काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा वेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी सङ्गठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जनलगायतका मुख्य एजेण्डा अघि सारेर निर्वाचनमा होमिँदै छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेकपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने एजेण्डासहित स्ववियु निर्वाचनमा होमिने बताउनुभयो । उहाँले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताउनुभयो । “विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ”, उहाँले भन्नुभयो, “यसपटक हामीले शैक्षिक एजेण्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्दछ भन्ने रहेको छ ।” नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पुजन गन्र्धवले घोषणापत्र तयारी गरिसकेको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताउनुभयो । नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको छ । यस्तै, सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने एजेण्डा पनि बनाएको छ । यस्तै, वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका गन्र्धवले जानकारी दिनुभयो । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिनुभयो । उहाँले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य एजेण्डा रहेको बताउनुभयो । उहाँले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने एजेण्डा रहेको जानकारी दिनुभयो । यस्तै, वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि एजेण्डा क्रान्तिकारी रहेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने एजेण्डा रहेको बताउनुभयो । नेविसङ्घका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसङ्गति सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताउनुभयो । उहाँले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो । उहाँले त्रिवि सेवा आयोग प्रत्येक छरछ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताउनुभयो । त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो एजेण्डा रहेको बताउनुभयो । त्यस्तै, उहाँले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताउनुभयो । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ । प्रत्येक दुईदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।
काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरूलाई सहभागी गराउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा गर्न लागेको भेलामा पार्टी पदाधिकारीहरूको सहभागीता गराउने निर्णय गरेको हो। भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई सहभागी गराउन कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ विजयी गराउनका लागि पहल गर्ने निर्णय भएको उनले बताए। राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता भएको छ।
पाँच वर्षसम्म नाम राख्न नसकेर आलोचित भएको प्रदेश १ ले आजबाट कोशी नाम पाएको छ । तर नामाकरण भएपनि यसमा असहमति जनाउँदै नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा दर्ता भएको प्रस्ताव फिर्ता लिएको छ । प्रस्ताव फिर्ता भएपछि विराटनरको केही स्थानमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । विराटनगरबाट पत्रकार सुभद्रा प्याकुरेलले सुनगाभा न्यूजसँग भनिन्, ‘प्रतिपक्ष दलले कोशीमा असहमति जनाएपछि अहिले विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘यहाँ कोशी, किराँत र सगरमाथाको नाम प्रस्ताव भएको थियो’ पत्रकार प्याकुरेलले भनिन् ‘कोशी राखिएपछि अन्य नाम हुनुपर्छ भन्ने समूह प्रदर्शन गर्ने तयारीमा रहेका छन्, प्रशासनले कफ्र्यु जारी गरेको छ ।’ यसअघि नै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा निषेधाज्ञा सम्बन्धी जारी सूचनामा प्रदेश १ को प्रदेश सभा नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपछि पनि असहमत पक्षबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको उल्लेख छ ।
काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिइएको छ। मंगलबारबाट लागू हुनेगरी दाहाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ। यसअघि आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी प्रवक्ता थिए ।
विराटनगर: प्रदेश १ ले आज नामकरण टुङ्ग्याउने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढ्न लागेको हो । प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरूबीच सैद्धान्तिक सहमति भएको छ । यो नामप्रति नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको भने सहमति छैन । नामकरणको प्रस्ताव अगाडि बढाउन केहीबेरमा सर्वदलीय बैठक बस्ने तयारी छ । अहिले सबै दलहरू संसदीय दलको बैठक बसेर नामकरणका विषयमा दलको धारणा तय गर्दैछन् । नामकरणको विषयमा यसअघि पनि दलहरूबीच खासै छलफल भएको थिएन । प्रदेश १ मा पहिचान पक्षधर विभिन्न समूहले पहिचानका आधारमा नाम राख्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । नामको विषयमा विवाद बढ्न सक्ने भएकाले दलहरूले यस पटक मुख्य दुई दलले चुपचाप सहमति बनाएका हुन् ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न परिवर्तन भएको छ । पार्टीका प्रवक्ता मुकुल ढकालले चुनाव चिह्न गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाइ घण्टी मात्र राखिएको बताए । रास्वपाका १९ सांसद् छन् ।
काठमाडौं: आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । सङ्घीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
काठमाडौंः प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको हो। संघीय संसद् सचिवालयले विशेषकारण बैठक स्थगित भएको जनाएको छ । राष्ट्रपति निर्वाचन फागुन २५ मा र उपराष्ट्रपति निर्वाचन चैत्र ३ गतेका लागि तय भएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट सन्देशसहित प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची थियो। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक,२०७८ माथि विचार गरियोस्’भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)विधेयक,२०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ता प्रस्तुत गर्ने कार्यसूची थियो। ‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्ने कार्यसूची तय भएपनि आजको बैठक स्थगित भएको हो।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहनु भएको छ । मुख्यमन्त्रीले फागुन २१ गते विश्वासको मत लिनु हुने नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । ‘हाम्रो पार्टी नेतृत्वको सरकारले सम्भवतः फागुन २१ गते विश्वासको मत लिन्छ’, उहाँले भन्नुभयो । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठुलो पार्टीको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका उहाँले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । गठबन्धनको साथले मुख्यमन्त्रीले दुई तिहाइ बहुमत प्राप्त गर्न सक्नेमा आफूहरू विश्वस्त रहेको प्रदेश सभा सदस्य बमले बताउनुभयो । उहाँलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी पार्टी) र स्वतन्त्रको मत प्राप्त हुने बमको भनाइ छ ।