कास्की: थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले जित निकाल्यो । पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन सकेन । थ्रीस्टारका गोलकिपर सरिनले मछिन्द्रका आदित्य शाक्यको प्रहार रोक्न सफल भएपछि थ्रीस्टारले अन्तिम चारको यात्रा तय गरेको हो । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले भने गोलको दिशा लिएको थियो । थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । प्रतियोगितामा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई पजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । थ्रीस्टारले भने सिधैं क्वाटरफाइनल खेलेको हो । प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज र विभागिय टोली नेपाल आर्मी क्लबका बीच खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाख, उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पाउने छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुने भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे हुनेछ । यस्तै दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसी भिड्ने छ । तेस्रो क्वाटरफाइनल खेल बिग सिटी लेकसाइड र स्याङ्जा एफसी प्रतिस्पर्धा गर्नेछ । भने, अन्तिम क्वाटरफाइनल खेल कमलपोखरी एफसी र रामघाट ह्वाइटबीच बिहान १० बजे प्रतिस्पर्धा हुने विनोद गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताउनुभयो । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उहाँको भनाई छ । महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत सहयोग प्रशंसनीय रहेको बताउँदै उहाँले कुनै पनि, जाती, भाषा, धर्म, संस्कृति र राजनीतिक विचारभन्दा माथि उठेर सदा मानवीय सेवामा अग्रसर लायन्स क्लबले आफ्ना सदस्यहरुका लागि नेतृत्व विकास र ठूलो सञ्जाल विस्तार गरी संसारभर सहयोग अघि बढाएको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । ‘पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको छु । दुर्गम जिल्लामा लायन्स क्लबको विस्तार हुनु राम्रो र सबल पक्ष हो ।’ उहाँले भन्नुभयो– ‘नयाँ पुस्ताहरुलाई सामाजिक कार्यमा संलग्न गराउँदै विकास निर्माण कार्यमा जोड्नु आजको आवश्यकता हो । संयुक्त नेतृत्व निर्माणमा यसले महत्वपूर्ण योगदान पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’ उहाँले लायन्स क्लबहरूले मानवीय सेवामा गरेका कार्यक्रमहरुको छलफल तथा सरोकारवाला निकायसँगको सहकार्यमा भावी कार्ययोजना सम्बन्धमा बैठक प्रभावकारी बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो ।
अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । आज दिउँसो ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही पहिरोमा परी मृततका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन् । घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उहाँलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताउनुभयो । उहाँका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ ।
काठमाडौं: आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज तयारी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने विषयमा छलफल भएको छ । यस्तै, कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवलाय गठन गर्ने तयारी भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी बैठकमा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ । संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ । आयोजना सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी भएको छ । कार्यक्रमबारे सरकारले आजैदेखि ‘सगरमाथा संवाद डटकम’ वेबसाइट सञ्चालनमा ल्याएको छ । मुख्य कार्यक्रमको तयारीलाई भव्य तुुल्याउन समावेशी प्रतिनिधित्व हुनेगरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्व कार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ । संवादका अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ । यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ । यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गर्नुभएको थियो । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानवजीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।
काठमाडौं: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत नयाँ शक्तिलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्ने बताउनुभएको छ । पार्टीको प्रदेश राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण जरूरी रहेको खाँचो औँल्याउनुभयो । “महाधिवेशनले नयाँ राजनीतिक शक्तिहरूलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्नेछ”, डा भट्टराईले भन्नुभयो, “नयाँ युगमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच गोलमेच सम्मेलन र विचार विमर्श हुन जरूरी छ ।” पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले वैकल्पिक शक्तिहरूलाई मिलाएर रूपान्तरणकारी राजनीतिक यात्राका लागि नीति, विचार र सङ्गठनसहितको अभियान थालनी गरिने उल्लेख गर्नुभयो । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेदमा नयाँ युगको नयाँ विचार र वैकल्पिक राजनीतिको औचित्य पुष्टि गर्दै डिजिटल प्रविधि र एआइ प्रविधिसहित आगामी यात्रा तय गर्ने उहाँको दाबी छ । डा भट्टराईको राजनीतिक दस्तावेदमा आर्थिक समृद्धिको मुद्दालाई पहिलो नम्बरमा राखिएको छ । देशको विकास र समृद्धि नहुनाका कारण निरपेक्ष गरिबी, आर्थिक समस्यालाई दस्तावेजले किटान गरेको छ । देशभित्र रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवा पलायन रोक्ने र जनताको सहभागितामा मुलुकको विकास र समृद्धिको यात्रा तय गर्ने दस्तावेजमा भनिएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डिपी अर्यालले वैशल्पिक शक्तिहरूको सहकार्यबाट राष्ट्रिय समृद्धिको आकांक्षा पूरा गराउनेतर्फ सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले परम्परागत राजनीतिक अभ्यासमा आमूल परिवर्तन गरी नविनतम नीति र प्रविधिको अवलम्बन गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्तिको स्थापना जरूरी भएको खाँचो औँल्याउनुभयो । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरणमार्फत देशलाई नयाँ दिशामा अगाडि बढाउन जरूरी भएको बताउनुभयो । “नयाँ पार्टीका साझा चुनौती भनेको पार्टी स्थापित र विचारको संरक्षण हो, राजनीतिमा युवालाई प्रोत्साह गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिन जरूरी छ”, उहाँले भन्नुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि वैकल्पिक शक्तिहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैशल्कि शक्तिलाई मूल धारमा ल्याउनेगरी गोलमेच सम्मेलन गरेर देशको बृहत्तर हितमा सहकार्यको बाटो पहिल्यानुपर्ने बताउनुभयो । यही २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिनुभयो । महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने जनाइएको छ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ । घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते हुनुभएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रतिनिधसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलगायत समितिका सदस्यले आज खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्षको निरीक्षण गरेको हो । निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिंहले उक्त घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । “उक्त घटनामा जनको क्षति नभए पनि धनको ठूलो क्षति भएको छ, यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङ परीक्षण गर्नुपर्ने आवश्यक देखिएको छ,” उहाँले भन्नुभयो । शनिबार बिहान ८.४५ बजे लागेको आगोले उक्त मन्त्रालयको तीनवटा कोठा जलेका थिए भने रु ५० लाख बढी मूल्य बराबरका सामग्री जलेर नष्ट भएको सो मन्त्रालयले जनाएको छ ।
काठमाडौं: राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस गर्नुभयो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पार्नुभयो । विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ । यस्तै साइबर बुलिङ र स्टकिङ्ग तथा आइडी ह्याक, सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रचारप्रसार तथा डिपफेक भिडियो अपलोड वा प्रचारप्रसार एवं बेनामी वा छद्मभेषी पहिचान बनाउन नहुनेलगायत विषय विधेयकमा समेटिएका छन् । विधेयकमा सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्न चाहेमा १५ दिन अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । अनुमतिपत्र प्राप्त व्यक्तिले मुलुकको शान्ति सुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानतमा खलल पुग्ने वा राष्ट्रहित प्रतिकूलका विषयवस्तु प्रसार गरे वा गराएमा सामाजिक सञ्जाल प्लेटफर्मको अनुमतिपत्र खारेज गर्न सक्ने तथा तोकिएको सर्त पालना नगरेमा सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै सामाजिक सञ्जाल प्रयोकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रचारप्रसार, प्रचलित कानुनले निषेध गरेको वस्तुको विज्ञापन तथा कारोबार गर्न नपाउने उल्लेख छ । गलत मनसायले सामजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकतालाई रू पाँच लाखसम्म जरिवाना हुनेछ । उक्त ऐनको कार्यान्वयनबाट नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणको गोपनियताकोस्तरमा वृद्धि हुने, साइबर सुरक्षाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था भई साइबर सुरक्षाको अवस्थामा सुधार हुने तथा सूचना प्रविधिसम्बन्धी व्यवसायहरू व्यवस्थित, नियमित तथा मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने सरकारको भनाइ छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० हाल कार्यान्वयनमा रहेको छ । आव २०८०र८१ को बजेटमा समेट सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिनेछ भन्ने उल्लेख छ ।