पोखरा । लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ । शनिबार बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि चिफ एडभाइजर धनीराम बराल, लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कार्यक्रम संयोजक जयराम तिमल्सिना, लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष राम कंडेलले संयुक्त रुपमा बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि धनीराम बरालले विश्वका विभिन्न २१४ राष्ट्रमा फैलिएको लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण काम भैरहेको बताउनुभयो । लायन्स क्लबमा आवद्ध सदस्यहरू धनका मात्र नभै मनका धनी रहेको उल्लेख गर्दै उहाँले लायन्सका माध्यमबाट गरिने कुनैपनि सहयोग आवश्यकताका आधारमा लक्षित बर्गमा पुग्नुपर्नेमा जोड दिनुभयो । लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले ज्येष्ठ नागरिक आश्रमहरूको दीर्घकालीन सञ्चालनमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । राधाकृष्ण बृद्धाश्रममा ज्येष्ठ नागरिकहलाई सम्मानपूर्वक सुखी र खुसी भएर बसेको पाइएको बताउँदै उहाँले संघ संस्थाका तर्फबाट गरिने सहयोगले यस्ता संस्थामा ठूलो राहत पुग्ने धारणा राख्नुभयो । कार्यक्रम संयोजक जयराम तिमल्सिनाले यो सांकेतिक सहयोग भएको बताउँदै आगामी दिनमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले लायन्स क्लबका तर्फबाट बृद्धाश्रमको सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै बृद्धाश्रममा प्राप्त कुल सहयोगको ६० देखि ६५ प्रतिशतसम्म लायन्सबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो । लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रथम उपाध्यक्ष कीर्तिबल्लभ त्रिपाठी, सचिव भीम आचार्य लगायतले बृद्धाश्रममा गरिने साना साना सहयोगले यहाँको सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १० देखि १६ भदौसम्म चल्नेछ् । प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरि गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ । नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि तिजगित प्रतियोगिता गर्दै आएको केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको अधिकारीले जानकारी दिए । केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णलाई आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न केन्द्रले शनिबार वडामा रहेका विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु, विभिन्न संघ संस्थाको सहभागीतामा वडा भेला समेत आयोजना गरेको थियो । भेलामा सहभागीहरुले मेलालाई सम्पन्न गर्न सवैले आ आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । भेलाका प्रमुख अतिथी पोखरा १ का वडा सदस्य रामजी पौडेलले मेला केन्द्रको आयोजनामा संचालन हुने भएपनि यसलाई सफल पार्न सम्पुर्ण वडाबासीको कतव्य रहेकाले सहयोग गर्न आग्रह गरेका थिए । मेलाको सफलता असफलता वडावासी संग जोडीएकाले सकेको सहयोग गर्न अनुरोध गदै वडा कार्यालयका तर्फबाट गर्नुपर्ने सवै सहयोग केन्द्रलाई गर्ने प्रतिवद्धता जनाएका थिए ।
गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ । आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
पोखरा: पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो । वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौँ लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्दथे । गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार व्यापार गर्ने समुदायको नियमित कारोबार संस्कृति नै बनेको पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बरालको ‘नुन व्यापार मार्गसँग जोडिएका कालीगण्डकी भोट बेंसी सम्बन्धहरू’ शीर्षकको अनुसन्धानमा भनिएको छ । अन्यत्रको नुन व्यापारमा हिमाली खम्पा जातिको सक्रियता भए पनि कालीगण्डकी करिडोरको नुन व्यापारमा थकाली जातिको सक्रियता देखिएको बताउँदै बरालले तत्कालीन नुन अर्थतन्त्रमा आधारित भोट र पहाड बीचको सम्पर्क दूत थकाली जाति नै रहेको उल्लेख गर्नुभयो । ‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर बास्तविकता नै थियो । तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ । करिब दुई दशकअघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो । यातायातको पहुँच नभएका कारण नुन लिन हप्तौँ हिँडेर ल्याउनुपर्ने तत्कालीन बाध्यता अहिलेका पुस्तालाई भने एकादेशको कथाजस्तै बनेको कास्की भरतपोखरीका ९० वर्षीय तीलकराम पौडेल बताउनुहुन्छ । उहाँलाई सुरुसुरुमा मुस्ताङको लेतेसम्म पुगेर नुन ल्याएको अनुभव अझै पनि ताजै छ । ढिके नुनका रूपमा चिनिने हिमाली भेगमा पाइने नुन साल्टटे«डिङ कर्पोरेशनले आयोनुन बजारमा ल्याएसँगै छायाँमा परेको हो । हिमालपारिको जिल्ला मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुन खानी पछिल्ला वर्ष बन्द भएको छ । तीनताका नुन खानीकै कारण यहाँका धेरैले रोजगारीसमेत पाएका थिए । खानी बन्द भएसँगै रोजगारी त हटेको छ नै पैसा तिरेर महँगोमा नुन खानुपरेको स्थानीयवासीको गुनासो पनि छ । प्राचीन समयमा मुस्ताङको ढिके नुन देशका अधिकांश भागमा पुग्दथ्यो । बजारमा नुनको माग पूरा गर्न स्थानीयवासीलाई धौधौ थियो । नुन बेचेरै यहाँका स्थानीयवासीको जीविका चलेको थियो । पछिल्लो दशकमा नुन खानीको संरक्षणको साटो आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरिएको र केवल गाईभैँसीलाई मात्र खुवाउन थालिएपछि यहाँको नुनसँग जोडिएको मौलिकता नै ओझेलमा पारिएको स्थानीयवासीको दुखेसो छ । तत्कालीन समयमा कास्की, स्याङ्जालगायत आसपासका बासिन्दाले चामलसँग नुन साटेर लैजान्थे । अनुसन्धाता बरालका अनुसार तत्कालीन समयमा गण्डकी क्षेत्रका टुकुचे, दाना तातोपानी, तिप्ल्याङ, बीरेठाँटी मुख्य नुन व्यापार केन्द्रका रुपमा स्थापित बनेका थिए । टुकुचे यहाँको पुरानो भन्सार क्षेत्र हो । भोटका नुन व्यापारीले भण्डारण गर्ने र तल्लो पहाडकाले नुन खरिद गर्ने केन्द्र बजारका रुपमा यसले आफ्नो स्थान ओगटेको थियो । तत्कालीन थकाली सुब्बाको नुन ठेकेदारीमा पहुँच घटेसँगै भन्सार दानामा सरेपछि टुकुचेको नुन बजार सुस्ताएको बराल बताउनुहुन्छ । टुकुचेबाट सरेको नुन बजारको केन्द्र दाना तातोपानी हुँदै क्रमशः भुरुङ तातोपानीतर्फ सरेको उहाँले बताउनुभयो । विशेषतः ढाक्रेहरू र अन्य बटुवा तातेपानी कुण्डमा डुबेर भोटको चिसो फाल्ने मनसायले कुण्ड नजीकैका भट्टीमा बस्ने क्रमसँगै दानापछिको नुन बजार केन्द्रका रुपमा तातोपानी स्थान ओगटेको थियो । कास्की वीरेठाँटी आउने ढाक्रे र पश्चिम बेनी तथा कार्कीनेटा जाने ढाक्रेको सामूहिक जमघट हुने र छुट्टिने स्थान यहीँ भएकाले तुलनात्मकरुपमा यहाँ बढी चहलपहल हुने गर्दथ्यो । नुन व्यापारकै अर्को केन्द्रका रुपमा रहेको तिप्ल्याङ मुस्ताङ प्रवेशका लागि कठिन भिरमुनिको बस्तीका रुपमा परिचित छ । बाह्रगाउँ सेरिवका स्थानीयले आफूले स्थानीय खानीबाट किने, पाएको नुन र भोटका व्यापारीसँग साटेको नुनलाई चामल र अन्य खाद्यान्न तथा लत्ताकपडाका लागि विनिमय गर्न टुकुचे आउन नसकेका ढाक्रेलाई बढी मोलमा नुन बेच्न पाइने आशामा तिप्ल्याङसम्म ल्याएर बेच्ने गर्दथे । यसो गर्दा भन्सारको समस्या नपर्ने र डरलाग्दो भिरको बाटो हिँड्न नपर्ने भन्दै ढाक्रेलाई केही बढी मूल्यमा नुन चामल साटिन्थ्यो । तिप्ल्याङ बजारमा प्रायः बेनीतर्फको कालीगण्डकी तटीय पदमार्गका ढाक्रेको जमघट हुन्थ्यो । भारी बोक्नसक्ने आँट भएका र अझ सस्तोमा नुन ल्याउने नाइकेको साथ पाएका ढाक्रे भने अझ उपल्लो बस्तीतिर लम्कँदै टुकुचै नै आउथे । बरालका अनुसार नुन बजारको केन्द्रका रुपमा रहेको वीरेठाँटी तत्कालीन समयको ढाक्रे विश्राम बजारका रुपमा परिचित थियो । भोट जाँदा उल्लेरीको उकालो चढ्नु पहिले बास बस्ने थलो र नुन बोकी ल्याउँदा चन्द्रकोट लुम्लेको उकालो चढ्नुपर्ने तयारीका लागि विश्राम गर्ने थलोका रुपमा रहेका कारण यो आवतजावत गर्दा बास बस्ने गन्तव्यका रुपमा विकास भएको थियो । दुई दशकअघिसम्म मुस्ताङका स्थानीयवासीले त्यहाँको स्थानीय नुन नै प्रयोग गरे पनि पछिल्ला समयमा उत्पादन नै रोकिएपछि प्रशोधित नुन नै खाने गरेका छन् । मुस्ताङको नुन खानी रहेको तेताङका स्थानीयवासीले उक्त खानीबाट अझै पनि नुनको पानी ल्याएर खाने गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । नुनखानी हिमाली मौलिकतासमेत भएको र यसलाई जोगाउनका लागि मुस्ताङस्थित तेताङको नुनखानी सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेपनि त्यो सार्थक हुन सकेको छैन । सांसद तुलाचनका अनुसार अघिल्लो वर्ष नुन खानी सञ्चालनका लागि बोलपत्र आह्वान भए पनि कसैको पनि निवेदन परेन । विसं २०६० अघिसम्म स्थानीय शङ्करमान शेरचनले तेताङको नुन खानीबाट नुन निकाल्नु भएको भए पनि त्यसपछि भने उक्त नुन खानी बन्द रहेको छ । तत्कालीन समयमा शेरचनले वार्र्षिक ५० देखि ६० मुरीसम्म नुन उक्त खानीबाट निकाल्नुहुन्थ्यो । “उत्पादनको अवस्थासँगै खानी सञ्चालनका लागि लाइसेन्स आदि प्रकृयाका कारण पनि टेण्डर हुँदा पनि निवेदन पर्न सकेनन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रको प्राचीन मौलकता कायम राख्नका लागि नुन खानी सञ्चालनको जमर्को गरेका हौँ ।” मुस्ताङमा आउने पर्यटकलाई नुन खानीसम्म पुर्याउने र यहाँको कोसेलीका रूपमा किनेर लैजानसक्ने व्यवस्थाका लागि पनि सरकारले त्यसको सञ्चालनको सोच बढाएको हो । त्यसका लागि खानी तथा भूगर्भ विभाग र सम्बद्ध निकायका प्रतिनिधिसहितको प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन प्रतिवेदन बुझाएको थियो । सडकमार्गको पहुँच र नुन खानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सो प्रतिवेदनमा सुझाव दिइएको थियो । मुस्ताङको छुक्सङस्थित तेताङमा नुनखानीको पहाडै छ । मुस्ताङको नुन खानीबाट निकालिएको नुन चोखो हुने धार्मिक जनविश्वाससमेत छ । कुनै शुभसाइत वा जललाई चोखो बनाउन यहाँका नुन प्रयोग गर्ने गरिएको र वास्तुशास्त्रीय हिसाबले पनि यसको विशेष महत्व मानिने भएकाले घरको जगसाइतमा मुस्ताङी नुनको प्रयोग गर्ने प्रचलन छ । तत्कालीन समयमा नुनकै लागि प्रख्यात मुस्ताङमा अहिले भने पोखराबाट प्रशोधित नुन जाने गरेको छ । पोखरास्थित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालयबाट वार्षिक ८०० क्विन्टल नुन मुस्ताङका लागि जाने गरेको सो कार्यालयका प्रमुख वासुदेव उपाध्यायले जानकारी दिनुभयो । मुस्ताङको लागि साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा ल्याएको प्रशोधित भानु नामको नुन पठाउने गरेको छ । पछिल्ला समयमा चीनले सिल्क रोडका माध्यमबाट महादेशीय मुलुकलाई जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्गको पुरानो पहिचानलाई आधुनिक मार्गको जालोमा जोडने गरी रेशम मार्गको योजना अगाडि सारेका अवस्थामा यससँग जोडिएको नुन मार्ग पनि यतिखेर चासो र चर्चामा छ । पुरातत्व विभागले मुस्ताङको कोरला नाकाबाट कालीगण्डकी कोरिडोर हुँदै भएको प्राचीन नुन व्यापार मार्गमा उत्तर र दक्षिणका छिमेकीबीचको रेशम मार्गसँगको सम्बन्धबारे प्रमाण जुटाउन छलफल एवं अन्तक्र्रिया पनि थालेको छ । रेशम मार्गसँग नेपालको संलग्नतामा भोट–मधेसको नुन व्यापार मार्गका रूपमा परिचित लोमन्थाङ–लुम्बिनीसम्मको प्राचीन मार्गलाई पहिचान गरी यस मार्गमा पर्ने बस्ती, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको सुक्ष्म अध्ययन अन्वेषण थालेसँगै यसले महत्व पाएको हो । विगतमा भोटमा निर्भर भएको नुनको आपूर्ति स्रोत मुस्ताङी मार्गबाट हुने नुन तथा ऊनको व्यापार चक्र रोकिएसँगै दक्षिणका सामुन्द्रिक नुनमा भर पर्न प्रेरित बनेको देखिन्छ । नुनका लागि भोट जाने ढाक्रेहरुले भदौमा भोटतिर जाँदा उनीहरू बाटामा जडीबुटी सङ्कलन गर्दै जाने र बिक्री गरी त्यही पैसाले किनमेल गर्दा आर्थिक गतिविधि चलायमान बनेको थियो । तत्कालीन समयमा तिब्बतसँग जोडिएका विभिन्न क्षेत्रबाट नुन र ऊनको व्यापारका लागि विभिन्न मार्ग निर्माण भएको बताउँदै अनुसन्धाता बरालले यीमध्ये मुस्ताङ, रसुवाको केरुङ, उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यका प्रमुख रहेको बताउनुहुन्छ । यी क्षेत्रमा बसोबास गर्ने मानिस पहाडी र तराई क्षेत्रको अन्न भोटसम्म र भोटको नुन र उन नेपालका पहाडी र तराई क्षेत्रसम्म पु¥याउने उहाँले जानकारी दिनुभयो । नुन मार्गका ढाक्रेहरुलाई सुस्ताउने चौतारी, विश्राम गर्ने पाटी—पौवा, खोला तर्ने काठे साँघु निर्माण गर्ने र पानी खाने धारो बनाएर कृति राख्ने प्रचलन त्यसै समयदेखि सुरु भएको थियो । भोटबाट आयात हुने ढिके नुन र हिमाली क्षेत्रका नुन खानीबाट उत्पादित नुनले नेपालको नुन बजारको माग धानेकामा पछिल्ला समयमा देश पूर्णरुपमा नुनमा परनिर्भर बनेको छ । गलगाँडको प्रभाव आदिलाई देखाएर आयोडिन युक्त नुन प्रयोगका नाममा हाम्रो भोटसँगको साल्ट रोड तहसनहस पार्नुका साथै हिमाली जनजीवन, त्यससँग जोडिएका कथा र त्यहाँको अर्थतन्त्रलाई समेत परनिर्भर बनाइएको बरालको भनाइ छ ।
म्याग्दी : सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्याल् ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरुका कारण अहिले पनि आकर्षक र मनमोहक देखिन्छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटको शिरानमा रहेको गौश्वार गाउँमा मल्लकालीन वास्तुकलाका एक सय वर्षभन्दा बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन् । २०४५ सालसम्म मल्ल वंशीय ठकुरीहरुको बाहुल्य बसोबास रहेको यस गाउँ विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि यहाँका ठकुरीहरु बसाइँसराइ गर्ने र सहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् । घरहरु जीर्ण अवस्थामा पुगेका भए पनि मर्मत सम्हार र सुरक्षाको विषयमा कसैले चासो नदेखाएको स्थानीयले बताएका छन् । ती घरहरुको पुरानै शैलीमा मर्मत गरी प्रचारप्रसार गर्ने हो भने बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा आउने धेरै पर्यटकहरु यहाँ पुग्न सक्ने सम्भावना देखिएको स्थानीयवासी समेत रहनुभएका बेनी – २ का वडासदस्य चन्द्रकान्त रिजालले बताउनुभयो । उहाँका अनुसार सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका ती घरहरुमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् । गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घरहरु गौश्वारा गाउँका अनमोल सम्पदा भएकाले पनि तिनको सुरक्षा र मर्मतसम्हारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ । यी घरहरुको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ । तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ । यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणाहरुसँग यहाँका ठकुरीहरुको वैवाहिक सम्बन्ध गाँसिएको थियो । त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरुभन्दा मल्ल वंशीय ठकुरीहरुका घरहरु फरक शैलीमा निर्माण भएका मल्लले बताउनुभयो । त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरबम मल्लले यी घरहरुसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिनुभयो । “कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखरा लगायतका सहरहरुमा गइसके तर म भने पुर्खाको विरासतलाई संरक्षण गरेर बसेको छु”, उहाँले भन्नुभयो, “घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा हाम्रा पुर्खाको पसिनाको गन्ध र तत्कालीन काष्ठ कलाको आनन्द मिसिएको छ ।” ढुङ्गाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन् । गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन् । ऐतिहासिक महत्व र राणाकालीन विरासतले युक्त घरहरुको मर्मत र संरक्षण आवश्यक देखिएको छ । यस्ता पुरानो कला र सामग्रीहरुले निर्माण गरिएका घरहरु जिल्लामा अत्यन्त थोरै रहेका र यी घरहरुले भावी पुस्तालाई आफ्ना पूर्वजहरुको वास्तविकता र तत्कालीन समयको कला, संस्कृति र आवासीय पद्धतिलाई पनि बुझाउन सहयोग पुग्ने कला संस्कृतिका अभियन्ता प्रकाश श्रेष्ठले बताउनुभयो ।
बैतडी: बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार सात सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार नौ सय ४१ जनाले पूर्ण मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै पाटन नगरपालिकामा २० हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार नौ सय २९ जनाले पूर्ण खोप तथा १५ हजार नौ सय ११ जनाले बुस्टर डोज लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २३ हजार छ सय २१ जनाले खोपको पहिलो मात्रा, २३ हजार छ सय ४४ जनाले पूर्ण खोप र १३ हजार छ सय १२ जनाले बुस्टर डोज लगाएका छन् । यसैगरी मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूर्ण खोप र छ हजार दुई सय दुई जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार छ सय ८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार आठ सय ९६ जनाले खोपको पूर्ण मात्रा र आठ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार दुई सय ३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार नौ सय ४२ जनाले खोपको पूर्ण मात्रा र छ हजार आठ सय ९५ जनाले बुस्टर डोज लगाएका छन् । सुर्नया गाउँपालिकामा १० हजार तीन सय १२ जनाले खोपको पहिलो मात्रा, १० हजार आठ सय ८३ जनाले खोपको पूर्ण मात्रा र पाँच हजार आठ सय ९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार पाँच सय ५४ जनाले पूर्ण खोप र पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन् । यस्तै शिवनाथ गाउँपालिकामा आठ हजार आठ सय २७ जनाले खोपको पहिलो मात्रा, ११ हजार दुई सय ५१ जनाले पूर्ण खोेप र चार हजार नौ सय ९८ जनाले बुस्टर डोज लगाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार सात सय १९ जनाले पूर्ण खोप र दुई हजार छ सय २५ जनाले बुस्टर डोज लगाएका छन् । जिल्लामा हाल कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।
कैलाली: कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
मकवानपुर: हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । वडा नं ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । डेङ्गु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै सङ्क्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेको थियो ।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो । त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।