पोखरा: कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा आज पनि पोखरामा रास्वपाले प्रदर्शन गरेको छ । पोखराको वाइचोकमा विभिन्न नाराबाजीसहित सरकारको विरुद्धमा प्रदर्शन गरेको हो । यो पनि पढ्नुहोस रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु) पोखराको आन्दोलन सफल भयो अब काठमाडौं केन्द्रीत हुन्छौं: प्रदेश सभापति गौतम हेर्नुहोस् तस्बिरहरु:-
पोखरा: कास्की प्रहरीको हिरासतमा रहेको राष्ट्रिय स्वतन्त पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थमन पोखरामा जारी प्रर्दशन अब काठमाडौं केन्द्रीत गरिने भएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश संयोजक राजन गौतमले अबका आन्दोलन काठमाडौं केन्द्रीत गरिने बताए । उनले कास्की र गण्डकी केन्द्रीत आन्दोलन सफल भएको उल्लेख गरे । ‘कास्की र गण्डकी केन्द्रीत हाम्रो आन्दोलन सफल भएको महसुस गरेका छौं । न्यायालय अर्थात कार्यान्वयन गर्ने निकायलाई झक्झकाएका छौं, उनले भने, ‘न्यायलाई मार्न पाइदैन भनेर आजसम्म हामीले शान्तिपूर्ण आन्दोलन गर्याै । सम्भवत आज पोखरा केन्द्रीत आन्दोलन टुङ्ग्याउदैछौ र अब काठमाडौं केन्द्रीत हुनेछ ।’ उनले सहकारीको विषयलाई मात्रै नभएर देश बनाउने एजेण्डा भएकाले काठमाडौं केन्द्रीत हुने निर्णय भएको बताए । ‘हामी देश नै परिवर्तन गर्ने बेथिती र भ्रष्टाचार अन्त्य गर्ने भनेर लागेका हौं त्यसका लागि काठमाडौं केन्द्री हुनुपर्छ भन्ने सल्लाह भएको छ ।’ उनले भने । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धानका लागि पाएको म्याद गएराती सकिएकाले आज फेरि थप अनुमति लिन कास्की जिल्ला अदालत लगिँदै छ । लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । यो पनि पढ्नुहोस रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु) रविविरुद्ध ६ दिन म्याद थप
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको व्यवस्थापनमा भएको पाँच दिने तालिम मंगलबार सुरु गर्दै उनले यस्तो धारणा राखेका हुन् । तालिममा गण्डकी प्रदेशका विभिन्न कार्यालयका प्राविधिकहरुलाई मोटरेबल पुल निर्माणबारे विभिन्न विषयमा ज्ञान दिइनेछ । मन्त्री केसीले तालिममा सहभागी भई सडक, पुलहरुको नक्सा अध्ययन, डिजाइन, निर्माणसम्बन्धी सीप, ज्ञान सिक्न र त्यो ज्ञान व्यवहारमा लागू गर्न आग्रह गरे । कर्मचारीले स्थायी सरकारको रुपमा जनताले अनुभूत गर्ने गरी सेवा प्रदान गर्नुपर्ने विचार राख्नै मन्त्री केसीले राम्रो कामका लागि मन्त्रालयको ढोका सधै खुला रहेको जनाए । प्रदेश लोक सेवाबाट आएका नयाँ कर्मचारीलाई सीप र दक्षता सिकाउन सुरु भएको पर्यवेक्षण तालिममा ३६ प्राविधिक सहभागी छन् । तालिममा पुल, पुलका पार्टपुर्जा, लेआउट, कंक्रिटको परीक्षण, मिश्रण, आरसिसी संरचनाको गुणस्तर नियन्त्रण, विवरण, सामग्री ढुवानीको पक्ष, ब्रिज फाउन्डेसन, ओपन फाउन्डेसन, डिप फाउन्डेसन उत्खनन, विस्तार, जोइन्ट, वोल्ट वायारिङ, गुणस्तर आस्वासन योजना आदिबारे जानकारी दिइनेछ । प्रशिक्षार्थीलाई विभिन्न समूहमा विभाजित गरी मोटरेबल पुलका विभिन्न अवस्था, देखा पर्ने समस्या र न्यूनीकरण गर्ने उपायबारे सिकाइनेछ । पूर्वाधार विकास निर्देशानालय गण्डकी प्रदेशका निमित्त निर्देशक रामकुमार श्रेष्ठको अध्यक्ष्यतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले कार्यकुशलता र कार्यदक्षता अभिवृद्धि गर्न तालिम उपयोगी भएको बताए । स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रमका कार्यालय प्रमुख साखिल मानन्धरले पहिले नेपालमा मोटरेबल सडक विभागले मात्र बनाउने गरेको स्मरण गर्दै धेरै ठाउँमा कर्मचारी र आवश्यक सामग्रीको अभावले गर्दा काम ढिलो हुने गरेको जनाए । भौगोलिक कारणले नेपालमा धेरै पुल चाहिने उल्लेख गर्दै उनले सडक र पुलको गुणस्तर योजनावद्ध रुपमा सुधार्दै जानुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सडक तथा सहरी विकास माहाशाखाका प्रमुख सिडिई राम पराजुली, स्थानीय सडक पुल कार्यक्रम गण्डकी प्रदेशका कार्यक्रम संयोजक अस्मित पोखरेल, इन्जिनियर हरिशंकर जोशी, लगायतले बोलेका थिए भने पूर्वाधार विकास निर्देशानालयका ल्याब टेक्निसियन सचिन अधिकारी तालिमको संचालन गरेका थिए ।
कास्की: चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो । केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । “दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेङ्गुको सङ्क्रमण बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा अभाव देखिएपछि सबैलाई रक्तदान गर्न आह्वान गरेका छौँ”, ज्ञवालीले भन्नुभयो । आकस्मिक कार्यक्रम गर्न गरिएको आह्वानपछि विभिन्न सङ्घसंस्थाले कार्यक्रम राखेका उहाँले जानकारी दिनुभयो । “हामीले अभाव महसुुस गरेपछि आह्वान गर्छौं र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ”, ज्ञवालीले भन्नुभयो । डेङ्गु सङ्क्रमण बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । प्रदेशको राजधानी रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ । प्रदेशका अन्य अस्पतालहरुबाट पनि यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग रगतको बढी हुने गर्दछ ।
पोखरा: पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो । कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका साथै विषयगत शिक्षकहरू आवासीय रूपमा यहाँ बस्दै आएका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिनुभयो । विद्यालयको अन्य आर्थिक स्रोतहरू नभएका कारण नियमित भोजन व्यवस्थापनलगायत प्रयोजनका लागि मुठीदान अभियान सुरु गरिएको उहाँले बताउनुभयो । विद्यालयका लागि सरकारबाट वार्षिक रूपमा प्राप्त हुने रु १० लाख अनुदानबाहेक अन्य कुनै आम्दानी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । “विद्यार्थीलाई अध्यापन गराउने विषयगत शिक्षकका साथै विद्यार्थीहरूको पठनपाठन र भोजनलगायतमा गुरुकुलतर्फ मासिक न्यूनतम रु दुई लाख खर्च हुने गरेको छ”, उहाँले भन्नुुभयो, “गुरुकुलसँगै यहाँस्थित राधाकृष्ण मन्दिरको नियमित पूजाआजा एवम् सरसफाइका लागि मासिक रु एक लाख खर्च हुने गरेको हुँदा खर्च व्यवस्थापन गर्न असहज भइरहेको छ । यसैकारण मुठीदान अभियान सञ्चालन गरिएको हो ।” विद्यालयमा शौचालय, भोजनालयजस्ता अत्यावश्यकीय पूर्वाधारको समेत अभाव रहेको अध्यक्ष रेग्मीको भनाइ छ । मुठीदान अभियान सञ्चालनका लागि राधाकृष्ण मन्दिर शान्ति आश्रम र विद्यालयको संयुक्त पहलमा अन्नपात्रहरू तयार गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आश्रमका सचिव घनश्याम खनालले जानकारी दिनुभयो । अन्नपात्रलाई मुठीदान (भण्डारी) नाम दिइएको उहाँले जानकारी दिनुभयो । करिब एक पाथी क्षमताका अन्नपात्र विद्यालयमा सहयोग गर्न इच्छुक महानुभावलाई हस्तान्तरण गरिन्छ । सहयोगदाताले आफ्नो नियमित खाना व्यवस्थापनमा हुने खर्चमध्ये केही छुट्याएर राख्ने र भरिएपछि मन्दिरमा उपलब्ध गराउने गर्दछन् । असोज १ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म ४७ जनाले अन्नपात्र लिएर जानुभएको र केही व्यक्तिले भरिएपछि मन्दिरमा ल्याएर बुझाएर पुनः पात्रहरू लिएर जानुभएको सचिव खनालले जानकारी दिनुभयो । “यस अभियानले गुरुकुलको सञ्चालनमा केही न केही सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ । गुरुकुलको दीर्घकालीन सञ्चालनका लागि सहयोगी मनहरूलाई हामीले नियमित सहयोगका लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको स्थानीयवासी बताउँछन् । मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । यहाँ कक्षा ६ देखि १० सम्मको अध्ययन–अध्यापन हुँदै आएको छ । संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको सचिव खनालले जानकारी दिनुभयो । यसै क्षेत्रमा गर्ग र च्यवन ऋषिले तपस्या गर्नुभएका पौराणिक तथ्यहरूसमेत पाइएका कारण यहाँको समग्र विकासका लागि बृहत् अध्ययन–अनुसन्धान हुनु आवश्यक रहेको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं गर्ग तथा च्यवन ऋषि आश्रम खोज तथा अनुसन्धान समितिका अध्यक्ष कविराज खनाल बताउनुहुन्छ । “यसै स्थानमा गर्ग र च्यवन ऋषिले तपस्या गरेका विभिन्न शास्त्रीय प्रमाण उपलब्ध छन्”, उहाँले भन्नुभयो, “मुक्ति क्षेत्र एवम् हिमालयको राजधानीको मुख्य प्रवेशद्वारका रूपमा विभिन्न अध्ययनग्रन्थले यहाँको चित्रण गरेको पाइएको छ ।” ऐतिहासिक भूमिको खोज–अनुसन्धानसँगै यहाँका राधाकृष्ण शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयलगायत धार्मिक एवम् शैक्षिक क्षेत्रका विविधतालाई समेटेर यस क्षेत्रको विकास गर्नु अपरिहार्य देखिएको अध्यक्ष खनालले बताउनुभयो ।
पोखरा: रवि लामिछानेको समर्थनमा निशेषधित क्षेत्रमा प्रदर्शन गरेकाहरुलाई कास्की प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ । सोही क्रममा रविको समर्थनमा आन्दोलनरत प्रदर्शनकारीलाई सहिदचोकदेखि हटाउन फानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको हो । अहिले रविलाई कास्की प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको छ । पानीको फोहरा प्रहार हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ता घाइते भएका छन् । उनीहरु सहिद चोक निशेषधित क्षेत्र नभएको भन्दै उक्त स्थान छाड्न अटेर गरेका थिए । यद्यपी कास्की प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको हो । अहिले प्रदर्शनकारीहरु वाइचोक क्षेत्रमा आएर सरकारविरुद्ध र रविको पक्षमा नाराबााजी गरिरहेका छन् । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो । गोर्खा मिडियोको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचनल गरेको लामिछानेमाथि आरोप छ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिद चोक र गैह्रापाटन क्षेत्रको चार किल्ला भित्रको क्षेत्रमा लागू हुन गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
पोखरा: प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए । रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखे । “वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न । वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले यसले वर्गीय पक्षधरता अँगाल्दछ” उनले भने, “त्यसकारण जुन साहित्यकारले सर्वहारा पक्षधरतालाई आत्मसात गर्दैैन र जसले उत्पीडित जनताको मुक्तिको दर्शन माक्र्सवादलाई स्वीकार्दैन, त्यो प्रगतिशील साहित्यकार हुन सक्दैन र त्यसले प्रगतिशील साहित्यको सिर्जना पनि गर्न सक्दैन ।” जनताको गरिबी, दासता, दुःख, पीडा, छटपटी आदिलाई उजागर गर्ने र उत्पीडनको विरोध गर्ने विषयवस्तु मात्र प्रगतिशील साहित्य नभई त्यसमा मुक्तिको दिशाबोधसमेत गरिएको हुनुपर्ने उनको भनाइ थियो । देशको वाम राजनीतिक आन्दोलन फुट र विभाजनबाट गुज्रिएकाले त्यसको प्रभाव प्रगतिशील साहित्यको क्षेत्रमा पनि परेको रेग्मीले बताए । गण्डकीमा साङ्गठनिक दृष्टिले प्रगतिशील साहित्यको अपेक्षित विकास हुन नसकेको उनको टिप्पणी थियो । गोष्ठीपत्रमाथि टिप्पणी गर्दै प्रा. डा. यदुनन्दन उपाध्यायले गोष्ठीपत्रले गण्डकीको प्रगतिशील साहित्यबारे आम मानिसमा चासो बढाउन सहयोग गरेको धारणा राखे । गोष्ठीपत्रमा समेट्नुपर्ने थुप्रै विषयवस्तु छुटेको बताउँदै उनले सहभागीको सुझावलाई ध्यानमा राखेर गोष्ठीपत्रलाई अन्तिम रूप दिनुपर्ने बताए ।
पोखरा: आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब २६ हजार ३५४ र यहाँ अस्थायी रूपमा बसोबास गर्ने करिब ६ हजार बढी बालबालिकाहरू गरी ३२ हजार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । यसका लागि महानगरपालिकाका स्वास्थ्यकर्मीहरू, ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत परिचालन गरिएको अभियानका फोकल पर्सन सत्यराज साँखीले जानकारी दिनुभयो । महानगरपालिकाले आज र भोली महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था समेत गरेको छ । अभियानको शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले आफूहरू बालबालिकाहरूको स्वास्थ्य प्रति सचेत रहेको बताउनुभयो । बालबालिकाहरूलाई नियमित रूपमा दिइने यस प्रकारका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र कुनै पनि बालबालिका यस सुविधाबाट वञ्चित हुन नपरोस् भन्नका लागि महानगरको स्वास्थ्य सम्बन्धी सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो । महानगरपालिका भित्र स्थायी तथा अस्थायी रूपमा रहेका ३२ हजार बढी बालबालिकाहरूलाई यस अभियानले पूर्ण रूपमा समेट्ने गरी आवश्यक प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो । बालबालिकाहरूको स्वास्थ्यमा आउन सक्ने जटिलताहरूलाई मध्यनजर गरी महानगरपालिकाले सरकारका विभिन्न राष्ट्रिय अभियानहरूमा सहकार्य गर्दै आइरहेको उल्लेख गर्दै उहाँले सुरक्षित र स्वस्थ भविष्य निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । महानगरपालिका भित्र सबै अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । जस अनुसार यस पटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।