पोखरा: पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ परेका छन् । साइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामले २ नाबालकसहित ४ जनालाई जिरोकिलोमिटरबाट पक्राउ गरेको हो । पोखरा महानगरपालिका ५ जिरोकिलोमिटर स्थित फर्निचर उद्योगमा चोरीका साईकल किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकलसहित ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोकका ५१ वर्षीय भिमसेन थामी, स्याङजाका २४ वर्षीय मदन सुनार र कास्कीका १४ वर्षीय र १७ वर्षीय दुई बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए । उक्त साइकल कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजातसहित सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
पोखरा: सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका पोखराका विनोदबाबु बस्ताकोटीको मरेखरे घाटमा शुक्रबार अन्त्येष्टि गरिएको छ । बस्ताकोटीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पोखरा सभागृह परिसरमा राखिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा लगायतले उनलाई श्रद्धाञ्जली दिए । बस्ताकोटीलाई वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको वडाध्यक्ष्य थापाले बताए । बस्ताकोटी विगत १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको महानगरले शोक विज्ञप्ति निकालेर जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शोकको यस घडीमा पोखरा महानगरपालिका स्वर्गीय सफल आरोही बस्ताकोटीप्रति भापूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ पोखरा २६ का ३७ वर्षीय बस्ताकोटीको जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेका उनको फर्किने क्रममा निधन थियो । जेठ ९ गते बेलुकी ५ बजे चौथो शिविरमा उनी अचानक बिरामी परेका थिए । उनी लेक लागेर बिरामी परेको र ८ हजार २ सय ५० मिटरमा रोकिए पनि त्यसभन्दा तल झर्न नसक्दा मृत्यु भएको विभागले जनाएको छ । परिवारलाई पत्तै नदिई सगरमाथा आरोहमा गएका उनले यसअघि खुम्बु आइसपिक र लोबुचे आरोहण गरिसकेका थिए । २०२२ बाट लगातार सगरमाथा आरोहणको प्रयासमा रहेका उनी यसअघि नै ५ पटक सगरमाथा आधार शिविरसम्म पुगेका थिए । बस्ताकोटी पोखरामा पर्यटन व्यवसायमा संलग्न थिए । जेठ ४ गते उनले सगरमाथाको दोस्रो शिविरमा पुगेको भिडिओ सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए । बस्ताकोटीको शव सगरमाथा आधार शिविरबाट काठमाडौं ल्याइएको छ । उनका श्रीमती र छोरा छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारिशक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ(गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यका साथ सञ्चालित तालिममा विभिन्न आमा समुह र टोलविकास संस्थाका ५० जना महिलाको सहभागिता रहेको छ । समुहको पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा पत्रकार घनश्याम पाण्डे रहनु भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य विष्णुकुमारी थापाले तालिमको उद्घाटन गर्दै सिकेको सिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गर्नुभयो । आमा समुहको माध्यमवाट महिला नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उहाँले महिला सशक्तिकरणमा महानगरले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । महिला मानव अधिकार संजाल कास्कीका अध्यक्ष एवम् गोनेसा सञ्चालक समिति सदस्य केशु भुजेलले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । आमा समुहका अध्यक्ष पियारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार हरि बास्तोला, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, शुभकामना आमा समुहका अध्यक्ष कोकिला श्रेष्ठ, समाजसेवी लिलबहादुर जिसी लगायतले तालिमको महत्व माथि प्रकाश पार्नुभएको थियो । समुहका उपाध्यक्ष राधादेवी लम्सालले स्वागत गर्नुभएको कार्यक्रम सचिव पूर्णकला पोखरेलले सञ्चालन गर्नुभएको थियो ।
पोखरा: कास्कीको रुपा गाउँपालिकामा अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ । बिहीबार साँझ अचानक हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका- १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ । हावाहुरीको कारण क्षति पुगेको स्थानमा उद्धारका लागि प्रहरी खटिएको कास्की प्रहरीले जनाएको छ । हावाहुरीका कारण मानविय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो ।
पोखरा: पोखराको फेवातालबाट विदेशी नागरिकको सकुशल उद्धार भएको छ। सशस्त्र प्रहरीको टोलीले अष्ट्रियाका २७ वर्षीय नागरिक लाउराको सकुशल उद्धार गरेको हो । अचानक आएको हावाहुरीको कारण फेवातालमा बोटिङ गरिरहेकी विदेशी नागरिककले चलाएको काठको सिङ्गल बोट पल्टिएपछि प्रहरी र शसस्त्र प्रहरीको टोलिले सकुशल उद्धार गरेको हो ।
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुल र राष्ट्रिय मावि प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा जारी विद्यालयस्तरीय छात्रातर्फ विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधि नजिक पुगेको हो । टुडिखेलको बास्केटबल कोर्टमा आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा विन्ध्यश्वरीले करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई पराजित गर्दै विन्ध्यश्वरी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनलमा राष्ट्रिय माविले पोखरा आदर्श माविलाई हराउँदै फाइनलमा विन्ध्यश्वरीसँगको भेट पक्का गर्याे । अब उपाधिका लागि विन्ध्यश्वरी आदर्श बोर्डिङ र राष्ट्रिय मावि शनिबार भिड्नेछन् । यस्तै पुरुषतर्फ भने सेमिफाइनलको समिकरणमात्र पूरा भएको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार यही शनिबार स्पाइरल ग्यालेक्सी मावि र पोखरा आदर्श माविबीच पहिलो समिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइन राष्ट्रिय मावि र करुणानिधी एजुकेशन फाउण्डेशन (केफ)बीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार छात्रातर्फ प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाई क्रमश नगद रु १२ हजार, १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । छात्र तथा छात्रा दुवै विधामा सर्वाेत्कृष्ट हुने खेलाडीलाई आकर्षक ट्रफिद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । शनिबार विहान विद्यालयस्तरी छात्र तथा छात्रा दौड प्रतियोगिताकोसमेत आयोजना गरिने पोखरा महानगरपालिका १ खेलकुद विकास समितिले जनाएको छ । विद्यालयबीचको सम्बन्ध सुदृढ हुन्छ: वडाध्यक्ष प्रधान यसअघि प्रतियोतिाको उद्घाटन गर्दै पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले खेलकुद स्वस्थ्य जीवनका लागि अपरिहार्य रहेको उल्लेख गरे । उनले खेलकुदमा विभिन्न विधा भएको बताउदै बास्केटबल पनि महत्वपूर्ण खेल भएको धारणा राखे । उनले प्रतियोगिताले वडाभित्रका विद्यालयबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने बताउदै खेलाडी उत्पादनमासमेत टेवा पुर्याउने उल्लेख गरे । ‘खेल आफैमा महत्वपूर्ण विधा हो । जुन मानव जीवनमा स्वस्थ्यकर जीवनका लागि अपरिहार्य छ, वडाध्यक्ष प्रधानले भने, ‘यो एउटा पाटो हो भने अर्काे पाटो खेलाडी उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यसैले यस्ता प्रतियोगिताहरु निरन्तर भइरहन जरुरी छ ।’ उनले आमागी दिनमा पनि खेलकुदसँगै रचनात्मक कार्यक्रमहरुलाई समेत वडाले प्राथमिकताका साथ जोड दिने बताएका थिए ।
पोखरा: कास्कीको मादी गाउँपालिकामा पालिकास्तरीय बाल सञ्जालका पदाधिकारी केन्द्रित बालअधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बालबालिकासँग सम्बन्धित अनेकौ चुनौती रहेतापनि पालिकाले आगामी आर्थिक वर्षको बजेट योजनाको क्रममा रहेकाले बालबालिकाको क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गर्ने बताए । उनले पालिका सदा नमूना बालसंजालको रूपमा पहिचान बनाउन तत्पर रहेकाले बालबालिकासँग सम्बन्धित समस्या तथा आवश्यकताबारे समयमै पालिकामा जानकारी गराउनुसमेत अनुरोध गरे । मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले संजालका पदाधिकारी र अन्य बालबालिकालाई आफ्नो पहिचान, अनुशासन र इमान्दारितालाई पहिचान गरेर भविष्यको असल नेतृत्वकर्ता बन्न सुझाव दिइन् । मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बाल संजालको सफल कार्यकालको शुभकामना दिदैँ अधिकारसँगै कर्तव्यको पालनामा जोड दिन सुझाव दिए । यही ज्येष्ठ १५ र १६ गते मादी–३, याङ्जाकोटमा सञ्चालित उक्त अभिमुखीकरणमा राष्ट्रिय बालअधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले भने सहजीकरण गरेका थिए । मादी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेसनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारी रहेको थियो । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा पालिकाका १२ वटै वडाका १३ विद्यालयका २६ बालबालिका तथा बालक्लबका संरक्षक शिक्षकको सहभागिता रहेको थियो । बालबालिकासम्बन्धी नियमावली २०७८ को परिच्छेद ०२ बमोजिम गठित १३ सदस्यीय पालिकास्तरीय बाल संजालका पदाधिकारीको काम, कर्तव्य र अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा धनुवास कालिका मा.वि. मादी ७ का बाल संजालका अध्यक्ष रेनिशाकुमारी शाहीले अभिमुखीकरण लाभदायक रहेको बताइन् । कार्यक्रमको सञ्चालन पालिकाका बाल कल्याण अधिकारी कर्णकुमारी गुरुङले गरेकी थिइन् ।
पोखरा: सगरमाथा आरोहण गरेर फर्किदै गर्दा पोखराका बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । पोखरा २६ लेखनाथका बिनोद बाबु बस्ताकोटीको निधन भएको हो । जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजे तिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आई पुग्दा उनको मृत्यु भएको हो । उनका शेर्पा गाईड उपलब्ध गराएको कम्पनी पाईनयर एड्भान्चरबाट जानकारी दिएका थिए । उनको आधार शिविर व्यवस्थापन गर्ने कम्पनीको क्याम्प म्यानेजर कोही नहुँदा किचनका स्टापहरु मार्फत बेवारिसे अवस्थामा रहेको डफल ब्याग आधार शिविरमा अवस्थित प्रर्यटन विभागको फिल्ड कार्यालयमा बुझाएको छ ।
कास्की: कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् । ‘रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फड्काउदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो, गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छैनन् ।’ लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्नसमेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको गुरुङले सुनाए । उनका अनुसार हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाईप, लगायतका सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाईजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्छ । चलाउन सुरक्षित रहेको बन्दुकको मुल्य ७ देखि ८ हजारसम्म पर्ने उनले बताए । गुलेली र डेढ बर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युटुबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको उनले सुनाए । ‘अहिले त मलाई र बन्दुक देखेपछि बाँदर टाडैबाट भाग्छ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रुखै भरि बाँदर हुन्थ्ये अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएको छैन ।’ उनले अहिले बन्दुक मात्र हैन हाते ट्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउने काम गरिरहेका छन् ।

