धादिङ: पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा खुला छाडेकाले झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को उपदफा ३९ को १ को ‘क’ बमोजिम जरिवाना तिराएको हो । पुनः यस्तो भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेसमेत अनुगमन टोलीले चेतावनी दिएको छ । धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणि पुरीसहितको अनुगमन टोलीले पृथ्वी राजमार्गअन्तर्गत पर्ने गजुरी गाउँपालिकाको आदमघाट र मलेखु क्षेत्रका होटल तथा रिसोर्ट र खाद्यान्न पसलको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरूलाई सचेत गराइएको र कार्यविधिअनुसार बिक्री गर्न निर्देशन दिइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिनुभयो । चाडपर्वको बेला जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिएको अर्यालले बताउनुभयो । चाडपर्वका बेला उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान बिक्री गर्नेलगायत कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको उहाँको भनाइ छ । चाडपर्वको मौका छोपेर विशेषतः पृथ्वी राजमार्गअन्तर्गत जिल्लामा सञ्चालित होटलले खाना, खाजाको मूल्य बढी लिने गरेको यात्रीहरूले गुनासो गर्दै आइरहेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाका महाधिवेशन निर्धारित सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याइ आवश्यक निर्देशनसमेत गर्न विभिन्न तीन समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ गतेको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले आज नेपाल महिला सङ्घ, नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गर्नुभएको हो । नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहनुभएको छ । त्यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाइं र जीतजङ्ग बस्नेत रहनुभएको छ । नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतम रहनुभएको पार्टी कार्यालयले जनाएको छ ।
काठमाडौं: क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो । नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९:१६ बजे आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो । दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ । विजयादशमीको साइत असोज २६ गते ११:३६ बजे नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताउनुभयो । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ । असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दसैँ घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गादेवीको पूजाआराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताउनुभयो । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा बलिसमेत दिने गरिन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।
पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता आज प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् । कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एके हाउसले गण्डकी प्रदेश टिमलाई ४–३ गोल अन्तरले हरायो । तेसो खेलमा चाउँथे एफसीले सेभेन ट एटलाई ३–२ गोलअन्तरले पराजित गर्याे । चौथों खेलमा ग्रुप म्यासअपले नयाँगाउँ ब्रदर्शलाई १–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । पाँचौ खेलमा नव प्रतिभाले डिटिसीलाई ३–१ गोल अन्तरले पाखा लगायो । छैटौं खेलमा मिलन टोलले केएनबीलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्याे । सातौं खेलमा बिवाइसीले वी आर वनलाई १–० गोल अन्तरले हरायो । आठौं खेलमा एसएन ब्रदर्शले रमाइलो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो । आज भएको अन्तिम खेलमा याम ब्रदर्शलाई प्रिस्कियस ब्यूटी नयाँगाउँले २–० गोल अन्तरले पराजित गर्दै क्वाटरमा प्रवेश गर्याे । अब बिहीबार क्वाटरसँगै सेमिफाइनलका खेल सम्पन्न हुनेछ । प्रतियोगितामा कुल २६ टिमको सहभागिता रहेको छ । नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत डिजिटल फाउन्डेसन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल सरकारले ‘डिजिटल सार्वजनिक पूर्वाधार’ निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा आज आयोजित तीनदिने दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले दिगो विकास लक्ष्य–२०३० को सफल कार्यान्वयनका लागि सरकारको नीति तथा कार्यक्रम डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिने दिशामा अघि बढ्ने बताउनुभयो । “सरकारले चालु आर्थिक वर्षमा ललितपुरको खुमलटारमा सूचना प्रविधि हब स्थापना र ज्ञान पार्क स्थापनालाई प्राथमिकतामा राखेको छ, यी सूचना प्रविधि दशकको कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुने विश्वास गरेका छौँ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो । उहाँले सरकार सूचना–प्रविधिको विस्तृत कार्यान्वयन योजना बनाउने प्रक्रियामा रहेकाले डिजिटल रुपान्तरणका लागि नीति, कानुनी र पूर्वाधारका बाधाहरूलाई सम्बोधन गरी निजी क्षेत्रको दिगो पूर्वाधारसहितको ‘डिजिटल इकोसिष्टम’ निर्माणमा सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र सम्भव गराइने बताउनुभयो । मन्त्री गुरुङले सञ्चार आधुनिक शासनको मुटुमा भएकाले नागरिकसम्म वास्तविक समयमा जडान गर्न, तथा सूचना प्रविधिमार्फत जानकारीलाई प्रभावकारी रूपमा साझा गर्न तथा थप पारदर्शी रूपमा सेवाहरू प्रदान गर्न सक्षम बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल ई–गभर्नेन्समार्फत हामी विस्तारै परम्परागत नोकरशाही प्रणालीबाट टाढा जाँदैछौँ, सेवाहरू सिधै नागरिकको औँलामा ल्याउँदैछौँ, राष्ट्रिय ई–सरकार मास्टर प्लान, ब्रोडब्यान्ड नेटवर्क विस्तार, अप्टिकल फाइबर ब्याकबोन नेटवर्क तथा विशेषगरी ग्रामीण क्षेत्रमा नेटवर्क रोलआउट राष्ट्रव्यापी इन्टरनेट पहुँच बढाउनुपर्ने आजको आवश्यकता हो ।” उहाँले पूर्वाधार विकास, डिजिटल साक्षरता, साइबर सुरक्षा, ‘डिजिटल नेपाल’को फराकिलो लक्ष्य पूरा गर्न नेपालले आफ्नो डिजिटल पूर्वाधार सुधार गर्न महत्त्वपूर्ण प्रयास गरेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिको चरणमा रहेको बताउनुभयो । “सार्वजनिक शासनमा डिजिटल सञ्चारलाई एकीकृत गर्नाले थप उत्तरदायी, पारदर्शी र कुशल सरकारी सेवा दिन सकिन्छ, यसका लागि नै मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० तर्जुमा गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरेको छ”, उहाँले भन्नुभयो । मन्त्रालयले नेपालमा कृत्रिम बुद्धिमत्ता ९एआई०को प्रयोग र अभ्याससँग सम्बन्धित अवधारणा पत्र प्रकाशित गरेको उहाँले बताउनुभयो । कार्यक्रममा केयुका उपकुलपति प्रा डा भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई अवसरमा बदल्ने चुनौती प्रमुख विषय रहेको बताउनुभयो । युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताबारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा युनिभर्सिटी अफ टेक्सासका प्राध्यापक अरविन्द सिंघल, सिघुवा विश्वविद्यालयका प्राध्यापक लि सिग्वाङ, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोण्डा रवीन्द्रनाथ सहभागी हुनुहुन्छ । सङ्गोष्ठीमा चीनको काङ्बा टेलिभिजनकी सम्पादक चेमी वेङमो, जेजियाङ विश्वविद्यालयका प्राध्यापक वो फेइ, फोस्करी विश्वविद्यालयका प्राध्यापक घानी–उर–रहमान, भुटानकी शोधकर्ता याङ चेन सी रिन्जिन, दिल्ली विश्वविद्यालयको प्राध्यापक सरिता आनन्द र चीनका प्राध्यापक हान होङ वक्ताका रूपमा हुनुहुन्छ । युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना र केयूको भाषा तथा आमसञ्चार विभागद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीमा एक सय कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सङ्गोष्ठीमा नेपाल, चीन, भारत, भुटान, पाकिस्तान, संयुक्तराज्य अमेरिकालगायत मुलुकका प्राज्ञिक व्यक्तिको सहभागिता रहेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ । त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा सो कोषमा प्रदान गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्याङ्जा: वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले रु ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुलःनिर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको छ । विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उहाँले बताउनुभयो । यहाँ पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए । पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिनुभयो । “पुल बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ । किसानलाई उत्पादित सामान ओसारपसार गर्न र बजारसम्म लैजान सहज भएको हो”, उहाँले भन्नुभयो । यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन् । सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताउनुभयो । स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अफ्ठयारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीयको निरन्तर प्रयासपछि एक सय ५२ मिटर लामो पुल बनेको भन्दै विस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौं: केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब रु २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ । “एनटिसीको करिब रु १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब रु साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले रासससँग भन्नुभयो । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उहाँले बताउनुभयो । बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ । पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी दिनुभयो । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उहाँले बताउनुभयो ।