पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो ।   पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।   “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।   विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।   गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।   विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।   काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ । 

तिहार बिदाको समयलाई सदुुपयोग गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए । यही बीचमा त्यहाँ पुुग्नुुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुुभयो ।   नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लाग्नुभएको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुुभयो ।   “चन्द्रागिरि प्रेमको प्रतीक सतीदेवी भाल पतन सर्वाेत्तम प्रेमकथा !’’ साथमै रहनुुभएका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाउनुुभयो ।   चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुुभयो, “सम्माननीयज्यूू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ ।   हामी धन्य छौँ ।” राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गर्नुभएको छ– “म कवि÷साहित्यकार होइन ।” तर उहाँलाई गहिराइका साथ बुुझ्नेहरु भन्छन्– “उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।”   सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ ।   यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहनुुभएका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसन अन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेख्नुुभएको थियो ।   “परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ । मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ सगरमाथा, लुम्बिनी, मेची, महाकाली हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली सपनामा भए पनि देख्न पाउँ चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।”

  तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।   १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक तिहार शुरु भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुई वटा समूह मात्र छन् ।   बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपाली देउसीभैलोको रौनक नदेखिएको बताउनुभयो ।   “देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन,” उहाँले भन्नुभयो “१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती विदेशिदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो ।”   सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतिहरु कम रहेका स्थानीयबासीहरु बताउँछन् ।   बजारमा भएका युवा युवतिहरु विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक संगितकर्मी संघ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताउनुभयो ।   “देउसीभैलोसँगै विभिन्न किसिमका गितमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,” द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उहाँले भन्नुभयो “पुराना कालाकार विदेशिएपछि नयाँलाई तालिम दिएर नचाएका छौ ।”     कलाकार र युवा पलायनको असर   नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल वि.क, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकारहरु पछिल्लो एक वर्षयता रोजगारीको शिलशिलामा विदेशिएका सुनारले बताउनुभयो ।   जिल्ला बाहिरका सहर र विदेशमा रहेका म्याग्देलीहरुले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन् ।   पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलीयालगायत देशमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा देउसीभैलो खेलीएको छ ।   भेला भएर आफ्नो जातीय पोशाकमा सजिएर मौलिक गीतमा नाचगान सहित देउसीभैलो देखिएको अमेरिकामा रहनुभएका म्याग्दी ताकमका राहुल केसीले बताउनुभयो ।   “बाध्यताले विदेशिनु परेपनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,” उहाँले भन्नुभयो “हाम्रो सन्तानहरुले चाडपर्व र संस्कृतिको बारेमा सिकुन भनेर पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छौ ।”   विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ छ ।   २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ थियो ।   पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ । हाल जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ ।   जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्या कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको छ ।   देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियो   पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ ।   संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरुले आफै भट्याउने, बजाउने चलन कम छ । रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ ।   यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताउनुभयो । प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।   सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लव, आमा समूह र विभिन्न संघ संस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन् ।   देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ ।   देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ । घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् ।   देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ ।   विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ ।

पोखरा:  शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा (जनस्तरबाट संकलित रकम) स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गर्न लागेको हो ।  नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेत बहादुर बरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र बाँनियाले जानकारी दिए ।  लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय रहेको छ  ।  वि.सं. २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले ११ औं संस्करणको राष्ट्रिय पुरस्कार यही कार्तिक १५ गते वितरण गर्ने र चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ ।   राष्ट्रिय पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, डा. रविलाल अधिकारी, साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा बराल वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी, भाषविद् चुडामणि बन्धु र संस्कृतिकर्मी प्रा.डा जगमान गुरुङ पुरस्कृत भइसकेका छन् ।   त्यस्तै वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीले प्राप्त गरेको सहसचिव संजय थापाले जानकारी दिए ।   दुवै पुरस्कारका लागि अग्नीधर शर्मा तिमिल्सीनाको संयोजकत्वमा  गठित श्रष्टा छनौट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी सार्वजनिक गरेको हो  ।   प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विधा, लोक साहित्य, जनवादी र प्रगतिशील सािहत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आईरहेको छ ।    प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदनचन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र बाल साहित्य पुरस्कार स्थापना गरी संचालन गरेको छ भने, श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आइरहेको छ ।  

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो । बागलुङको विद्यामन्दिर पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर बिहीबार आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रममा उहाँसहित दर्जनजति कविका कविता गुञ्जिए । शर्माले छन्दमा लखेको उक्त कविताले प्रतियोगितामा द्वितिय स्थान प्राप्त ग¥यो ।    कवि गोविन्द सुवेदीले अनुष्टुप छन्दको कविता ‘सुन्दरी कृष्णागण्डकी’ वाचन गर्नुभयो । छन्दोबद्ध शैलीमा उहाँले सुनाएको कविताले दशर्कदीर्घा मुग्ध देखिन्थे । हिमालय क्षेत्र भएर बहने पवित्र कृष्णगण्डकी नदीको महिमाबारे कवि सुवेदीले कविताका सुललित पङ्क्ति यसरी प्रस्तुत गर्नुभयो ।   ‘बग्छिन्, चेली हिमाली यी  नाम काली पुकारियो खेग्दै गिरि शिलासाथ हिँड्ने बानी छँदै थियो दरौँदी र त्रिशुलीका प्रवाह यिनका सखी कल्याणी हुन् यी सबैकी सुन्दरी कृष्णागण्डकी...”   कवि सुवेदीको उक्त कविताले प्रतियोगितामा प्रथम स्थान प्राप्त ग¥यो । कवि मुकेशचन्द्र राजभण्डारीले इजरायल र हमासबीचको द्वन्द्वबाट निम्तिएको मानवीय सङ्कलाई कवितामार्फत अभिव्यक्त गर्नुभयो ।   ‘प्लालेस्टाइनी जनताको नाममा’ शीर्षकको कवितामा उहाँले न्याय, मुक्ति र स्वाधिनताका पक्षमा आफूलाई उभ्याउनुभयो । कवि यामनाथ आचार्यले ‘प्रकृति’ शीर्षकको कविता गोष्ठीमा पाठ गर्नुभयो ।      ‘आहा रमणीय प्रकृति देखियो शोभायमान अति     नाचेका मयुर डाँफे मुनाल गीत गाउँदै कति हो कति     हिमचुली दखियो सफा अनि सेतै टल्क्यो बिहानी बेला     झुल्को किरणको प¥यो हिमालमा मोती भए पहेँला...’   आचार्यका कविताका हरफ हुन् यी । उहाँको कविताले तृतीय स्थान हासिल गर्न रह्यो । गोष्ठीमा कवि चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, विजय राना, पुष्पिका सुवेदीलगायतले कविता वाचन गर्नुभएको थियो ।   स्रष्टाहरुले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए । केही अप्रतियोगी रचनासमेत प्रस्तुत गरिएका थिए ।    कुनै सिर्जना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए ।   धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रुपमा चित्रित गर्नुभयो ।    पाण्डेयले बहुआयमिक प्रतिभाका धनी देवकोटा जत्तिको व्यक्तित्व न पहिले रहेको र भविष्यमा पनि पाउन मुश्किल हुने उल्लेख गर्नुभयो ।   वरिष्ठ साहित्यका प्रेम छोटाले विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध तुल्याएको बताउनुभयो ।   संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिता जस्ता विशेषताका कारण देवकोटाका सिर्जना शसक्त रहेको उहाँको भनाइ छ ।    नेपाली जनजीवनका भोगाइलाई सरल  र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको छोटाले बताउनुभयो ।   बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’ले महाकवि देवकोटालगायत विशिष्ट साहित्यिक प्रतिभाहरुको जन्मजयन्ती मनाएर पुस्तकालयले सह्रानीय कार्य गरेको बताउनुभयो ।   देवकोटा जयन्ती संयोजक समितिका संयोजक काजी रोशनले पुस्तकालयले साहित्यकाहरुका जयन्ती नियमित रुपमा मनाउँदै आएको बताउनुभयो ।    प्रतियोगिता कविता गोष्ठीका विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ ।   विसं २००३ मा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरु देखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ ।   विसं २०६२ मा देवकोटा जयन्ती संयोजन समिति नै बनाएर यस जयन्तीलाई अझ व्यवस्थित रुपमा मनाउन सुरु गरिएको हो ।  

नुवाकोट:   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका ६ विद्यालय सहभागी गराई प्रतियोगिता आयोजना गरेको हो ।  विद्यालयले विद्यार्थीलाई नै देउसीभैलोको गीत सृजना गर्न लगाएर प्रस्तुति दिन लगाएका थिए ।    प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका–५ को महादेव माविका प्रमिता तामाङले नेतृत्व गरेको समूह प्रथम भई नगद २० हजार पुरस्कार प्राप्त गरेको छ ।    प्रतियोगतामा दोस्रो भएको बच्छलादेवी माविले १५ हजार र तेस्रो भएको रूक्मणि माविले १० हजार रुपैयाँ नगद पुस्कार प्राप्त गरेको छ ।   प्रतियोगितामा सहभागी भएका अन्य तीन विद्यालय सरस्वती मावि, कल्याण मावि र दुप्चेश्वर माविले पाँच हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।    प्रतियोगितामा चर्चित कलाकार दामोदर खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो ।   प्रतियोगितामा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले  बालबालिकाका लागि प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुगेको बताए ।   उनले संस्कार र संस्कृतिको जगेर्नासँगै विद्यार्थीले आफ्नो क्षमताको प्रदर्शन गर्ने मञ्च सृजना गरेर रचनात्मक काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए ।    उनले निर्वाचनहरूमा राजनीतिक रूपमा प्रतिस्पर्धा हुने भए पनि संस्कृतिको जगेर्ना र स्थानीय विकासका लागि सबै दलले हातेमालो गर्नुपर्ने बताए ।    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले संस्कृति संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए ।    नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले विद्यार्थीलाई राजनीतिक दलको झण्डा बोकाउनुको साटो यस्तै रचनात्मक कार्यक्रम गरेर व्यावहारिक रूपमा सबल बनाउनुपर्ने बताए ।     नेपाली कांग्रेसकी नेत्री एवं गाउँपालिकाको पूर्वउपाध्यक्ष अञ्जु आचार्यले प्रतियोगिताको सराहना गर्दै अन्य दलहरूले समेत यसबाट सिकेर काम गर्नुपर्ने सुझाव दिए । 

पोखरामा क्रियाशिल भीमकाली क्लबले चौथों संस्करणको भमकाली साँझ तथा देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । क्लबका सदस्य अन्जन देवकोटाका अनुसार उक्त कार्यक्रम पोखरा महानगरपालिका १ बगरस्थित ट्याक्सीचोक यही १९ गते हुनेछ ।  उक्त कार्यक्रम बेलुकी ५ बजेबाट सुरु हुने उनले बताए ।    सो कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाल आइडलका टप फाइभ मानव परियार रहने छन् । भने, विभिन्न समुदायमा प्रचलित नृत्यहरुको प्रस्तुत हुनेछ ।   उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने आयोकजले जनाएको छ ।   भीमकाली क्लब विगत लामो समयदेखि खेलकुद तथा सामाजिक क्रियाकलापमा सक्रिय आएको छ ।    

पोखरा:   ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत सांगीतिक यात्रामा रहेका गायक सज्जनराज वैद्य आज पोखरा ६ लेकसाइडस्थित बाराहीघाटमा गुञ्जदैं छन् । उनी आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा जारी ‘एकादेशमा नेपाल टुर २०२४’ मा छन् । पाेखरामा हुने इभेन्टकाे व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । उक्त कार्यक्रमको सबै तयारी पुरा भएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए ।    उनका अनुसार इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा हुने सो कार्यक्रममा सज्जनले भने बेलुकी ५ बजेपछि प्रस्तुती दिनेछन् । गेट भने ३ बजेबाटै खुला हुनेछ ।   कार्यक्रमका लागि करिब ३ हजार ५ सय बढी टिकट विक्री भइसकेको पुरीले बताए । प्रवेश टिकट रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने छ । भने, मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।   टिकटको मूल्य १ हजार ५ सयदेखि ३ हजार रूपैयाँसम्म रहेको छ । २ हजार ५ सयको फ्यान पिट र ३ हजार रूपैयाँको भिआइपी टिकट खरिद गर्नेले हातमा लगाउने एलइडी ब्याण्ड पाउने छन् ।   ‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन अघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । भने, कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सले जनाएको छ ।

पोखरा:   युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुर अन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् ।   इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युलअनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् ।   उनको टिम बुधबार पोखरा आइपुगेको छ । आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ ।   पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । ‘पोखरा भनेको म्युजिक, कल्चर निकै रूचाउने सहर हो । ​डोर सेलसहित गरेर पाँच हजारभन्दा बढीको उपस्थिति रहने अपेक्षा हाम्रो छ,’ उनले भने ।   यो कार्यक्रमका लागि रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने संचालक पुरीले जानकारी दिए ।   मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।   टिकटको मूल्य एक हजार पाँच सयदेखि तीन हजार रूपैयाँसम्म रहेको छ । दुई हजार पाँच सयको फ्यान पिट र तीन हजार रूपैयाँको भीआइपी टिकट खरिद गर्नेले नाडीमा लगाउने एल.ई.डी ब्याण्ड पाउने छन् ।   कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र शुक्रबार दिउँसो तीन बजे गेट खुल्ने कार्यक्रम संयोजक महेश्वर भण्डारीले बताए ।   सज्जनको प्रस्तुति भने पाँच बजेपछि सुरु हुने उनले जानकारी दिए ।   ‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको कार्यक्रम तेस्रो हो । यसअघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । पोखरापछि कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सका संचालक विपीन नकर्मीले जानकारी दिए । सज्जनका ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै मन पराएको छ ।     युट्युबमा मात्र नभई अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा पनि वैद्य रूचाइएका छन् । स्पोटिफाईमा उनका मासिक साढे तीन लाखभन्दा बढी स्रोता छन् ।