काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताउनुभयो । “एक दुई क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्ना सङ्गठन दर्ता गराएका छन्”, उहाँले भन्नुभयो, “अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।” निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार विद्यार्थी सङ्गठन दर्ता गर्ने समय तोकिएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयुर्वेदिक क्याम्पसमा पनि विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । उहाँले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गतेका लागि विद्यार्थी सङ्गठन दर्ताको समय तोकिएको जानकारी दिनुभयो । उहाँले उपत्यकामा २१ आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता भएको बताउनुभयो । उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इन्जिनियरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्म कन्या बहुमुखी क्याम्पस ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, आरआर क्याम्पस १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी सङ्गठन दर्ता भएका छन् । यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।
काठमाडौं: आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन्। यही फागुन २५ गते हुने राष्ट्रपतिको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि ६ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरेका छन्। राससका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र वरिष्ठ समाचारदाता भीष्मराज ओझाले पौडेलसँग राष्ट्रपति निर्वाचन सम्बन्धी लिइएको अन्तर्वार्ताको सम्पादित अंश: आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा यहाँको तयारी के छ, मतदातासमक्ष कसरी जाँदै हुनुहुन्छ? राष्ट्रपतिका लागि यही फागुन २५ गते हुने निर्वाचनमा कांग्रेससहित आठदलीय गठनबन्धनका तर्फबाट म सर्वसम्मत उम्मेदवार बनेको छु। मेरो उम्मेदवारीले मुलुकमा राष्ट्रिय एकताको सन्देश प्रवाह भएको छ। निर्वाचनको तयारीका क्रममा जनताबाट निर्वाचित भएका प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग निर्वाचन केन्द्रित भेटघाट, छलफल र कुराकानी भइरहेको छ। पत्र तथा एसएमएसका माध्यमद्वारा पनि उहाँहरूसँग भोटका लागि अनुरोध गरेको छु। विभिन्न दलका नेतृत्वसँग भेटेरै कुराकानी भएको छ। मतदाता सबैसँग सम्पर्कमा पुग्ने र विश्वास दिलाउने काम भइरहेको छ। आठदलीय गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट यहाँलाई नै किन राष्ट्रपति पदको उम्मेदवार छानियो? राष्ट्रपति निर्वाचनका सन्दर्भमा सबै दलहरूबीच भएको छलफलमा मलाई नै उम्मेदवार बनाउने ठहर भएर सहमति जुट्यो। नेपालको अहिलेको राजनीतिमा संयोग नै भन्नुपर्छ सबै किसिमले अरूभन्दा वरिष्ठ भएको र सबैको सहमति मेरै नाममा जुटेकाले यो अवसर प्राप्त भएको छ। अहिलेको व्यवस्था र लोकतन्त्र प्राप्तिका क्रममा सबैभन्दा बढी संघर्ष र मेहनत गरेको छु। लोकतन्त्र स्थापना, संविधान निर्माणमा पनि मेरो भूमिका र योगदान देखेर सबै साथीहरूले मलाई नै उययुक्त ठान्नुभयो। राष्ट्रपति संवैधानिक पद हो, यहाँ कांग्रेसको क्रियाशील र वरिष्ठ नेता हुनुहुन्छ, निर्वाचित भएमा पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ? मेरो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा संघर्ष भनेको लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि हो। यसका लागि जीवन बिताएर म यहाँसम्म आइपुगेको छु। मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको लोकतन्त्र र जनताको अधिकार हो। अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो। त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो। लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ। परिवर्तनका यी उपलब्धीको रक्षा राष्ट्रपति पदबाट हुन्छ भन्ने मलाई लाग्छ। संविधान र लोकतन्त्रको रक्षा गर्न यो ठाउँ पनि महत्वपूर्ण छ। दल र अरु साथीहरूबीच यही कुरामा सहमति भएर नै म उम्मेदवार बनेको छु। जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु। राष्ट्रपतिमा यहाँको निर्वाचन जित्ने आधार के-के हुन्? कांग्रेससहित आठ दलको तर्फबाट म साझा उम्मेदवार भएपछि देशभर मेरो पक्षमा जनलहर पनि छ। मेरो संघर्ष को इतिहास देखेका, मेरा बारेमा थाहा पाएका जनतामा मप्रति अपेक्षा र भरोसा छ। राष्ट्र र प्रजातन्त्रप्रतिको संघर्षमा भएको योगदानका कारण मलाई यो जिम्मेवारी दिँदा संविधान र परिवर्तनका उपलब्धी सुरक्षित रहन्छ भन्ने जनमत पाएको छु। अर्को कुरा दलको पनि समर्थन मलाई मिलेको छ। नेकपा (एमाले)बाट मेरो साथी सुवासजी उम्मेदवार हुनुहुन्छ, त्यही दलबाट पनि मप्रतिको सद्भाव र विश्वासको अनुभव गरेको छु। यो चुनावमा मलाई विजयी हुन त्यो जनमत नै सहयोगी हुन्छ भन्ने मेरो विश्वास छ। यहाँलाई आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान्? समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही कुनै पनि तलमाथि हुन नदिई प्रभावकारी ढंगबाट काम गर्नुपर्छ। अहिले हामीसँग संविधान र गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा र चुनौती छ। गणतन्त्रको राष्ट्रपति र हिजोको राजतन्त्रको राष्ट्रध्यक्षको चरित्रमा मौलिक भिन्नता हुन्छ। त्यो पृथकता देखाउने प्रयास मबाट हुन्छ। हिजो र आजको राष्ट्राध्यक्षका व्यवहार र आचरणमा के–के भिन्नता हुनुपर्छ भन्नेमा प्रष्ट छु। राष्ट्रपति वा प्रधानमन्त्री भनेको मुलुकको भिन्नै विशिष्ट नभई सबै जनताका बीचमा पदीय जिम्मेवारीका कारण अग्रज मात्र हो। यो विषयलाई म यही रूपमा नै लिन्छु। असली अनि पूर्ण लोकतन्त्र र गणतन्त्र यही हो। समाजका सबै मानिस समान र स्वतन्त्र हुन्। हामी त्यही खोजीमा छौँ। त्यही आचरण गर्नुपर्छ। राष्ट्रपतिमा निर्वाचित भएमा संविधानको संरक्षण, पालना र प्रवर्द्धनमा यहाँको भूमिका के रहन्छ? मेरो एउटै कुरा हो, मैले जीवनमा जुन ‘मिसन’लाई अगाडि राखेर संघर्ष गरेँ, त्यो मिसनलाई पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्न र लोकतन्त्रलाई स्थापित गर्न पूर्णरूपमा क्रियाशील भएँ। त्यसमा भिजेको तथा संविधानको सम्पूर्ण अक्षर, मर्म एवं भावनासँग जानकार र परिचित भएको तथा आत्मसात गरेको व्यक्तिका नाताले आउनसक्ने कुनै पनि चुनौतीबाट जोगाएर लैजान सक्छु भन्ने मेरो अठोट छ। राष्ट्रपतिमा राजनीतिक दलहरूको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ? राष्ट्रपति संविधानको पालक र संरक्षक तथा संवैधानिक सर्वोच्च र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने पद हो। यो पदको विशेष महत्व छ। तर यसका आफ्नै मर्यादा छन्। संसदीय प्रणालीको मान्यताअनुसारको पद हो। यसको अर्थ राष्ट्रप्रमुखबाट गल्ती हुँदैन भन्ने मान्यता राखिन्छ। हाम्रो राजनीतिक प्रणालीमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काम गर्ने हो। राष्ट्रपतिको काम, कर्तव्य र अधिकार र संविधानले तोकेको छ। तर, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, संविधानको संरक्षकको नाताले सजग भएर राष्ट्रहितबारे सोचिरहेको हुनुपर्छ। नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढंगबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ? नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका थिए। यसले कसरी जोगिएर र सन्तुलन मिलाएर अघि बढ्नुपर्छ भन्ने कुरालाई इङ्गित गर्छ। हामीले असंग्लनताको परराष्ट्र नीति र तटस्थताको महत्व बुझेर अघि बढ्नुपर्छ। नेपालले त्यही कूटनीति अवलम्बन गर्नुपर्छ। राष्ट्राध्यक्षले त्यसैका लागि आवश्यक वातावरण बनाउने र राय–सुझाव दिने काम गर्न सक्छ। अन्त्यमा, राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई यहाँ त्यो पदमा पुग्ने भएको खण्डमा शीतलनिवासबाट कस्तो शीतलता प्रदान होला? आठदलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार भएपछि नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु। मलाई लाग्छ, त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन्।
काठमाडौं : नेकपा एमालेका केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउनेलाई बुद्धिजीवीले भ्रमजालबाट मुक्त बनाउनुपर्ने धारणा राखेका हुन्। ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भने जनतालाई चेतनाको स्तर कहाँ छ भन्ने मूल्याङ्कन गर्नुपर्ने र जनतामा जागरण ल्याउनुपर्ने बताए। उनले राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताए। सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उनको भनाई छ। उनले भने,‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्। उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’ ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए। उनले एउटा लेख लेखेपछि अरुको लागि प्रेरणादायी हुने र विचार प्रवाह हुने उल्लेख गरे। विचारसँग नकरात्मक टिप्पणी आए नआत्तिन आग्रह गर्दै उनले भने, ‘गलत प्रवृत्तिविरुद्ध निरन्तर लाग्नुहोस्।’ओलीले बिना मेहनत, बिना संघर्ष कोहीपनि विजेता बन्न नसक्ने धारणा राखे।
सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै लागि अहिलेको गठबन्धन नभत्किने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा सो कुरा बताउनुभएको हो । उहाँले १० पुसमा बनेको एमालेसहितको गठबन्धन भत्किनु र चुनावी गठबन्धन बिउँतिनुबारे नेताहरूले जानकारी गराउनुभएको थियो । खड्काले सबै सांसदलाई रामचन्द्र पौडेलको पक्षमा मत दिन समेत अपिल गनुभयो । उहाँले अहिले नयाँ गठबन्धन बन्नुको उद्देश्य पनि प्रस्ट्याउनु भएको थियो । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनबारे जसरी संसदमा मन्तव्य दिनुभयो, त्यो राम्रो थिएन,’ खड्काले भन्नुभयो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने बेला निकै गर्जनका साथ ओलीले आफूले संसद् विघटन गरेको कुरा सही नै हो भन्ने तरिकाले धारणा राखेपछि स्वयं प्रधानमन्त्री प्रचण्ड झस्किएको बताउनुभयो । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले गठबन्धनबारे सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले १० पुसमा एमालेसहित बनेको गठबन्धन भत्किनुको प्रमुख कारण एमाले अध्यक्ष केपी ओली भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘खासगरी केपीजीले विश्वासको मत दिँदा मैले प्रतिनिधिसभा विघटन गरेको ठिक थियो, फेरि पनि यस्तो हुन सक्छ, यो राजनीतिक कुरा हो, जायज कुरा हो भनेर जसरी प्रस्तुत हुनुभयो, त्यसबाट ओलीमाथि शङ्का उत्पन्न भएपछि नयाँ बाटो अपनाउनु परेको हो ।’ ओलीले मौका पाए फेरि पनि प्रतिनिधिसभा विघटन गर्नसक्ने आशङ्का उत्पन्न भएका कारण ओलीसहितको गठबन्धनमा विश्वास नभएर चुनावी गठबन्धन बिउँताउनु परेको बस्नेतले बताउनुभयो । यद्यपि, प्रदेश सरकारको भविष्यबारे भने एमालेमा निर्भर रहने खड्का र बस्नेतको भनाइ थियो । केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको खण्डमा गठबन्धनलाई सहज हुने नेताहरूको भनाइ छ । कर्णालीमा एमाले सत्तारुढ दल हो । तर अहिलेसम्म प्रदेशमा एमालेले सरकार छाड्नेबारे निर्णय लिन सकेको छैन । बैठकमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो। भ्रष्टाचारविरुद्ध सांसदको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टाचारलाई छानबिन गरेर कारबाही गर्न दल तयार हुनुपर्ने बताउनुभएको हो। अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने बताउनुभयो। भ्रष्टलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन नसकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा राष्ट्रिय सहमति आवश्यक छ। संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, पदाधिकारी, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीबीच एउटा राष्ट्रिय सहमति गरौं।’’ उहाँले त्यो सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले विमान खरिददेखि जग्गासम्मका भ्रष्टाचारलाई स्वतन्त्र ढंगले छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुशासनका लागि सहमति आवश्यक भएकोमा जोड दिनुभएको हो। अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई सशक्त बनाउनुपर्नेमा जाेड दिनुभयो।
काठमाडौं: नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।” संविधानसभाका अध्यक्ष नेम्वाङले अर्को प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट गर्नुभयो । प्रस्तुत छ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका एमाले नेता नेम्वाङसँग राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले मुलुकको सर्वोच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंश : आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा मतदातासमक्ष यहाँ के–कस्ता कार्यसूची लिएर जाँदै हुनुहुन्छ ? मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरेँ, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२/६३ को आन्दोलनपछि सर्वसम्मतिले सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु । एमालेभित्र अरू धेरै वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, तर तपाईंलाई नै किन यस पदका लागि सर्वसम्मत छानियो होला ? राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवद्र्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित गर्यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ । राष्ट्रपति आलङ्कारिक पद हो, यहाँ एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ? त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्को दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु “म अलरेडी टेस्टेड व्यक्ति हुँ ।” मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ । पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ? राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ । आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छ त ? सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवद्र्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी ग¥यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ । विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई यहाँले कसरी लिनुहन्छ ? यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, “हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छौँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।” कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् । आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ? अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छौं । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ? राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु । अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ? उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मक रुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधामन्त्री प्रचण्डले भन्नुभएको छ, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उहाँले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसा गर्नुभएको छ । “परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तर हित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ”, उहाँले शुभाकामना सन्देशमा भन्नुभएको छ । यसैगरी, परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवाशक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक छ भन्नुभयो । युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना छ ।
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा ग्रासरुट अभियान अन्तर्गत ३३ वटै वडाको वडा कमिटिका पदाधिकारी र महानगर सदस्यहरु बिचको पार्टी सुदृढीकरण बिस्तार अभियान २०७९ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य मायानाथ अधिकारीले नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियानले एमालेका कार्यकर्ताहरुलाई संगठित गर्दै पार्टी सञ्चालनलाई सुदृढ गर्न तर्फ लागिरहेकाले सम्पूर्ण पोखरा महानगर अन्तरगतका ३३ वटै वडाका पदाधिकारीहरुले यसवारेमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए । एमालेले पार्टी निर्माणका लागी देशैभर अभियान सञ्चालन जारी राखेकाले यसतर्फ सम्पूर्ण सदस्यहरु आ आफ्नो ठाउबाट एकवद्ध भएर लाग्न समेत उनले आग्रह गरे । महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य पुण्य पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य शिव पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए । कमिटिको उपाध्यक्ष मोहन गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमिटिका सचिव जीवन आचार्यले गरेका थिए । कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारीको समेत उपस्थिती रहेको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं–५ को विकासका लागि सङ्घ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको सांसद पौडेलले बताउनुभयो । सांसद पौडेलले प्रमुख साहसँग सात विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो । कलङ्कीदेखि धोबी खोलासम्म रिङ्गरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढङ्गले निर्माणकार्य अघि बढाउने र मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने विषयमा कुराकानी भएको सांसद पौडेलले बताउनुभयो । त्यस्तै, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने विषयमा छलफल भएको छ । साथै, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गरिनेछ । सांसद पौडेलले भन्नुभयो, ‘‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो साथै काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु ।’’