काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’ प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।
काठमाडौं: नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिनुभएको हो । आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो । “दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षकमा हाम्रो परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ । यसलाई समयसापेक्ष बनाउनुपर्छ, सबै राजनीतिक दलहरूले यसलाई अपनत्व लिनुपर्छ भन्ने ‘मिसन’ थियो”, उहाँले भन्नुभयो, “सोही उद्देश्यअनुरूप प्रतिष्ठानले अहिले हाम्रो नीतिलाई पुनरावलोकन गरिरहेको छ ।” क्षमता अभिवृद्धि, नीतिमा भएको प्रष्टता र दिगोपनलाई सुनिश्चितता गर्नुपर्ने जोड दिँदै उहाँले परराष्ट्र क्षेत्रले सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । “परराष्ट्रको काम त्यतिमात्रै होइन रहेछ, राहत र उद्धार पनि महत्त्वपूर्ण रहेछ, मैले त्यही गएर बुझेँ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको यति धेरै राहत र उद्धार गर्नुपर्ने रहेछ, त्यसबारेमा हाम्रो परराष्ट्र नीति बोलिरहेको छैन ।” उहाँले नीतिमा प्रष्टसँग आप्रवासन र यसले पारेको असरलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ट्र्याक टु र पब्लिक डिप्लोमेसी, सुरक्षा निकायका भूमिकालाई अब बन्ने परराष्ट्र नीतिमा राख्नुपर्नेछ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार हामीले पुनरावलोकन गर्दछौँ ।” आफूले पदभार सम्हालेलगत्तै सेवा प्रवाहलाई प्रमुखता दिएर काम गरेको जानकारी दिँदै उहाँले जिम्मेवारीका अवधिमा आफूले राहदानी, कन्सुलर र राहत तथा उद्धार सेवा प्रभावकारी बनाएको दाबी गर्नुभयो ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिए। बुर्लाकोटीले भने,‘सरकारका विषयमा पार्टीको पूर्वनिर्णय कायम छ । तत्काल हामीले समर्थन फिर्ता लिदैनौं।’ सरकारबाट भने रास्वपा बाहिरिएको छ। नेपालको राजनीतिमा अर्को घटनाक्रम विकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको उनको भनाइ छ। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्नेबारे कुनै निर्णय नभएको उनले बताए। बैठकले चितवन २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिए। बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्। बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले सामाजिक न्याय र विकासका काममा केन्द्रित भएको बताएका हुन्। उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं।’ उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए। प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए। उनले भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो। बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ। यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ। मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु। गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो। यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास दिलाउन चाहन्छु।’
काठमाडौं :प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टीका सांसद शहनाथ रहमानको निधनमा शोक प्रस्ताव पारित हुने कार्यसूची छ। सांसद रहमानको शनिबार हृदयघातबाट निधन भएको थियो। उनको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुखको पातको संज्ञा दिएका छन् । आइतबार शहिद तथा घाइते परिवारलाई सम्मानमा आयोजित कार्यक्रममा उनले रुखको पात झरेपछि मलमा परिणत हुनबाहेक कुनै काम नलाग्ने पनि बताए । ‘झरेको पात मलमा परिणत हुन्छ । म टुप्पाको पात हुँ भनेर धाक लगाएपनि झरेपछि त्यसको परिणति मल नै हो’, ओलीले प्रचण्डको नाम नलिइकनै भने, ‘को झर्यो को झरेन म अहिले भन्न चाहान्नँ । तपाईहरुले देखिरहनुभएको छ कसरी हल्लिँदै हल्लिँदै भुइँतिर झर्याे ।’ पछिल्लो विज्ञान प्रविधिमार्फत पुस १० मा जोड्न खोजे पनि नजोडिएको ओलीको भनाइ छ । ‘मैले लेटेस्ट साइन्स टेक्नोलोजीको माध्यमबाट जोड्दा हुन्छ की भनेर पुस १० गते लगेर जोडिहेरेँ, इन्जेक्सन दिएँ, मल्हम लगाएँ, तर हुँदोरहेनछ । फत्रक्क झर्यो फेरि’, उनले यसमा चिन्ता गर्नुपर्ने कारण नरहेको पनि बताए । उनले घाइते तथा शहिद परिवारलाई एमाले सरकारमा नभएपनि पार्टीले उनीहरुको उपचार हेल्थडेक्स राखेरै भएपनि गर्नेभएकाले पार्टी कार्यालयमा आउन आग्रह गरे । ओलीले ८० सिुट हुँदा पनि पदको लोभ नगरी ३२ सिट भएकालाई प्रधानमन्त्री दिएको भन्दै पछि एमाले गठबन्धन छोडेर छिमेकीकोमा गएको बताए । ‘ठुलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु अनौठो होइन के के छन् शर्त भन्ने थाहा छैन । पछि थाहा हुँदै जाला’, ओलीको टिप्पणी छ ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्। राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?' प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने गरेको ओलीले बताए। उनले भने, 'प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो-दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिने। उहाँलाई गाह्रो भएको थियो।' प्रचण्ड धोका दिने मान्छे भनेर आफूले चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुधारेको बताए। ओलीले भने, 'तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ।'
गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभएको छ। गोरखाको बारपाक सुलिकोटमा आयोजित माओवादी जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उहाँले सर्वसम्मतिका लागि २५ गतेसम्म कोशिस गर्ने बताउनुभयो। ‘‘हाम्रो प्रयास छ कि २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मति भए धेरै राम्रो हुन्छ। त्यो प्रयास पनि हामी गरिराखेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘नभए पनि नयाँ यात्रा, स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने मैले विश्वास लिएको छु।’’ निर्वाचन अघि गठबन्धन बनाएर होमिएका दल फेरि एकठाउँमा आइपुगेको उहाँले बताउनुभयो। यसले नयाँ राजनीतिक यात्राको सुरु भएको उहाँको भनाइ छ। ‘‘जुनजुन राजनीतिक दल मिलेर जनतामा भोट माग्न गएका थियौं। परिस्थिति नयाँ बन्यो म प्रधानमन्त्री भिन्न तरिकाले बनेँ,’’ उहाँले भन्नुभयो,‘‘हिजो मात्र फेरि (शनिबार) राष्ट्रपतिको चुनावका सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भएका छौं। नेकपा (एमाले)सँग पनि लगातार हाम्रो कुरा भइरहेको छ।’’ आफ्नो बाँकी जीवन विकास समृद्धिका लागि खर्च गर्ने यसअघि नै घोषणा गरेको बताउनुहुँदै उहाँले सरकारलाई जनमुखी र प्रतिफलयुक्त बनाउने दाबी गर्नुभयो। देश आर्थिक समस्यामा रहेको भन्दै त्यसको सुधारका लागि सरकार लागिपरेको उहाँको भनाइ छ। नेकपा (माओवादीका केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदलाई सम्मान दिन लागेको बताउनुभयो। ‘‘मैले आज बिहान मात्र मुख्य सचिवलाई बोलाएर जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीदको रुपमा राजपत्रमा नाम प्रकाशित गर्ने साेच बनाएको छु,’’ उहाँले भन्नुभयो, "यो निर्णयले परिवर्तनका पक्षमा बलि दिनेहरुप्रति सम्मान हुनेछ।" नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएका प्रधानमन्त्री प्रचण्डले शहीद परिवारलाई सम्मान गर्नुभएको थियो। उहाँले दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरिमायाँ रम्तेललगायत माओवादी जनयुद्धमा ज्यान गुमाएकाको परिवार र आफन्तलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले पालुङटारमा आयोजित एक कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको छ। कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं प्रमुख सचेतक हितराज पाण्डे, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलगायतले गोरखा दुईको विकासका लागि विशेष जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो। गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले जिल्लाको विकासका लागि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।