काठमाडौं:  सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनः स्पष्ट गरेको छ । चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलन...

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएकी छन् ।   बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको बताएकी हुन् ।   नेपालको स्वास्थ्य बीमाको मोडल गलत रहेको भन्दै त्यही कारण स्वास्थ्य बीमा बोर्डका अध्यक्षले हालै राजीनामा दिएको पनि उनले उल्लेख गरिन् ।   अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको भन्दै उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’   अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नुपर्छ भन्ने मान्यता राखेर अनावश्यक परीक्षण पनि गर्न लगाउने गरेको भन्दै डा. कार्कीले यसको नियमन एकदमै फितलो भएको बताइन् ।   स्वास्थ्य बीमा जुन अस्पतालमा तोकिएको छ, त्यसमा मात्र सेवा पाउने व्यवस्थाले पनि यो प्रभावकारी हुन नसकेको भन्दै सांसद कार्कीले बीमा गरेपछि जुनसुकै अस्पतालमा पनि सेवा पाउने व्यवस्था गर्न सुझाव दिइन् ।   देशमा आत्महत्या बढ्दै जाँदा पनि मानसिक स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको भन्दै उनले यो सेवालाई व्यवस्थित गर्न र विस्तार गर्न माग गरिन् ।   आगलागीमा परेका सांसद चन्द्र भण्डारीको ३० प्रतिशत शरीर जलन हुँदा पनि कीर्तिपुर अस्पतालले उपचार गर्न नसकेर रेफर गर्ने अवस्था रहनु दुखद भएको कार्कीले बताइन् । जलनको उपचार व्यवस्था प्रभावकारी बनाउन र देशभरका अस्पतालमा जलनको उपचार सेवा सुरु गर्न पनि उनले सुझाव दिइन् ।

काठमाडौं:  राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।   ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।   ऐनले यस प्रयोजनका लागि ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद बुझिने स्पष्ट गरेको छ । ऐनको दफा १२ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य मानेको छ ।   यस्तै, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउने छैन ।   साथै उल्लिखित कसुरबाहेक अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ ।   निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्दैछ । दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का ३३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल ८८४ मतदाता रहने छन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेश सभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार ३८६ गरी कूल ५२ हजार ७८६ मतभार कायम हुनेछ ।   स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिएको छ । साथै फागुन १३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ देखि अपराह्न २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । 

काठमाडौं : निर्वाचन आयोगले  राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो।   जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र  प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नेछन्।   तीनजना सांसदले भने निर्वाचनमा भाग लिन पाउने छैनन्। संसाद अरूण चौधरी र टेकबहादुर गुरूङ निलम्बनमा छन्। चौधरी थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका थिए। तर सरकारले  जेलमुक्त गरेपनि उनको निलम्बित सांसद पद संसदबाट फुकुवा भएको छैन। यसैगरी भ्रष्टाचार मुद्दामा  गुरूङ निलम्बनमा छन्। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गुमेपछि सो स्थान रिक्त छ। त्यसका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।   फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ।    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्।    हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।   संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ ।   एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि प्रचण्ड माओवादी केन्द्र सहमत देखिएको छैन । माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत छ ।   लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन् ।   राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ । निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।

काठमाडौं:  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।   पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका छन् ।   ‘गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको मान्छे महन्थ ठाकुरजी हुनुहुन्छ’ ठाकुरसँगै बालुवाटार पुगेका नेता शुक्लले भने, ‘उहाँको स्वच्छ छवि छ । उहाँ यसको लागि उपयुक्त पात्र हुनुहुन्छ । त्यसैले उहाँलाई राष्ट्रिय सहमतिको पात्रका रुपमा अगाडि बढाइयोस् भन्न हामी गएका थियौं ।’   प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिएको शुक्लले बताए । ‘तपाईंहरुले नभनेको भए पनि मैले महन्थजीका बारेमा सोचेकै हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै शुक्लले भने, ‘म सकारात्मक छु, अरु ठूलो दलसँग पनि कुरा गर्नुहोस् ।’   आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने शुक्लले बताए । एमाले अध्यक्ष ओलीसँग मंगलबार नै र कांग्रेस सभापति देउवासँग बुधबार भेटघाट तय भएको उनको भनाइ छ ।

दाङ:  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताएका छन् । राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे भने उनी खुलेनन् ।   लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ-देउखुरी पुगेका नेपालले पत्रकार भेटघाटमा राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताए । ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो, मैले नै आफैं के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भनेर सोचिसकेको छैन,’ उनले भने ।   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले मिडियामा आएका सबै कुरा सत्य नहुने बताए । यसबारे हतारमा केही नबोल्ने बताउँदै उनले भने, ‘प्रेसमा आएका कुराहरु सबै सत्य नै हुन्छन् भन्ने कुरा छैन । विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौं, अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । पर्दा भित्र नै रहनदिनुपर्छ, पर्दाभित्र नै रहोस् ।’   उनले अगाडि भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुको निम्ति मात्रै हामी सधैंभरी बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’ के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा वृहत छलफलको आवश्यकता भएको उनले बताए ।   प्रतिनिधि सभा निर्वाचन अगाडि आफ्नो पार्टीलाई राष्ट्रपति उम्मेदवार दिन कांग्रेस र माओवादी सहमत भएको बताउँदै उनले त्यसै अनुसार सम्मानित नेता झलनाथ खनाललाई अघि सारेको जानकारी दिए । तर खनाल निर्वाचनमा पराजित भएकाले विभिन्न नाममा छलफल भइरहेको उनले बताए ।

हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने बताएकी छन्। मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन्।   राष्ट्रपति भण्डारीले भनिन्, ‘बेला बखत महामारीको रुपमा आउने कोभिड, डेंगु जस्ता महामारीसँग जुध्न सार्वजनिक स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउनुपर्छ।’    आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा भण्डारीले जोड दिइन्। स्वस्थ नागरिक उत्पादनको लागि विद्यार्थी तहदेखि नै बालबालिकालाई हेरचाहसहित पोशणयुक्त खाना खुवाउनुपर्ने उनले बताइन्। स्वास्थ्य सेवा र शिक्षाको लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजिलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति भण्डारीको अपेक्षा छ।    कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलेले प्रदेशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्नेमा जोड दिए। ‘प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले यो प्रतिष्ठान निर्माण गरेका हो’, उनले भने, ‘दुर दराजमा पनि स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन हामीले काम गरिरहेका छौं।’   कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले प्रतिष्ठानको काम र अपेक्षाबारे बोलेका थिए। प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले प्रदेशको स्वास्थ्य र शैक्षिक गन्तब्य हेटौंडालाई बनाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताए।    नयाँ भवन निर्माण गरेर प्रतिष्ठानले हेटौंडा अस्पतालालाई ५० बेडबाट १५० मा स्तरोन्ननी गरेको छ। संघीय सरकारको ३५ करोड सहयोगमा प्रतिष्ठानले ७० बेडको नयाँ भवन निर्माण गरेको हो।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने बताएका छन्।   संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने कोइरालाले बताए। तर अहिलेसम्म उम्मेदवार भने टुंगो नलागेको कोइरालाको भनाइ थियो। राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।   ‘हिजोदेखि एउटा कुरा आएको छ- केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने। उहाँहरू पहिले एउटै पार्टी (एमाले) मा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी (एकीकृत समाजवादी) बनाउनुभयो। त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने 'चान्स' हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ,’ कोइरालाले मंगलबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ। ढुक्क हुनुस्।’   एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएका विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने पनि कोइरालाले बताए।   ‘माधव नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौं,’ उनले भने।   उनले चुनावका बेला पाँचदलीय गठबन्धन गरे पनि यसबीचमा कांग्रेसका तर्फबाट केही कमीकमजोरी रहेको र त्यो स्वीकार गरिएको पनि बताए। उनले दलका नेताका नाममा राष्ट्रिय सहमति हुने अवस्था आफूले नदेखेको बताए।   ‘संसदमा भएका दलका नेताका नाममा राष्ट्रिय सहमति हुनुपर्‍यो, भएन भने के गर्ने?,’ उनले भने, ‘राष्ट्रपति पार्टीभित्रबाट लिने कि बाहिरबाट भन्ने पनि छ। पार्टीभित्रबाट दिँदा कांग्रेस उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न पनि सक्छ। माओवादीका उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न सक्छ। यसरी त राष्ट्रिय सहमति बन्दैन। राष्ट्रिय सहमति बनाउन बाहिरबाट गयो भने बन्न सक्छ, यो मेरो व्यक्तिगत कुरा हो। नत्र गाह्रो हुन्छ। सबै राजनीतिक दलले स्वीकार गरेको व्यक्ति म चाहिँ देख्दिनँ।’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास नहुने बताएका छन्।   मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्।   वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताए।  प्रधानमन्त्रीले भने,' अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ,जसले गर्दैन त्यो टिक्दैन ।'    विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए।     आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।  कृषि, शिक्षा,स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका  थिए।