्षेत्रको सुरक्षा र सेवा सुदृढीकरणका लागि लगानी पनि बढाएको छ । “उडान सुरक्षा सम्बन्धमा प्रधानमन्त्री तहदेखि कार्यगत तहसम्म प्रतिबद्धता ‘डेडिकेसन’ छ, इयुले स्पष्ट गरिदिनुपर्छ कि कुन ठाउँमा टेक्निकल सुधार गर्नुपर्ने हो त्यो भनिदिनुप¥र्यो, राज्यको आवश्यकताअनुसार संथागत संरचना हुन्छ, यसमा अल्झने विषय हैन, सेफ्टी टेक्निकल विषय हो कुन ठाउँमा त्रुटि छन् क्षमताले भ्याएसम्म त्यसलाई सुधार्न हामी प्रतिबद्ध छौँ”, सहसचिव लामिछानेले भन्नुभयो ।      सुरक्षा चासो देखाएको इयुले नेपाली वायुयानलाई युरोपका आकाशमा उड्न प्रतिबन्द लगाएको थियो । आइकाओको उडान सुरक्षा अडिटको नतिजापश्चात् नेपाल सरकारले इयुलाई नेपाली वायुसेवालाई उक्त सूचीबाट हटाउन आग्रह गरिसकेको छ । इयुको एयर सेफ्टी सूचीमा रहेसम्म नेपालका कुनै पनि वायुयानले युरोपका आकासमा उडान गर्न पाउँदैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एसिया र युरोपका गन्तव्यमा उडान गर्ने योजनासहित पाँच वर्षअघि दुई थान वाइडबडी विमान भित्र्याएको भए पनि इयुको कालोसूचीबाट नहटेसम्म ती गन्तव्यमा उडान भर्न पाइँदैन ।

तनहुँ:    तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलीफर्म) भेटिएको छ । पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो ।       तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो । काठमाडौँमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाका खानेपानीका स्रोतको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिनुभयो ।             खानेपानीका मूल र स्रोतको नमूना परीक्षण गर्दा अधिकांश क्षेत्रको पानी पिउनयोग्य नरहेको पाइएको रानाभाटले बताउनुभयो । “अधिकांश मूल र धाराको पानी खान योग्य छैन, परीक्षण गर्दा इकोलीफर्म भेटियो”, उहाँले भन्नुभयो । जिल्लाका ७६ पानीको स्रोतको नमूना परीक्षण गरिएकामा ५१ स्रोतमा दिसामा पाइने जीवाणु भेटिएको हो ।       व्यास नगरपालिकामा १० नमूना परीक्षण गरिएकामा दुई स्रोतको मात्र पानी पिउनयोग्य पाइएको रानाभाटले जानकारी दिनुभयो । भानु नगरपालिकाको तीन नमूना परीक्षण गरिएकामा सबैमा इकोलीफर्म भेटिएको छ । आँबुखैरेनीमा पाँच ठाउँमा परीक्षण गरिएकामा तीनमा इकोलीफर्म भेटिएको छ । घिरिङको तीनवटै नमूना परीक्षणका क्रममा इकोलीफर्म पाइएको रानाभाटले जानकारी दिनुभयो ।       त्यसैगरी देवघाटमा नमूना परीक्षणका क्रममा पाँच   पिउनयोग्य रहेको पाइएको, बन्दीपुर गाउँपालिकाको पाँच वटामध्ये एउटा मुहानमा मात्रै योग्य र म्याग्देको सात नमूना परीक्षणमा दुई योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकाको ११ नमूना परीक्षणमा तीन स्रोत योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकामा वितरण गरिएका धाराको पानीमा जीवाणु भेटिएको उहाँले बताउनुभयो ।      त्यसैगरी ऋषिङ गाउँपालिकाको नमूना परीक्षणमा चार मूलको पानी पिउनयोग्य पाइएको छ । पहिलो चरणमा ससाना मूल, ट्याङ्की, धारा र इनारको पानीको नमूना परीक्षण गरिएको हो । नमूना परीक्षण गरिएका अधिकांश खानेपानीका स्रोत अयोग्य भेटिएको छ । ठूला खानेपानी आयोजनाको पनि छिट्टै नमूना परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पानीका स्रोतमा इकोलीफर्म देखिएका सम्बन्धित पालिकालाई जानकारीसहित खानेपानीको रिपोर्ट पठाइएको कार्यालयले जनाएको छ । पानीका मुहानको सरसफाइ गर्न, पानी शुद्धीकरण गर्न, तताएर, फिल्टर गरेर मात्रै पिउन सुझाव दिइएको छ ।     अस्पतालको पानी पनि पिउन अयोग्य         दमौली अस्पतालकै पानीको नमूना परीक्षण गर्दा इकोलीफर्म भेटिएको छ । अस्पतालको धारो र जमिनमुनिको पानी पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । दमौली अस्पतालको दुई स्रोतको पानीमा इकोलीफर्म भेटिएको छ ।