चितवन:    बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी नि:शुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि नि:शुल्क गर्न  थालनी गरे...

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।        युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।        यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।        जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।        केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ सात पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ पाँच पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।        राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ आठ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ सात पैसा तोकेको छ ।        भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।  वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:     बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।      नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।  यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो ।      मार्कण्डेय पुराणमा ‘चन्द्र: घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।       चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो ।  चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो ।      नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।       घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।      नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।  यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।      दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।       नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ । बडादसैँका दिनबाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

चितवन:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ ।       चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले विभिन्न समस्याका बाबजुत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरिरहेको बताउनुभएको हो ।      सभापति लामिछानेले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्न आफूले सम्पूर्ण क्षमता लगाउने बताउनुभयो ।  इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासीय नमूना विद्यालय भवन निर्माण गर्न लागिपरेको उहाँको भनाइ छ ।  “चेपाङ बालबालिकाका लागि एउटा नमूना आवासीय विद्यालय भवन निर्माण गरी सञ्चालन गर्ने तयारीमा छौँ, सकेसम्म सरकारी तवरबाट नभए अन्य ठाउँबाट स्रोत जुटाएर विद्यालय निर्माण गर्न म प्रतिबद्ध छु”, सभापति लामिछानेले भन्नुभयो ।       कार्यक्रममा सहभागीहरूले ग्रामीण सडक, सञ्चार, शिक्षा, ट्राफिक व्यवस्थापनलगायत क्षेत्रमा देखिएका समस्याबारे विभिन्न गुनासो राखेका थिए ।  कतिपयले सभापति लामिछानेसँग जोडिएको सहकारी प्रकरणबारे जिज्ञासा राखेका थिए । 

सर्लाही:   जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।  आज साँझ बसवरिया गाउँपालिका–४, गोनर्वा निवासी सुरेन्द्र भण्डारीको १० वर्षीय छोरा चन्दनको नुहाउने क्रममा झाझ खोलामा डुबेर ज्यान गएको हो ।  नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका बालकको तत्काल उद्धार गरेर अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।  बरहथवा नगरपालिकास्थित हनुमन्त अस्पतालमा पुर्‍याएपछि बालकलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको हो ।  बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दिवाकर गणेशले जानकारी दिनुभयो ।  घटनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिरोबाट प्रभावित नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग माग गरेको छ ।       रास्वपाको उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोरप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आज ध्यानार्कषणपत्र बुझाउँदै अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’को विकल्पबारे अवगत गराउनुभएको हो ।      प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढु्ङ्गादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सांसद अर्यालले तत्काल सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन आग्रह गर्नुभयो ।      “यी क्षेत्रमा मोबाइलको नेटवर्क नचल्ने समस्या भएकाले यात्रुहरु आफन्तजनसँग सम्पर्क विच्छेदको अवस्थामा छन्”, ध्यानार्कषणपत्रमा भनिएको छ, “यसका लागि तुरून्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ ।”

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभएको छ ।       आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताउनुभयो ।        मन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग ९एसिडी० को तेस्रो सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कनुभएको हो ।               मन्त्री डा राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको पनि जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो “यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौँ वास्तवमा त्यस्तो अवस्था पनि होइन । तथ्य र तथ्याङ्कहरुमा हेर्दा नेपालको अवस्था नाजुक छैन । हामी दिगो विकास लक्षको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौँ । तर कतिपय देशको त अहिले पनि १७ प्रतिशत मात्र प्रगति भएको पनि देखिएको छ । हाम्रो अवस्थालाई हामीले सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्छ ।”      एक प्रश्नमा उहाँले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत् हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिनुभयो ।         उहाँ क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुनुभएको थियो । सो बैठकका क्रममा उहाँले विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।      त्यसपछि उहाँ संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभा र समिट अफ द फ्युचरमा सहभागी हुनुभयो । सो कार्यक्रमपछि कतारको दोहामा बुधबार र बिहीबार आयोजित एसिडीको तेस्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर सहभागी हुनुभएको थियो ।        यी महत्वपूर्ण बैठकहरुमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरु अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेका समस्याहरु विश्व समुदायलाई सुनाउने र नेपाललाई आवश्यक सहयोगका लागि अपिल गर्ने काम गरेको पनि उहाँले सुनाउनुभयो ।       त्यसैगरी नेपालमा शान्ति प्रक्रिया, महिला सशक्तीकरण एवं प्रजनन अधिकारका क्षेत्रमा भएका प्रगतिबारे पनि उहाँले ती फोरमहरुमा जानकारी दिनुभएको थियो ।       आफूले यसपटक अतिकमविकसित मुलुकहरूका तर्फबाट जि–२० का विदेशमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै यी मुलुकहरूलाई हाल प्राप्त सहयोग थप अभिवृद्धि गर्न अनुरोध गर्नुका साथै प्रमुख अन्तर्राष्ट्रिय सङ्घसंस्थामा अतिकमविकसित मुलुकको प्रतिनिधित्व बढाउन समेत जरुरी रहेको कुरा उठाएको उहाँले बताउनुभयो ।        साथै भूपरिवेष्ठित विकासशील देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यी देशहरूका विकास चुनौतीहरू सामना गर्न वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक व्यापार प्रवर््द्धनसम्बन्धी सहयोग तथा पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्ने विषयमा जोड दिएको जानकारी पनि उहाँले दिनुभयो ।        त्यस्तै पिस बिल्डिङ् कमिसनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधित विधेयक पारित गरेको र नेपाल दिगो शान्तिका लागि सदैव प्रतिबद्ध रहेको जानकारी गराएको उहाँले बताउनुभयो ।       महासभाकै दौरानमा विभिन्न फोरमहरुमा सहभागी भएर उहाँले महिला प्रतिनिधित्व, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि नेपालको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।       महासभाका दौरानमा इन्डोनेसिया र सर्बियाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल र ती देशबीच कूटनीतिक र विशेष ९अफिसियल० राहदानी वाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गर्नुभएको थियो ।      यसैक्रममा उहाँले वासिङ्टन पुगी नेपाल र अमेरिकाबीच  द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रसङ्घको साइडलाइनमा उहाँले राष्ट्रसङ्घका उपमहासचिवहरु, विभिन्न देशका मन्त्री तथा विदेशमन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो ।       त्यसपछि उहाँ कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्नुभएको थियो । सो सम्मेलनको ‘साइडलाइड’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता  थियो ।

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैं विजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।    शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख  गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ - ‘महान चाड बडादशैंले हामी सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छु । साथै, यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।’ उहाँले बडा दशैं, २०८१ ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ुसमृद्ध नेपाल, सुखी नेपालीु को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरा:    पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुगमन सुुरु गरेको हो ।  महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको हो । पोखरा वडा नम्वर २ रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको हो । अनुुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रविन्ध गरेको प्लाष्टिकको माला तथा फुलका गुच्छा जफत गरि ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ ।  अनुगमनका क्रममा भवानी पुजा सामग्रीमा प्रतिबन्धित प्लाष्टिकका माला र फुलका गुुच्छा नष्ट गरिएको छ भने प्याकेजिङ अनुुमतिपत्र नलिई प्याकेजिङ गरेर विक्री वितरण गरेको, व्यवसाय नविकरण नगरेको र थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइको छ ।  महालक्ष्मी पुजा सामाग्रीमा १५ सय बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ । उक्त पसलमा मुल्यसुचि नभएको ब्यवसाय दर्ता, नापतौलको दर्ता नभएको , लेवल नभएका सामाग्री विक्रीवितरण गरेको पाइएको छ । त्यस्तै एसएस स्टोर्समा अनुुगमनका क्रममा १५ सय मुुल्य बराबरको म्याद गुुज्रेको आइस क्र्रिम नष्ट गरिएको थियो भने प्याकेजिङ, ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान विक्रीविरतण गरेको, ब्यवसाय दर्ता नभएको पाइएकाले पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।  साथी सपिङ सेन्टरमा म्याद गुज्रेका तेल, मकैको मिठो, दाल चिनिको चुलो, मसला गरी ४ हजार १ सय ३९ रुपैयाँ बराबरको सामाग्री नष्ट गएिको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।  यता ओझा किराना पसलबाट बदाम, चोकोज, कुरकुरे जिरा,पानीपुरी आदि गरेर १ हजार २ सय ३० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ ।  अनुुगमनका क्रममा गौचन स्टोर्सबाट १७० रुपैयाँ मुल्य बराबरको म्याद गुज्रेको दुुई पोका सफल दहि नष्ट गरिएको छ । पोखरा २ मा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालिमा म्याद गुज्रेको २ सय ग्रामको पनिर र फुुलको खाने तेल एक लिटर गरी ६ सय ४० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ ।  

काठमाडौं:    डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरिएको छ ।       भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गर्नुभयो ।        कार्यक्रममा मन्त्री दाहालले प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरीबीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्य शुभारम्भ भएको बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँको भनाइ थियो ।        प्रहरी महानिरीक्षक कुँवरले सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस् भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरीलाई हस्तान्तरण भएका स्रोत साधन अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।       सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत वरिष्ठ प्रहरी अधिकृत उपस्थित हुनुहुन्थ्यो ।