पोखरा: रवि लामिछानेको समर्थनमा निशेषधित क्षेत्रमा प्रदर्शन गरेकाहरुलाई कास्की प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ । सोही क्रममा रविको समर्थनमा आन्दोलनरत प्रदर्शनकारीलाई सहिदचोकदेखि हटाउन फानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको हो । अहिले रविलाई कास्की प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको छ । पानीको फोहरा प्रहार हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ता घाइते भएका छन् । उनीहरु सहिद चोक निशेषधित क्षेत्र नभएको भन्दै उक्त स्थान छाड्न अटेर गरेका थिए । यद्यपी कास्की प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको हो । अहिले प्रदर्शनकारीहरु वाइचोक क्षेत्रमा आएर सरकारविरुद्ध र रविको पक्षमा नाराबााजी गरिरहेका छन् । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो । गोर्खा मिडियोको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचनल गरेको लामिछानेमाथि आरोप छ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिद चोक र गैह्रापाटन क्षेत्रको चार किल्ला भित्रको क्षेत्रमा लागू हुन गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
पोखरा: प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए । रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखे । “वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न । वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले यसले वर्गीय पक्षधरता अँगाल्दछ” उनले भने, “त्यसकारण जुन साहित्यकारले सर्वहारा पक्षधरतालाई आत्मसात गर्दैैन र जसले उत्पीडित जनताको मुक्तिको दर्शन माक्र्सवादलाई स्वीकार्दैन, त्यो प्रगतिशील साहित्यकार हुन सक्दैन र त्यसले प्रगतिशील साहित्यको सिर्जना पनि गर्न सक्दैन ।” जनताको गरिबी, दासता, दुःख, पीडा, छटपटी आदिलाई उजागर गर्ने र उत्पीडनको विरोध गर्ने विषयवस्तु मात्र प्रगतिशील साहित्य नभई त्यसमा मुक्तिको दिशाबोधसमेत गरिएको हुनुपर्ने उनको भनाइ थियो । देशको वाम राजनीतिक आन्दोलन फुट र विभाजनबाट गुज्रिएकाले त्यसको प्रभाव प्रगतिशील साहित्यको क्षेत्रमा पनि परेको रेग्मीले बताए । गण्डकीमा साङ्गठनिक दृष्टिले प्रगतिशील साहित्यको अपेक्षित विकास हुन नसकेको उनको टिप्पणी थियो । गोष्ठीपत्रमाथि टिप्पणी गर्दै प्रा. डा. यदुनन्दन उपाध्यायले गोष्ठीपत्रले गण्डकीको प्रगतिशील साहित्यबारे आम मानिसमा चासो बढाउन सहयोग गरेको धारणा राखे । गोष्ठीपत्रमा समेट्नुपर्ने थुप्रै विषयवस्तु छुटेको बताउँदै उनले सहभागीको सुझावलाई ध्यानमा राखेर गोष्ठीपत्रलाई अन्तिम रूप दिनुपर्ने बताए ।
पोखरा: आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब २६ हजार ३५४ र यहाँ अस्थायी रूपमा बसोबास गर्ने करिब ६ हजार बढी बालबालिकाहरू गरी ३२ हजार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । यसका लागि महानगरपालिकाका स्वास्थ्यकर्मीहरू, ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत परिचालन गरिएको अभियानका फोकल पर्सन सत्यराज साँखीले जानकारी दिनुभयो । महानगरपालिकाले आज र भोली महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था समेत गरेको छ । अभियानको शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले आफूहरू बालबालिकाहरूको स्वास्थ्य प्रति सचेत रहेको बताउनुभयो । बालबालिकाहरूलाई नियमित रूपमा दिइने यस प्रकारका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र कुनै पनि बालबालिका यस सुविधाबाट वञ्चित हुन नपरोस् भन्नका लागि महानगरको स्वास्थ्य सम्बन्धी सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो । महानगरपालिका भित्र स्थायी तथा अस्थायी रूपमा रहेका ३२ हजार बढी बालबालिकाहरूलाई यस अभियानले पूर्ण रूपमा समेट्ने गरी आवश्यक प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो । बालबालिकाहरूको स्वास्थ्यमा आउन सक्ने जटिलताहरूलाई मध्यनजर गरी महानगरपालिकाले सरकारका विभिन्न राष्ट्रिय अभियानहरूमा सहकार्य गर्दै आइरहेको उल्लेख गर्दै उहाँले सुरक्षित र स्वस्थ भविष्य निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । महानगरपालिका भित्र सबै अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । जस अनुसार यस पटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
पोखरा: फेवातालमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । काठको डुङ्गामा भाडामा लिएर फेवातालमा सवार गरेका दुई जना अचानक आएको हावाहुरीका कारण तालको बीचमा अलपत्र परेका दुई जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नं२४ कालिका गणका गणपति अरुण कुमार शर्माले जानकारी दिए । सशस्त्र प्रहरीले फेवातालमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका घर भई काठमाडौं बस्ने २२ वर्षीय मनिष विश्वकर्मा र रुपन्देशी देवीनगर नगरपालिका–११ बुटवल बस्ने २२ वर्षीय प्रिति सुनारलाई सकुशल उद्धार गरेको हो ।
पोखरा: गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को भवन निर्माण गर्न तमु धिं जापानले नगद सहयोग गरेको छ । पोखरा १४ चाउथेस्थित रातोडाँडामा खरिद गरेको जग्गामा भवन निर्माणका लागि नगद रु ५ लाख १ हजार ९ सय ६० रुपैयाँ सहयोग गरेको हो । उक्त रकम तमु धिं जापानका संरक्षक नमस्ते इश्वर गुरुङले जिफानका सचिव लब्सन गुरुङ र कोषाध्यक्षलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले विदेशमा रहेर पनि स्वदेशको माया गर्नेहरुलाई धन्यवाद् ज्ञापन गरिन् । तमु धिं जापानकी अध्यक्ष हिमाली गुरुङको अग्रसरतामा जिफानको भवन निर्माणका लागि सहयोग रकम प्रदान गरेर उदाहरणीय काम गरेको प्रदेश सांसद गुरुङले बताइन् । उनले जिफानको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाटसमेत सक्दो सहयोग रहने प्रतिबद्धता जनाएकी थिइन् । कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, प्रदेश खेलकुद परिषद गण्डकीका पूर्व सदस्य सचिव तेजबहादुर गुरुङ, जिफानका पूर्व अध्यक्ष गुञ्ज गुरुङ, कलाकारहरु माओत्से गुरुङ, कृष्ण गुरुङ लगायतको उपस्थिति थियो । पोखरा महानगरपालिका १४ को चाउथे रातोडाँडामा जिफानले गत महिना ६ आना २ दाम जग्गा खरिद गरेको थियो । स्वदेश तथा विदेशमा रहेका गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा गुरुङ फिल्म एसोसिएसन नेपाल जिफान २०६५ सालमा विधिवत रुपमा दर्ता भएका थियो ।
पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ । ‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् भने, मिलन एण्ड द ओभरेप्टर्सले लाइभ प्रर्फमेन्स दिनेछ’ उनले भने । उनले उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने बताए । ‘हामीले साँझबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य छ, उनले भने, ‘क्लबको भवन जीर्ण अवस्थामा छ यसको मर्मत गर्नुपर्नेछ । यस्तै लागुऔषधको विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्ने योजना छ ।’ सिम्पानी साँझमा प्रवेश निशुल्क रहेको छ भने, सुरक्षाका लागि वडा प्रहरी बगरसँग समन्वय भइरहेको आयोजकले जनाएको छ । सो साँझको होस्ट पत्रकार सुशान्त गाहामगरले गर्नेछन् ।
पोखरा: पोखरामा आज बिहान रोकि राखेको बसलाई टिप्परले ठक्कर दिँदा तीन जना यात्रु घाइते भएका छन् । पोखरा महानगरपालिका–२५ हेमजास्थित बडहरेमा पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको बस रोकि यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशातर्फ तर्फ जाँदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । बसलाई टिप्परले ठक्कर दिँदा बस चढ्दै गरेका म्याग्दीको धौलागिरी गाउँपालिका–५ बस्ने ८४ वर्षीय हर्कलाल छन्त्याल, टिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भएका ३१ वर्षीय मनोज कटुवाल र टिप्परमा सवार नुवाकोट घर भएका २८ वर्षीय बुद्ध घले घाइते भएका हुन् । घाइते छन्त्यालको फिस्टेल अस्पतालमा उपचारमा भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस्तै टिप्पर चालक र सोही टिप्परमा सवार घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।
पोखरा: सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य रहेको छनोट समितिले दुवैलाई पुरस्कारका लागि सिफारिस गरेको हो । विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी भण्डारी यसअघि गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, ‘प्रेस चौतारी पत्रकारिता पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । भण्डारी प्रेस काउन्सिलका पूर्व सदस्य हुन् । यस्तै २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षा यसअघि टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, रासस गण्डकी प्रदेश उत्कृष्ट सम्वाददाता पुरस्कार, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार जस्ता थुप्रै पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । शर्मा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष हुन् । पोखरा किन्डर गार्डेनका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षयकोष राखी यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मानपत्र छ । यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड म्याग्दीकी देवी जिसीलाई प्रदान गरिने भएको छ । सोही छनोट समितिले सञ्चारिका समूह गण्डकीले प्रदान गर्दै आएको यो पुरस्कारका लागि जिसीलाई सिफारिस गरेको थियो । जिसी सञ्चारिका समुह नेपाल जिल्ला शाखा, म्याग्दीकी अध्यक्ष हुन् । सौन्दर्य व्यवसायी चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।