पोखरा महानगरपालिका १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत फेला परेका युवक भिमादका २१ वर्षीय मनोज भुजेल रहेको खुलेको छ ।   ज्याला मजदुरी गर्दै आएका भुजेलको शव आज सोमबार बिहान भेटिएको थ...

पोखरा:   तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन ८ गतेदेखि दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप गर्ने भएको छ ।  गाउँपालिकाले दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।  म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पर्यटन विकासका लागि खेलकुद भन्ने नारासहित फागुन ८ देखि २२ गतेसम्म दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा फुटबल,ब्याडमिन्टन र वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको बताए ।  उनका अनुसार म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ । पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेताले ५०÷५० हजार र उपविजेताले ५०÷५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, सर्भर, सेटर,ब्लकर,लिब्रो र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गर्ने पालिकाले जनाएको छ ।  यस्तै फागुन १३ देखि २२ गतेसम्म गण्डकी प्रदेश पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिता म्याग्दे गाउँपालिका–७ छाङ्ग फुटबल मैदानमा सञ्चालन हुनेछ ।  उक्त प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागतर्फ सर्वाधिक गोलकर्ता, उत्कष्ट मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।  यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई १५÷१५ हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन एक पालिका टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको पालिकाले जनाएको छ ।  यस्तै जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते म्याग्दे गाउँपालिका–४ थर्पु ब्याडमिन्टन क्लबको कवर्डहलमा हुनेछ । यस प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टोलीले १०÷१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्याग्दे गाउँपालिकाले यस प्रतियोगिता सञ्चालनमा लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा २० लाख रुपैयाँ बजेट बिनियोजित गरेको छ । 

म्याग्दी:    म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।  “सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्नुहुन्छ, “यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।”  खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक रू एक करोड बढीको सुन्तला बिक्री हुने उहाँ बताउनुहुन्छ । प्रतिकिलो रू एक सय २० का दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ ।  बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोप्नुभएको थियो । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे ।  बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थप्नुभयो । त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो ।  विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै जानुभएको छ । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ ।  पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गर्नुभएको थियो । निवृत्त जीवन पनि उहाँले सुन्तला खेतीमै लगाउनुभएको छ । चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् ।  खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा नौ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले रू २३ लाख र आठ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले रू ३० लाखको सुन्तला बिक्री भएको बताउनुभयो ।  समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन् ।  बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । छब्बीस हजार सात सय छ वटा बोटमा यस वर्ष रू १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उहाँले बताउनुभयो । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ ।  देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् ।  बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् ।

काठमाडौं:     सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ ।  अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा गर्दा पूर्वतयारी पूरा भएका आयोजनामा मात्र विनियोजन हुन नसक्नुलगायतका कारण उल्लेख गरेको हो ।  यस्तै, वन क्षेत्रको उपयोग, आयोजना स्थलको जग्गा प्राप्ति, मुआब्जा निर्धारण र वितरण, क्षतिपूर्तिलगायत प्रक्रिया पूरा नभएका आयोजनामा समेत बजेट विनियोजन गर्ने प्रवृत्ति विद्यमान रहेकाले सार्वजनिक खर्चमा अपेक्षित सुधार नभएको स्पष्ट पारिएको छ ।   आयोजनाको निर्माण गर्ने मोडालिटी, कूल लागत, विस्तृत आयोजना प्रतिवेदन र आयोजनाको आर्थिक, सामाजिक, वित्तीय, प्राविधिक तथा भौगर्भिक पक्षको वस्तुगत विश्लेषण एवम् मूल्याङ्कन गरी बजेट प्रस्ताव गर्न नसकेका कारण बजेट कार्यान्वयन कार्ययोजनाको परिपालना हुन नसक्नुलाई पनि मन्त्रालयले कारणको रूपमा पहिचान गरेको छ ।  “स्रोत सुनिश्चित भएका आयोजनाहरूमा न्यून बजेट प्रस्ताव गर्ने र प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको सङ्ख्या बढाउँदै जाँदा सिर्जित दायित्व भुक्तानीमा समस्या आउनुका साथै अधुरा आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको छ,” अर्थ मन्त्रालयले भनेको छ ।  संविधानको परिकल्पनाअनुसार तीनै तहका सरकारका बीचमा पर्याप्त समन्वय र सहकार्य हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रम, कतिपय अनुदानका कार्यक्रम र विकास आयोजनाहरू समेत दोहोरो पर्न गई खर्चको प्रभावकारिता एवम् स्रोतको समन्यायिक वितरणमा समेत नकारात्मक असर पर्न गएको स्पष्ट पारिएको छ ।  विकास आयोजनामा आयोजना प्रमुखलगायत कर्मचारीको समयमा पदपूर्ति नहुने, छिटो छिटो सरूवा हुने, निर्माण सामग्रीको निर्वाध उपलब्धता नहुने र श्रमिक व्यवस्थापनसम्बन्धी कार्य समयमै हुन नसक्ने प्रवृत्ति कायमै रहनु पनि कम खर्चको कारक बनेको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।  कतिपय निकायको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्डलगायतका कानूनमा संशोधन वा नयाँ कानून तर्जुमा समयमै हुन नसकेका कारण अर्धवार्षिक अवधिसम्म पनि खर्चको आधार नै तय नहुने अवस्था रहेको मन्त्रालयको ठहर छ ।   वैदेशिक स्रोतमा सञ्चालित आयोजनामा सरकारको तर्फबाट व्यहोरिने समपूरक कोषको रकम न्यून प्रस्ताव हुने गरेको र वैदेशिक सहायताबाट सञ्चालित कतिपय आयोजनामा विकास साझेदारले निर्धारण गरेको खरिद प्रक्रिया र लेखाङ्कनसम्बन्धी व्यवस्था पालना नहुँदा तोकिएको शर्त पूरा नभई समयमै शोधभर्ना प्राप्त हुन नसकेको मन्त्रालयले जनाएको छ ।  कतिपय नयाँ आयोजना तथा कार्यक्रमका लागि अवण्डामा राखेको रकम समयमा बाँडफाँट हुन नसक्दा आयोजना कार्यान्वयनमा ढिलाई हुने गरेको छ ।  राष्ट्रिय विकास समस्या समाधान समिति र मन्त्रालयगत विकास समस्या समाधान समितिबाट पहिचान भएका समस्या समाधानका लागि प्रस्तावित सुझाव कार्यान्वयन हुन नसक्दा सोही समस्या दोहोरिएको समीक्षामा स्पष्ट पारिएको छ ।

काठमाडौं:   कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।  ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो । बैंककस्थित नेपाली दूतावासका अनुसार राजदूत ओलीलाई स्वागत गर्दै कम्बोडियाली नरेशले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो ।  मौसुफले राजदूत ओलीको कार्यकालमा कम्बोडिया र नेपालबीचको सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा कम्बोडियाका उपप्रधानमन्त्रीका साथै राजदरबारका उच्च अधिकारीहरुको उपस्थिति थियो । 

सिन्धुली:   झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ ।  विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।  मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उहाँले जानकारी दिनुभयो । 

लमजुङ:     बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।  कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनुभएको थियो ।  उहाँ गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उहाँ हालसम्म  हाजिरी हुन आउनुभएको छैन ।  कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आर्थिक कारोबारलगायत काम रोकिएको छ । सेवाग्राहीले समस्या भोग्नु परेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर गुरूङले बताउनुभयो ।  उहाँले भन्नुभयो, “यतिका समय हुँदा पनि प्रमुख आउनु भएन, सम्र्पक बिहिन जस्तै हुनुभएको छ, यहाँ नआउने भए सरूवा फिर्ता लिए हुन्थ्यो, कि आउने भए बेलैमा आए कर्मचारीले तलब पाउने थिए, सेवाग्राहीले सेवाहरू प्राप्त गर्ने थिए ।” गुरूङलाई निमित्त कार्यालय प्रमुख तोकिए पनि उहाँलाई आर्थिक एवं महत्त्वपूर्ण कार्याहरू गर्ने अधिकार दिएको छैन । सेवाग्राहीका महत्त्वपूर्ण काम गर्न आफूलाई अधिकार नभएकाले समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार २६ जना दरबन्दी रहेको यस कार्यालयमा जम्मा ८ जना मात्रै दरबन्दीका कर्मचारी रहेका छन् । गुरूङले भन्नुभयो, “यसअघि पनि कार्यालय प्रमुख नहुँदा आफू असारदेखि मङ्सिरसम्म निमित्त कार्यालय प्रमुख भएर जिम्मेवारी सम्हालेको र त्यो बेलामा अरू कोही कार्यालय प्रमुख नआएको तथा न तोकेकाले अधिकार मैले पाएको थिए । तर अहिले उपसचिव अधिकारीलाई नै प्रमुख तोकेर पोखराबाट सरूवा गरेर यहाँ खटाएकाले आफूलाई अहिले सबै अधिकार नहुँदा विभिन्न समस्या उत्पन्न भइरहेकाले सम्बन्धित निकायमा पटकपटक खबर गर्दै आए पनि सुनुवाई हुन सकेको छैन ।”  यस मालपोत कार्यालयमा एक वर्षदेखि पटक पटक कार्यालय प्रमुख फेरिदै आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्र जिल्ला मालपोत कार्यालयमा तीन जना प्रमुखको आगमन तथा सरूवा भएको छ । कार्यालयमा प्रमुख एक महिनाभन्दा बढी नटिक्दा सेवाग्राही समस्यामा परेको उनीहरूको दुःखेसो छ । यस वर्ष चिरिञ्जीवी पौडेल कार्यालय प्रमुख भएर आउनुभयो तर एक महिनामै सरूवा हुनुभयो । त्यसपछि जेठसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भयो ।  जेठ महिनामा हरेन्द्रकुमार श्रेष्ठ आउनुभयो, तर असार महिनामै सरूवा हुनुभयो । त्यसयता चार महिना निमित्तको भरमा सेवा प्रवाह हुँदैआएको थियो ।  पछिल्लो पटक गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनु भए पनि उहाँ पनि पुस महिनामै सरूवा हुनुभयो । त्यसयता कार्यालय प्रमुखमा कोही आउनुभएको छैन । प्रमुखका रूपमा कास्कीबाट अधिकारीलाई सरूवा गरिए पनि उहाँ लमजुङमा हाजिर नहाउँदा समस्या भएको हो । यहाँ कार्यालय प्रमुखसँगै खरिदार ५ जना, कम्युटर अपरेक्टर एक जना, लेखापाल एक जना, तानासु ९टाइसिन० एक जना, कार्यालय सहयोगी एक जना खाली रहँदै आएको निमित्त कार्यालय प्रमुख गुरूङको भनाइ छ ।  उहाँले भन्नुभयो, “दरबन्दीअनुसार कर्मचारी कम हुँदा सेवाप्रवाहमा समेत समस्या तथा कर्मचारीलाई बढी भार हुने गरेको छ ।” 

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ ।  व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो । मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरपालिकामा पहिलो पटक केशवटार माविबाट मगरभाषाको पढाई सुरू गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर सङ्घले बनाएको नीति र स्थानीय पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन गरिएको छ । केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको शुभारम्भ नगरप्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो ।  मगर भाषाको पढाइ सञ्चालनका लागि नगरपालिकाकै सहयोगमा पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो । मगर भाषा संरक्षणका लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ । तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन् । पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो ।  यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पुर्‍याएको र सिकाइमा प्रभावकारिता ल्याएको नेपाल मगर सङ्घका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापाले बताउनुभयो ।  तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिनुभएको थियो । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए । 

काठमाडौं:   जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ । शनिबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

काठमाडौं:   गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उहाँले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।       आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पार्नुभयो ।  “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।        तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उहाँले सञ्चारमाध्यमसँग अनुरोध गर्नुभयो ।