विराटनगर:   कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ ।  वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वा...

पाेखरा: गुण्डागर्दीको पृष्ठभूमिबाट उदाएका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ् उर्फ मनाङेकै शैलीमा नेकपा एमाले गोरखाबाट उदाउनेक्रममा रहेका छन् अर्का पात्र मिलन गुरुङ् अर्थात् चक्रे मिलन ।    देशभर करिब १० लाखको हाराहारीमा संगठित सदस्य भएको दाबी गर्ने एमालेले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाकालागि चक्रे मिलनलाई सिफारिश गरेपछि गोरखाका एमाले कार्यकर्ताहरुको शिर पक्कै निहुरेको छ । राजनीतिमा गुण्डागर्दीलाई संस्थागत गर्ने एमालेको यो कदमले मंसिर ४ मा पक्कैपनि पुर्पुरोमा हात राख्ने अवस्था आउँछ ।    एमालेले चक्रे मिलनमा के देख्यो ? यसको उत्तर गुण्डागर्दी बाहेक अरु हुन सक्दैन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा पाइला राखिसकेपछि पनि एमालेले राजनीतिमा बिहारी शैलीलाई अपनाएर देशप्रति जिम्मेवार नभएको सन्देश दिन खोजेको छ । चुनाव जित्न धन र डन चाहिन्छ भनेर स्वयं एमालेले प्रमाणित गरेको तथ्य हो, चक्रे मिलनलाई सिफारिश गर्नु ।      विश्वस्त सुत्रकाअनुसार चक्रे मिलनको नाम सिफारिश गर्न अध्यक्ष केपी शर्मा ओलीकै हाल छ । जानकारीमा आएको सूचनालाई विश्वास गर्ने हो भने ओलीको ठाडो निर्देशनमा उनको नाम सिफारिश भएको हो ।      एमाले र कतिपय अवस्थामा एमालेभन्दा बढी योगदान दिएको दाबी गर्ने नेपाली कांग्रेसको हविगत यो भन्दा पनि गतिलो देखिएन । अझ यसपालिको निर्वाचनमा नख्खु जेलभित्रै रहेका मोहम्मद अफताव आलमलाई रौतहटको क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिश गरेर नेपाली कांग्रेसले आफु नाङ्गो भएको देखाइसक्यो ।      कांग्रेस नाङ्गिएपछि उसलाई कुरिकुरी गर्न छाडेर एमालेले आफु पनि नाङ्गै भएको देखाउन कत्ति हतार गरेन । उसले पनि देशव्यापी खोजीपछि चक्रे मिलनलाई गोरखामा नाम चढाएरै छाड्यो ।    प्रहरी र अदालतले दुबैको बहिखाता सार्वजनिक गरिसकेको छ । दुबैले अपराध गरेका छन् । अपराधको तुलोमा दुबैलाई तौलँदा कांग्रेस र एमालेको समाज एवं साम्यवादको तौल उचालिएरै होला उनीहरुलाई त्यागी र महान देखायो ।    हालै सम्पन्न स्थानीय निर्वाचनको नतीजाबाट देशका दुई ठूला दलहरु दूरदर्शी भए होलान् वा समयलाई बुझ्न सके होलान् भनेर जनमानसले गरेको अनुमान अन्ततः फेल भएका छन् । अहिलेलाई यत्ति बुझ्न सकिन्छ, कांग्रेस र एमाले दुबै नाङ्गिने दौडमा पहिलो हुन प्रतिष्पर्धा गरिरहेका छन् ।    त्यसो त जनताहरुको चेतनाको स्तर स्वतः बढेको छ । उम्मेदवारको मूल्यांकन गर्ने क्षमता निखारिएको छ । नाम सिफारिश भएकाहरुले कथंकदाचित् जिते भने मतदातामाथि पुरापुर दोष थोपर्न मिल्छ । यसर्थ, यस चुनावमा उम्मेदवार हैन मतदाताहरुको परीक्षा हुनेछ । 

  काठमाडौं:  जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजश्व संकलन भएको छ ।  आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु  १३ लाख राजश्व सङ्कलन गरेको हो ।      गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई  लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो ।          गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो  जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ ।   जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटीहरु समेत निकासी हुने गरेको छ । 

  विराटनगर:    प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिकोत्सवमा उहाँले बढ्दो आयातलाई प्रतिस्थापन गर्न सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।   “कृषि प्रधान मुलुकमा कृषिजन्य वस्तुकै आयात बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “बचत तथा ऋणमा दर्ता भए पनि कृषिक्षेत्रलाई प्रवद्र्धन हुने गरी लगानी गर्न म आग्रह गर्छु ।” सहकारीहरूले गर्ने लगानी उत्पादनमुखी ​कार्यमा बढी केन्द्रित हुनसके मात्र मुलुकको अर्थतन्त्र सबल बन्दै जाने उहाँको भनाइ थियो ।   राज्यको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी रहेकाले राज्यको आवश्यकतानुसार सहकारी ढल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीमा समस्या हुनुका साथै केही विकृति बढेको चर्चापरिचर्चा हुन थालेकाले उहाँले जटिलता र समस्याका बारेमा छलफल नगरे सहकारी क्षेत्रले अपेक्षाकृत गति लिन नसक्ने जनाउनुभयो ।   कार्यक्रममा हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गालले संस्था स्थापनाको छोटो अवधिमै संस्थाले रु दुई अर्बको वासलात बनाउन सफल भएको जानकारी दिनुभयो । संस्थाको हाल रु १७ करोड ५० लाख शेयर पूँजी, रु ९० करोड ७५ लाख बचत सङ्कलन र रु एक अर्ब ७५ लाख ऋण लगानी रहेको छ । संस्थाले झापा, मोरङ र इलाम जिल्लामा ३० वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल २४२ कर्मचारी कार्यरत छन् ।   कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चाल शिव डाँगी, नेफ्स्कुनका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्ली दाहललगायतले संस्थाको प्रगतिको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

  खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्क रुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो ।   किसानलाई लक्षित गर्दै वडा नं ४ बडकादिया र वडा नं ७ खोटाङ बजारका किसानलाई युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण वितरण गरिएको हो । बडकादियाले र खोटाङ बजारका दश÷दश किसानलाई बाँदर धपाउने उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा रु दुई हजार ८०० का दरले खरिद गरेर बाँदर धपाउने उपकरण ल्याइएको खोटाङ बजारका वडाध्यक्ष शिव फुयाँलले बताउनुभयो ।   खोटाङ बजारमा आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका दश टोल सुधार समितिलाई उपकरण प्रदान गरिएको छ । किसानलाई १०० पटक पडकाउन पुग्ने कच्चा पदार्थसहित उपकरण प्रदान गरिएको हो । बन्दुक जस्तै आवाज आउने उपकरण सम्बन्धित वडा कार्यालयले खरिद गरेर किसानलाई निःशुल्क वितरण गरेको हो । मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायत बालीनाली बाँदरले सखाप पारेपछि त्यहाँका किसान हैरान छन् ।     यसअघि २०७५ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔँ’ अभियान सञ्चालन गरिएको थियो । बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ।   सार्वजनिक नतिजाअनुसार सरकारी विद्यालयतर्फबाट कास्कीमा अभिषेक न्यौपानेले ४.० जीपीए ल्याउन सफल भएका छन् । न्यौपाने अन्नपूर्ण गाउँपालिका – ३ काँडेको बालमन्दिर माध्यमिक विद्यालयका छात्र हुन् ।    न्यौपानेले कक्षा ५ बाट बालमन्दिरमा अध्ययन गरेका हुन् । एसइई परीक्षाको दौरान प्रधानाध्यापक रहेका सुरेन्द्र देवकोटाले न्यौपानै अत्यन्तै सिर्जनशील विद्यार्थी रहेको जानकारी दिए ।   ‘न्यौपाने अनुशासनको प्रतीक थिए’ हाल निवर्तमान प्रअ देवकोटाले भने ‘नाच्ने, गाउने र खेलकुदलगायत सबै क्षेत्रमा पोख्त थियो, उसलाई अलराउण्डर भन्न मिल्छ ।’   उनका अनुसार फुर्सद भयो कि पढिहाल्ने स्वभाव न्यौपानेको थिएन । एसइई परीक्षा अघिका कक्षामा न्यौपाने प्रायः चौथो हुने देवकोटाले बताए ।    न्यौपानेको स्थायी ठेगाना पर्वतकाे बियादी गाउँपालिका ४ हो ।  उनी कक्षा ४ सम्म पर्वतमै पढेका हुन् । काठमाण्डौंको बुढानिलकण्ठ स्कुलअन्तरगतको पब्लिक पार्टनरशीप प्रोग्राम (पीपीपी)अन्तरगत नाम निकालेर बालमन्दिरमा पढ्न आएको देवकोटाले जनाए ।    ‘स्याङजा, पर्वत सीमा घर भएकाकारण न्यौपाने परिवारले आवासीय विद्यार्थीकारुपमा लुम्लेको बालमन्दिर रोजेका हुन्’ पूर्वप्रधानाध्यापक देवकोटाले भने ‘बालमन्दिर पढ्न पीपीपीमा नामै निकालेर आएका हुन् न्यौपाने ।’    यसपटकको नतीजाअनुसार कास्कीमा २ जनाले ४ जीपीए ल्याएका छन् । जसमध्ये अर्का एक निजी विद्यालय डिज्नेल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल हुन् । रितिका कक्षा १ देखि नै डिज्नेकी विद्यार्थी हुन् ।    कास्कीको अन्य नतीजा विवरण टेबलमा उल्लेख गरिएको छ । 

  विराटनगर:   प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६  नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।    खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो  मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताउनुभयो । प्रदेशमा कोभिड– १९ विरुद्धको  छ प्रकारका  खोप नागरिकलाई लगाएका छन् । यसरी लगाइएका खोपमा  कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाइजर र मोर्डना रहेका छन् ।       प्रदेशमा  अहिलेसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकले पहिलो खोप लगाएपश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेका कारण दोस्रो तथा बुस्टर मात्रा कम देखिएको छ ।   प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको प्रमुख साहले बताउनुभयो । तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको सङ्ख्या कम हुन गएको केन्द्रले जनाएको छ ।     यस्तै प्रदेशका १० जिल्लामा भेरोसेल, जोनसन र फाइजर खोपको मौज्दात रहेको केन्द्रले जनाएको छ । ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको केन्द्रका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।       प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कार्यालयमा फाइजरको एक लाख ७४ हजार ८०० सय मात्रा मौज्दात  रहनुका साथै प्रदेशका सबै जिल्लामा गरी चार लाख १८ हजार डोज खोप बाँकी रहेको कार्यालयका श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशमा अहिले सरदर दुई हजार ८५० जनाले दैनिक खोप लगाइरहेको कार्यालयका प्रमुख साहले बताउनु भयो ।      यस्तै प्रदेशमा ११ हजार कोभिसिल्ड खोप खेर गएको छ । केन्द्रका अनुसार म्याद सकिन १५ दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडाँैबाट उक्त खोप पठाएका कारण खेर गएको हो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख साहले यसअघि पनि प्रयोग हुन नसक्द अष्ट्राजेनेकाको ५० हजार खोपको  मात्रा खेर गएको थियो । 

नेपालगञ्ज  ः  करिब साढे दुई दशकदेखि कार्यसमितिविहीन भएको नेपालगञ्जस्थित यस क्षेत्रकै पुरानो महेन्द्र पुस्तकालय पुनर्जीवित हुन थालेको छ । करिब २५ वर्षपछि गत चैत २९ गते गठन गरिएको पुस्तकालयको तदर्थ समितिले काम थालनी गरेपछि महेन्द्र पुस्तकालयमा अहिले चहलपहल सुरु भएको छ ।      लामो समय कार्यसमितिविहीन भएपछि पुस्तकालयको हरहिसाब दुरुस्त राख्न, पुस्तकालयको सदस्यता सङ्ख्या बढाउन, पुस्तकालयको बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्नका लागि तदर्थ समिति गठन गरिएको पुस्तकालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताउनुभयो ।     उहाँका अनुसार, समितिले असार मसान्तभित्र नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी पाए पनि विविध कारणले तोकिएका समयमा आफ्नो काम गर्न नसकेपछि असार ३२ गते तदर्थ समितिलाई थप दुई महिनाको समय दिइएको छ ।     यही भदौ महिनाभित्र पुस्तकालयको निर्वाचन गराउन तदर्थ समिति सक्षम रहेको तदर्थ समितिका अध्यक्ष यादवले बताउनुभयो । पुस्तकालयको ७५ वर्ष पुगेका अवसरमा भदौ ३ गते हीरक उत्सव मनाउने र त्यसलगत्तै निर्वाचन गर्ने तयारीका साथ काम भइरहेको उहाँको भनाइ छ ।      हीरक उत्सवलाई व्यवस्थितरूपमा भव्य बनाउन विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । हीरक उत्सवका लागि आर्थिक समिति, सभा सञ्चालन समिति, प्रचारप्रसार समिति निर्माण गरिएको छ । पुस्तकालयले हीरक उत्सवका अवसरमा महेन्द्र पुस्तकालयलाई योगदान दिएका, साहित्यकार, समाजसेवी लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको तदर्थ समितिका सचिव सुदीप भट्टराईले जानकारी दिनुभयो ।      उहाँका अनुसार, उत्सवका अवसरमा नेपालगञ्जमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ । नेपालगञ्जभित्र रहेका विद्यालयमा महेन्द्र पुस्तकालयको प्रचारप्रसार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिने लागिएको हो । त्यसैगरी उत्सवका अवसरमा नेपालभरिका कविलाई आमन्त्रण गरी बहुभाषी कवि गोष्ठी आयोजना गरिने भएको छ ।

  कर्णाली  ः   ट्र्याक खुलेको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर-विद्यापुर–बेनीघाट सडक खण्ड कालोपत्र हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको हो ।    यो पश्चिम सुर्खेतको मुख्य सडकमा पर्दछ । वर्षौंसम्म सडक स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्दै आएका थिए । विसं २०५१ सालमा उक्त सडक खण्डको ट्र्याक खोलिएको थियो । पूर्वाधार विकास निर्देशनालयले प्रदेश सरकारको रु ४२ करोड ४७ लाख ६१ हजार लागतमा बड्डीचौरदेखि खम्बागाडेसम्म १२ किमी सडक कालोपत्र गर्न लागिएको जनाएको छ ।   बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० बनिसकेको थियो । पूर्वाधार विकास निर्देशनालयले कालोपत्रका लागि निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार २०८१ असार २४ गतेसम्म सडक कालोपत्रको काम सम्पन्न गर्नुपर्नेछ । यही साउन ४ गते सोही क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सडक स्तरोन्नति कार्यका शिलान्यास गर्नुभएको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ ।      राजमार्ग आयोजनाले काममा ढिलासुस्ती गरेपछि उक्त खण्डमा पर्ने करिब १३ किमी सडक प्रदेश सरकारले स्तरोन्नति गर्न थालेको हो । मन्त्री बुढाक्षेत्रीले जीर्ण र कच्ची सडकका कारण यात्रुले सास्ती पाएको भन्दै तोकिएको समय अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको थियो । निर्माण व्यवसायी दिक्पाल शाहीले ट्र्याक सुधार, नाली निर्माणलगायतका काम पूरा गरेपछि कालोपत्रको तयारी गर्ने बताउनुभयो । 

विराटनगर  :    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ ।   समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताउनुभयो । उहाँले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो ।     विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उहाँको भनाइ थियो ।