पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

ढोरपाटन:   धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ ।   यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे ।   तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् । केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् ।   हिजोआज कलाकारहरुलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् ।   हिजोआज चाडपर्व र मेला महोत्सवमा रेकर्डेड गीत बज्छन् ।   दोहोरीगीत आयोजना हुने कार्यक्रममा पनि यानीमाया, सुनिमाया भाका समावेश हुँदैन । सामूहिक रुपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले गाउन जान्दैनन् ।   पाका पुस्ताबाट सिक्नसमेत रुचि राख्दैनन् । धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दीलगायतका जिल्लामा यो भाका निकै लोकप्रिय मानिए पनि संरक्षण हुनसकेको छैन । यानीमाया र सुनिमाया गीत आदिवासी जनजाति समुदायमा बढी प्रचलित मानिन्छ ।   पछिल्लो समय बजारमा आएका आधुनिक, पप, -याप लगायतका गीतले यानीमाया, सुनिमाया ओझेलमा परेको धेरैको बुझाई छ ।   यानीमाया गीत एक जनाले उठान गर्ने र समूहका अन्य कलाकारले गाउने गरिन्छ । दुईदशक अगाडि मेला महोत्सवमा सबैभन्दा बढी गाइने यानीमाया अहिले गुञ्जिन छोडेको ढोरपाटन नगरपालिका–९ का ७७ वर्षीय गुमानसिंह पुनले बताउनुभयो ।   पहिले ठाडोभाका, झ्याउरे र सालैजो भाका बढी प्रचलित रहेको सुनाउँदै अहिले ती भाका कहीँकतै सुन्न नपाइने उहाँको भनाई छ ।   अहिलेका युवायुवतीले मौलिक गीत छोडेर हिन्दी र अङ्ग्रेजी सुन्न थालेपछि जनजाति समुदायको पहिचान बोकेको यानीमाया, सुनिमाया भाका लोप भएको उहाँको गुनासो छ ।   “अब म चार बीस (८०) पुग्न लागे, अहिले पनि अलिअलि यानीमाया, सुनिमाया गीत गाउन मन लाग्छ, मेरो दाँैतरी धेरैले छाडेर गए, यानीमाया, सुनिमाया गीतले जीवन बोल्थे, माटो बोल्थे, प्राण भर्थे, माया प्रेमका भाव बोल्थे, तीन रात, तीन दिन गाएर पनि थाकिँदैनथ्यो, सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले त त्यस्ता गीत कसैले गाउँदैनन्, गाउने मान्छे पनि छैनन्, कहिलेकाहीँ मेरा छोरा नातिलाई सुनाउँदा यस्तो पनि गीत हुन्छ भनेर गिज्याउँछन् ।”   गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरीगीत भन्दा फरक हुन्छ । गीतको बीच–बीचमा ‘यानीमाया÷सुनिमाया’ जोडेर गाइने हुँदा यसलाई ‘यानीमाया’ र ‘सुनिमाया’ गीत भनिएको निसीखोला गाउँपालिका–६ की ६६ वर्षीया बिमला बुढा मगरले बताउनुभयो ।   आफ्नो पालामा तरुनी तन्नेरी भेट हुँदा र रोधी बस्दा यानीमाया गीत गाउने गरेको स्मरण गर्दै अहिले रोधी बस्न छोडिएको र त्यस्ता गीत लोप हुँदै गएको उहाँको भनाइ छ । केही वर्षयता गाउँ–गाउँमा मोबाइल, रेडियो र टेलिभिजनको पहुँच पुगेपछि मौलिक गीत लोप भएको बुढा मगरको अनुभव छ ।   बुढा मगरले भन्नुभयो, “हाम्रो बाउ, बाजेले निकै गाउनुहुन्थ्यो, यानीमाया हामीले उहाँहरुबाटै सिकेका हौँ, तर हामीपछिका पुस्ताले चासो दिएनन्, यो गीत अरुभन्दा गाउन अलि गाह्रो हुन्छ, तर सिक्ने र गाउने हो भने निकै रसिलो र मार्मिक हुन्छ, पहिले–पहिले रोधी बस्दा यानीमाया गाउने चलन थियो, गाउँदा गाउँदै कतिको त विवाहसमेत हुन्थ्यो ।”

पोखरा:     लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र जापानमा प्रदर्शन हुने भएको छ ।     ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा भदौ ९ गते (अगष्ट २५ तारिख) मा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । जापानको टोकियो शहरमा अगष्ट २५ तारिखमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनमा नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुने गुरुङले बताए ।    ‘घान्द्रुकमा पहिलो पटक प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई बेलायत र हङकङपछि जापानमा प्रदर्शन गर्न लागेका छौं ।’ उनले जापानको विभिन्न शहरहरुमा समेत घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन गर्ने तयारी रहेको बताए । घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनमा तामाकी रेष्टुरेन्टका सञ्चालक बुद्धि गुरुङ (ज्या) र जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठको विशेष सहयोग रहेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।  

पोखरा:   बागलुङ मगर समाजले मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ प्रदर्शन गर्ने भएको छ ।   मगर समुदायको सामाजिक र सांस्कृतिक पक्षमा आधारित चलचित्र ‘दिलसरा’को विरेन्द्रचोकस्थित समाजको आफ्नै हलमा यही ७ गते दिउँसो १२ बजे प्रदर्शन गरिने चलचित्रकी निर्माता जुना थापा मगरले बताइन् ।   सोमबार पोखरा सभागृहमा गरिएको विशेष प्रर्दशनमा दर्शकबाट सकरात्मक प्रतिक्रिया आएपछि बागलुङ मगर समाजले फेरि प्रदर्शन गर्न लागेको हो ।   मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन्  ।     चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।   अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।    यो पनि पढ्नुहोस   चलचित्र ‘दिलसरा’ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ खोज्दै पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया  

गण्डकी: सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् ।   जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ ।   नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ ।   गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो ।   नेवाः खलः कचा पृथ्वीचोकले आयोजना गरेको लाखेनाच प्रतियोगितामा २० कलाकार समूहले भाग लिए । तीन समूह अप्रतियोगीका रुपमा मञ्चमा प्रस्तुत भए । पोखरा प्रदर्शनी केन्द्रमा दिनभर लाखेनाचको रौनक चल्यो ।   कलाप्रेमीले लाखे हेर्दे नेवारी परिकारको स्वाद लिए । दर्शकलाई नेवारी परिकार चखाउन प्रतियोगितास्थलमै ‘झो भ्वयः’ को प्रबन्ध गरिएको थियो ।   प्रतियोगितामा पोखराको मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम, रामकृष्ण टोल ल्याम्ह पुचः दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र ग्रैहापाटन नेवाः समाज सान्त्वना भयो । विजेता समूहले क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र ११ हजार एक सय ११ नगद पुरस्कार जिते ।   लाखे नाचको संरक्षण र पुस्तान्तरणको ध्येयले प्रतियोगिता आयोजना गरिएको मूल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।   लाखेनाच घण्टाकर्ण पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती पाइन्छ ।   त्यसकै प्रतीकस्वरुप नेवार समुदायले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् । नेवार समुदाय बसोबास गर्ने ठाउँअनुसार फरक–फरक तरिकाले लाखेनाच नचाउने गरिन्छ । लाखेनाचको प्रचलन र यसको इतिहासबारे पनि विभिन्न तर्क पाइन्छन् ।   लाखेनाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिङ्गारेर लाखे नचाउने गरिन्छ ।   नेवार समुदायको बसोबास रहेको बागलुङ सदरमुकाममा पनि अहिले लाखेलगायत नाच प्रदर्शन भइरहेका छन् ।   बर्खे नाचलेसमेत चिनिने भदौरे जात्रा आजदेखि सुरु भएको छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।   भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन हुने उहाँको भनाइ छ ।   गाईजात्रा पर्वका अवसर पारेर वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिएको उहाँले बताउनुभयो । बागलुङका नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रुपमा जात्राको परम्परालाई धान्दै आएका छन् ।   यहाँ नेपाल भाषा मंका खलः र शाक्य कल्याण समाजको अगुवाइमा भदौरे जात्रा र नाचको परम्परा धानिँदै आएको छ । लाखे र जोगीनाच शाक्य कल्याण समाजले निकाल्दै आएको छ । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् ।   नेवार युवाहरुको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ । झण्डै चार सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट बागलुङ आएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।   “भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमको रुपमा जात्रालाई लिइन्छ”, उहाँले भन्नुभयो, “जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खेनाच निकाल्न सुरु हुन्छ ।”   भदौरे जात्रामा देखाइने हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् ।   घोडा नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्क्याउँदै बजार परिक्रमा गराउने चलन रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो ।   कटुवाल नाचमा पनि युवाहरु विभिन्न रुपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे र खेतालालाई रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।   कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्कहरु महिलाको भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् ।   असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ । जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो ।   नेवारभित्रको शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ ।   जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगीनाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा चुनौती रहेको शाक्य कल्याण समाजका अध्यक्ष राजन शाक्यले बताउनुभयो ।    

पोखरा:   पोखराको सभागृह हलमा मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को विशेष प्रदर्शन भएको छ ।   मगर समुदायको सामाजिक र सांस्कृतिक पक्षमा आधाररही निर्मित चलचित्र ‘दिलसरा’को आज (सोमबार) विशेष प्रदर्शनी गरिएको हो ।   पहिलो प्रदर्शन हाउसफुल भएपछि अर्काेपटक पनि शो गरिएको निर्माता मिना थापामगरले जानकारी दिइन् ।   उनका अनुसार करिब १ हजार ५ सय बढी दर्शक क्षमता भएको हलमा नअटाएपछि दुई सो गरिएको हो ।   चलचित्र हेरिसकेपछि दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिए ।    न​दीपुरबाट चलचित्र हेर्न पुगेका उमेश रानामगरले मगर समुदायमा आधारित चलचित्रहरुमध्ये प्रशंसा गर्न लायक बनेको बताए ।   ‘हाम्रो समुदायमा यतिको चलचित्र बन्नु राम्रो नै मान्नुपर्छ, उनले भने, ‘मेनस्ट्रिमसँग तुलना गर्न नसकिएपनि मगरको अरु चलचित्रसँग जोडेर हेर्दाजे होस् राम्रो नै बनेको छ ।’   चलचचित्रको नायक तथा नायिका   नारी प्रधान चलचित्र भएकाले सो चलचित्र नायिका दिलसराको पेरिफेरिमा घुमिरहन्छ ।   चलचित्रमा मगर समुदायमा व्याप्त रहेको लाहुरे प्रथा, सामाजिक अवस्था सम्बन्धको साँस्कृतिक हक, लगायतको विषलाई दर्शाइएको छ । प्रेम कथामा बुनिएको यो चलचित्रले कहिले घुक्क घुक्क रुवाउछ भने कहिले खित्का छाडेर हसाउँछ ।    को–को छन् कलाकार ?   मेनेको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका हुन् ।     सो चलचित्रको मुख्य पत्रकारु रुपमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर रहेका छन् ।      यस्तै मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।   अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।   चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् ।  

पोखरा:   हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ ।  एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले  गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् ।  मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज (बिहीबार) निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना (विरेन) र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे ।  सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् ।    अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् ।  उनका अनुसार फाइनल चरणमा दिपिका आले मगर (रामेछाप), आशिका गर्बुजा मगर (म्याग्दी), अनुजा पुन मगर ( बागलुङ), नरिशा पुन मगर (म्याग्दी), सरिता थापामगर (रामेछाप), माया दर्लामी मगर (स्याङ्जा), रश्मि आले मगर (महोत्तरी), जानकी राजकोटी मगर (महोत्तरी), अस्मिता बुढा मगर (रोल्पा), कृष्टिना पुन मगर (म्याग्दी) र जेरुशा सारु मगर (काठमाडौं) रहेकी छिन् ।  अहिले मिस मगर नेपाल २०२४ का सातौ संस्करणका प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरु बारे प्रशिक्षण भइरहेको छ  । प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् ।  मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषभुषा, कला र संस्कृति लगायतका विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।  मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ । 

पोखरा:  हरेक वर्ष आयोजना हुँदैं आएको मिस मगर नेपालको प्रशिक्षण पोखरामा सुरु भएको छ ।   एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदैं आएको मिस मगर नेपाल २०२४ को प्रशिक्षण सुरु भएको कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले  जानकारी दिइन् ।   उनका अनुसार सातौं संस्करणमा देशका विभिन्न जिल्लाबाट अन्तिम प्रतिस्पर्धाका लागि १२ जना छनौट भएका छन् ।   अहिले प्रारम्भिक चरणमा मातृभाषा (मगर ढुट) को प्रशिक्षण भइरहेको उनले बताइन । उनका अनुसार कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका रुद्र श्रीसमगले मगर ढुटको प्रशिक्षण दिइरहेका छन् ।   मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषाभूषा, कला संस्कृति लगायतका विभिन्न तालिमहरु पनि प्रदान हुँदैं आएको आयोजकले जनाएको छ ।   यसअधि सम्पन्न भएको छैटौं संस्करणमा तनहुँकी विनु रानामगरले मिस मगरको ताज जितेकी थिइन् ।     

काठमाडौँ:  पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।   काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।   साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।   दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।   साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।   साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।   यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

काठमाडौं:     ‘आच्छा लाहुरे जुलपी पाले, ठिक लाहुरे इज्जतै नफाले’ गत वर्षको तीज आसपासको सिजनमा निकै सुनिएको हेरिएको गीत हो ।  गत वर्ष सन् २०२३ अगष्ट २ तारिखमा रेशम राज अफिसियल युटुटयुव च्यानल मार्फत संगीत बजारमा आएको थियो । जुन गीत अहिले (समाचार तयार गर्ने बेलासम्म ० ३७ लाख ७५ हजार पटक बढी हेरिएको छ ।  गायक रेशम राज सुनार र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीत गत वर्षको सर्वाधिक चर्चा पाएको मध्ये एक हो । अमित सुनारको शब्द, नन्दु परियारको संगीतमा सझिएको गीतले सामाजिक सञ्जालका विभिन्न प्लेटफमहरु तताएको थियो ।  सोही गीत मार्फत रेश राजले देश तथा विदेशमा अत्याधिक चर्चा पाएका थिए । उनै गायक रेशमले यो वर्षको तीज लक्षित गरि फेरि संगीत बजारमा अर्को कोशेली लिएर आएका छन् । उनले बहुचर्चित गायिका मेलिना राईसँगको संयुक्त आवाजमा ‘मायाको रुपै रामो’ बोलको गीत बजारमा ल्याएका छन् ।  जुन गीत नेत्र अर्यालले लेखेका हुन् भने नन्दु परियारले संगीत भरेका छन् । एचविएन किस्मतद्वार संगीत सम्योजन गरिएको उक्तको म्युजिक भिडियो अहिले सामाजिक संजाल फेशबुकको रिल्स, टिकटक लगायतका माध्यमबाट धेरै दर्शक श्रोता माझ पुगेको छ ।    ‘मायाको रुपै राम्रो’ गीतको म्युजिक भिडियोमा जुन सुन्दास र सुन्दर एसडीएसलाई मुख्य अभिनयमा देख्न सकिन्छ । रेशमले आफ्नै यूट्युव च्यानल मार्फत बजारमा ल्याएका हुन् । गायक रेशम राज अहिले जापानमा कार्यरत छन् । जापानलाई कार्मथलो बनाए पनि नेपाली गीतसंगीत प्रति उनको लगाव निकै पाइन्छ । प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा उनको निकै झुकाव देखिन्छ । उनले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । बागलुङको गलकोटमा जन्मिएका रेशम राज विशेषगरि नेपाली मौलिक गीत संगीत सृजनामा रुची राख्छन् ।  गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘मायाको रुपै राम्रो’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । उनी गीत गाउनकै लागि छुट्टी मिलाएर नेपाल आउने गरेका छन् ।  बिदामा नेपाल आएका बेलामा नै उनले धेरै बजारमा ल्याउने गरेका छन् । केही सातामात्रै जापाना फर्किएका गायक रेशमले चर्चित कार्यक्रम साराङ्गी संसारमा पनि गायिका निर्जला गुरुङसँग प्रत्यक्ष दोहोरो गाएका छन्, जुन यति बेला निकै चर्चामा समेत छ।