विराटनगर:   कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ ।  वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वा...

विराटनगर:   नेपाली कांग्रेसका उद्धव थापाले कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।  कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले बिहीबार अपरान्ह प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका हुन्। केन्द्रको सत्तारूढ गठबन्धनमा पनि प्रदेश सभाका रहेका दलहरूले सभामुख बाबुराम गौतमको पनि नाम समावेश गरेर बहुमत दाबी गरेका हुन्।   प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार साँझ पाँच बजेसम्मको समय दिएका थिए। 

विराटनगर:     कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय आज साँझ ५ बजे सकिँदैछ । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति गर्न केन्द्रीय गठबन्धनमा रहेका दलले अपरान्ह मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थालेका हुन् ।  भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन दलको बैठकले मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न प्रदेशका नेतालाई निर्देशन दिएको छ ।  नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजै मुख्यमन्त्रीको दाबी लिएर प्रदेश प्रमुखसमक्ष पेश हुने बताउनुभयो । कोशी प्रदेशसभाको गणित नयाँ सरकार गठन गर्न त्यति सहज भने छैन ।  सरकार गठनको तयारी गरिरहेको विपक्षी गठबन्धनसँग ४७ सांसद हुनुहुन्छ । तर, उक्त सङ्ख्या प्रदेशसभाका सभामुखसहितको सङ्ख्या हो । दलबाट अलग भइसक्नुभएका सभामुखको सङ्ख्या देखाएर नयाँ सरकार गठन गर्न नमिल्ने तर्क सत्तारुढ दल नेकपा (एमाले) ले दाबी गर्दैआएको छ ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैगर्दा गणितका कारण अर्को सरकार गठन भइहाल्ने अवस्था नरहेको जिकिर गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘प्रदेशमा तत्कालै अर्को सरकार बन्ने अवस्था छैन ।’ आज बालुवाटारमा भएको गठबन्धन दलको बैठकमा पनि यस विषयमा छलफल भएको छ । कांग्रेसले संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्न र विश्वासको मतका लागि संयुक्त पहल गर्नुपर्ने प्रस्ताव गरेको छ । मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पनि उक्त बैठकमा  बोलाएर नेताहरुले सहयोग गर्न आग्रह गर्नुभएको छ ।  ‘नेताहरुले सरकार गठनका लागि सहयोग गर्नुस् भन्नुभयो’ आङ्बोले भन्नुभयो, ‘गठबन्धनको निर्णयअनुसार अघि बढ्नु मेरो कर्तव्य हो, त्यसमा कुनै शङ्का गर्नुपर्दैन ।’ आज (बिहीबार) अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्ने तयारी छ ।  प्रदेश प्रमुखका प्रेस  सल्लाहकार देवेन्द्र खापुङले आज नै अन्तिम दिन भएकाले समय नलिए पनि अन्तिम समयभित्र दाबी आउन सक्ने बताउनुभयो । माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् गठनका विषयमा दलबीच छलफल हुने जानकारी दिनुभयो ।  अहिलेसम्म कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकार गठन गर्न सहयोग गर्न तयार भइसकेका छन् । तर जनता समाजवादी तत्कालै सरकारमा सहभागी हुने सम्भावना भने देखिएको छैन ।  जसपा संसदीय दलका नेता निर्मला तावा लिम्बूले सरकारलाई समर्थन गर्ने तर मन्त्रिपरिषदमा सहभागी हुनका लागि भने प्रदेश नामकरणको विषयमा पार्टीले अगाडि सारेको सर्तका विषयमा छलफल हुनुपर्ने बताउनुभयो । जसपाले प्रदेश पुनः नामकरणका लागि गठबन्धन दलभित्र सहमति बन्नुपर्ने सर्त अगाडि सारेको छ ।  कोशी प्रदेशसभाका ९३ सदस्यमध्ये ठूलो दल एमालेका ४० सांसद छन् । सुरुदेखि नै एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दैआएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अहिलेसम्म नयाँ सरकार गठनका लागि तयार भइसकेको छैन ।  सत्ता गठबन्धन दल कांग्रेससँग २९, माओवादी केन्द्रको १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीका १ सांसद हुनुहुन्छ । 

मुस्ताङ:  मुस्ताङको लोमन्थाङ गाउँपालिकाले बिहे मनाउन सार्वजनिक बिदा दिएको छ ।   मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाहको अवसरमा असार १८ गते भोलि (सोमबार) सार्वजनिक बिदा दिएको हो ।   मुस्ताङी राजाको जेठो छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष  टसि न्हर्वु गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।  

विराटनगर:    कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ । आइतबार प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । लामो समयदेखि प्रदेशको नाममा असहमति जनाउँदै आएका पहिचान पक्षधर समूहलाई प्रदेश सरकारले वार्ताबाट सहमति खोज्न आग्रह गरेसँगै अहिले विराटनगरमा आन्दोलनरत पक्ष र सरकारबिच वार्ता सुरु भएको छ । पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत उपस्थित हुनुहुन्छ भने प्रदेश सरकार पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी सहभागी रहनु भएको छ ।  गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान मृत्यु समेत भएको थियो । 

काठमाडौं:  दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार गरिएको छ ।   उनीहरुको बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएका छन् ।   शनिवार बेलुका व्यास गाउँपालिकाको हुमदुम्तीमा यार्सा सङ्कलन गर्न गएका दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, त्यहीँ गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन ।   घटना पछि उद्धारका लागि सुर्खेतबाट हिजो गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण सदरमुकाम खलङ्गामै थन्किएको थियो र मौसम खुलेसँगै उनीहरुको बिहान उद्धार गरिएको हो । 

काठमाडाैँ: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ ।   बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रशिक्षार्थीलाई आयुक्त पद प्रदान गर्नुभयो ।   त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिनुभयो । उक्त कार्यक्रममा उहाँले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन गर्नुभयो ।  

पोखरा महानगरपालिका –१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदमा ३ मतले पराजित भएपछि पुस्कलबहादुर थापाले पुन मतगणना गर्न उच्च अदालत पोखरामा दिएको निवेदन सुनुवाई भएको छ ।    अदालतले वैशाख २० मा पुनः मतगणनाको आदेश दिएपछि थापाले लोकतान्त्रिक व्यवस्थामा जनताको मतको कदर गरिनुपर्ने प्रतिक्रिया दिएका छन् ।   ‘मेरो जीत वा हारले खासै अर्थ राख्दैन’ थापाले भने ‘लोकतान्त्रिक व्यवस्थामा जनताको मत सर्वाेच्च हो, जनमतको कदर हुनुपर्छ ।’ चुनावी प्रक्रियामाथि जालझेल हुन नहुने भन्दै आफुले हारको आक्रोशले नभई मतदाता र व्यवस्थामाथि प्रहार हुनुहँदैन भन्ने आशयकासाथ अदालतमा निवेदन दिएको थापाको भनाई छ ।   थापा भन्छन् ‘म हार्न पनि सक्छु, उहाँले (वर्तमान वडाध्यक्ष) ३ को सट्टा २० भोट बढी ल्याएर जित्न पनि सक्नुहुन्छ, तर जनताको मतमाथि धोका हुनुभएन ।’    जीत वा हारलाई सहर्ष स्वीकार्नुपर्ने बताउँदै उनले आफु पुनः पराजित भए वडाध्यक्षलाई फुल अबीरसहित बधाई दिने बताए । ‘हाम्रो स्वार्थ यहाँको उन्नती, विकास हो’ थापाले भने ‘हामी असल राजनीतिक संस्कारका पक्षधर हौं ।’   मतगणनामा नेकपा एमाले उम्मेदवार थापालाई हराउँदै नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।   निर्वाचन अधिकृतको कार्यालयले भने तिमिल्सिनाले १६ सय ४३ र थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नीतिगत रुपले स्पष्टता ल्याउँदा नेपाल अन्तराष्ट्रिय जगतकै निम्ति‘खेलको हब’हुनसक्ने ठाउँ भएको बताएका छन्।    राखेपले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवादलाई सम्बोधन गर्दै उनले नेपालको भौगोलिक परिवेशले पनि अन्तर्राष्ट्रियस्तरमा नेपाल खेलको हब हुनसक्ने बताएका हुन्।    उनले भने, ‘हिमालमा खेलिने खेलदेखि पहाड/तराई सबैतिर संरचना निर्माण गर्न सक्ने हो र भौतिक पूर्वाधार हुने हो भने यो संसारकै निम्ति एउटा उत्कृष्ट अन्तर्राष्ट्रिय खेलको हब हुनसक्ने ठाउँ हो।’    उनले आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिक हरेक दृष्टिकोणले पनि अन्तर्राष्ट्रिय रुपमा खेल क्षेत्र महत्वपूर्ण रहेको बताए।   खेलकुद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन आफ्नो उच्च प्राथमिकता रहेको उनले बताए। उनले खेलकुद क्षेत्रको महत्व गुणात्मक रुपमा अगाडि बढाउने समय रहेको धारणा राखे।    राखेप सदस्य सचिव टंकलाल घिसिङले बजेट बढाएर कम्तिमा २ प्रतिशतको कुरा उठाएको जानकारी दिँदै प्रचण्डले आगामी बजेटमा पुनर्विचार गर्ने बताए।उनले भने, ‘बजेटका सीमाहरु रहेका छन्। तर खेल क्षेत्रलाई आफ्नो कार्यकालमा प्राथमिकता दिन्छु।’

काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले जारी पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।    यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान   २०७९ फागुन २३ गते (मंगलबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्गसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।   राति ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।      २०७९ फागुन २४ गते (बुधबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।    राति ː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।     २०७९ फागुन २५ गते (बिहिबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।     राति ː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।