पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

पोखरा:   र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ ।   सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको   भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।”   सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगत्मा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको तानीको भनाइ थियो । भनिन्, “एक महिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छन् ।” सुमिनाको कलमले केवल कविता होइन, नारी मुक्तिको यात्रा लेखेको विचार तानीले राखिन् ।   कवि सुमिनाले एउटै सङग्रहमा जीवन र जगत्का सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् ।   आफ्नो कृति बजारमा आएपछि आएका विभिन्न प्रश्नहरूको जबाफ कवितले नै दिने बताउँदै सुमिनाले वैचारिक धरातल र बुझाइको तहअनुसार कवितालाई बुझ्ने भएकाले पाठकको विचारलाई सम्मान गर्नुपर्ने विचार सुनाइन् ।   प्रगतिशील कविता लेख्ने भन्दैमा प्रेमलाई अस्वीकार गर्न नहुने उनको भनाइ थियो । कृतिभित्रका प्रेमकविताका सन्दर्भमा पाठकले उठाएका प्रश्नको जबाफ दिँदै उनले प्रेमको होइन, प्रेमका नाममा हुने दासत्वको विरोध गर्नुपर्नेमा जोड दिइन् ।   कवि रमेश श्रेष्ठले विषय जे भए पनि कविता मान्छेकै लागि लेखिनुपर्ने विचार राखे । मान्छेपिच्छेका सोचाइ आआफ्ना हुन सक्ने भएकाले फरक विचारको पनि सम्मान गर्नुपर्ने श्रेष्ठको भनाइ थियो ।   विश्व कविताका क्षेत्रमा नेपाली कविता कमजोर नभएको तर अनुवादको अभावमा पछि परेको अनुभव श्रेष्ठले सुनाए ।   कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।   ‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित पठन संस्कृतिको विकासमा २०६७ देखि क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

पोखरा:   गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि स्याङ्जाले रक्षा गरेको छ ।   तेस्रो संस्करणको च्याम्पियन स्याङ्जाले तनहुँको भिमादमा शनिबार सम्पन्न भएको चौथो संस्करणमा १० स्वर्ण, ३ रजत र १० कास्यसहित शिर्षस्थानमा रहदैं उपाधि रक्षा गरेको हो ।   यस्तै प्रतियोगितामा कास्कीले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ कास्यपदकसहित तेस्रो स्थान हाँसिल गर्याे ।    प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।   प्रतियोगितामा सर्वोकृष्ट हुने थापामगर र बुढामगर दुवैले प्याट्रन र स्पाइरिङ गरि २/२ स्वर्ण पदक प्राप्त गरे ।      प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा २ दिन चलेको प्रतियोगिताको समापन भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले गरे ।   सो अवसरमा बोल्दै उनले भिमादमा भएको प्रदेशस्तरीय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवा पुगेको धारणा राखे ।   उनले आगामी आर्थिक वर्षमा खेलकुदको विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।    यस्तै नेपाल आइटिएफ तेक्वान्दोका केन्द्रीय महासचिव घम बहादुरथापाले मार्सल आर्ट खेलको विकासका लागि राज्य स्तरबाटै नीति बनाएर लाग्नुपर्ने बताए ।   सो प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य  गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाइरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो ।     यस्तै प्रतियोगितामा महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, निलो र रातो कलर बेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।    नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष तथा तनहुँ जिल्ला अध्यक्ष आकासचन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव प्रतिक घर्तीमगरले गरेका थिए ।   

पोखरा:  पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समिकरण पुरा भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमिफाइनल समिकरण पुरा भएको हो ।   पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई पेनाल्टीमा ४–३ ले स्तब्ध पार्याे। निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल पेनाल्टीमा  धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।   निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ टाइमपछि स्याङजा खेलमा फर्कियो । स्याङजाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।   यता कास्कीले आफ्नो होम ग्राउण्डको फाइदा उठाउँदै नवलपुर विरुद्धको खेल ४–० ले जितेको छ । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुर विरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिए भने अभिषेक थापाले खेलको दोस्रो   हाफमा व्यक्तिगत दुई गोल गरे । उनले ४५ औं र ४८ औं मिनेटमा गोल गरे भने ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे ।   आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।   शनिबार नै सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेल ५–० को गोल अन्तरले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले ह्याट्रिक पुरा मात्रै गरेनन् उनले ४ गोल गरे ।   सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औं मिनेटमा एक गोल गरेका थिए ।   आइतबार सेमीफाइनलका खेलहरु सञ्चालन हुने संघका महासचिव बिनोद गुरुङले जानकारी दिएका छन् । सेमीफाइनल अन्तर्गत म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँ अर्को सेमीफाइनलमा भिड्नेछन् ।   प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।  

पोखरा:   कास्कीको फुस्रेखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्न पुगेका पर्वतको कुश्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको हो ।   खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएको खबर पाएपछि खोज तलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भएको थियो ।   बेपत्ता सुवेदीको शव फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थाबाट झिकेको थियो ।   उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।           

पोखरा:    ‘रक्तदान जिवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित मेडिप्लस हस्पिटल महेन्द्रपुलमा भएको  रक्तदान कार्यक्रमबाट ४० युनिट संकलन भएको छ ।   लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरे ।   कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सो अवसरमा बोल्दै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।   उनले आगामी दिनमासमेत यस्तो प्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   डा. सरोज पोखरेलका अनुसार रक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका पूर्व अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, राम प्रसाद तिमिल्सिना मेडीप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णुहरी तिमिल्सिना, उपाध्यक्ष अब्दुल वाहिद मिया, कोषाध्यक्ष शरण शाक्य तथा लियो क्लब अफ पोखरा डेस्टिनेशनकी अध्यक्ष मनिषा नेपाली लगायतको सहभागिता रहेको थियो ।   लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका अध्यक्ष सन्तोष तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव छबि पनेरुले गरेका थिए ।

पोखरा:   फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।   संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो ।    पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।    आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने संस्थाका सचिव शिव जिसीले जानकारी दिए । उनका अनुसार महिला र पुरुषको छुट्टाछुट्टै टिम रहने छ ।    प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनुपर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ बताउदै सहभागी हुने एउटा टिमलाई ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।    सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने उनले बताए । प्रतियोगितामा पुरुष टिमले २१ सय मिटर र महिला टिमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।   प्रतियोगितामा प्रथम हुनेले ३० हजार हजार र द्वितिय हुनेले २ तथा तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने सचिव जिसीले जानकारी दिए ।   यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।    प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिने आयोजकले जनाएको छ

पाेखरा:  ‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’ भन्ने मूल नारासहित शैक्षिक क्षेत्रमा त्रियाशिल  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विविध कार्यक्रम सम्पन्न भएको छ ।   पोखरा महानगरपालिका १ मोहरिया टोलमा रहेको सो विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।   गणित हाजिरीजवाफ प्रतियोगितामा आधारभूत (सिनियर) तथा मा.वि.तहमा धौलागिरी सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का छात्र सुजन राई, कक्षा ६ का छात्रहरुद्वय आदित्य बिक र दिजन मल्ल प्रथम भए ।   यस्तै  कञ्चनजङ्घा सदनबाट कक्षा १० की छात्रा निरसरा पौडेल, कक्षा ९ की छात्रा अंशु भुजेल, कक्षा ६ का छात्रछात्राद्वय दिप्सन सुवेदी र सविता सुनार द्वितीय भए ।    यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा धौलागिरी सदनबाट कक्षा ५ का छात्रा श्रीषा तिमिल्सिना, कक्षा ४ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र सविन बिक र कक्षा ३ का छात्रा मौ भौमिक प्रथम भए । यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल, कक्षा ३ की छात्रा प्रेमिका नेपाली र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भए ।    दुवै तहतर्फ प्रथम तथा द्धित्तिय स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।   सो अवसरमा बोल्दै प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई उक्त कार्यक्रमले अध्ययनशिल बनाउन प्रेरित गर्ने धारणा राखे ।   मावि तहको कार्यक्रम गणित शिक्षक नीलकण्ठ पौडेल र प्रावि तहको कार्यक्रम नेपाली शिक्षिका शर्मिला शर्माले सञ्चालन गरेकी थिइन् ।   विन्ध्येश्वरीले पठनपाठनसँगै विभिन्न अतिरिक्त कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।  

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारका लागि आर्थिक सहयोग  गरिएको छ ।   स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले आर्थिक सहयोग  गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ ।     दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको थियो । संकलित रकम ३ लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको हो।   मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङ्, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु बहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य तिलक बहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको थियो।   दाङसिङ्ग तमु समाज यु।केका अध्यक्ष राज बहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ्ग गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली काँग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जानकारी दिनुभयो । 

पोखरा:   पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता आजेदेखि सुरु भएको हो ।   पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको खेलमा ३–० गोल अन्तरले सहज जित निकाल्याे । तनहुँलाई  शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।   खेलको पहिलो हाफमा गोरखा विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३ औं मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१ औं मिनेटमा जिवेश आले मगरले गरे ।   यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।   यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।   नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार ४ खेल सञ्चालन हुनेछन् ।   यो पनि पढ्नुहोस   कास्कीको फुटबल टोली घोषणा, नवलपुरसँग शनिबार भिड्ने   जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।   प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।