पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

पोखरा:     नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो ।  चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो ।   सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन सिनेमा निर्माण गरिएको बताए ।  “सुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै किताब प्रकाशन गरिएको थियो । त्यसपछि गीत निर्माण भयो । सकरात्मक प्रतिक्रियाले पछि मात्रै सिनेमाको रुप लिएको हो ।”, उनले भने ।   सिनेमालाई अभियानकै रुपमा अगाडि बढाई देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शन समेत गरिएको उपाध्यायले जानकारी गराए । सिनेमा भोजपुरी र मैथली भाषामा समेत डब भएको छ । अब हिन्दी भाषामा डब हुन लागेको उनले बताए । उनले अग्निदहनले कमाएको रकम निर्माताको खल्टीमा नजाने र शिक्षा चेतनाकै माध्यमबाट मात्रै बोक्सी प्रथा उन्मुलन हुने उल्लेख गरे । निर्देशक घनश्याम लामिछानेले “अग्निदहन” मनोरञ्जनात्मक सिनेमा नभई सामाजिक चेतना प्रवाह गर्ने सिनेमा भएको बताए । पृथक सिनेमा बनाइएको र स्वच्छ भावनाले काम गरिएको सिनेमा भएकाले पनि हलमा समेत दर्शकको माया पाउनेमा उनी आशावादी छन् । सिनेमा ९० मिनेटको भएको र सिनेमा हेर्दा आफ्नै सामाजिक परिवेशको कथा भेटिने भनाई उनको छ । कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने सिनेमा अभिनयका लागि रोजाईमा पर्ने र अग्निदहन सोहि सिनेमा भएको बताए । बोक्सी प्रथा विरुद्धको कथामा कलाकारिता मार्फत गासिन पाउँदा खुशी लागेको भनाई उनको छ । कलाकार माओत्से गुरुङले सिनेमामा अन्धविश्वासलाई प्रशय दिने खालको भूमिका आफ्नो रहेको बताए । दशैंबाट यता नेपाली सिनेमाले हलमा गरेको व्यापार सकरात्मक भएको उल्लेख गर्दै समाज सेवाका लागि बनाइएको सिनेमालाई समेत दर्शकले माया दिने उनले उल्लेख गरे । कलाकार प्रमिला तुलाचन सिनेमामा बोक्सीका रुपमा प्रस्तुत भएकी छिन् । अहिले सम्म नगरेको पात्रका रुपमा आफुले अभिनय गरेको जानकारी उनले गराइन् । कलाकार तुलसी क्षेत्री लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी हुन् । पहिलो चलचित्र भएकाले पनि आफ्नो भूमिकाले दर्शकको मन छुनेमा उनी आशावादी छिन् । लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्निा आचार्य, माधवशरण पौडेल लगायतको अभिनय छ । सिनेमाका संरक्षक मोहनराज पौडेल हुन् । सिनेमाको गीत र टे«लर सार्वजनिक भइसकेको छ ।

धरानः    इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ ।  परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै  आउनुभएको छ । उहाँले भन्नुभयो,  “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ ।” बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उहाँले भन्नुभयो, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।” उहाँले सजावटका सामान पनि बनाउन थाल्नुभएको छ । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताउनुभयो । हाल उहाँको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् । बेतबाट बनेका सजावटका सामान रु ७ सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट १ बण्डल बेतलाई रु ३ हजार ५ सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट ५ वटासम्म सामान बनाउन  सकिने भएकाले आफूलाई घाटा नभएको उहाँले बताउनुभयो ।राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गर्नुभएको छ ।  ११ वर्षदेखि बेतका फर्निचर बनाउँदै आउनुभएका उहाँले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।  उहाँले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “बेतको सामान बनाउन जोकोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान १० देखि २५ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।”  हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न उहाँ युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।  

म्याग्दी:    २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए ।  गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका हुनुहुन्थ्यो ।  “परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दा सम्म बेनीको एक कार्यालयमा मासिक रु। तीन हजार पाँच सय ज्यालामा साँझ÷बिहान सरसफाइको काम गरेको थिए,”उहाँले भन्नुभयो “१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।” सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम प¥यो पानी...’ बोलको गित रेकर्ड गराउनुभएको थियो । बाध्यताले पढाईलाई भन्दा कमाईलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाई बहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न वि.स. २०७१ मा काठमाडौ छिरेका प्रकाशले दोहोरी साँझमा काम पाउनुभयो ।  “विदेशको चक्करमा काठमाडौ छिरेको म ज्यान पाल्नका लागि चार वर्ष छ महिना दोहोरी साँझमा काम गरे । दोहोरीसाँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गित, संगित सिक्ने पाठशाला पनि भयो,” उहाँले भन्नुभयो “दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठ वटा गित बनाएपनि आर्थिक हिसाबले फाइदा भएन् ।”  विदेशको प्रयासमा वि.स. २०७४–७५ को डेढ वर्ष सांगितिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाईको आग्रहमा सामाजिक विषयबस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा...’, चोली मैलो भो..., बोलको गित बनाउनुभयो । आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरु, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जिवनको झल्को दिने कथामा आधारित थियो ।        सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैङ्कमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौँ पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिनुभयो ।  आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुदाँ नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनिको, लौन साह्रै मन प¥यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो ।   “अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युमा राखेर घर आएको बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,” प्रकाशले भन्नुभयो “गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युव’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि सुखीको सिमा रहेन् । विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिए । गित चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरे ।”       ‘युट्युव’मा हालसम्म रु चार करोड बीस लाख ५६ हजार भन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिनुभएको छ । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् ।  गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युव’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उहाँको आम्दानीको स्रोत हो ।   प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगित मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उहाँ गीतको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्नुहुन्छ ।  उहाँका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन् । मीठास शब्द र संगितले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् ।  नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । “अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,” उहाँले भन्नुभयो “हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।” प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्नुहुन्छ । सोही कारण उहाँका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ ।  मनोरञ्जनको साथमा सन्देश  तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरुको सल्लाह सुझाव अनुसार संगित र म्युजिक भिडियो बनाउदा सफलता मिलेको उहाँले अनुभव सुनाउनुभयो ।  ‘करिम’ बोलको गितको म्युजिक भिडियोको कथा र केही दृष्यको विषयमा भएको बिवादलाई उहाँले कमजोरीबाट पाठ सिक्ने अवसरका रुपमा लिनुभएको छ । गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ ।  युवा विदेशिदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली...’को म्युजिक भिडियो हालसम्म दुई करोड १८ लाख १७ हजार पटक हेरिएको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युवमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ ।   हालसम्म चार करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपीना गोतामेले साथ दिनुभएको छ ।  डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा तीन÷चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गर्नुभएको छ ।  रेशम गीतको भिडियो युट्युबमा राखेको दुई महिनाको अवधीमा एक करोड ३४ लाख ७२ हजार भन्दा बढी पटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिनुभएको छ । 

कर्णालीः   कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं संवद्र्धनका लागि सांस्कृतिक युवालय संस्थाले पहल थालेको हो ।  ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तर्गत बिहीबार राजधानी सुर्खेत वीरेन्द्रनगरमा मौलिक बाजा, कला र सांस्कृतिक प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम सञ्चालन हुने पत्रकार भेटघाटमार्फत परियोजना अधिकृत पूजा कार्कीले जानकारी दिनुभयो ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा हुन गइरहेको यस कार्यक्रममा परियोजनासँग जोडिएर युवाहरुले लिएका कक्षामा सिकेका नृत्य तथा सङ्गीत सबै सामु प्रस्तुत हुने जनाउँदै उहाँले परियोजनाबाट कक्षा लिइरहेका युवाहरुले कार्यक्रममा मारुनी, टप्पा, झ्याउरे, कौडा नृत्यका साथै सङ्गीतमा पञ्चेबाजा (झ्याली, कर्नाल, सहनाई, दमाहा)पनि बजाएर सबै साम देखाइने बताउनुभयो । उहाँका अनुसार स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सुर्खेतसँगको सहकार्य तथा कोरियाको वाइजी इन्टरटेन्टमेन्टको आर्थिक एवं अक्सफामको प्राविधिक सहयोगमा मौलिक बाजा, सङ्गीत एवं नृत्यमा युवाहरुलाई अग्रसर गराउन सो सम्बन्धी कक्षा सञ्चालन गर्दै आइरहेको छ ।  युवाहरुले सिकेका सीप कला आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल वृद्धि गर्न सकून्, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि युवाको भूमिकालाई महत्वपूर्ण स्थान दिने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजकले बताएको छ । परियोजनामार्फत दैलेख (भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदूरपश्चिमको (लम्कीचुहा नगरपालिका) मा युवाहरुमा उत्सुकता जगाउने, उनीहरुका मुद्दाहरुलाई सामूहिक रुपमा वकालत गर्ने, शैक्षिक, प्राविधिक, वित्तीय सीप तथा मानव अधिकारको साथै किशोर–किशोरी र युवालाई सशक्त गराउँदै आएको जनाइएको छ ।  

पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा नाँचगान गरेर रमाइलो गरेका हुन् । इच्छुक पर्यटकले भाइटिका पनि लगाएका छन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले तिहारमा पुनहिल आमा समूहले आयोजना गरेको देउसीभैलोमा पर्यटकहरु पनि नाचगान गरेर रमाइलो गरेका बताउनुभयो ।   “प्रकृतिसँग रमाउन आएका पर्यटकहरुले तिहारको सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्ने अवसर पाएका छन्”, उहाँले भन्नुभयो “पर्यटकले मादल बजाउँदै देउसीभैलो गाउनुका साथै नाचेका पनि छन् ।”   घोडेपानीका साथै शिख, घार, भुरुङ्ग–तातोपानी, दाना, नारच्याङको देउसीभैलोमा पनि पदयात्रामा आएका पर्यटकहरु रमाएका थिए ।   अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको दाना–नारच्याङ, भुरुङ्ग–तातोपानी, घार, शिख, घोडेपानी, उल्लेरी, घान्द्रुक, नयाँपुल भ्रमण गर्न आउने पर्यटकका लागि घोडेपानी केन्द्रमा पर्दछ ।   पर्यटकलाई संस्कृतिको बारेमा जानकारी गराउने, संस्कृति संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र आयस्रोत जुटाउने उद्देश्यले देउसीभैलो आयोजना गरिएको पुनहिल आमा समूहका अध्यक्ष तारा पुनले बताउनुभयो ।   पुनहिल आमा समूहले घोडेपानीमा मगर सङग्रहालय सञ्चालन गरेको छ ।   मगर समुदायको पोशाकमा सजिएर स्थानीय कलाकारले आफैँ गीत गाउने, भैलो भट्याउने, बाजा बजाउने र नाच्ने गरेका थिए ।   तिहारमा खेलिने देउसीभैलोमा पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेले पनि रमाइलो मानेका अध्यक्ष ताराले उल्लेख गर्नुभयो । देउसीभैलो खेल्न पुगेकाहरुले सम्बन्धित घरको वर्णन गर्दै नाच्ने, गाउने र आशिष दिने गरेका थिए ।

 छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ । यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि विभिन्न पोखरी, नदी र तलाउमा बनाइएका मन्दिर र घाटलाई विभिन्न वस्तुले दुलहीझैँ सजाउने काम तीव्र रूपमा भइरहेको हो । मिथिलाञ्चलभर एउटै पोखरी तथा नदी तलाउमा धेरै व्यक्तिले छठ पर्व मनाउने चलन रहेकाले १५/२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गरिन्छ ।   जलेश्वर नगरपालिका–५ निवासी संस्कृतिविद् धु्रव रायले मिथिलाञ्चलमा धुमधामका साथ छठ मनाउनका लागि तयारी करिब अन्तिम चरणमा रहेको ेबताउनुभयो ।   सूर्य भगवान तथा छठ माताको पूजा पानीमै हुने भएकाले मिथिलाञ्चलका जलाशय सरसफाई, घाट निर्माण, सडक, बाटो बनाउने काम सकेर अब घाटमा पंडाल निर्माण, बिजुलीबत्ती जडान, तोरन झुण्ड्याउनेलगायत काम जोडतोडका साथभइरहेका जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले जानकारी दिनुभयो ।   जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले स्थानीयस्तरमा रहेका सबैजसो जलाशयमा एक महिना पहिलेदेखि नै सरसफाई, मर्मतसम्भार, मन्दिर निर्माण गरी छठको तयारी सुरु हुने बताउनुभयो ।   उहाँले यसका लागि जलेश्वर नगरपालिकाभित्र रहेका प्रमुख जलाशय वरुण सरोवर, परिक्रमा पोखरी, पाठक पोखरी, चौधरी पोखरी, अस्पताल पोखरी, मिश्रपोखरी, भारी पोखरी, सारी पोखरी, सुगापोखरी, पिगौना पोखरी, बखरीघाटलगायत घाट सिङ्गार्ने काम भइरहेको बताउनुभयो ।   यसैबीच परापूर्व कालदेखि नै सूर्यपूजा तथा छठी माताको पूजाको लागि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै बाँसको तैरिने बाटो निर्माण गरिएको छ भने करीब आधा किलोमिटरसम्म गुफाबाला पंडाल र विभिन्न साजज्जा र बिजुलीबत्ती जडान गरिने कार्य भइरहेको स्थानीय प्रदीप पाठकले बताउनुभयो ।

जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाख बढीको फूल बिक्री गरेका हुन् । अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्‍याउन नसकिएको अक्षयले जानकारी दिनुभयो ।   फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्‍याउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । अक्षयले भन्नुभयो, “बारीमा लगाएकोमध्ये एकतिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये बिक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौँ ।”   उहाँले प्रतिकिलो रु दुई सय ५० मा फूल बिक्री गरिएको जानकारी दिनुभयो । फूल बिक्रीका लागि म्याग्दे–४ थर्पुमा बिक्री केन्द्र स्थापना गरिएको थियो ।   गाउँपालिकाको सहयोगमा बिक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ ।   उहाँले भन्नुभयो, “एकादशीका लागि पनि फूल बिक्री हुन्छ । त्यतिबेला उत्पादन गर्नेगरी तयारी गरेका छौँ ।” म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक युवाहरूले सयपत्री फूलखेती सुरु गरेका हुन् । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो ।   फूलखेतीमा आबद्ध अक्षय गाउँपालिकाका कर्मचारी हुनुहुन्छ भने सन्तोष पशुपालन व्यवसायमा आबद्ध हुनुहुन्छ । स्थानीय किसानलाई प्रोत्साहन र हौसला दिन गाउँपालिकाले फूल बिक्रीका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।   अन्य कार्यक्रममा पनि स्थानीयस्तरमा उत्पादित सयपत्री फूल प्रयोग गर्न प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो । 

देउसी-भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक सुरु भएपछि बागलुङ बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ ।   भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, ¥याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् ।   निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित गरेको बताउनुभयो । आफ्नो पालामा बाउबाजेले संरक्षण गर्दै आएको मौलिकतासहितको देउसीभैलो अचेल पश्चिमा संस्कृतिको चेपुवामा परेको उहाँको कथन छ ।   भैलोको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने भए पनि हिजोआज देउसीमा विकृति मिसिएको र केवल पैसा जम्मा गर्नेमा मात्र ध्यान जाने गरेको भन्दै घर्तीले विरोध जताउनुभयो ।   “जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए, हाम्रो पालको जस्तो देउसीभैलोमा मादले सिङ्गारु बनेर नाच्ने चलन अहिले छैन”, उहाँले भन्नुभयो ,“हामी बुढाबुढी भइयो, गाउन नाच्न सकिन्न, अहिलेका युवाले पुरानो संस्कृति सिक्दैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित ग¥यो ।”   गलकोट नगरपालिका–१० का पूर्णबहादुर घर्ती मगरले विदेशीको देखासिकीका कारण मौलिकता हराएको बताउनुभयो । तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान नै गुम्ने खतरा बढेको उहाँको भनाइ छ ।   “मौलिकता जोगाउने भन्ने चाहना छैन, हाम्रो पहिचान के हो ? तिहारमा के गाउने ? कस्तो नाच्ने भन्ने पनि ज्ञान छैन, उही विदेशी गीत गाएर नाच्छन्, न त्यसमा मौलिकता छ, न कुनै नेपालीपन, अरुको देखासिकी गर्ने प्रवृत्तिले हाम्रा कयौँ संस्कृति लोप भए”, उहाँले भन्नुभयो ।   काठेखोला गाउँपालिका–१ का २७ वर्षीय कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार्नु हुन्छ ।   अहिले देउसीभैलोमा आधुनिकता मिसिए पनि अझै सम्पूर्ण रूपमा मौलिकता गुमिनसकेकाले यसतर्फ ध्यान दिन भने आवश्यक रहेको उहाँको भनाइ छ ।

झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनु भएका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उहाँलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी । सो प्रस्तावले विजय सुरुमा त अन्योलमा पर्नुभयो । केही दोधारको अवस्था भयो उहाँलाई । झण्डै दुई सातासम्म उहाँले प्रस्तावमाथि कुनै ठोस निर्णय गर्नुभएन । आफैँलाई मन्थनुभयो ? आफूभित्रको अभिनेतालाई प्रश्न गर्नुभयो । ‘‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन’’, उहाँले सम्झना गर्दै भन्नुभयो, ‘‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शुन्यता ।’   यति भन्दैगर्दा उहाँ आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौँ आउनुभएको समयस्मृतिमा पुग्नुभयो ।   विजयका अनुसार काठमाडौँ छिर्दा उहाँसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए । काठमाडौं आउँदा उहाँलाई लाग्थ्यो उहाँ त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनु हुनेछ, कडा बन्नु हुनेछ ।   सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्नुहुन्थ्यो ।   कक्षा आठमा उहाँले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा पस्कनुभयो । त्यतिबेला उहाँले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गर्नुभएको थियो । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उहाँको धेरै प्रशंसा गरे ।   ‘‘मेरो नाच (आवाजको नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उहाँले पूराना दिनहरू ताजा गर्दै सुनाउनुभयो । जब उहाँ रङ्गमञ्चतर्फ मोडिनुभयो तब उहाँले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाउनुभयो । उहाँलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो । ‘‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ ।’’, केही गम्भीर हुँदै उहाँले भन्नुभयो ।   उहाँ आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्नुहुन्छ । ‘‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’’   भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उहाँ बताउनुहुन्छ । त्यो कार्यशाला उहाँका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो ।   त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्नुहुने एमके रैनाबाट उहाँ प्रशिक्षित हुनुभयो ।   ‘‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’’, उहाँले भन्नुभयो ।   बीचमा उहाँको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उहाँको बुबा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिराख्नु भएको थियो । यद्यपि बुबाले भने उहाँलाई यही बन्नुपर्छ भन्नुभएको थिएन । बुबाले केही नभन्नुभएको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहनुहुन्थ्यो ।   हजुरबुबा विजयलाई भन्नुहुन्थ्यो–‘‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’’   उहाँले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराख्नुभयो ।   यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाउनुभएको थिएन । उहाँले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाउनुभएन तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाउनुभयो । उहाँ छोराको कामबाट खुशी हुनुभयो । अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन ।   ‘‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन । उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भन्नुभयो । ‘कबड्डी’ पछि उहाँ त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसक्नुभएको छ भने आजको मितिमा उहाँ नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसक्नुभएको छ ।   उहाँले अधिकांश सहायक भूमिका नै गर्नुभयो । सबैभन्दा बढी चर्चा उहाँले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुल्नुभएको छ ।   उहाँ सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित हुनुहुन्छ । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भइराख्नु भएका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउनुहुन्छ । यो चलचित्रमा उहाँ एकल बाबुको पात्र भूमिकामा देखिदै हुनुहुन्छ । उहाँ पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्कनुभयो । सहायक भूमिका उहाँलाई सजिलो लाग्छ ।   तर यो चलचित्रको भूमिका फरक र गम्भिर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उहाँमाथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउनुहुन्छ । चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गर्नुभयो ।   यो १० दिनमा उहाँले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गर्नुभयो । उहाँले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिक्नुभयो । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले यस्तो गरेको उहाँको भनाइ छ । ‘‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उहाँले भन्नुभयो । आज उहाँ स्वयं आफू कसैको छोरा त हुनुहुनै हुन्छ त्योसँगै आफू पनि एक सन्तानको बाबु बनिसक्नुभएको छ ।   यसको अनुभवलाई पनि उहाँले पर्दामा प्रयोग गर्नुभएको छ । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ । ‘‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’’, उहाँले भन्नुभयो । उहाँ आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्नुहुन्छ ।   ‘‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो ।   अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’’, उहाँले भन्नुभयो । आज बुबाको सबै भावना उहाँलाई महशुस हुन्छ ।   उहाँ भन्नुहुन्छ– ‘‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ । बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’’