काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ । सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् । प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ ।
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन् । माओवादी धाराका ८ दलको बैठकमा प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताए । माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय भएको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले बताए । ‘आठ पार्टीहरू छलफल भयो । सङ्क्रमणकालीनमुद्दाहरु साझा विषय बनाएर जाने विषयमा समझदारी भयो । सबैको जोड सङ्क्रमणकालीन न्यायका काम छिटो टंगो लगाउनु पर्छ भन्ने भयो’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य हुने छैन । त्यसका विरुद्ध एक जुट भएर प्रतिवाद गर्ने छौँ । ' अहिले नै माओवादी धाराहरू एकता गरेर जाने अवस्था भने नरहेको प्रचण्डले बताएका छन् । ‘अहिले नै एकता गरेर जाने विषयमा कुरा नगरौँ । सयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ओलीले भने । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई तत्काल टुङ्गो लगाएर जान सबैले सहयोग गर्नुपर्ने बताएको ओलीले बताए ।
काठमाडौँ: माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । माओवादी (केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्ण जित बुढाथोकी लगायत सहभागी हुनुहुन्छ । भेलाले समसामयिक राजनीतिक घटना क्रम बारे छलफल गर्ने बुझिएको छ ।
पोखरा: नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औं स्थापना दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा श्रमिक वर्गले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिइएको छ । नेपालका परिवर्तनका आन्दोलनमा श्रमिक वर्गले अतुलनीय योगदान गरे पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखिएको बताउँदै वक्ताहरूले उनीहरूका सामाजिक सुरक्षाका विषयलाई निष्कर्षमा पु¥याउनुपर्ने बताए । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संघर्ष स्वरुप प्राप्त परिवर्तनलाई व्यवस्थापन गर्न समय समयमा चुक्दा समस्या आउने गरेको बताउनुभयो । हामीसँग पर्याप्त प्राकृतिक सम्पदा रहेपनि उपयोग हुन नसकेको वास्तविकतामा क्षमतालाई भरपुर उपयोग हुने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिनुभयो । श्रमिक क्षेत्रका समस्याको समाधानका लागि काँग्रेस प्रतिवद्ध भएको बताउँदै उहाँले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव राजेश पालिखेले श्रमिक वर्गले भोग्दै आएका सामाजिक सुरक्षा लगायत समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्थासँगै कानुनहरूको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस कास्कीका शुभेच्छुक संस्था संस्था संयोजक गंगाधर पराजुलीले नेपालका सबै किसिमका आन्दोलनमा दलहरूले मजदुर बर्गलाई प्रयोग गर्दै आए पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखेको बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, निवर्तमान कास्की जिल्ला अध्यक्ष कुलदेवी बराल, उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमल्सिना लगायतले मजदुरका समस्यालाई दीर्घकालीन समाधान गर्ने तर्फ लाग्नु जरुरी रहेको बताउनुभयो ।
दमौली: तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यस अवधिमा रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च भएको छ । केही दिन अगाडि मात्रै आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर चौडाइको प्रवेश सुरुङमा ‘ब्रेक थ्रु’ भएको हो । आयोजना निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जान यही सुरुङ प्रयोग गर्न सकिनेछ । प्रवेश सुरुङ ‘ब्रेक थ्रु’ भएपछि सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान र आवतजावत गर्न सहज भएको बताइएको छ । आयोजनाको पहिलो चरणअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न विसं २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो । सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मङ्गलबार गरिएको हो । आयोजनाको चरण–१ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो चरणअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको प्रबन्ध सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डाइभर्सन सुरुङ–१ अन्तर्गत हाल इनलेट र आउलेट दुवैतर्फबाट सुरुङ खन्ने कार्य भइरहेको छ भने मङ्सिर मसान्तसम्म ३४१ मिटर खन्ने काम सकिएको थियो ।” डाइभर्सन सुरुङ–२ को इनलेट र आउटलेटको निर्माण भइरहेको र यस सुरुङको लम्बाइ ६२९ मिटर रहेकामा मङ्सिर मसान्तसम्म ३६० मिटर खन्ने काम सकिएको छ । बाँधको माथिल्लो भागको स्लोपअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी, बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ । चरण–१ अन्तर्गतको काम विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाको चरण–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ अर्थात् रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । यो चरणअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो । आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकदेखि खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । “कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरुङ खन्ने काम प्रभावित भएको छ, यसका अतिरिक्त कमजोर भौगर्भिक अवस्थाका कारण सर्जट्याङ्कको निर्माण रोकिएको छ,” श्रेष्ठले भन्नुभयो । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकोमा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ । श्रेष्ठका अनुसार पेनस्टक आयात भई वर्कसपमा फ्रेविकेसनको कार्य भइरहेको छ । चरण तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । २६ टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४ दशमलव सात किलोटिरम प्रसारण लाइनमा ९४ टावर राखिनेछ । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।
बागलुङ: सरकारी तथा सामुदायिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको चहलपहल बढेको छ। विभिन्न पार्टीका भ्रातृ विद्यार्थी सङ्घ तथा सङ्गठनहरू स्ववियु चुनावमा होमिएका छन्। आगामी चैत ५ गतेलाई निर्धारित स्ववियु निर्वाचनलाई लक्षित गरी धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० वटा विद्यार्थी सङ्गठन दर्ता भएका छन्। स्ववियु निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलसँग सम्बन्धित र स्वतन्त्र नामका विद्यार्थी सङ्गठन चुनावी प्रयोजनका लागि दर्ता भएका हुन्। स्ववियु निर्वाचन संयोजक भक्तिप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल विद्यार्थी सङ्घ (अखिल क्रान्तिकारी) दर्ता भएका छन्। राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु (छैटौँ), अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, संयुक्त विद्यार्थी समूह, अखिल संयुक्त प्यानल, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु क्रान्तिकारी ‘विप्लव’ दर्ता भएको निर्वाचन संयोजक न्यौपानेले बताउनुभयो। गत पुस २२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचनको घोषणा गरेपछि धौलागिरि क्याम्पसमा पनि चुनावी सरगर्मी सुरु भएको हो। निर्वाचनको मिति नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी सङ्ठनको चुनावी चहलपहल बढेको छ। निर्वाचनमा भाग लिएका विद्यार्थी सङ्गठनहरूले क्याम्पसभित्र सङ्गठन विस्तार तथा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरी आआफ्नो सङ्गठनमा विद्यार्थीलाई आकर्षण गर्ने काम गरेका छन्। चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका केन्द्रदेखि जिल्ला तहका नेता, कार्यकर्ता, पूर्वस्ववियु सभापतिको क्याम्पसहरूमा उपस्थिति बाक्लो हुन थालेको धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले बताउनुभयो। यस क्याम्पसमा स्ववियु निर्वाचनमा करिब एक हजार चार सय जना विद्यार्थीले भाग लिनेछन्। शुक्रबार साँझ ५ बजेसम्म स्नातकोत्तर तहको भर्ना बाँकी रहेको हुँदा विद्यार्थी सङ्ख्या यकिन नभएको क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ। निर्वाचन घोषणले आफूहरू उत्साहित भएको अनेरास्ववियु धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष अनिल शर्माले बताउनुभयो। निर्वाचनका लागि आफ्नो सङ्गठन पूर्ण रूपले तयारी अवस्थामा रहेको अध्यक्ष शर्माले बताउनुभयो। विद्यार्थी सङ्गठनहरूले निर्वाचनमा हुन सक्ने सम्भावित गठनबन्धनलाई पनि प्राथमिकतामा राखेका छन्। संयुक्त प्यानलको नाममा सङ्गठन दर्ता गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले बताउनुभयो। धौलागिरि क्याम्पसका विगतका निर्वाचनका विशेष गरी अनेरास्ववियु र नेविसङ्घबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। “विद्यार्थीको हक अधिकार स्थापित गर्न निर्वाचन आवश्यक थियो,” उहाँले भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ।” प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, गलकोट बहुमुखी क्याम्पस, सर्वाेदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ।
काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीले आफ्नो क्षमता र सिपलाई देशको विकासका लागि खर्चिनुपर्ने बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफूले पूर्वप्रधानमन्त्रीको संगठन बनाएर काम गर्न सकिने योजना बनाएको बताएका छन्। पूर्वप्रधानमन्त्रीको संगठनले ६ कुरामा फोकस गरेर काम गर्नुपर्ने आफ्नो सुझाव रहेको पनि उनले बताए। उनले भने, 'अनुभव प्राप्त गरेका देशका पूर्वप्रधानमन्त्रीहरू देशका सम्पत्ति हुन्। अनुभवका खानी पनि हुन्। उनीहरूको व्यक्तित्व पनि छ। मैले सम्झिएको थिए, यी पूर्वप्रधानमन्त्रीहरू ६ कुरामा फोकस भए सरकार र समाजलाई फाइदा हुने थियो।' नेपालले पूर्वप्रधानमन्त्रीले देशको विकासका लागि काम गर्ने ६ एजेण्डामा आर्थिक विकास, सुशासन, छुवाछुत मुक्त अभियान तथा महिला हिंसा न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, देशको समृद्धि र असलग्न राष्ट्रका पक्षमा काम गर्ने छन्। पूर्वप्रधानमन्त्री एक ठाउँमा भेला भएर यी कदम चाले सामाजिक रुपान्तरणमा टेवा पुग्ने उनको भनाइ छ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने बताएका छन्। लिङ्देनले दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने भएपनि उल्टो भएको बताएका हुन्। राष्ट्रपति निर्वाचनमा बनेको आठ दलीय गठबन्धनलाई लक्षित गर्दै उनले नेपालमा दलहरु उल्टो दिशामा गइरहेको टिप्पणी गरेका छन्। उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नहुने स्पष्ट पारेका छन्। संविधानको रक्षाका लागि गठबन्धन भन्दै शनिबार बिहान सांसद लिङ्देनले ट्वीटरमा लेखेका छन्,‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।’ एमाले नेतृत्वको माओवादी केन्द्र, राप्रपा, रास्वपा, जनमतको गठबन्धन तोडेर राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्ती पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग पुन : गठबन्धन गरेका छन्। कांग्रेससँग सहकार्य गरेपछि राप्रपाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ।
सन्धिखर्क: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अबको निर्वाचनमा एमालेको बहुमत ल्याउने अभियानका साथ मिसन ग्रासरुट सञ्चालन गरेको बताएका छन्। आगामी हुने निर्वाचनमा एमाले एकल निर्वाचन लड्दा पनि बहुमत आउने गरी संगठन बनाउन पाटीले मिसन ग्रास रुट लिएर गाउँगाउँमा छिरेको जानकारी दिए। प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्क शाखाले गरेको पत्रकार सम्मलेनमा बोल्दै एमालेका नेता रायमाझीले राष्ट्रको लक्ष्य प्राप्त गर्न र सुखी नेपाली समृद्ध जनता बनाउन र एमालेले आफ्नो पालामा गरेका कामको जानकारी गाउँगाउँमा गराउन अभियान सञ्चालन भएको बताए। नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पाटीको ह्वीप नलाग्ने भएकाले दुई पात्र हेरेर भोटिंग हुँदा राष्ट्रपतिमा सुवास नेम्वाङको जित हुने दाबी गरेका छन्। एमाले र माओवादीबीच राष्ट्रपतिमा एमालेले लिने भनेर भएको सहमति तोडेर माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाएको बताउदै एमालेले पहिलाको सहमति अनुसारनै राष्ट्रपतिमा उम्मेदवार उठाएको बताए। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक संकट उत्पन्न भएको बताए। वर्तमान गठबन्धनले देशमा संकट निम्ताउने उनको दावी छ। कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायतको सहभागिता थियो।