ढोरपाटन: जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् आपूर्ति नहुँदा वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान सञ्चालन गर्न समस्या भइरहेको भन्दै यसले सेवा प्रभाव प्रभावकारी हुन नसकेको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । कार्यालयको अधिकांश काम डिजिटल प्रविधिमार्फत गर्न सुरु गरे पनि विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखितबाट गर्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो पोख्नुभयो । वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “विद्युत् नहुँदा कार्यालयको काम सबै ठप्प हुन्छ, गाउँमा रहेको टेलिकमको टावर पनि बन्द भएर फोनसमेत गर्न पाइँदैन, सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने हुन्छ, घटनाहरू दर्ता गर्नुपर्ने हुन्छ, तर विद्युत् नहुँदा समयमा सेवा दिन गाह्रो हुँदै आएको छ ।” यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् छन् । हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको स्थानीय बताउँछन् । नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाट खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । यी सबै लघु जलविद्युत् आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले केन्द्रीय प्रसारण लाइन विस्तारका लागि विद्युत् प्राधिकरणसँग सहकार्य गरेर अहिले पोल र लाइन तान्ने काम सुरु भएको जानकारी दिनुभयो । उक्त वडामा दुई सय ५० घरधुरीका एक हजार पाँच सय जनसङ्ख्या रहेको भन्दै सहज रूपमा विद्युत् आपूर्ति नहुँदा स्थानीयलाई समस्या भइरहेको उहाँको भनाइ छ ।
पोखरा: पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने भएका हुन् । फरेन्हाइट क्लबको आयोजनामा प्रचार नेपाल र आर्बिटरी इभेन्ट्सले यो कन्सर्ट गर्न लागेका हुन् । पोखरेली ब्याण्ड ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदा स्वरले भने पहिलोपटक पोखरामा संगीत पारखीलाई आफ्ना गीतमा झुमाउने प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए । द एज ब्याण्ड सन् १९९८ मा स्थापना भएको थियो र स्थापनाको दुई वर्षपछि सन् २००० मा ‘मेरो आँसु’ एलबम सार्वजनिक गरेको थियो । त्यसैले उक्त ब्याण्डले फेब्रअरी १४ मा आफ्नो २५ औँ वार्षिकोत्सव संगीतप्रेमी माझ मनाउने भएको हो । द एज ब्याण्डको ‘नचाहेको होइन’, ‘तिम्रो याद’, ‘सम्झिने मुटु’, ‘मेरो आँसु’, ‘नछोड्नु यो साथ’ लगायत गीत युवा पुस्ताले रुचाएका छन् । स्वरको ‘अपरीभाषित’, ‘बादल सरी’, ‘विस्तारै’, ‘उडिरहेछन्’ निकै रुचाइएका गीत हुन् । ‘द एज ब्याण्ड’ का भोकलिष्ट जीवन गुरूङले ब्याण्डको २५ वर्ष पुगेको खुसी गृह सहरमै मनाउन पाउनु निकै खुसीको विषय भएको बताए । ‘पोखराबाटै हामीले हाम्रो सुरुवात ग¥यौं । घरमै हाम्रो ब्याण्डले २५ औं वर्ष मनाउँदै छ,’ उनले भने, ‘त्यो दिन पोखराले हाम्रो खुसीमा साथ दिन्छ भन्ने विश्वास छ ।’ पोखराकै द इन्फ्लेम ब्याण्ड र काठमाडौंका आविष्कार केसीको सोही दिन सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक महेश्वरसिंह भण्डारीले जानकारी दिए । कन्सर्टका लागि जेनेरल टिकटको एक हजार रुपैयाँ र भीआइपी टिकटको दुई हजार रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए । टिकट मोबाइल वालेट ‘खल्ती एप’ बाट काट्न सकिने भण्डारीले बताए । कलेजका विद्यार्थी, पोखराका रेष्टुरेन्ट, फिल्म हल, लेकसाइडको एल।इ।डी डिस्प्लेसहित सोसल मिडियाबाट कार्यक्रमको प्रचार भइरहेको छ । सो दिन ३ हजारभन्दा बढी दर्शक कन्सर्टमा उपस्थित हुने आयोजकको अनुमान छ । प्रचार नेपालले पोखरामा प्रायः यस्तै सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसअघि २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, ¥यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए । चर्चित गायक सज्जनराज वैद्यको गत कार्तिकको पोखराको कन्सर्ट पनि प्रचारकै व्यवस्थापनमा सफल भएको थियो । प्रचारले फागु पूर्णिमामा ‘होलील्याण्ड’ नाम दिएर बाराही घाटमै होली विशेष कार्यक्रम पनि गर्दै आएको छ । योपटक पनि होलीको दिन फागुन २९ मा ‘होलील्याण्ड’को दोस्रो संस्करण हुने प्रचार नेपालका सञ्चालक आशिष पुरीले बताए ।
ललितपुर: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइद्वारा आज यहाँ आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा उहाँले मुलुकका शैक्षिक प्रतिष्ठानबाट गुणस्तरीय सेवा प्रवाह भएकाले स्वदेशमा नै उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । “हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईँहरूले अधिकतम उपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । विसं २०७२ को भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले खाजा खर्च जोगाएर पुनर्निर्माण गरेका छन् । उक्त पुस्तकालय आजै क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।
काठमाडौं: बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो । भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिँदै भन्नुभयो, “हाल हामीले बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, यो मार्गमा यातायात अवरुद्ध हुन नदिने लक्ष्य छ । आवश्यक परे राति पनि काम गर्छौ ।” गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
हुम्ला: सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन । सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् । यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको बताउनुभयो ।
मोरङ: कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो । सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उहाँले बताउनुभयो । सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँले असोजदेखि अन्यत्रबाट पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने बताउनुभयो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ । करिब ५० प्रजातिका बटुवा चरा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्रप्रमुख गौतमले बताउनुभयो ।
काठमाडौं: सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुग्नुभयो । पाइलट बनेर देशको सेवा गर्ने उहाँको सपना थियो । तर, परिस्थितिले उहाँलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो । पाइलट बन्ने सपना थाती राखेर विष्ट नेपाल फर्किनुभयो । अभिभावक (बुबा–आमा) को चाहना अनुसार विष्टले पाइलटको सपना छाडेर नेपालमा पुख्र्यौली पेसा (पर्यटन व्यवसाय) सम्हाल्नुभयो । उहाँ आज नेपालमा पर्यटन व्यवसायमा जम्नुभएको छ । सङ्घर्ष सफल पर्यटन व्यवसायीको रुपमा चिनिनुहुन्छ । सङ्घर्षको पाइलट बन्ने सपना अब उहाँकी जेठी छोरी अर्नग्या विष्टले पुरा गर्दैहुनुहुन्छ । केही दिनअघि छोरीलाई पाइलट पढ्न अमेरिका बिदा गर्नुभएका विष्टले आफ्नो विगत सम्झिएर निकै भावुक बन्नुभयो । उहाँले भन्नुभयो, “आजभन्दा ३० वर्षअघि म अमेरिकामा पाइलट तालिम गरिरहेको थिए, बिदामा बुबाआमाको औधी याद आयो । लगत्तै नेपाल फर्किए । त्यही बिचमा आमाबुबाले भन्नुभयो, तँ, पाइलट पढेपछि कता–कता जालास् १ तिमी हामीलाई चाहिन्छौ । यो व्यवसायलाई सम्हाल्नुपर्छ, अभिभावको चाहना अनुरुप विष्ट नेपाल फर्केर पर्यटन व्यवसायमा रमाए ।” आफ्ना सन्तान चिकित्सक, पाइलट र इञ्जिनिर बनुन् भन्ने अभिभावको पहिलो चाहना हुन्छ । यो पेसा मात्रै नभएर समाजको प्रतिष्ठा पनि बनिरहेको छ । तर, विष्ट परिवारले प्रतिष्ठाभन्दा पनि पुख्र्यौैली पेसालाई प्राथमिकता दिएर छोरालाई नेपालमै व्यवसायमा डोर्याउने निधो गरे । सङ्घर्षले अभिभावको चाहनालाई नकार्न सक्नुभएन । पेसा व्यवसायलाई निरन्तरता दिनुभयो । सङ्घर्षको सपना पाइलट बन्ने नै थियो । तर परिवार र देशप्रतिको मायाले उहाँ स्वदेश फर्किनुभयो । नामजस्तै सङघर्षको सङ्घर्षले व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन ९रेबान० का केन्द्रीय अध्यक्ष समेत रहनुभएका विष्टको होटल तथा रेष्टुरेण्ट व्यवसायमा नेतृत्व लोभलाग्दो छ । “सङ्घर्षपछिको सफलताले जीवनलाई आनन्दित तुल्याउछ”, उहाँ भन्नुहुन्छ, “आज म असाध्यै खुसी छु । किनकी नेपालमै बसेर केही भए पनि गर्नसकेको छु, मेरो ठूलो सपना छैन । यही देशमा केही गरु भन्ने हुटहुटी छ ।” सङ्घर्ष स्वदेश फर्कनुमा एउटा गज्जबको संयोग छ । उहाँको परिवार कोटेश्वरमा बस्छ । परिवारका पाँच सन्तान (चार छोरा र एक छोरी) मध्ये सङ्घर्ष साइलो छोरा हुनुहुन्थो । “म अमेरिका उडेपछि बुबाआमाले सधैँ चित्त दुःखाएर कोटेश्वरमाथि उड्ने विमानलाई सोध्नुहुन्थ्यो रे ‘तैले मेरो छोरालाई अमेरिका लगिस कहिले फिर्तागर्छस्”, उहाँले भन्नुभयो–“त्यतिमात्रै हैन, दक्षिणकाली मातालाई प्रार्थना गरेर मेरो छोरो चाँडो फिर्ता गरिदिनुस् । फर्केपछि कालो बोको चढाउँछु भनेर भाकल गर्नुभएको रहेछ ।” पछि नेपाल फर्केर दक्षिणकालीमा भाकल पूरा गरेको विष्टले स्मरण गर्नुभयो । “बुबाआमाको चाहना अनुसार पाइलट बन्ने सपना छाडेर यहाँ बसे । मेरो जीवनमा बन्ने इच्छा र सपना नै पाइलट थियो”, विष्टले भन्नुभयो, “मेरो सपना ब्रेकफास्ट नेपालमा, लन्च युरोपमा र डिनर अमेरिकामा गर्ने थियो । तर, बुबाआमाको सपनालाई पहिलो प्राथमिकता थिएर मेरो इच्छालाई त्यत्तिकै थाती राखे ।” सपना रोकिएकामा केही समय विष्टमा छटपट्टी हुन्थ्यो । सन् २००३ मा बिबाह गरेको एक महिनामा उहाँ बुबाआमालाई युरोप घुम्न जान्छु भनेर अमेरिका पुग्नुभयो । यसबारे उहाँले श्रीमतीलाई मात्रै जानकारी दिनुभयो । विष्टले अमेरिकामा प्याराग्लाइडिङको तालिम लिनुभयो । करिब नौ महिनाको तालिम सकेर उहाँ पहिलो प्याराग्लाइडिङको पहिलो लाइसेन्स होल्डर पनि बन्नुभयो । उहाँअघि नारायण पराजुली र राजेश बम्जनले प्याराग्लाईडिङको तालिम लिनुभएको थियो तर, लाइसेन्स भने लिनुभएको थिएन । विष्ट भन्नुहुन्छ, “केही हदसम्म मेरो पाइलट बन्ने सपना चाहिँ प्याराग्लाइडिङमा रमाएर सीमित राखे । तर, म गौरब गर्छु किन की नेपाल संसारकै सुन्दर देश हो । जातजाती, भाषाभाषी, सगरमाथा र बुद्धजन्भूमिमा बसेर थोरै भएपनि आत्मनिर्भर भएर पर्यटन व्यवसायलाई चलायमान बनाउन पाउँदा ज्यादै खुशी छु र नेपालमा बस्न पाएकोमा गौरब पनि गर्छु ।” आफूलाई खुशी राख्न विष्टले निरन्तर मेहेनत र समाजसेवालाई निरन्तरता दिनुभएको छ । उहाँ दैनिक १२ देखि १४ घण्टा श्रम गर्नुहुन्छ । विष्टको अनुभवमा जीवनमा प्राप्ति मात्रै हैन त्याग र समर्पणको आनन्द पनि बेल्लै छ । “आफ्नै देशमा बसेर केही युवालाई छोटो समय काम सिकाएर सक्षम व्यावसायिक वातावरण बनाउने र नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन केही हदसम्म योगदान पुगेको छ । यसैबाट मलाई आनन्छ आउँछ”, उहाँले भन्नुभयो । विष्टको सफलतामा जीवनसाथी विश्व कीर्तिमानी नेपाली प्रतिष्ठा अमात्य (विष्ट) को दरिलो साथ छ । प्रतिष्ठा अमात्य सन् २००४ मा स्मरण शक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने पहिलो नेपाली हुनुहुन्छ । गीत गायन र रचनामा पनि पोख्त उहाँका विभिन्न एल्वम सार्वजनिक भएका छन् । अहिले उहाँ पर्यटन क्षेत्रमा सघाइरहनुभएको छ । सफल व्यवसायी विष्ट व्यवसायका अतिरिक्त खेलकुद र समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विद्यालय तह देखिनै धावक रहेनुभएका विष्ट मार्सल आर्टमा ब्लाकबेल्ट हुनुुहुन्छ । साइक्लिङ सङ्घको पूर्वअध्यक्ष उहाँले प्याराग्लाइडिङ र स्वीमिङमा पनि विभिन्न रेकर्ड कायम गर्नुभएको छ । संस्कृति प्रवर्द्धनमा ‘नेपाली चुल्हो’ लाजिम्पाटमा रहेको ‘नेपाली चुल्हो’ लोकप्रिय भोजन गृहको रुपमा स्थापित छ । पारिवारिक वातावरणमा स्तरीय खानाका परिकारको स्वाद चखाइरहेको नेपाली चुल्होले संस्कृति र पर्यटन प्रवर्द्धन गरिरहेको छ । नेपाली चुल्होका प्रबन्ध निर्देशक विष्ट विभिन्न परिकारको स्वाद ग्राहकमाझ पु¥याइरहेको बताउनुहुन्छ । “विभिन्न सांस्कृतिक प्रस्तुतिसहित खानाको साथमा नेपाली पर्यटन प्रवर्द्धन गरिरहेका छाँै”, उहाँले भन्नुभयो । नेपाली चुल्होमा विभिन्न जातजाति र वेषभूषा झल्कने सांस्कृतिक प्रस्तुतिसहित खानाका परिकार लिन सकिन्छ । यस्तै विष्टकै नेतृत्वमा रहेको ठमेलमा ३० वर्षदेखि स्थापित ‘नर्थफिल्ड क्याफे’मा भारतीय, अमेरिकन, म्याक्सिकन कन्टिनेन्टल खानाको मज्जा लिन पाइन्छ । ठमेलकै ‘लाबेला क्याफे’मा इटालियन कन्टिनेन्टल खाना पाइन्छ । नर्थफिल्ड पर्यटकको रोजाइमा पर्छ । पर्यटन व्यवसायी विष्ट सामाजिक कार्यमार्फत धेरैका लागि भरोसा र आशाका केन्द्र पनि बन्नुभएको छ । उहाँमार्फत अवसर पाएका देशका विभिन पेसामा उपलल्लो तहमा कार्यरत छन् । आफूले सहयोग गरेका व्यक्ति उपल्लो पदमा पुग्दा ज्यादै खुसी र आनन्द लाग्ने उहाँ बताउनुहुन्छ । नवौँ राष्ट्रिय खेलमा प्याराग्लाईडिङ प्रशिक्षकको जिम्मेवारी निभाउनुभएका विष्ट नेपाल साइक्लिङ एशोसिएशनका पूर्वउपाध्यक्ष हुनुहुन्छ । चर्चित बुद्ध वाज बर्न इन नेपाल अभियानका संयोजक विष्ट टुर दी लुम्बिनीको उपाध्यक्ष र ठमेल पर्यटन विकास परिषदका पूर्वउपाध्यक्ष हुनुहुन्छ । रेष्टुरेण्ट र बारमा गएर खाना खाने संस्कृति विकास भएको धेरै समय भएको छैन । विशेषगरी शहरी क्षेत्रमा रेष्टुरेण्ट तथा बारको व्यवसाय बढ्दो छ । रेष्टुरेण्ट तथा बारमा पुग्ने युवा जनशक्ति धेरै छ । बाह्य र अन्तरिक पर्यटकको भरमा रेष्टुरेण्ट एण्ड बार सञ्चालन भएका छन् । विष्टले रेष्टुरेण्ट एण्ड बारको व्यापार विस्तारको बिकल्प नेपालमा अब विदेशी पर्यटक भित्र्याउने र आन्तरिक पर्यटक प्रवर्द्धनको कार्यक्रम सञ्चालन गर्नु रहेको बताउनुभयो ।