नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो । सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उहाँको भनाइ छ । रासस
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीको सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनुभयो । यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाका अनुसार त्यो कार्यदलको संयोजक पार्टीका उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का, पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी तथा रुकुम पश्चिम र जाजरकोटका पार्टी अध्यक्षहरू रहने उहाँले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनुभयो । उहाँले त्यो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनुभयो । बैठकले पार्टीको महाधिवेशन आउँदो माघमा काठमाण्डौमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि मङ्गलवार पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोटको रामीडाँडा केन्द्र गरी ६।४ म्याग्नेच्युडको भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए। ‘मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् छन्,’ महासचिव गुरूङले भने। माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो। ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जनवर्गीय संगठनसम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज आइतवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट २५ लाख र पार्टीका सङ्घीय सांसद र प्रदेशसभा सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ । यस्तै बैठकले पार्टीले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिमका कार्यक्रम आउँदो मङ्सिर १५ गतेसम्मका लागि र आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर गएको शुक्रवार राति गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति राप्रपाले दुःख प्रकट गरेको छ ।
नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोगस्वरुप उपलब्ध गराउनुहुने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय भएको हो । प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण मानवीय क्षति, भौतिक क्षति सयौँ घाइतेप्रति कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःख प्रकट गरेको उल्लेख छ । बैठकले विनासकारी भूकम्पका कारण जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
सरकारले आज बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र नागरिकलाई दुःख दिने खालको र मूल्यभन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’ बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच अमेरिकाको वासिङ्टनमा भेटघाट भएको छ । हिजो बुधवार भएको भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसद्को अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गएको सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाट्यस (टीपीएस) मार्फत् स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ । सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री साउद अहिले अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ । राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।
काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गर्नुभएको छ । उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आउनुभएको थियो । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो । भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत जानुभएको थियो । उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भम्रणका दौरान उहाँले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । रासस