म्याग्दी: जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ । म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आगामी फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवं अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ । तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीव्र पारिएको जानकारी गराउनुभयो । दुवै प्रतियोगिताको पुरुष विधातर्फका विजेताले रु एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । उपविजेताले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । त्यसैगरी महिला भलिबल विधाका विजेताले रु ७७ हजार सात सय ७७ र उपविजेताले रु ४४ हजार ४४४ ट्रफी मेडलका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । रु १५ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।
ललितपुर: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा केन्द्रित अभियान शुभारम्भका अवसरमा उहाँले राजनीतिक अस्थिरताका कारणले आजको चुनौती निम्त्याएको हो भन्दै जनतालाई एमालेले केही गर्दैछ भन्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । “युवामा छाएको निराश हटाउन, देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ, समाजमा विभेद्, अन्याय र उत्पीडनमा परेकाले एमालेलाई खोज्ने वातावरण तयार गर्नुपर्छ, पीडितहरूले युट्युबर खोज्न भन्दा एमालेमा गए न्याय पाइन्छ भन्ने वातावरण सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले पार्टीका योजनालाई व्यवहारमा प्रभावकारी रूपमा सम्पादन गर्न सफलता हासिल गर्न आग्रह गर्दै नेता धेरै हुने तर जनतासँगको सम्बन्ध विग्रिने अवस्था हुनुहुँदैन भन्ने धारणा राख्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, “वडा केन्द्रीत तीन महिने अभियानमा पार्टी जुटिरहेको छ, सङ्गठन सुदृढ र सवल नहुँदा जिल्लामा बहुमतमा रहेको वामपन्थी जनमतको उपयोग हुन नसकेको अवस्था छ, यसलाई चिर्दै हामीले जनमतमा आधारित कार्यकर्तामा आधारित पार्टी निर्माणमा ध्यान दिनुपर्छ, पार्टी प्रतिष्ठाको विषय हैन, परिवर्तनको अभियान हो ।” महासचिव पोखरेलले २०७४ पछि सङ्गठनात्मक जीवन खल्बलिएको भन्दै त्यसलाई सुधार गर्दै पार्टीलाई बलियो निर्णायक शक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो । उहाँले पार्टीको नीतिलाई राष्ट्रिय नीति बनाउन पार्टीलाई स्थापित गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जनताले पत्याएका कार्यकर्ताका माध्यमबाट नै देशमा परिवर्तन ल्याउन सकिन्छ, जनतालाई पार्टीसँग जोड्न नै तीन महिने अभियान सुरू भएको हो, प्रत्येक वडाका कूल मतदाताको तीन प्रतिशत पार्टी सदस्यता कायम गर्नुपर्छ, पार्टी सदस्यतालाई विस्तार गर्ने अभियान अगाडि बढाउनुपर्छ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले जनमत कायम राख्न जनसङ्गठनलाई क्रियाशील बनाउँदै विस्तार गरेर जनआधार विस्तार गर्न आग्रह गर्नुभयो । “वामपन्थी जनआधारलाई एक ठाउँमा ल्याउन आवश्यक छ, हामी अब कम्युनिस्ट एकताका नाममा राजनीतिक प्रहसन गर्ने पक्षमा छैनाँैं, राजनीति कार्यकर्ता र समाजमा रहेका वामपन्थी अगुवालाई राजनीतिक ध्रुवीकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले निश्चित उद्देश्यका लागि दुईवटा पार्टी मिलेर अहिले सरकार गठन भएको बताउँदै कानुमा सुधार गरेर समस्या समाधान गर्न सकिन्छ भनेर दुईवटा पार्टीका समान धारणामा आधारित भएर अध्यादेश आएको बताउनुभयो । उहाँले वर्तमान सरकार बनेपछि मुलुकमा आर्थिक अवस्था सुधार हुँदै गएको परिस्थिति अनुकूल भइनसकेको कारण लगानीको वातावरण बनिनसकेको दाबी गर्नुभयो ।
कैलाली: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उहाँले लागुऔषधको प्रयोग नगर्न सबैमा आग्रह गर्नुभएको हो । “लागुऔषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,” मन्त्री देउवाले भन्नुभयो, “सकरात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिउँ, लागुऔषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।” लागुऔषध दुर्व्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उहाँले भन्नुभयो, “लागुऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।” मन्त्री देउवाले लागुऔषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमा समेत ठूलो समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागुऔषध दुर्व्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।”
गोरखा: यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताउनुभयो । ‘‘मुटु जाँच गराएकामध्ये २८ जनालाई मुटुको थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर रिफर गरेका छौँ, उहाँले भन्नुभयो, ‘‘जसमा ६ जनाको तत्काल उपचार गर्नुपर्ने अवस्था छ ।’’ शिविरमार्फत चार सय १३ जनाले इसिजी जाँच गराए भने चार सय ७९ जनाले इको जाँच गराएको डा भट्टराईले जानकारी दिनुभयो । रोटरी क्लब अफ गोरखा तथा रोट्र्याक क्लब अफ गोरखाको संयुक्त आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, र गोरखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ । शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिविर आयोजक समितिका संयोजक किशोरजङ्ग थापाले बताउनुभयो । शिविरमार्फत बिरामीलाई करिब रु ५० लाख बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सोधिएको प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताउनुभएको हो । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।
मुगु: रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्टटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ । सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने तथा नगरपालिकासँग सहकार्य र समन्वय गरी पर्यटकलाई कामकाजमा खटाउने उल्लेख गरेको छ । छायानाथ राराले रारामा पर्यटक प्रहरीलाई बस्नका लागि घर, खानेपानी, बिजुलीलगायत आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित वातावरण निर्माण गर्नुपर्ने जनाइएको छ । मुगुमा रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थल, हिमाल, गुफा रहेका छन् । जङ्गलका बीचमा रहेका यी स्थानमा यहाँ आएका पर्यटक एग्लै घुम्न डराउने गर्छन् । अब पर्यटक प्रहरी राखिए सुरक्षित महसुस गरी पर्यटक स्वतन्त्र रूपमा यी पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछन् भने पर्यटकको रारा बसाइ पनि लम्बिने छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही भन्नुहुन्छ, “पर्यटकको बसाइ लम्बिनेबित्तिकै स्थानीय जनताको आथिक स्थितिमा पनि सुधार आउनेछ ।” पर्यटक प्रहरीलाई राख्ने स्थानको छनोट, घर, खानेपानी, बिजुली र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफूहरु लागिरहेको नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो ।
डोटी: जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिनुभयो । आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा छ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिनुभयो ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताउनुभयो । उहाँका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियोे । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिनुभयो । व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ ।” मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवर्द्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।” रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गर्नुभयो । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौं: सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा उहाँहरुले आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूले माग गर्नुभएको हो । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं समारोहका मुख्य संयोजक शेरबहादुर सुनारले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘बेलायत र नेपाल सरकारबीच दुईपक्षीय सम्झौता गरी हाम्रो भावनाको कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस् ।’’ अध्यक्ष लालबहादुर लिम्बूले ‘मातृभूमिप्रतिको माया र गोर्खाहरूलाई मातृभूमि आउन प्रेरित गर्न वार्षिकोत्सव मातृभूमिमा नै आयोजना गरिएको बताउनुभयो । सो अवसरमा संस्थाको उपाध्यक्ष प्रमिला राई, महासचिव विजय गुरुङ, पूर्वअध्यक्ष नारायण भण्डारीलगायतले पनि नेपाल–बेलायतबीच सम्बन्ध विस्तारमा गोर्खाज्को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । ब्रिटिस सरकारले सन् २००४ देखि गोर्खा सैनिक र तिनका परिवारलाई आवासीय सुविधा दिँदै आएको छ । गोर्खा सैनिक भर्तीको इतिहास २१० वर्ष पुगेको छ । सन् १९४७ मा भएको नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सुगौली सन्धिका आधारमा बेलायतले हरेक वर्ष सेनामा नेपाली युवालाई भर्ती गर्दै आएको छ । यहीअन्तर्गत सन् १९८५ मा एकैपटक भर्ती भएका चार सय ८२ जना गोर्खाज्हरुले त्यसको स्मरणमा हरेक वर्ष वार्षिकोत्सव मनाउने गर्दछन् ।