पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

पोखरा:    टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै माघ १ देखि ६ गतेसम्म सञ्चालन गरेको भलिबल प्रतियोगितामा १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।  चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आम्दानी मध्ये १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च हुँदा १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको अध्यक्ष शर्माले बताए ।  उनका अनुसार सुश्री मिडिया काठमाडौंबाट १५ लाख, मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ४ लाख ९२ हजार ५ सय, प्रदेश खेलकुद परिषद् गण्डकीबाट ५ लाख ७५ हजार, टिकट बिक्रीबाट २२ लाख २२ हजार २ सय २२ र विभिन्न व्यक्ति, संघ संस्थाबाट ५४ लाख १४ हजार १ सय ३९ रुपैयाँ आम्दानी भएको छ ।  यस्तै खर्चतर्फ सहभागी टिम व्यवस्थापनमा ३१ लाख ४२ हजार ९सय ७५, पुरस्कार तथा प्रोत्साहन खर्चमा १९ लाख २४ हजार ४ सय ४०, खेलाडी पोशाक तथा सोभिनियर ट्रायाकसुट÷आयोजक ९ लाख १५ हजार ४ सय २१, प्रतियोगिता समारोह व्यवस्थापन खर्च ११ लाख ४६ हजार ३ सय १२ र अस्थायी प्याराफिट मञ्च, साउण्ड सिस्टम ८ लाख ४९ हजार १ सय ७२, प्रचारप्रसार विज्ञापन खर्च ५ लाख ५२ हजार ४ सय ९१ लगायतमा खर्च भएको आयोजकले जनाएको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना माघ १ देखि ६ गतेसम्मा सञ्चालन भएको भलिबल प्रतियोगितामा महिलातर्फ एक विदेशी क्लबसहित ६ र पुरुषतर्फ एक विदेशी क्लबसहित ६ टिमको सहभागिता रहेको थियो ।  महिलातर्फ सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गर्न सफल हुँदा न्यू डायमण्ड महिला भलिबल टिम उपविजेता भएको थियो । यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेको थियो भने, गण्डकी प्रदेश उपविजेता भएको थियो ।  टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवाको क्षेत्र, शिक्षा एवं खेलकुद अभियानमा खर्च गर्ने अध्यक्ष शर्माले बताए ।  उनले प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न छुट्टै अक्षय कोष स्थापना गर्ने लक्ष्यसमेत अगाडि बढाएको बताए । 

पोखरा:    वर्षातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ ।  आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताउनुभयो । ‘फेवातालको भविष्य प्रति हामी निकै चिन्तित छौँ, उहाँले भन्नुभयो, यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’ नागरिक समाज फेवाताल संरक्षणका लागि जुनसुकै मूल्य चुकाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।  स्वयंसेवी रूपमा सफाइ अभियान सञ्चालन गर्दै आइरहेको महानगरपालिकाले सोमबारदेखि भने स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा खटाउने भएको छ । ‘फेवातालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जना जलारी समुदायका युवा तथा महिलाहरूलाई काममा खटाइनेछ, नगर प्रमुख आचार्यले भन्नुभयो, यसपछि यो तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’ माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारका कारण फेवाताल बर्सातको समयमा कुरूप देखिने भएकाले यस पटक समयमा नै यसको स्रोत मै व्यवस्थापन थालिएको उहाँले बताउनुभयो ।  आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीय समेत गरेर हजार बढीले सफाइ अभियानमा सहभागिता जनाएका छन् । पहिलो दिन १५ टिप्पर जलकुम्भी निकालिएको छ । सशस्त्र प्रहरी गण मालेपाटन कालिका गणका प्रमुख, प्रहरी उपरीक्षक अरुण शर्माले ताल तलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्ने सबैको साझा दायित्व रहेको बताउनुभयो । सशस्त्र प्रहरीको अभियानमा सधैँ साथ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालको संरक्षणका लागि हातेमालो गर्न पर्यटन सम्बद्ध संघसंस्थाहरुलाई आह्वान गर्नुभयो । फेवातालको प्रत्यक्ष फाइदा लेकसाइड र आसपासको क्षेत्रलाई भएको उल्लेख गर्दै उहाँले यसको संरक्षणमा पनि उत्ति कै इमानदार बन्न आह्वान गर्नुभयो । उहाँले सबै सरोकारवालाहरूको हातेमालोले मात्र संरक्षण र विकास अभियानका उद्देश्यहरू पूरा हुने धारणा राख्नुभयो ।  पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्ने छन् । फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियान्ताहरुले बताएका छन् ।  

पोखरा:    पोखरा महानगरपालिका वडा नं.२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।  प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने प्रमुख आचार्यले बताउनुभयो ।  ‘पाइलट प्रोजेक्टको रूपमा अहिले यो कार्यक्रम वडा नं.२५ बाट सुरु गरिएको छ, प्रमुख आचार्यले भन्नुभयो, यसको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भरि नै विस्तार गरिने छ ।’  आफूहरू आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा रहेको बताउँदै उहाँले स्वास्थ्य महानगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला परीक्षणको सुविधा सहित सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले अमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले यस कार्यक्रमका लागि यसअघि नै घरधुरी सर्वेक्षणको काम सकिएको बताउनुभयो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरू वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुले जानकारी लिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूको प्रेसर, अक्सिजन लेबल, मधुमेह लगायतको परीक्षण समेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । अध्यक्ष तिम्सिनाका अनुसार यस कार्यका लागि वडालाई तिन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ ।  दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिनुभयो ।  कार्यक्रमका क्रममा दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूको नियमित फ्लोअपका लागि सम्बन्धित स्वास्थ्य संस्थाहरूमा जानका लागि उचित परामर्श समेत दिइने उहाँले बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चालिने उहाँले बताउनुभयो ।   

पोखरा:     कास्कीको रूपा गाउँपालिका  पूर्ण खोप सुनिश्चित पालिका घोषणा  भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको  हो। कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला  जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणा संगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिनुभयो। पौडेलले सो घोषणाले  कास्कीमा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभुत ढंगले लागी पर्न पालिकालाइ आग्रह गर्नुभयो । पौडेलले खोप प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार भएको र पूर्ण खोपको प्रत्याभुती संगै सरकारले परिकल्पना गरेको आधारभुत स्वास्थ सेवाको ग्यारेन्टी गर्दै स्वस्थ नागरिक निर्माण मार्फत समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बिश्वास व्यक्त गर्नुभयो । रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनिश्चितता घोषणा गर्ने कार्य सम्पन्न भए संगै  र यसको निरन्तरतामा पालिका कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो ।  कार्यक्रममा  जिल्ला समन्वय समिति कास्कीका सदस्य हर्क  बहादुर गुरुङ,गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल,  स्वास्थ शाखा प्रमुख रामचन्द्र ओझा ,जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृतद्वय , एकनारायण लम्साल , बद्री आचार्य ,राधा सुवेदी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

पोखरा:    पोखरास्थित एभरेष्ट बैंकमा अज्ञात समूहले हानेको ढुङ्गाले बैंकको सिसा फुटेको छ ।  मध्यरातमा स्कुटरमा आएका दुई व्यक्तिले बैंकमा ढुङ्गा हानेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘मध्यरात १ः४५ बजेको समयमा अज्ञात समूहले पोखरास्थित एभरेष्ट बैंकमा ढुङ्गा प्रहार गरेर सिसा फुटाएको सूचना आएको थियो’, डीएसपी श्रेष्ठले भने, ‘अज्ञात समूहले बैंकमा ढुङ्गा प्रहार गर्दा सिसा फुटेको छ, स्कुटरमा आएका दुई व्यक्तिले ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुमान छ ।’ बैंकमा कसले किन ढुङ्गा हान्यो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डीएसपी श्रेष्ठले जानकारी दिए ।  

पोखरा:    पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु–२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।  महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा पिप्ले बास्केटबलले पर्वतलाई ६६–५१ को स्कोटरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।  दोस्रो सेमिफाइनल खेलमा केबिए सेतोले अर्चलबोटलाई ५३–४५ को स्कोरमा हराउदै फाइनलमा पिप्लेको भेट पक्का गरेको हो ।  बैशाख २८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टीमको सहभागीता रहेको थियो । सनिबार नै भएको क्वाटरफाइनलमा पिप्ले बास्केटबलले आयोजक महेन्द्रपुल क्लबलाई ६९–५६ स्कोरमा हराउँदै सेमीफाइनल प्रवेश गरेको थियो । यस्तै केबिए बास्केटबलले मर्दीखोलालाई ६६–५१ को स्कोरमा हराउँदै सेमीफाइनलमा पुगेको थियो ।  दुई दिन हुने प्रतियोगिताको फाइनल खेल भने वर्षाका कारण रोकिएको छ । खेल रोकिएसँगै आयोजकले आइतबार विहान फाइनल खेल गराउने भएको हो ।  महेन्द्रपुल क्लबको इतिहास निकै गर्विलो रहेको छ । २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितादेखि २०४० सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निरन्तर सहभागी सँगै खेल सामग्रीहरु समेत सहयोग गरेको थियो । २०३८ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्लबका अधिकांश खेलाडी सहभागी भएका थिए । त्यो क्रम लगातार तेस्रो संस्करणसम्म चलेको थियो बिचमा क्लब निस्क्रीय रहेको अध्यक्ष आनन्द तझ्याले बताए ।  महेन्द्रपुल क्लबको स्थापना हुँदा पोखरामा अन्य क्लबको स्थापना भइसकेको थिएन । उक्त क्लबको स्थापनापश्चात अन्य क्लबको स्थापना भएको थियो । सोही क्लबले विधिवत रुपमा २०६३ सालमा दर्ता भएको हो ।  प्रतियोगिता संयोजक सेजोल जोजिजुले युथ क्लब भएकाले ग्रासरुट स्तरबाट जानका लागि पहिलो प्रतियोगिता नै उमेर समूहको गराएको बताए । फाइभ वाई फाइभको आधारमा खेलाइएको प्रतियोगिताको बिजेताले ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले नगद २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा हाइस्कोरर र मस्ट भ्यालुएवल प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक जोजीजुले जानकारी दिए । 

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उहाँले खुलाउनुभयो । ‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी समेत हो, यी विशिष्ट प्रकृति र संस्कृतिप्रतिको  सम्मानको लागि यसलाई उजागर गर्दै संसारभरी पर्यटन उत्पादनको रुपमा अगाडि बढाउनुपर्छ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यहाँको कला, साहित्य, संस्कृति र संगीतकोे क्षेत्रमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्यहरुको भने उहाँले प्रंशसा गर्नुभयो । ‘गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्य उत्कृष्ट छन्, फूल सारे माया नमारे भन्ने गीतले भनेझै फूल राम्ररी सार्नेछौ, संरक्षण गर्नेछौं, संरक्षणको अभियान निरन्तर जारी छ’ उहाँले थप्नुभयो । प्रतिष्ठानले गर्ने कार्यमा गण्डकी प्रदेश सरकारका निरन्तर साथ रहने उहाँको प्रतिवद्धता थियो । वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान अर्पण गरियो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित हुनुभयो । उहाँहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिएको हो ।   गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित हुनुभयो । उहाँलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ   र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ  सम्मानित हुनुभयो । उहाँहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान अर्पण गरियो । सम्मानित सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी सहित, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान अर्पण गर्नुभएको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले श्रष्टाहरु छनोट गरेको हो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला,  कलाकार यादव चन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहनुभएको थियो । वार्षिकोत्सबको अवसर पारेर प्रतिष्ठान परिसरमा निर्माण गरिएको  श्रष्टा स्मृति पार्कको उद्घाटन गरियो । पार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्नुभएको थियो ।   कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको  प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो । प्रतिष्ठान स्थापना देखि हालसम्मको तीन वर्षे गतिविधिको बारेको भिडियो प्रदर्शन समेत सोही कार्यक्रममा गरिएको थियो । विभिन्न झाँकी सहितको साँस्कृतिक प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहेका थिए ।  प्रतिष्ठानका कुलपति विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपकुलपति गुरुङ र सञ्चालन सदस्य सचिव श्रेष्ठले गर्नुभएको थियो ।

पोखरा:    पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ ।  शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे ।  उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो ।  प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ (तमु मुन), उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।  पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ वटा दोहोरी साँझको सहभागिता रहेको थियो ।  फुटसल प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले अन्तरदोहोरी साँझस्तरीय फुटसल प्रतियोगिताले दोहोरी साँझका सञ्चालक, कलाकार,कर्मचारीबीच एकआपसमा भाइचाराको सम्बन्ध बढेर जाने बताए ।  वडाध्यक्ष गुरुङले खेलकुद उपाधिका लागि मात्र नभएर स्वास्थ्यको लागि समेत अनिवार्य रहेको बताए ।  कार्यक्रम रुपाहिल दोहोरी साँझका अध्यक्ष सुवास गुरुङको अध्यक्षता, गायक सुरेस रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।