पोखरा: ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोल्मा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा तीजको अवसरमा पूर्व प्राथमिक तहदेखि मा.वि. तहसम्म बाल गीत तथा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पूर्व प्रा.वि.तर्फबाट दुई समूहमा विभाजन गरी मूल्यांकन गरिएकोमा कक्षा नर्सरी र एल.के.जी.मा कक्षा एल.के.जी. प्रथम र कक्षा यू.के.जी. ‘क’ र ‘ख’ र कक्षा १ को मूल्यांकनमा कक्षा १ ले प्रथम स्थान प्राप्त गरेका थिए । आधारभूत जुनियरमा कक्षा २ देखि ५ तर्फबाट कक्षा ५ मा अध्ययनरत छात्राहरुद्वय आकृति पाण्डे र अदिती तिमिल्सिना प्रथम, कक्षा ३ का छात्रछात्राहरु मौ भौमिक,सइशा तामाङ, काव्या बि.क., अनुस्का अधिकारी, एस्टल गुरुङ र सौगात हमालको समूह द्वितीय, कक्षा ३ कै छात्रा सुजिता बाल्कोटी तृतीय र कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा २ की छात्रा बिपासा मल्ललेसान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कक्षा ६ देखि १० तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्राहरु प्रशंसा कार्की,आयुष्का पाइजा, अंशु भुजेल, आरोसी देवकोटा, आशिका देवकोटा र प्रशंसा सुनारको समूह प्रथम, कक्षा १० मा अध्ययनरत छात्राहरु सुजिता सुनार, लुनिभा कपाली र साइना बुद्धाचार्यको समूह द्वितीय र कक्षा १० मा अध्ययनरत छात्रा अनिता बि.कले तृतीय स्थान प्राप्त गरेका थिए । विजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै प्राचार्य कृष्णकुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरुका शैक्षिक, सामाजिक, व्यक्तिगत तथा बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने कुरा बताउनुभएको थियो । प्राचार्य श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा एम.बि.बि.एस. अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी यस विद्यालयकी पूर्व छात्रा कृषा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । यस कार्यक्रमको निर्णायक मण्डलमा स्कुलकी नृत्य शिक्षिका रन्जु बयलकोटी र कविता गुरुङ रहनुभएको थियो । भने कार्यक्रम सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनस्थित शुभकामना आमा समुहको २२ औ साधारण सभा एवम् ११ औं अधिवेशनले पार्वती कुमारी खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको समुहको उपाध्यक्षमा मिना द्धारे खाँण, सचिवमा सिर्जना खनाल, सहसचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष निरमाया के.सी र सदस्यहरुमा ज्योती कार्की, लक्ष्मी सापकोटा गिरी,टिका देवी पौडेल, सुवेदी, विमला सुनार, राधा कार्की, मिठु द्धारे खाँण, सन्तोषी गुरुङ रहनु भएको छ । पोखरा १७ का वडाअध्यक्ष राधिका शाहीले अधिवेशनको उद्घाटन गर्दै समाजको समग्र विकास निर्माणमा आमा समुहले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । टोल छिमेक्म्ँ देखिएका विकृती तथा विसंगतिको अन्त्यका लागि आमाहरु संगठित भएर लाग्नु पर्नेमा उहाँको जोड थियो । म्युजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले विभिन्न संघसस्थाको नेतृत्वले आफु नभई समाज केन्द्रीत हुनु पर्नेमा जोड दिंदै आमा समुहहरु क्षमता अभिवृद्धि गर्दै आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो । आमा समुहमा आवद्ध परिवारका जेष्ठ नागरिक एवम् दश जोड दुई उत्तिर्ण विद्यार्थीलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको कार्यक्रममा समुहका सदस्यले सामुहिक दर खानुका साथै तीज पर्वको आवरमा शुभकामना आदान प्रदान गरेका थिए । समुहका अध्यक्ष कोकिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व अध्यक्ष हिरा अधिकारी, हिमालय बोर्डिङ स्कूलका प्रिन्सिपल डा. टेकनारायण पौडेल, समाजसेवी लिलाबहादुर जिसी, नारिशक्ति जागरण आमा समुहका अध्यक्ष पियारी गुरुङ, पूर्व सहसचिव विष्णुबहादुर द्धारे खाँण, घारिपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पौडेल, सम्मानित विद्यार्थी सम्पन्न श्रेष्ठ, लगायतले आमा समुहको महत्व माथि प्रकाश गर्नुभएको थियो । समुहका कोषाध्यक्ष गंगा कुँवरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा समुहका उपाध्यक्ष अन्जु गुरुङ, सचिव मिना द्धारे खाँण, सहसचिव सिर्जना खनालले समुहले नेतृत्व विकास र बुटिक जुत्ता बनाउने तालिम लगायत विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो । २०५३ सालमा स्थापना भएको आमा समुहले रातोपैह्रास्थित संग्रहालयचोक वहुदेश्यीय भवनका साथै उपल्लो रातोपैरामा शक्तिदेवी मन्दिर निर्माण गर्नुका साथै म्यूजियम मार्गमा चार आना जग्गा समेत खरिद गरेको छ ।
लेखनाथ: पोखरा महानगरपालिका २७ अर्चलेमा स्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको हो । सो पार्कको पोखरा महानगरका प्रमुख धनराज आचार्य र पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले आज सयूंक्त रूपमा अनावरण गरे । कवि पौड्यालको जन्मस्थान अर्चलेमा उनको सम्झनामा सालकसहितको स्मृति पार्क निर्माण गरिएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पौड्यालको सम्झनासँगै सम्मान मिल्ने धारणा राखे । उनले पोखरा पर्यटकीय राजधानी मात्रै नभई साहित्यको उर्भर भूमीको रुपमा समेत परिचित रहेको बताएका थिए । सो कार्यक्रमको अवसरमा पार्क निर्माण गर्न सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । सो स्मृति पार्कबाट उत्तरमा लहरै माछापुच्छ्रे, धवलागिरी तथा अन्नपूर्ण लगायतका हिमश्रृङखलाहरु देख्न सकिन्छ । यि हुन् कवि पौड्यालका कृतिहरु:- -ऋतु विचार (खण्डकाव्य) - १९७३ -वुद्धिविनोद (कविताकृति) - १९७३ -सत्यकलि संवाद (कविताकृति) - १९७६ -सत्यस्मृति - २००९ -मेरो राम - २०११ -त्याग र उदयको सन्देश - २००१ -गीताञ्जली (कविताकृति) - १९८६ -तरुण तपसी (नव्यकाव्य) - २०१० -लक्ष्मीपूजा (नाटक) - १९९४ -गौरी-गौरव (नाटक) -लालित्य (कविता सङ्ग्रह भाग १, २) -भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार -भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४ -पञ्चतन्त्र (नेपाली अनुवाद)
पोखरा: पोखरामा आजदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुनसक्ने स्कुल व्याण्ड प्रतिष्पर्धामा १८ विद्यालयका १९ व्याण्डले प्रतिष्पर्धा गर्ने आयोजक पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । धेरै विद्यालयले प्रतिष्पर्धाका लागि आवेदन दिएपनि डिजिटल अडिसनका आधारमा १९ व्याण्ड अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । प्रतियोगितामा यस वर्ष सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (बी), मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल प्रतिष्पर्धामा छन् । त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगती सेकेण्डरी स्कुल, ग्लोबल कलेजिट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धामा छन् । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । संघका अनुसार शुक्रबार १९ वटै स्कुलले आ–आफ्नो प्रस्तुती दिनेछन् । पूर्वाह्न ११ बजेदेखि शुरु हुने प्रतिष्पर्धामा सैनिक आवासीय माविले प्रस्तुती दिएपछि निरन्तर तालिका अनुसार नै प्रत्येक विद्यालयले प्रस्तुती दिने अध्यक्ष गुरुङले बताए । प्रतिष्पर्धी स्कुलका व्याण्डहरुले शुक्रबार गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्नेछ । उनीहरुले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् । फाईनलमा पुगेका स्कुल व्याण्डहरुले प्रतियोगिताको अन्तिम दिन शनिबार दुईवटा गीतहरु प्रस्तुत गर्नुपर्नेछ । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ । संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले जानकारी दिए । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने । संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौर देखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको टोली घरमै पुग्दा व्यवसायी दंग छन् । युवा जोस र जाँगर अनि भिजन बोकेर हिंडेको टोलीले जित्ने विश्वास मिलेको छ । उद्योग वाणिज्य संघको छविलाई उचाल्न पोखरेल प्यानलको जीत सुनिश्चित भएको तर्क व्यवसायीहरुको छ । अर्जुन पोखरेल प्यानल १५ बुँदे प्रतिबद्धता पत्रसहित घरदैलोमा पुगेको हो । “सम्मानित संघ, समुन्नत व्यवसाय” नारालाई आत्मसात् गर्दै संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने संकल्प पोखरेलको छ । आफू निर्वाचित भएमा साना, मझौला र ठूला व्यावसायीहरुको समस्यामा साथै रहने पोखरेलले उल्लेख गरेका छन् । अर्जुन प्यानलको वरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) पदमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) पदमा बलराम आचार्य, महासचिव पदमा शोभा गौतम, कोषाध्यक्ष पदमा मनोज कुमार श्रेष्ठ, उपमहासचिव पदमा बालकृष्ण कोइराला, कार्यसमिति सदस्यहरुमा क्रमशः भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललित बहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।
पोखरा: पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तेस्रो पुस्तामा रुपान्तरण भएको छ । प्रवन प्रजापति अध्यक्ष हुँदा कार्यसमितिमा मनोनित भएका सौगात तेस्रो पुस्ताका दरिला उम्मेदवार हुन् । सानै उमेर देखि जिम्मेबारी सम्हालेका सौगातले भाद्र २८ र २९ गते हुने उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् । सौगात नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायिक आकार र आयतनमा फेरबदल ल्याएको छ । आजको आवश्यकता अनुसार बगैँचा रिर्सोट एण्ड स्पा रिनोभेसन हुँदैछ । ३१ एभिन्युु नाम दिएर बन्दै गरेको मिक्सिड युुज ब्लिडिङले साच्चै पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । नेपालकै नमुना ब्लिडिङमा होटल सँगै अन्य लक्जरी सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ सौगात लगानी गर्दैछन् । लेकसाइड स्थित सेन्टरपोइन्टमा रहेको अंशुभरा स्क्वायर मलले समेत सौगातको सोचलाई फरकपन दिएको छ । पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«डमलको बोर्ड अफ डाइरेक्टर समेत रहेका सौगातले आफ्नै सक्रियतामा उक्त व्यवसायलाई समेत परिमार्जित रुप दिँदैछन् । अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् । व्यवसाय सँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता पाइन्छ । पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हक, हित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दैछ । पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । गएको निर्वाचनबाट युवाहरु सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरुको नेतृत्वदायी भूमिका देखिन्छ । सौगात थापा पनि युवाहरुको प्रतिनिधित्व गर्दै उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएका छन् । उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरुलाई प्रवेश गराउने उद्देश्य सौगातको छ । भन्छन्, “पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरुप अर्जुन पोखरेलको प्यानल लागिरहेको छ । हामी कुरा होइन काम गर्नका लागि आएका हौं । निर्वाचित भइसकेपछि पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हाम्रो टीम एकरुप भएर अगाडि बढ्छ ।” बाणिज्य संघ अब युवाको नेतृत्वमा अगाडि बढ्दैछ । पोखरा उद्योग बाणिज्य संघको इतिहासमा नै पहिलो पटक तेस्रो पुस्ता कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको भेटिन्छ । २०७१ सालमा सौगातका बुवा विन्दुकुमार थापाले उद्योग बाणिज्य संघको नेतृत्व सम्हालेका थिए । हाल उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् । बुवाकै पथमा हिडिरहेका सौगात रुपान्तरणमा विश्वास गर्छन् । उद्योग बाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनिहरुको समस्यालाई समाधान गर्न थापाको उम्मेदवारी हो । सौगातले यसअघि नै दुई वर्षे कालमा उद्योग बाणिज्य संघलाई नयाँ स्वरुप दिन खोजे । नयाँ पुस्ताको नयाँ सोचमा उद्योग बाणिज्य संघ चल्नुपर्छ भन्ने धारणा उनको छ । आर्थिक मन्दीले पोखराका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्य सहित सौगात अगाडि बढिरहेका छन् । उनको एउटै ध्येय “सबल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग बाणिज्य संघ” हो ।
पोखरा: गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले निर्माण गर्न लागेको शिक्षण अस्पताल र शैक्षिक भवनको शिलन्यास गरिएको छ । पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीमा निर्माण गर्न लागिएको मेडिकल कलेजको शिक्षण अस्पताल र शैक्षिक भवनको बुधबार एक कार्यक्रमका बीच शिलन्यास गरिएको हो । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पोखरा–२७ रिठ्ठेपानीमा रहेको आफ्नै स्वामित्वमा रहेको जग्गामा बि.डि.एस, नर्सिङ तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन रहेको पुरानो भवन नजिक करिव ३ अर्बको लगानीमा ७५० शैयाको अत्याधुनिक शिक्षण अस्पताल निर्माण गर्न लागेको हो । यस्तै प्रालिले पोखरा–२७ छत्रेढुङ्गामा समेत करिव १ अर्बको लागतमा शैक्षिक भवनको समेत निर्माण सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रविन्द्र प्रसाद श्रेष्ठले बताए । उनले दुवै भवनको निर्माण कार्य करिव २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आज शिलन्यास गरिएको बताए । पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजको अस्पतालबाट सेवा प्रदान गर्दै आएपनि पोखराको जनघनत्व बढ्दै गएपछि सेवाग्राहीको समेत चाप बढेपछि कम्पनीको स्वामित्वमा रहेको जग्गामा भवन बनाउन लागिएको बताए । स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले वि.स.२०६४ सालमा स्थापना भएको गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले भवनमा ५ अर्व लगानी गरिसकेका बताएको छ । गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले स्नातक (एम.वि.विएस÷बि.डिएसतर्फ ६सय ५९ र नर्सिङ तथा एलाईड साईन्सेजतर्फ २सय २१ जना र स्नातकोत्तर (एम.डि÷एम.एस तथा एम.पि.एच तर्फ गरी ५० जना )दक्ष जनशक्ति तयार गरेको जनाएको छ । गण्डकी मेडिकल कलेजमा करिव १ हजार २ सयलाई रोजगारी र वार्षिक रुपमा करिव २ लाख जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.श्रेष्ठले बताए । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरर्गत सञ्चालित विभिन्न निशुल्क सेवाहरु डायलासिस, आमा सुरक्षा कार्यक्रम, क्यान्सर रोगको उपचार, मस्तिष्क घाट र डिओटियस (क्षयरोग) कार्यक्रमसँगै नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।
पोखरा: पोखरामा डायमण्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमण्ड सोरुम सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन गरेका हुन् । पोखरामा हिराका ग्राहकलाई मध्यनजर गर्दै सोरुम सञ्चालन गरिएको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । योभन्दा अघि कम्पनीकै अर्को शाखा पञ्चरत्न आभूषण प्रालि डायमण्डको सोरुम सञ्चालन आईसकेको उनले सुनाए । सोरुम उद्घाटनका अवसरमा भदौ १२ देखि १९ गतेसम्म हिराका गहनामा विशेष छुट प्रदान गरिने उनले जानकारी दिए । बिहान १० बजेदेखिसाँझ ६ बजेसम्म सोरुम खुला रहने अध्यक्ष गुमाजूले बताए । सोरुममा हिराबाट बनेका विभिन्न गहनाहरु उपलब्ध छन् । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका थियौं,’ उनले भने, ‘यो पटक पोखरामै अर्को सोरुमको शुभारम्भ गरेका हौं ।’ यसले हिराका गहनाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ । तीज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए । कम्पनी अन्तर्गत पिएम कञ्चन आभूषण, कञ्चन आभूषण, कञ्चन ज्वेलर्स, कृस कञ्चन ज्वेलरी, पञ्चरत्न आभूषण र कञ्चन सिल्भर रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका थिए। कप्तान शाहीलाई ५० हजार र पत्रकार शर्मालाई १० हजार नगदले सम्मान गरिएको हो । अरुणा शाहीलाई उनको कप्तानीमा विदेशमा उत्कृष्ट भलिबल खेल प्रदर्शन गरेको भन्दै सम्मान गरिएको थियो भने जमुना वर्षा शर्मालाई पत्रकारिताको माध्यमबाट महिला सशक्तिकरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि तिवारीले कडा परिश्रम र मिहिनेतको परिणामस्वरूप समाजमा सफलता प्राप्त गरेका महिलाहरुलाई सम्मान गर्ने यो कार्यक्रम प्रसंशनीय रूपमा स्थापित गरेको बताइन्। उनले महिलाहरु अघि बढ्नका लागि अझै धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै, यी चुनौतीहरूको सामना गरेर मात्रै सफलता प्राप्त गर्न सकिनेमा जोड दिइन्। उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनु पर्ने , गैह्रकानुनी र सीप बिना बिदेश जाने कुरालाई निरुत्साहित गर्दै विदेश भन्दा स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नु पर्नेमा जोड दिइन । सम्मानित पत्रकार जमुना वर्षा शर्माले सम्मानले पत्रकारीता क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताइन । सो अवसरमा पत्रकार शर्माले रोजगारीको लागि संघर्ष गर्ने महिलाहरूको समस्यालाई सम्बोधन गर्दै वैदेशिक रोजगार शाखा संरक्षण संघले समस्यामा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्न आग्रह गरिन्। सम्मानित कप्तान अरुणा शाही सम्मानले आफुलाई थप हौसला र उर्जा मिलेको धारणा राख्दै देशको नाम राख्न आफुले निरन्तर मिहिनेत गर्ने बताइन । संघका अध्यक्ष सुजन श्रेष्ठले हरितालिका तिज पर्व को महत्व र महिमा विशेष रहेको जनाउदै महिला सम्मान गरेको बताए । उनले २०६६ सालमा स्थापना भएको सस्थाले गण्डकी प्रदेशका वैदेशिक रोजगार सम्बद्ध शाखाहरुलाई नियमन गर्दै सरकार र व्यवसायीबीच समन्वय गर्दै आइरहेको जानकारी दिए । उनले वैदेशिक रोजगारको नाममा हुने ठगिलाई रोक्दै कानुनी र व्यवस्थित माध्यमबाट रोजगार प्रदान गर्न सस्था सक्रिय रहेको र संघमा ८० वटा सस्था आवद्ध रहेको उनको भनाइ थियो । सो कार्यक्रममा संघका सल्लाहकार, सदस्य, कर्मचारी र अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो ।