सर्लाही: सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो । ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उक्त मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गर्नुभएको छ । साथै उहाँले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
इलाम: जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । याक्थुङ युवा मञ्चले १ सय जना लिम्बू युवालाई आफ्नो समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ) सिकाइरहेको छ । लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा १५ दिने च्याब्रुङ नाच प्रशिक्षण पनि सञ्चालन गरेको छ । लिम्बू समुदायको कला, संस्कृति र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि युवा पुस्तालाई जागरुक गराउन च्याब्रुङ नाच प्रशिक्षण आयोजना गरिएको याक्थुङ युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताउनुभयो । “आफ्नो संस्कृतिका बारेमा युवा पुस्तालाई सचेत गराएर मात्र संस्कृति जोगाउन सकिन्छ”, अध्यक्ष योङहाङले रासससँग भन्नुभयो, “हामी त्यही अभियानमा छौँ ।” याक्थुङ युवा मञ्चका सहसचिव एवं प्रशिक्षण संयोजक उमेश सेलिङ लिम्बूले इलाममा लिम्बू समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । “जिल्लामा हुने विभिन्न सभा–सम्मेलनमा च्याब्रुङ नृत्यका लागि अनुरोध हुन थालेको छ”, उहाँले भन्नुभयो, “कला र संस्कृतिको संरक्षण र विकासमा लाग्दा आम्दानी पनि हुने भएकाले त्यसतर्फ युवा पुस्ता आकर्षित भएका छन् ।” च्याब्रुङ सिक्न माङसेबुङ गाउँपालिका–२ बाट इलाम आउनुभएकी सावित्रा लिम्बूले “हाम्रा अग्रजले बचाएको मौलिक कला र संस्कृति हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “यो पहिचानलाई बचाउन हाम्रो पुस्ता लाग्नुपर्छ ।” पाँचथरको फिदिम नगरपालिबाट च्याब्रुङ सिक्न आउनुभएका अर्का प्रशिक्षार्थी नोगेन लिम्बूले मौलिक संस्कृति र परम्पराप्रति युवा पुस्ताको चासो कम हुँदै गएकाले त्यसप्रति उनीहरुलाई आकर्षित गर्न प्रशिक्षणमा सहभागी भएको बताउनुभयो । च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रमले आदिवासी लिम्बू समुदायको कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरणमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष पदम ताम्लिङले बताउनुभयो ।
चितवन: महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उहाँले बताउनुभयो । टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताउनुभयो । उहाँले सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको बताउनुभयो । बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । नेता ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामका बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेको निर्णयको अनुमोदन र समसामयिक राजनीतिक विषय भनेर चार वटा कार्यसूची तय गरिएको छ । बैठकले नेपाली कांग्रेससँगको सहकार्यमा पाँच महिना सरकारले गरेको काममा सन्तुष्टि व्यक्त गरेको निष्कर्ष निकालेको छ । “यो पाँच महिनामा अवधिमा महत्त्वपूर्ण काम अघि बढेकामा बैठकले सन्तुष्टि पनि व्यक्त गरेको छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “सरकारका काममा थप गति ल्याउनुपर्ने धेरै सुधारका काम अगाडि बढाउनुपर्ने बोधसमेत बैठकले गरेको छ ।” उपमहासचिव ज्ञवालीले सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सुधार देखापरेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएर ऐन बनेर आयोग बन्ने प्रक्रियामा रहेको बताउनुभयो । संविधान संशोधन गर्न कार्यदल गठन गरिने बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली कांग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । “संविधान र सङ्घीयता कार्यान्वयनको हामीले समग्र समीक्षा गर्नेछाँै । र त्यसभित्र कार्य विस्तृतीकरणका सुझाव कति कार्यान्वयन भए वा भएनन् । विज्ञ हस्तान्तरण कहाँ कति भए त्यसको पनि समीक्षा गरिनेछ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । यस्तै बैठकले संसद्मा रहेका विचाराधीन रहेका विधेयकलाई छिटो टुङ्ग्याउनका लागि दुई दलका चार÷चार जना पदाधिकारी रहेको कार्यदल बनाउने निर्णयसमेत गरिएको बताउनुभयो । संसद्मा विधेयक लामो समय अड्किरहने अवस्थाको अन्त्य गर्नका लागि क्यालेण्डर बनाउने पनि सहमति भएको बताउनुभयो । “विद्यामान कानुनमा सुधार गर्नका लागि विज्ञ समिति बन्नेछ । त्यसका सन्दर्भमा असान्दर्भिक रहेका कानुनलाई खारेज गर्न सुझाव दिने र नयाँ संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्न सुझाव दिने र नयाँ बनाउने कानुनमा पनि सुझाव दिनेछ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । सुशासन र जवाफदेहीताका सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयमा सुशासन सुधार केन्द्र बनाउने सहमतिसमेत गरिएको बताउनुभयो । सरकारको बाह्य सम्बन्ध सञ्चालनमा प्रगति भएको निष्कर्ष निकालिएको छ । उहाँले पछिल्लो चीनसँग भएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) भएको सम्झौतामा महत्त्वपूर्ण रहेको बताउनुभयो । संसदीय छानबिन समितिले सिफारिस गरेकाअनुसार सहकारीका क्षेत्रमा देखापरेका बेथितिविरुद्ध सरकारले कारबाही अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । सरकारले अध्यादेश ल्याएर चाँडै नै अधिकार सम्पन्न सहकारी प्राधिकरण बनाएर सहकारीका बेतिथी अन्त्य गर्ने एउटा बलियो आधार तर्जुमा गर्ने उहाँले बताउनुभयो । बङ्गलादेशसँग भएको ऊर्जाको व्यापार, भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न विकासका काममा आर्थिक गतिविधिमा प्रगति देखापर्न थालेको बैठकले निष्कर्ष निकालेको छ । उहाँले पछिल्लो समयमा राजस्व सङ्कलन १७ प्रतिशत सुधारले विस्तार मुलुकले लय लिन थालेको पुष्टि गरेको बताउनुभयो । बैठकले कांग्रेस र एमालेबीचमा बनेको राजनीतिक संयन्त्रले थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
दैलेख: यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उहाँले बताउनुभयो । चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । राष्ट्र बैंकद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ । “नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ”, विज्ञप्तिमा भनिएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले २०८१ पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । राष्ट्र बैंकले उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ । न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंकÞा भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नेकोलगायत कारण देखाएर राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिइराख्दा निक्षेपकर्ताको रकम सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ । न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएपछि राष्ट्र बैंकले एक महिना अघि गत मङ्सिर ११ गते थप निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको थियो । संस्थामा देखिएका सबै समस्या हल गर्न सुधारात्मक कारवाहीसहित राष्ट्र बैंकले छ महिनाको समय दिएको थियो । तर बैंकमा थप समस्या देखिने अवस्था आएपछि समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।
काठमाडौं: विसं १७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर (हरिश्चन्द्र) सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो । उहाँले त्यही टुरमुकामबाट चैनपुरका श्रवाजा, फेश्राप, नपुरान्जालाई पाँच मौजा पांमा, मांगमा, तेवें, वोश्रनिमा र तापंनागोलाई स्याहामोहर जारी गर्नुभएको थियो । स्याहामोहरमा मानिसले प्राप्त गरेको जग्गा उपभोग गर्दै राज्यको सेवा गर्नु भनिएको थियो । उक्त स्याहामोहर वनेम फागोसँग पाइयो । स्याहामोहरमा उल्लेखित व्यक्तिहरु वनेम फागो नै भएका र निजहरू सेनकालीन दरबारमा मन्त्री, काजी वा जागिरे रहेको पुष्टि हुन्छ । सेन राजाले लिम्बू, खम्बू, याक्खा, आठपहरिया र याम्फूलाई राय, राये, राई भनी स्याहामोहर प्रदान गर्नुभएको थियो । हरिहरसेनको राज्यकाल विसं १७१३ देखि १७३८ सम्म मानिन्छ । उहाँले भारतको गोण्डावारसम्म राज्यविस्तार गरी आफूलाई हिन्दूपति राजा घोषणा गर्नुभएको थियो । तीन सय ४८ वर्ष पुरानो यो स्याहामोहर भगिराज इङ्नामद्वारा सङ्कलित तथा प्रकाशित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तकको पहिलो दस्तावेजका रूपमा राखिएको छ । इतिहास अन्वेषक रमेश ढुङ्गेलमार्फत यो दस्तावेज लिइएको सङ्कलक भगिराज इङ्नामले उल्लेख गर्नुभएको छ । इतिहासकार इङ्नाम नेपाली इतिहास लेखनका लागि कुनै नयाँ नाम होइन । उहाँको पहिलो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ले विसं २०७८ मा मदन पुरस्कार प्राप्त गरिसकेको छ । सोही पुस्तकको अर्को अंश वा भागका रूपमा हालै ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ प्रकाशित भएको हो । माथी उल्लेखित स्याहामोहरको प्रसङ्ग केवल यो पुस्तकमा सङ्ग्रहित तथा सङ्कलित एक दस्तावेज उदाहरणका रूपमा मात्र प्रस्तुत गरिएको हो । यस पुस्तकमा विसं १७३३ देखि २०२५ सम्मका महत्त्वपूर्ण तीन सय ८५ वटा दस्तावेज सरल र बुझिने गरी अनुवादसहित प्रस्तुत गरिएका छन् । तत्कालीन् शासकले जारी गरेका भोजपत्र, स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, कस्यपत्रम् र लिखित अभिलेख यस पुस्तकमा सङ्ग्रहित छन् । त्यतिमात्र नभइ शिलालेख, धनकुटा मार्गाथानको घण्टीको लेख र तिब्बती लिपिको पाँचवटा दस्तावेज यहाँ प्रस्तुत गरिएको छ । लेखकले यो पुस्तक अघिल्लो पुस्तकमा छुटेका दस्तावेजको पूरक एवं निरन्तरता हो भन्नुभएको छ । अघिल्लो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ जति रोचक र महत्त्वपूर्ण पुस्तकका रूपमा प्रकाशित भएको थियो, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पनि उत्तिकै महत्त्वपूर्ण मानिएको लेखक इङ्नामले बताउनुभयो । अघिल्लो र यी दुवै पुस्तकमा समावेश अभिलेख अध्ययन गर्दा इतिहासमा रुची हुने पाठकले एक अभिलेख पढ्न नभ्याउँदै अर्को पल्टाउन मन लाग्ने किसिमका रहेका उहाँको भनाइ छ । विषयसूची हेरेर पुस्तक अध्ययन गर्ने हो भने पनि आठ सय ५० भन्दाबढी पृष्ठको यस पुस्तकका कम्तिमा ५० देखि एक सयवटा अभिलेखमा पाठकको ध्यान तानिन्छ । विषयसूचीमा आकर्षक किसिमका शीर्षक राखिएका छन् । ‘छोराले खाएको ऋण बाबुले तिर्नु नपर्ने’, ‘राईबाट फुटी नयाँ राई भएको’, ‘कन्ने केटीलाई करणी गरे दण्ड नलाग्ने’, ‘करणी मुद्दामा सात सुब्बाको फैसला’ लगायत हुन् । पुस्तकमा समावेश दस्ताबेजमा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहबाट अभिमानसिंहलाई प्रदान गरिएको लालमोहरमा विजयपुर सेन राज्यका देवान बुद्धिकर्णलाई ‘राई’ भनिएको तर विसं १८२४ र १८२९ मा बुद्धिकणले जारी गर्नुभएको स्याहामोहरमा बुद्धिकर्ण ‘राय’ भन्ने उल्लेख गरिएको रोचक विषय समावेश छन् । पृथ्वीनारायण शाहले विसं १८३१ मा पुनी रायलिम्बूलाई प्रदान गर्नुभएको, लालमोहरमा सिरिंग्या लिम्बूसहित दरबारमा मिल्न आए सिरपाउ–पुरस्कार दिने भनी प्रलोभन देखाएको प्रसङ्गले त्यस समयमा सिरिंग्या लिम्बू गोरखाली सेनाविरुद्ध रहेछन् भनेर अनुमान गर्न सकिन्छ । यी र यस्ता सयौँ रोचक तथ्यले भरिएको छ, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक । सङ्कलक तथा लेखकको मेहनत कति छ भनेर सामान्य पाठकले अनुमान नै गर्न सक्दैन । यत्तिको दस्तावेज सङ्कलन गर्नका लागि कति समय र मेहनत गर्नुप¥यो होला भनेर लेखकले सरसर्ती पुस्तकमा उल्लेख गर्नुभएको छ, तर पाठकले पुस्तक अध्ययन गरेपछि लेखकले उल्लेख गर्नुभएको भन्दा बढी मेहनत यस पुस्तकमा भएको बताउन सकिन्छ । पुस्तकमा उल्लेखित दस्ताबेजहरूले तत्कालीन समग्रमा पल्लोकिराँत अर्थात् लिम्बुवानको इतिहासलाई जस्ताकोतस्तै प्रस्तुत गरेको छ । तत्कालीन ओल्लो किराँत, माझ किराँत र पल्लो किराँतका धेरै इतिहास मिथक अर्थात् मौखिक रूपमा मात्र सुनिँदै आएकामा यस पुस्तकका लेखक तथा सङ्कलक इङ्नामले त्यसलाई तथ्यसहित दस्ताबेजीकरण गर्नुभएको छ । जुन कार्य इतिहासमा एक सर्वकालिक महत्त्वपूर्ण काम होभन्दा अत्युक्ति हुँदैन । पुस्तकले विभिन्न बहसका लागि पनि सहज पारिदिएको छ । राई, लिम्बु, सुब्बाजस्ता थर वास्तवमा थर हुन् कि पदवी ? राई, राइ हो कि राय ? यस्ता अनेकन् तथ्य यहाँ सङ्ग्रहित दस्तावेजमा उल्लेख छन् । जसलाई एउटा आधार मानेर थप तथ्य पत्ता लगाएर सदियौँदेखिका विवादलाई समाधान गर्न सहज बनाइदिएको छ । दस्ताबेजले तत्कालीन् इतिहासमात्र देखाउँदैन, त्यतिखेरको पल्लोकिराँतको आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई उजिल्याउने काम गरेको छ । चेतनास्तर, ससाना थुम्का र गढीहरूमा रहेर शासन गर्ने प्रणाली, सङ्घीय राजधानीमा रहने शासकसँगको सम्बन्धलगायत विषयका बारेमा जानकारी दिन्छ । विसं १८३१ पछि राई र लिम्बुलाई तत्कालीन् शासकले फुटाएर ‘फुटी सुब्बा’ वा ‘फुटी राई’ बनाएको प्रसङ्ग लेखकले आफ्नो लेखकीयमा उल्लेख गर्नुभएको छ । जसका कारण धेरै लिम्बु फुटी सुब्बा हुँदा जग्गाविहीन बनेको उहाँले निष्कर्षको रुपमा लेख्नुभएको छ । कतिपय किपटभूमि खोस्ने काम त्यतिबेलै भएको उहाँको ठहर छ । मुन्धुम एकेडेमीले प्रकाशन गरेको यस पुस्तकको सह–प्रकाशनमा ताप्लेजुङ र मोरङका एक÷एक गाउँपालिका तथा तेह्रथुमका दुई नगरपालिका र चार गाउँपालिकाले सहयोग गरेका छन् । स्थानीय सरकारले इतिहास लेखनमा सहप्रकाशकको रूपमा सहयोग गरेको काम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छ । डा त्रिरत्न मानन्धर र जगदीश रेग्मीको हस्तलिखित भूमिका पुस्तकको सुरुमा राखिएको छ । तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका प्रमुख तथा इतिहासका अध्येता अर्जुनबाबु माबुहाङले लेखक भगिराज इङ्नाम र लिम्बुवानको इतिहास लेखनबारे स्पष्ट पार्नुभएको छ । दस्ताबेजका स्रोत व्यक्तिहरुको नाम र दस्ताबेज अनुवादकको नाम राखेर लेखकलाई सबैलाई सम्मान गर्नुभएको छ । निजामति सेवाबाट निवृत्त लेखक पूर्वप्रशासकसमेत हुनुहुन्छ । यस पुस्तकको मूल्य रु दुई हजार कतिपयका लागि महङ्गो लागेपनि यहाँ समावेश भएका दस्ताबेजको अध्ययनपश्चात् उक्त मूल्य थोरै महसुस हुन सक्छ । तसर्थ क्षेत्रीय रूपमा कमै मात्र लेखिएको राजधानी काठमाडौँ पूर्व र त्यसमा पनि ओल्लोकिराँत अर्थात् लिम्बुवानबारे इतिहास बुझ्नका लागि सबैभन्दा पठनीय सङ्ग्रहको रूपमा यो पुस्तक किन्नु उपयुक्त हुन्छ । त्यसका लागि सम्भव भएमा लेखकका अघिल्लो पुस्तक पनि किन्न सकेमा पाठकका लागि सुनमा सुगन्ध हुने प्रकाशकको भनाइ छ ।
काठमाडौं: अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् । कजाकिस्तानका अधिकारीले भनेका छन्, “विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।” विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो । विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्व सोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोट्याएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कजाकिस्तानको यातायात मन्त्रालयले टेलिग्राममा भनेको छ, “बाकु–ग्रोज्नी हवाई मार्गमा उडेको एउटा विमान अक्ताउ शहर नजिकै दुर्घटनाग्रस्त भएको छ । यो अजरबैजान एयरलाइन्सको हो।” अजरबैजानको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सका अनुसार विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । विमान अक्ताउबाट करिब तीन किलोमिटर टाढा ‘आपतकालीन अवतरण’ गरिएको बताइएको छ । विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना ररूसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ । कजाकिस्तानको आकष्मिक व्यवस्था मन्त्रालयले विमान दुर्घटना हुँदा लागेको आगो आफ्ना कर्मचारीले नियन्त्रणमा लिएको जनाएको छ । “प्रारम्भिक जानकारीअनुसार विमानमा सवार दुई बालबालिकासहित २८ जनालाई अस्पताल भर्ना गरिएको छ,” मन्त्रालयले भनेको छ । घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका लागि जुटेका छन् । कजाकिस्तानको राजधानी अस्तानाबाट घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको विशेष विमान पठाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अलियेभको कार्यालयले भनेको छ, “राष्ट्रपतिले विपत्तिको कारण पत्ता लगाउन तत्काल कदम चाल्न निर्देशन दिनुभएको छ ।” स्थानीय स्वास्थ्य अधिकारीहरूले यसअघि दिएको जानकारीमा १४ जना घाइतेलाई क्षेत्रीय अस्पतालमा लगिएको र पाँच जनालाई सघन उपचार कक्षमा राखिएको बताएका थिए भने स्थानीय सञ्चारमाध्यमले विमानमा सवार २५ जनालाई जीवितै उद्धार गरिएको र पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरेका थिए ।