पोखरा: पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत पोखरा– चितवन सौराहाका लागि रोयल पोखराको २ वटा सुविधासम्पन्न बस सञ्चालनमा आएको छ । दुई पर्यटकीय गन्तव्य जोड्ने गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगन्द्र बहादुर केसीले करिब १ करोड ५० लाखको लागतमा घटस्थापनाको अवसर पारेर आजदेखि सेवा सुरु गरको हो । पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका संरक्षक तथा वरिष्ठ यातायात व्यवसायी केशव अधिकारीले उक्त बस सेवाको शुभारम्भ गरेका हुन् । उक्त बस पर्यटक बसपार्कबाट छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले विभिन्न समस्या तथा चुनौतीको सामना गर्दै यात्रुहरुलाई गन्तव्य पु¥याउन लागि परिरहेको बताए । ‘देशमा बाढी पहिरो लगायतका विभिन्न कारणले सार्वजनिक यातायात सञ्चालन गर्न धेरै चुनौतीहरु सृजना भएका छन्’, अध्यक्ष केसीले भने, ‘तथापी हामी यातायात व्यवसायी मजदुरहरु आत्मविश्वासका साथ प्रस्थान बिन्दुबाट गन्तव्य विन्दुमा पु¥याउन लागि परिरहेका छौं, ।’ उनले यात्रुहरुलाई सुविधासहितको सेवासहित पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बस पोखरा–चिवतन सौराहा लागि बस सञ्चालनमा ल्याएको समेत बताए । ‘यात्रुहरुलाई कति सकिन्छ सुविधासहितको सेवा दिने प्रयास गरिरहेका छौं, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बसहरु सञ्चालमा ल्याइरहेका छौं’, उनले भने, ‘ सोही सन्दर्भमा पोखरा–चितवनको सौराहा जोड्ने बसको शुभारम्भ गरेका छौं, यसरी नै हामीले पर्यटकीय गन्तव्यलाई जोड्ने गरी भिआईपी गाडी सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।’ सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यसहित दुर्घटनारहित सेवा सञ्चालन गर्ने लक्ष्यसहित यातायात व्यवसायीहरु लागि परिरहेको बताए । उनका अनुसार पोखरा– चितवनको सौराहा र सौराहा–पोखरा बिहान ७ बजे बस छुट्नेछ । भने, भाडादर १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
पोखरा: राष्ट्रिय समाचार समिति(रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गर्नुभयो । पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याउनुभएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो । पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष स्व ऋषिकेशव पराजुली र उहाँका धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । पत्रकारिताका माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई बृद्धाश्रमले वर्षेनी सम्मान गर्दै आएको छ । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार ज्येष्ठ नागरिकका हक अधिकार संरक्षणका लागि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक भगवान्का प्रतिक रहेकाले सँधै आदर र सम्मान गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले ज्येष्ठ नागरिकका पक्षमा कानुनी प्रवन्ध गर्न र अधिकारका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । पुरस्कृत व्यक्तित्व वासुदेव पौडेलले ज्येष्ठ नागरिकका पक्षमा बनेका कानुनहरुको कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कानुन कार्यान्वयनका लागि सञ्चार क्षेत्रले जहिलेपनि सरकारलाई खवरदारी गर्ने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले भनाई राख्नुभएको थियो । विसं २०५३ मा स्थापना भई असहाय एवम् विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको पोखरा वृृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक १० जना अपाङ्गता भएका ब्यक्तिहरु एवम स्याहारकर्ताले आश्रय लिदै आउनुुभएको संस्थाका सचिव धर्म गुरुङले जानकारी दिनुभयो । यसैगरी आश्रमले विशेष गरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।
पोखरा महानगरपालिका १५ नयाँगाउँमा विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफी धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित थापा र कुशल रानाले समान १ गोलको योगदान दिए । यस्तै दोस्रो खेलमा नवप्रतिभालाई केएनबीले ३–० गोल अन्तरले पराजित गर्याे । केएनबीको जीतमा बुद्धि गुरुङले २ र अमिर गुरुङले १ गोल गरे । यस्तै सेभेन टु एट गाइज र आर फिफ्टिनबीच भएको तेस्रो २–२ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा सेभेन टु एट गाइज बिजयी बन्यो । चौथों खेलमा वी आर वन टिमले टुटुङ्गा एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । वी आर वनको जीतमा विकास गुरुङले निर्णायक गोल गरे । यस्तै आज भएको अन्तिम खेलमा रमाइलो एफसीले पुनटोललाई २–० अन्तरले हराउँदै रमाइलो एफसी दोस्रो चरणमा प्रवेश गर्याे । रमाइलोको जीतमा सुजन मगर र विश्वास गुरुङले समान १ गोलको योगदान दिए । प्रतियोगितामा कुल २६ टिमको सहभागिता रहेको छ । खेलकुदले परिचय फराकिलो बनाउँछ: वडाध्यक्ष बानियाँ आगामी १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले खेलकुदले खेलाडीको परिचय फराकिलो बनाउन सघाउ पुग्ने धारणा राखे । खेलकुदले अनुशासनको दायरामा राख्दै भाइचारको आपसी सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने उल्लेख गरे । ‘खेलकुद यस्तो क्षेत्र हो, जस्ले अनुशासनको दायरामा राखेर आपसी सम्बन्ध मजबुद बनाउन मद्दत गर्छ, उनले भने, ‘यति मात्र होइन यसले खेलाडीको परिचय फराकिलो पनि बनाउछ ।’ उनले खेलकुदकै माध्ययमबाट देशलाई विश्वमा चिनाउनसमेत सकिने बताए । 'अहिले खेलकुदको विकास भइरहेको छ । क्रीकेट, फुटबल, तेक्वान्दो लगायतको क्षेत्रबाट पछिल्लो समय ऐतिहासिक पदक देशले पाएको छ । यसले देशको गौरवलाई विश्वसमेत फैलाउन सघाएको छ । त्यसैले खेलकुदमा भविष्य देख्नेहरु पछि नहट्नुहोला' उनले भने । सो कार्यक्रमा संगम टोल विकास संस्थाका अदिप बराल, फ्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका अध्यक्ष गंगा बहादुर क्षेत्री लागायतले बोलेका थिए । नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ । कार्यक्रममा आदर्श आमा समूह र संगमटोल विकास आमा समूहको टोलीले झाँकीसहति र्यालीसमेत प्रर्दशन गरको थियो । उक्त प्रतियोगिताको मिडिया पार्टनरमा सुनगाभा न्यूज डटकम र गोल नेपाल डटकम रहेको छ भने, प्रतियोगिताका सबै खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ तालीब्राङमा दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुने भएको छ । सृजना युवा तथा आमा परिवारको आयोजनामा असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुन लागेको हो । दशै मेलामा फाइभ ए साइड फुटबल प्रतियोगितासँगै अन्य प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको कार्यक्रम संयोजक सनम गुरुङ (सक्रिय)ले जानकारी दिए । उनका अनुसार असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेलामा खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता लगायत अन्य कार्यक्रमहरु आयोजना गरिएको छ । खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए । उनका अनुसार विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले ट्रफी प्राप्त गर्नेछन् । यस्तै फाइभ ए साइड फुटबल प्रतियोगितामा एक समूहलाई रु ३ हजार ५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै रस्साकस्सी प्रतियोगिता र छेलो प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले बताए । दोस्रो तालिब्राङ (तर्मु) दशै मेलाको उद्घाटन समारोहमा आमा समूहबीच मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको सृजना युवा तथा आमा परिवारले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलन काउन्टरमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबीस घण्टा नै सञ्चालन रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।” यसअघि एक्यापले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिँदै आएको थियो । अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । अनलाइन सेवाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता थपिने उहाँको भनाइ छ । उहाँका अनुसार विदेशबाट पनि पर्यटकले अनलाइन माध्यमबाट उक्त क्षेत्रको प्रवेशाज्ञा लिन सक्ने व्यवस्था मिलाइएको छ । पदयात्रा पर्यटनका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमफिरका लागि पुग्ने गर्छन् । यो वर्षको मुख्य पर्यटकीय याम भर्खर सुरु भएकाले त्यस क्षेत्रका गन्तव्यस्थलमा पर्यटकीय गतिविधि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्म पदयात्राका लागि उत्तम याम मानिन्छ । पदमार्ग मात्र नभएर मोटरमार्फत पनि सो क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गर्छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, कागबेनी, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । यसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । कोभिड महामारीका बेला सुस्ताएको यस क्षेत्रको पर्यटन विस्तारै पुरानै लयतर्फ फर्किएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । आन्तरिकपछि सबैभन्दा बढी भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका छन् ।
नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् । यससँगै बुकिङ खुला भएको जनाएको छ । नामी पोखराका संस्थापक अम्बिका भट्टराईका अनुसार सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिंग भएको थियो । उनले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई सार्वजनिक गरेको बताउदै विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीशडा. आनन्द मोहन भट्टराई विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमा बधाई र शुभकामना व्यक्त गरे । यस्तै इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले इभी कम्पनीहरु एफ्टर सेल्स सर्भिस र चार्जिंग स्टेसनलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर इभीबारे देशभर सन्देश फैलाउन सकिने बताए । ‘देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको छ, उनले भने ‘देशमा उपलब्ध जलस्रोतको उपयोग गरेरलाई यसलाई पूर्ती गर्न सकिन्छ ।’ एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे बुझ्नुपर्ने बताए । यस्तो छ, ‘फिचर’ नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ । यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई १, नामी ई २ र नामी ई ३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ । नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ । एमएडब्लु वृद्धिले सोमबार पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने बताइएको छ ।
एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज (आइतबार) बृहत संवाद कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको केही सहभागिहरुले गुनासो गरे । ‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के हो भन्ने थाहा छैन, टानका अध्यक्ष कृष्ण आचार्यले गुनासो गरे, ‘योजनालाई अक्षरश पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बनिधत निकायले कुरा मात्र गर्ने चाँसो नै नदिएर समुन्नत बन्छ त ?’ यस्तै अन्तरक्रियाको क्रममा नेपाल आदिवासी जनाजाति महासंघ प्रदेश समन्वय समिति गण्डकीका अध्यक्ष धर्म तमुले आदिवासीलाई पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने तर्क राखे । ‘गण्डकी प्रकृति र संस्कृतिमा धनि प्रदेश हो । हरेक तहमा समान सहभागिता हुनुपर्छ । के हामीलाई झाँकी र भेषभूषासहितको र्यालीका लागिमात्र हो डाक्ने ?, उनले प्रश्न गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफिदै प्रदेशलाई सुनौलो र समुन्नत बनाउन सरकार लागिपरेको बताए । उनले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर प्रदेशका कार्ययोजनाहरु अघि सारेको स्पष्ट पारे । ‘हामीले गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउनका लागि सम्भावना भएअनुरुप दुइवटा क्षेत्र छन् । एउटा पर्यटन र अर्काे कृषि, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले गाउँबाट शहर झर्ने र शहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने भनेको पनि यही दुइवटै क्षेत्र हो । त्यसैले यसको क्षेत्रमा काम गरिरहेका छौं ।’ उनले कृषिलाई व्यवसायीकीकरण गर्दै कृषि उद्योगको रुपमा विकास गरेर विदेशीएका युवाशक्तिलाई रोक्न सकिने उनले बताए । ‘कृषिलाई व्यवसायीकरण गरेर कृषि उद्योगको स्थापनामार्फत रोजगारीको अवसर सिर्जना गर्न सकियो भने युवाहरु देशमै अडिन्छन् र गण्डकीमा पर्यटनको आधारशिला तयार भइसकेको छ, यस क्षेत्रलाई पनि व्यापक प्रवद्र्धन गरेर थप चलायमान बनाउन सकियो भने अर्थतन्त्रमा वृद्धि हुन जान्छ, उनले भने, ‘त्यसैले अहिले हामीले यी दुई क्षेत्र कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’ यस्तै गण्डकी प्रदेश संसदीय दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी समुन्नत गण्डकीको विषयमा धारणा राखिन् । उनले प्रदेशलाई समुन्नत बनाउनका लागि महिला सशक्तिकरणको जरुरी रहेको बताइन् । ‘प्रदेशलाई समुन्नत बनाउने हो भने महिलाको सशक्तिकरण र समान सहभागिता जरुरी छ, उनले भनिन्, ‘ अहिले बाध्यकारी क्षेत्रमा बाहेक अन्य क्षेत्रमा महिलाहरुको सहभागिता नगण्य छ । यसलाई वृद्धि गर्दै लैजानु पर्छ । किनभने यो एउटा सँघर्षको उपलब्धि हो ।’ सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख कुन्दन मिस्रले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पोखरा: ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै लाग्नुुपर्नेमा जोड दिनुुभयो । भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवद्र्धन गरिरहेको मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिन्जे नाँसालाई रोजिएको बताउनुुभयो । रिन्जे नाशा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि वस्ती सुन्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिन्जे जाशामा घरवास कार्यक्रम सुरु गरिएको बताउनुुभयो । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षता एवम् सचिव लक्ष्मण पहारीले सञ्चालन गर्नुुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाट लगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा त्यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिनुुभयो । ढुुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको रिन्जे नाँसाबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पर्यटन राजधानी पोखरा पेरीफेरीमा रहेको पोखरा महानगरपालिका वडा नं १६ स्थित रिन्जे नाशा गाउँ यतिखेर घरवास पर्यटनको पुुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
पोखरा: एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा बृहत संवाद कार्यक्रम हुन लागेको हो । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा यही १३ गते आइतबार हुने कार्यक्रमको तयारी पूरा भएको गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले जानकारी दिए । उनका अनुसार कार्यक्रमको समयावधि करिब १ घण्टा ३५ मिनेट तोकिएको छ । बिहानको ७: ४५ बजे सुरु हुने सो कार्यक्रममा विषयविज्ञका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले प्रस्तुती दिने मगरले बताए । ‘विषयविज्ञको प्रस्तुतीपछि खुला सत्रमा प्रश्नोत्तर हुनेछ, आस्थामगरले भने, ‘त्यसपछि महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी, समुन्नत गण्डकीको बारेमा संसदीय दल नेकपा माओवादीकी प्रमुख सचेतक कुसुम बुढामगरले धारणा राख्ने कार्यक्रम तय गरेका छौं ।’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल लगायत विशेष व्यक्तित्वहरुको सहभागिता रहने सो कार्यक्रमको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएकाले निर्धारित समयमै उपस्थित हुन आयोजकले अनुरोध गरेको छ । एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलको सभापतित्वमा हुने कार्यक्रमको सञ्चालन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले गर्नेछन् । सो कार्यक्रमले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकसित गर्न थप सघाउ पुग्ने विश्वास लिइएको छ ।