पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्यो । यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ । यस्तै पुरुष भलिबलतर्फ आज भएको खेलमा हर्ष राइडर छोम्रोङलाई कालीमाटीले २-१ को सेटमा पराजित गर्यो । अर्को खेलमा टुसे निलोले खादरजुङलाई २-१ को सेटमा हरायो । तेस्रो खेलमा किम्चेले ल्वाङलाई २-१ को सेटमा हराउँदै अघिल्लो चरणमा किम्चे प्रवेश गर्यो । चैथों खेलमा विन्ध्यश्वरी ठाँटीलाई नयाँपुल साँखुले २-१ को सोझो सेटमा हरायो । अर्को खेलमा लान्द्रुकले टुसे रातोलाई २-१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । यसैगरी आज भएको अन्तिम खेलमा लुम्रेले भदौरेलाई २-१ को सेटमा हरायो । शनिबार पनि पुरुषतर्फको खेल नै संचालन हुने आयोजकले जनाएको छ ।
प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन् । प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गरेका हुन् । नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दावी छ । हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए । फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी दिए ।
काठमाडौं: तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गर्नुभएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नुहुनेछ । चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्स) चरित्रअनुसार राखिएको कलाकार तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तयार गरेको पोस्टर र त्यहाँ कलाकारले लगाउनुभएको पोसाकमा भएको रङ्गले स्वभावलाई चित्रण गर्छ । हरियो र गुलाबी रङमार्फत हामीले उनीहरुको सम्बन्ध र स्वभावलाई उल्लेख गरेका हौँ । छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा चलचित्र तयार हुनेछ ।” कथावस्तु मन पर्नुका साथै अनुभवी समूह रहेकाले आफूले कलाकारितासँगै चलचित्र निर्माणलाई अगाडि बढाएको तामाङले बताउनुभयो । यसमा कलाकार तामाङलाई चलचित्र निर्माणमा निर्देशक योञ्जनले सघाउनु हुँदैछ । सम्बन्धमा रहेको जोडीको प्रेममा आउने उतारचढाव नै मुख्य विषय रहेको उहाँले बताउनुभयो । “उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावका कारण एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ । एउटा पारिवारिक प्रेम कथानक चलचित्र बनाउने कोसिस गरिरहेका छौँ”, तामाङले भन्नुभयो । काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायाङ्कन आउँदो फागुनमा हुने बताइएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे । तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो’ उनले भने –‘ नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’ तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको दिन मनाइँदै आएको ल्होछार सांस्कृतिक पर्व रहेको र तमु जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व रहेको उनको भनाई छ । ‘तमु जातीले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । नेपालको ग्रामीण पर्यटन प्रवर्द्धन मार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको छ ।’ उनले भने – ‘ग्रामीण घरबास अर्थात् होमस्टे अभियानको मुख्य अगुवा तमुहरु नै हुन् । शहर तथा विदेशमा बसाईंसराईं पछि गाउँमा जति बाँकी छन्, उनीहरूले संस्कृति र परम्परा धान्दै अघि बढिरहेका छन् । शहरी क्षेत्रमा पनि समुदायका अगुवाहरुले आफ्नो रितीथितीलाई बिर्सिएका छैनन् ।’ ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको उनले बताए । ‘यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ । ट्होंटेका ¥यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् ।’ प्रदेश प्रमुख भट्टले भने – ‘अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिन्हारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो ।’
काठमाडौं : संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ। ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’का अध्यक्ष विनोद अधिकारीले जानकारी दिए। उनले भने, ‘हामीले मनोरञ्जनको पूर्ण खुराक तयार गरेका छौँ। यसमा हाँस्ने, नाच्ने र सुन्ने तीनै विधालाई समेटेका छौँ। हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ। अमेरिकाका विभिन्न सहरमा आगामी फेब्रुअरी र अप्रिलमा कार्यक्रम प्रस्तुत गरिने छ।’ अध्यक्ष अधिकारीले ‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी र प्रताप दास, गायिका कला लम्साल र एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेल तथा ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठलगायतको प्रस्तुति रहने जानकारी दिए। गायक प्रताप दासले आफूलगायत सम्पूर्ण कलाकारले प्रस्तुतिको तयारी गरिरहेको बताए। आयोजकका अनुसार अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, क्यालिफोर्नियालगायत सहरमा कार्यक्रम हुनेछ। यस अगाडि फ्लाई नेपाले ‘अब नाच्छ अमेरिका’ र ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न गरिसकेको छ।
पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका एम राई र युगल गुरुङले लाइभ कन्सर्ट हुन लागेको हो । शनिबार साँझ हुने कार्यक्रममा बर्तिका एम राई र युगल गुरुङ छुटाछुट्टै प्रस्तुती दिनेछन् । गायक युगलले ’यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाउने छन् भने गायिका बर्तिकाले ’तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएर मनोरञ्जन दिने छिन् । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् । बर्तिकालाई नेपाली संगीतमा दैनिकीहरुको सरल रुपमा प्रस्तुत गर्ने गर्दछिन् । उनले गीत लेख्ने, संगीत सिर्जना गर्ने र गाउँने काम गछिन् । उनीहरु दुबैका गित चर्चित रहेको र नयाँ पिडिमा उनीहरु प्रख्यात रहेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । प्याराडिसोमा दैनिक लाइभ म्युजीक, खेलकुदको लाइभ ठुलो एलइडिमा देखाउदै आएको छ ।
पोखरा: पोखरामा आगामी शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुन लागेको हो । संघले आज (मंगलबार) पोखरामा सम्मेलन गर्दै एकल साँझबारे जानकारी दिएको हो । नेपाल मगर साँस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरले यही शनिबार (पुष ६) गते लोक गायक कृष्ण थापा मगर एकल साँझ आयोजना गरेको बताईन् । ‘नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा यही पुष ६ गते शनिबार कृष्ण थापा मगर एकल साँझ आयोजना गरेका छौं, अध्यक्ष सारु मगरले भनिन्, ‘हामीले यो भन्दा अगाडि पनि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेका छौं, एकल साँझबाट आउने रकम हामीले सामाजिक सेवामा खर्च गर्दै आएका छौं ।’ उनले मौलिक लोक गीत जर्गेना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा लोक गायक थापमगरको योगदान रहेको बताइन् । वि.स. २०२५ साल तनहुँ बसन्तपुर गाविस ३ मा जन्मिएका थापामगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । लोक गायक थापामगरले २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा प्रतियोगिता हुने भएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराले हरेक बर्ष जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए । प्रतियोगिहरुलाई बिभिन्न बिषयमा प्रदान गरिने तालिमको शुरुवात गरिएको संयोजक तामाङले जानकारी दिएका छन् । पहिलो दिनको ओरेन्टेशन कक्षाको सहजीकरण पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए । यस अघि नेपाल सरकार भाषा आयोजका पुर्व सदस्य भाषाविद अमृत योञ्जनले तालिमको औपचारिक रुपमा शुरुवात गरेका थिए । तालिमको उदघाटनमा बोल्दै भाषाविद योञ्जनले हरेक भाषाहरु चेपुवामा पर्दै गएको सन्दर्भमा युवा पुस्ताालाई आफ्नो संस्कार, भाषा र भेषभुषा प्रति रुची जगाउने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । तालिमका सहजकर्ता पौडेलले भाषा, संस्कार र संस्कृति सकियो भयो कुनैपनि समुदायको अस्तित्व विलुप्त हुने हुँदा यसतर्फ युवा पुस्ता सचेत हुनुपर्ने बताए । कार्यक्रममा रेडियो अन्नपुर्ण का स्टेशन म्यानजेर तथा कार्यक्रमका तालिम र मिडिया संयोजक सन्जय मल्ल, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष शिबु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ समन्वय समिती कास्कीका सचिव मीनमाया तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य सुजन ब्लोन तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, राम लामा लगायतले बोलेका थिए । सहभागिहरुलाई हरेक दिन बिभिन्न विषयमा तालिम प्रदान गरिने कार्यक्रमका सहसंयोजक रोशिला ब्लोन तामाङले जानकारी दिएका छन् । प्रतियोगितामा लावनी तामाङ, सुप्रिया गोले तामाङ, सोनिका तामाङ, पुर्णिमा तामाङ, सुमिना तामाङ, प्रिन्सेस घिसिङ तामाङ, शिशा लामा, मञ्जिता पाख्रिन, जमुना लामा, सुनिता तामाङ, पवित्रा तामाङ, पुर्णिमा लामा र आकृति तामाङ सहभागी छन् । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।
भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा । यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।। धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताए । उनले भने, ‘हाम्रो पुर्खाहरुले मान्दै आउनु भएको किरातीहरुको महान् चाडपर्व हामीले बिर्सिनु हुन्न यसलाई हामीले संरक्षण गर्नुपर्छ । त्यसैले म त भाइबहिनी साथीभाईलाई पनि लिएर साकेला नाच्न आएकी हुँ।’ दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचिरहेका छन्। आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु पछिल्लो समय उद्यौली–उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । आज साकेला थानमा साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको छ। धरान–१५ का सरोज राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताए । उनी भन्छन्, ‘आफ्नो पुर्खाले मान्दै आएको चाडपर्व हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ । हामीले साकेला आउनुभन्दा केही दिनअघिदेखि नै अग्रजहरुसँग प्रशिक्षण लिई साकेला नाच्न जान्छौं।’ साकेला आउदा छुट्टै रमाइलो हुने गरेको धरान–१८ का अविशेक राई बताउँछन् । उनले भने, ‘हामीले साकेलामा बान्तावा सिलिका रुपमा विभिन्न गीतहरु प्रस्तुत गरेर नाच्ने गर्छौ।आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिलीहरु सिकाएर धरानबाहेक हरु ठाउँहरुमा पनि नाच्न जाने गरेका छौँ।’ उधौली साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ। हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोडलगायतका शहरी क्षेत्रहरुमा यस पर्व उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । साकेला विशेषगरी उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ । बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उधौली अर्थात उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान–११ का चिन्तमणि राईको भनाइ छ । उनले भने, ‘पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाइने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ।’ पछिल्लो समय यो चलन लोप हुँदै गएको राईको भनाइ छ।