पोखरा: फेवातालमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । फेवातालमा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको नौडाडा घर भएका सञ्जय भण्डारीको मृत्यु भएको हो । फेवातालमा पौडी खेल्न भएका ५ जना मध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाडा घर भएका २५ वर्षीय भण्डारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । पौडी खेल्ने क्रममा मृत्यु भएका भण्डारी लेकसाइडस्थित क्विन पार्कमा काम गर्दै आएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्न गएका बाँकी ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । भण्डारीको शवलाई पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ सात खेल सम्पन्न हुँदा महिलातर्फ लिगचरणका खेल सम्पन्न भएका छन् । महिलातर्फ लिगचरण सकिएसँगै पर्वत र नवलपुर बाहिरिएको छ । महिलातर्फको पहिलो खेलमा बागलुङले म्याग्दीमाथि ६–१ को विजयी हासिल गरेको छ । कास्कीले नवलपुरलाई १०–० गोलले पाखा लगायो । म्याग्दीले पर्वतलाई ८–०, स्याङजाले नवलपुरलाई ६–५, बागलुङले पर्वतलाई १२–० र कास्कीले स्याङजालाई ९–१ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । पुरुषतर्फ भएको पहिलो खेलमा कास्कीले गोर्खामाथि १७–१ को जित दर्ता गरेको छ । तनहुँले म्याग्दीलाइृ १८–७, स्याङजाले पर्वतलाई १४–९, बागलुङले नवलपुरलाई १७–४, म्याग्दीले गार्खालाई २४–३, कास्कीले तनहुँलाई २६–२१ र स्याङजाले नवलपुरलाई २०–४ गोलअन्तरले हराउन सफल भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकी प्रदेश खेलकुदको विकासमा अघि रहेको बताए । उनले खेलाडी उत्पादनका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता देखी ग्रासरुट सम्मका खेल सञ्चालन गरिराखेको सुनाए । सोही क्रममा प्रतियोगिताको बारेमा जानकारी दिदैँ ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरुङले पोखरा रंगशालाको कभर्ड हल र ह्यान्डकल कोर्टमा प्रतियोगिता सञ्चालन भएको बताए । पुरुषतर्फको समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् । प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने भएका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले जनाएका छन् । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, गण्डकी प्रदेश ह्यान्डबल संघका उपाध्यक्ष शान्ती थापा, सदस्य शान्ता सिंह बस्नेत लगायतको समेत सहभागिता रहेको थियो ।
पोखरा: हेमजामा सम्पन्न भएको हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले जितेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पोखरा १३ ले १२ नम्बर वडालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा १३ को जितको खेलको पहिलो हाफको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । प्रतियोगिताको बिजेता पोखरा १३ ले नगद १ लाख ११ हजार ११ र उप–बिजेता पोखरा १२ ले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । साथै वडा न १२ का नितेस क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हदै नगद रु ५००० साथमा ट्रफी प्राप्त गरे । वडा न।१३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिलड, नेरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घोषित हुदै प्रत्यक विधामा नगद रु २००० साथमा ट्रफी प्राप्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता रहेको थियो । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ शुक्रवार सम्पन्न भएको हो ।
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिऊ रोप्ने (जर्मिनेसन) तथा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको विद्यालयमा प्रावि तहमा कक्षा नर्सरीदेखि एकसम्मका सम्पूर्ण विद्यार्थीहरुले शिक्षिकाहरुको साथमा बिऊ रोप्ने कार्य सम्पन्न गरिएको हो । हिले महिना असारको अवसर पारेर साना बालबालिकाहरुलाई बिऊ रोप्ने र उमार्ने तरीका सिकाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्राध्यानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आधारभुत (जुनियर) तर्फ भएको गणित हाजिरीजवाफ प्रतियोगितामा अन्नपूर्ण सदनबाट सिद्धान्त केसीको समूह प्रथम र कञ्चनजङ्घा सदनबाट मुस्कान भण्डारीको समूह द्वितीय भए । उनीहरुलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन गणित शिक्षक लिलाबहादुर बिकले गरेका थिए ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर १० दिनअघि मलेसियासहित विभिन्न देशको भ्रमणमा निस्केको टोलीले बिहीबार मलेसियामा टूर अपरेटरसँगको अन्तरक्रिया गर्दै पोखरा घुम्ने निम्तो दिएको हो । अन्ततक्र्रियामा करिब २५ टूर अपरेटरले भाग लिएका थिए । टेवान अध्यक्ष कमला गिरीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको जनाउँदै पोखरा र समग्र गण्डकी क्षेत्रको पर्यटकीय सम्भावना, गन्तव्य र अवसरबारे जानकारी दिएकी थिइन् । उनले नेपाल सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको देश हो भन्दै यहाँ घुम्न निम्तो दिँदै आगामी दिनमा सहकार्यमा जोड दिइन् । टेवान सचिव शोभा अधिकारी पौडेलले पनि पोखरा घुम्न आउनका लागि निम्तो दिइन् । टोलीले यसअघि मलेसिया र थाइल्याण्डका राजदूतावासमा छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पर्यटन प्रवद्र्धनमा महिलाको यो साहसिक कार्य हो भनी प्रशंसा गरे । उनले आगामी दिनमा पनि मलेसियामा हुने कार्यक्रममा सहयोग गर्ने वचन दिए । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले पोखरा पर्यटनको राजधानी भएकोले प्राकृतिक सुन्दरताको रक्षा गर्नुपर्ने सुझाव दिएका थिए । उनले थाइ सरकारले अपनाएको नीतिबारे जानकारी दिँदै पर्यटकीय गन्तव्यबारे बताए । थाइ नेपाल एसोसिएसनका संरक्षक कुमार कार्की, एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्रबहादुर बस्नेत लगायतले पोखराको पर्यटन प्रवद्र्धनबारे बोलेका थिए । अन्तक्र्रियामा नेपाली संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो । अध्यक्ष कमला गिरी नेतृत्वको भ्रमण टोलीले मलेसिया, थाइल्याण्डसहित सिंगापुरको भ्रमण गरेको हो । भ्रमणमा टोलीले नेपाल पर्यटन बोर्डले निर्माण गरेको पर्यटकीय गन्तव्य तथा संस्थाले निर्माण गरेको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पोखरा चिनाउने प्रचारात्मक सामग्री वितरण गरेको थियो । टोलीले पोखराको प्रबद्र्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो भने पोखरा घुम्नका लागि आ–आफ्नो देशबाट प्रचार गर्न जोड दिएको थियो । भ्रमणमा अध्यक्ष गिरीसहित सचिव शोभा अधिकारी पौडेल, सदस्य सरिता बराल क्षत्री, शारदा लम्साल, सदस्य उर्मिला थापा पन्थी, संगीता अधिकारी, संगीता बराल, नीशा बुढा, भगवती खत्री, विनिता अधिकारी बराल, सीता अधिकारी पौडेल, ज्ञानु श्रेष्ठ, सीता कोइराला, रेजिना आचार्य, तारा गिरी, स्पन्दन गिरी र पत्रकार युवराज श्रेष्ठ, युनिस गुरुङ र दुर्गा राना मगर छन् । भ्रमण सकेर टोली स्वदेश फर्किंदैछ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड भएपछि सूचना जारी गर्दै कास्कीका विभिन्न ५ स्थानबाट सेवा वितरण गर्ने बताएको छ । सूचनामा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्रको आवेदन संकलन गर्ने,फोटो खिन्चे प्रयोजनको लागि कास्की जिल्ला स्थायी ठेगाना भएका नागरिकहरुले तपशिल बमोजिमको स्थानबाट सेवा लिनुहुन अनुरोध छ ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका भित्रका वडा नम्बर १को कार्यालय, वडा नम्बर १७ को कार्यालय र वडा नम्बर २७ को कार्यालयबाट सेवा लिन सक्नेछन् । यसैगरी अन्नपूर्ण र मादी गाउँपालिकाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय र रुपा गाउँपालिकाका नागरिकहरुले इलाका प्रशासन कार्यालय लेखनाथबाट सेवा लिन पाउँनेछन् । उल्लेख गरिएका स्थानबाट नागरिकले राष्ट्रिय परिचय पत्रको आवेदन र फोटो खिच्नेमात्रै सेवा प्राप्त गर्नेछन् । यो पनि पढ्नुहोस विपद् व्यवस्थापन गर्ने नयाँ सिडियोको योजना नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यता गर्ने बताएपछि देशैभरका प्रशासन कार्यालयमा भीड बढेको छ । गत महिना मात्रै कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका भरतमणि पाण्डेले मुख्य रुपमा विपद् व्यवस्थापन र ग्राहकमुखी सेवा प्रदान गर्ने योजना सुनाएका थिए ।
पोखरा: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार गएको पुसको मध्यदेखि हालसम्म देशभर १ हजार १ सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । उक्त तथ्यांक अनुसार बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । गत वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र रहेको बताइएको छ ।
पोखरा: कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो । सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए । बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए । कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा रहेर उत्कृष्ट कार्य गरेका उनीहरुलाई नगदसहित सम्मानपत्र, मायाको चिनो र दोसल्लाले सम्मान गरिएको उनले बताए । यस्तै अघिल्लो दिन रक्तदान गर्ने शेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । शेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरीले मृगौला प्रत्यारोपण गरी सहयोग गरेकाले सोही कार्यक्रममा छोरी रिकेशाना बुद्धाचार्यलाई सम्मान गरिएको अध्यक्ष गुभाजूले बताए । उच्च शिक्षा हासिल गरेका शेयरधनीका छोरीहरु रिकेशाना बुद्धाचार्य र सुविक्षा गुभाजूलाई पनि सम्मान गरिएको थियो । यसबाहेक प्रालिले वर्षभर विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको उनले सुनाए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन मिलेको उनको भनाई थियो । २०७६ सालमा स्थापना भएको प्रालिको पोखरा महानगरका विभिन्न स्थानमा ५ वटा सुन र एउटा चाँदीको व्यावसायिक फर्म छ भने अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालनमा छ । १७ जना सेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजूले जानकारी दिए ।
लेखनाथ: पोखरा महानगरपालिका वडा नम्बर २७, ३० र ३१ मा पर्ने तालचोक-बेगनास सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित बनेका छन् । आगामी चैत मसान्तसम्म निर्माणकार्य सकिनेगरी सम्झौता गरिएपनि निर्माण कम्पनीले चाँसो नदेखाएपछि सो क्षेत्रका स्थानीयहरु आन्दोलिन बनेका हुन् । स्थानीय बासिन्दाहरुले आगामी शनिबार बिहान ८ बजे (८ गते) विरोध प्रदर्शन गर्दै सडकमै (तालचोकस्थित एनआइसी बैंक अगाडि) रोपाईजात्रा गर्ने तयारी रहेको संयोजक सन्दीप पौडेलले जानकारी दिए । उनका अनुसार घाम लाग्दा धुलाम्मे र वर्षातको समयमा हिलाम्मे भएपछि स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ । संयोजक पौडेलले सडक निर्माणका लागि वल्र्ड बैंकको बजेटमा महानगरले स्वछन्द निर्माण कम्पनीलाई ७८ करोडमा सम्झौता गरेको जानकारी दिए । यद्यपी अहिले निर्माणको कामले तिब्रता पाएको छैन । ‘अहिले ७/८ जनाले मात्रै काम गरेका छन्, बर्षातको समय छ । बाटो पुरै हिलाम्मे छ । जताततै तालै ताल छ । यसरी त चैत मसान्तमा सकिने छाँट छैन, उनले भने, ‘त्यसैले हामीले विरोध गर्दै रोपाई गर्ने तयारी गरेका हौं ।’ विरोध कार्यक्रमका लागि स्थानीय टोल विकास समिति, आमा समूह, क्लब तथा विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएको पौडेलले बताए । उनले उक्त विरोध कार्यक्रममा मेलमार्फत प्रदेश तथा संघीय सांसदलाई कार्यक्रममा उपस्थितिका लागि पत्र पठाएको जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, संघीय सांसद मन बहादुर गुरुङ र जीवन परियारलाई पत्र पठाइएको छ ।

