पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  रुपन्देही:  रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।            आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो । २०६७/६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो ।       यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनःबढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउनुहुन्छ । डेङ्गुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उहाँको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेङ्गु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेङ्गुको वस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रुप लिनसक्ने बताउनुभयो ।       “खोप छैन, त्यसैले जोखिम छ । घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ  । लामखुट्टेको टोकाइबाट बच्नुपर्छ”, उहाँले भन्नुभयो । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ । उपमहानगरका सबै वडामा डेङ्गु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो । अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उहाँको भनाइ छ ।      विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताउनुहुन्छ । यो एक सरुवा रोग भएकाले महामारीको रुप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ । यसको सङ्क्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा माँसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्छन् ।     एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुन्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र विरामी अझै कमजोर हुने गर्दछन् । तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेङ्गु भएको बुझ्नुपर्ने निरीक्षक शाह बताउनुहुन्छ । 

पर्सा ।  कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।             दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिनुभयो ।     “बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ”, उहाँले भन्नुभयो । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदै छ । कार्यालयले मधेस प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिने छ ।        रासायनिक मल  वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो । सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो । ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी हुँदै आएको छ ।      सबै मल आएपछि मधेस प्रदेशका लागि ३२ दशमलव ०२ प्रतिशत अर्थात् ०६४५ दशमलव चार मेट्रिक टन प्राप्त गर्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्र चौलागाँइले जानकारी दिनुभयो ।  ओमानबाट अहिले खरिद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेस प्रदेशमा आठ हजार पाँच सय मेट्रिक टन वितरण गरिने छ । पर्साका लागि भने आठ सय ५० मेट्रिक टन (१७ हजार बोरा) र बाराका लागि एक हजार मेट्रिक टन (२० हजार बोरा) युरिया वितरण गरिने छ । 

  गण्डकी । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ । आजभन्दा करिब डेढ दशक अघिसम्म समुद्री सतहबाट तीन हजार मिटर उचाइभन्दा माथि स्याउ नफल्ने गरेकामा अहिले भने झण्डै तीन हजार आठ सय मिटर उचाइको क्षेत्रसम्म स्याउ फल्न थालेपछि यहाँका स्थानीयवासी नै अचम्ममा परेका छन् ।     स्याउको उत्पादन र बेचबिखन नै मुख्य आयको स्रोत बनाउँदै आएका लेते र आसपासका स्थानीयका लागि भने आयआर्जनको नै विकल्प खोज्नुपर्ने अवस्था आएको छ । करिब दुई हजार पाँच सय मिटरको उचाइमा रहेको लेते र आसपासका क्षेत्रमा स्याउको विकल्पमा नासपाती, ओखर, खुर्पानी जस्ता फलफूल खेती विकल्पका रुपमा अघि बढाइएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।     पछिल्ला वर्षमा हिमाली क्षेत्रको माथिल्लो भागहरूमा स्याउ फल्न थालेको बताउँदै उहाँले करिब तीन हजार आठ सय मिटर उचाइको उपल्लो मुस्ताङको लोमन्थाङ र आसपासका क्षेत्रमा स्याउ खेती हुन थालेको बताउनुभयो ।   पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङ लगायतका स्थानमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि कृषकहरू पनि यसतर्फ आकर्षित बन्दै गएको मुक्तिनाथस्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो । “मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “पहिला पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेका छन् ।” पछिल्ला वर्षमा बर्सेनि बढिरहेको तापमान वृद्धिका कारण पनि स्याउ खेती माथिल्ला भेगतर्फ बढ्दै गएको हुन सक्ने उहाँको भनाइ छ ।   विगतमा पानी नपर्ने हिमाली बस्तीमा हिजोआज भने पानी पर्न थालेपछि वर्षौंदेखि बनेका माटाका संरचनाहरू जोखिममा पर्दै गएको उहाँले बताउनुभयो । बर्सेनि पानी नपर्ने ठाउँमा पानी पर्न थालेसँगै मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा निर्मित माटाका संरचना जोखिममा पर्दै गएको स्थानीयवासी बताउँछन् । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा बर्सेनि प्रभाव पर्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू छन् । पानीका कारण माटोका छत भएका घरमा माटो पग्लिन थालेको छ ।      अत्यधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गर्दथे । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको स्थानीयको दुःखेसो छ ।     प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र न्यानो भइरहन्छ । माटोका घर हिमाली क्षेत्रका बस्तीको मौलिकता भए पनि वातावरणीय प्रभावका कारण यहाँका बस्ती उच्च जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।   बढ्दो तापक्रमसँगै पानी पर्ने क्रम बढ्दा माटोको सहरको मौलिकता नै धरापमा परेको छ नै यसले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमालहरू बर्सेनि कालापत्थरमा परिणत भएका छन् ।      हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नु, कृषि प्रणालीमा परिवर्तन आउनु लगायतका विषय जलवायु परिवर्तनको असरसँग जोडेर हेर्न सकिने विगत लामो समयदेखि हिमाली क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्दै आउनुभएका पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बराल बताउनुहुन्छ । स्याउ खेती माथिल्ला भागतर्फ फैलँदै गएको विषयलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै अनुसन्धाता बरालले आजभन्दा नौ वर्ष अघि २०७० सालमा मुस्ताङको अनुसन्धानात्मक भ्रमणको अनुभव सुनाउनुभयो ।      तत्कालीन समयमा ठाउँअनुसार प्रतिकिलो स्याउ मार्फामा रु ६०, झारकोटमा रु एक सय र झोङमा रुएक सय ५० रुपैया तिरेको अनुभव सुनाउँदै उहाँले उचाइअनुसार स्याउको स्वाद झन् झन् मीठो पाइएको बताउनुभयो । पछिल्ला वर्षमा मुस्ताङको यारा, घमी लगायतका उच्च हिमाली क्षेत्रमा स्याउको बगैँचा निर्माणमा आकर्षण बढिरहेको बरालले बताउनुभयो ।      बढ्दो तापक्रमकै कारण तराई र मधेसका फाँटमा मात्र पाइने लामखुट्टे पहाड हुँदै हिमाल चढिसकेको छ । विगतमा लामखुट्टेको नामसमेत नसुन्ने यस क्षेत्रमा अहिले भने झूल पुग्ने गरेको छ । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा खानेपानीको अभाव बढ्दै गएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई एक दशकअघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिएको थियो ।    “पहिले पहिले मनसुनले हिमाल चढ्दैन भन्ने गरिन्थ्यो, अहिले भने मनसुनले हिमाल पार गरिसकेको छ”, अनुसन्धाता बरालले भन्नुभयो, “गत वर्ष हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा अप्रत्याशित आएको बाढी यसको ज्वलन्त उदाहरण हो ।” 

  मोरङ:  जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो ।      प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीले सङ्घीयताको अनुभूति हुने गरी जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो । समन्वय समितिका उपप्रमुख झा, पूर्व उपप्रमुख प्रकाशकुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य बबिताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले जिससको अधिकार सुनश्चित् भएमा काम गर्न सहज हुने धारणा राख्नु भयो ।      सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ । 

  बाँके:  बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ । राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।    पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अव अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताउनुभयो ।    राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षाद्को समयमा कठिन हुनेगर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उहाँको भनाइ छ । पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करिब २५ किलोमिटर टाढा अगैया पुग्नुपर्ने बाध्यता रहेको थियो । पुलको निर्माणकार्य सम्पन्न भएर सवारीसाधन चल्न थालेपछि कचनापुर र बिनौना क्षेत्रका हजारौँ  सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताउनुभयो । विसं २०७४ बाट निर्माण सुरु भएको उक्त पक्की पुल ५ वर्षभित्र गत असार मसान्तमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरुप कम्पनीले पुलको निर्माणकार्य सम्पन्न गरेको छ ।     तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले  रु ७३ करोडको लागतमा सो पुलको निर्माणको ठेक्का पाएको थियो । ११ वटा पिल्लर रहेको उक्त पक्की पुल ७.५ मिटर चौडाई पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदल यात्रुका लागि बाटो गरी जम्मा ११ मिटर पुलको चौडाइ रहेको छ । पुलको निर्माणकार्य समयमै पूरा भई सञ्चालनमा आएपछि आवागमनमा जनतालाई निकै सहज भएको राप्तीसोनारीका नागरिक अगुवा रामदास थारुले बताउनुभयो ।

  काठमाडौं:   नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।   विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन दिने प्रशिक्षण दिइने उल्लेख छ ।   पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो । विभागले आगामी पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने गरी बनाएको योजनालाई चाँडै अन्तिमरुप दिँदैछ । 

  काठमाडौँ:   काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो निभाउने प्रयास जारी छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वल्र्ड फुटवेयर’मा आज बिहान अन्दाजी ११ बजेर ३५ मिनेट जाँदा आगलागी भएको थियो ।       जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आउन लागेको जानकारी दिनुभयो । उहाँले काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको बताउनुभयो । श्रीराम पाण्डेले सञ्चालन गरेको उक्त जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो ।      प्रवक्ता मैनालीका अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

  काठमाडौँ:   काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।  काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।     जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।   यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । 

  म्याग्दी:  मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उहाँलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् ।    झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चहयौइरह्यो, दुखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्नुहुन्छ । उहाँको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा (पत्नी) पनि आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने पिरले उहाँलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्नुहुन्छ ।   वृद्धभत्ता नै बाँँच्ने सहारा   मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पत्ति खानेकुराको भने सौखिन नै हुनुहुन्छ । जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाउँ र के लाउँको समस्या भने छैन ।   बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान  घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुहुन्छ । “मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्” शर्माले भन्नुभयो । उमेरले नेटो काटे पनि उहाँको स्वभाव भने बालसुलभ नै छ । स–साना बालबालिकासँग जिस्कदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उहाँको बानी रहेको छ ।   रोगले छोएन, दुःखले छोडेन   पचास वर्षको उमेर पार गर्न नपाउँदे नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुनुहुन्छ । रोगको बारेमा सोध्दा उहाँले ठट्यौली शैलीमा भन्नुभयो, “चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरु त केही हुँदैन ।”   उमेरमा अरुको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उहाँकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली हुनुहुन्न । असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भन्नुभयो “घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौँ  अनि झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौंँ ।”   ‘सय कटे बिहे गर्थें’   मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य     बनाउँछन् । उहाँका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आउनु भएका थापालाई  ‘तपाइँको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भन्नुभयो “सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।” थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हाँस्नुभयो । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ । अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोड्नु भएको छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्नु हुन्छ । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कदै खाने उहाँका छिमेकी शर्माले बताउनुभयो ।   श्रीमती खिरकुमारीलाई आफूले फकाएर विहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउनुहुन्छ । “पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ।” भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भन्नुभयो “सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।”   रातका साथी कुकुर   दिनभरि गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्ने गर्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’ रात अवेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्नुहुन्छ । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ । उहाँले एउटा सेतो कुकुर पाल्नु भएको छ । घरको सुरक्षा गर्नेदेखि देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उहाँहरुले ‘सेते’ नामले बोलाउनुहुन्छ । त्यही कुकुरलाई सुम्सुम्याउनुहुन्छ, माया गर्नुहुन्छ र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउनुहुन्छ ।    “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।” ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ ।सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । खिरकुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आउनुभएको छ ।   “शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ,” खिरकुमारीले भावुक बन्दै भन्नुभयो “बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।”थापा दम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरु हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पत्ति मान्नुहुन्न । उहाँहरु भन्नुहुन्छ “बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामथ्र्य छैन ।”   हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहनुभएको उहाँका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरुको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पत्तिले मान्नु भएन । उहाँ भन्नुहुन्छ “यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन ।’’आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा हुनुहुन्छ । कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।