काठमाडौं: सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ ।  गीत र श्रव्यदृश्यमार्फत आफ्...

पोखरा:  मिस मगर लोक दोहोरी गायिका निरा थापा मगरको दोश्रो प्रस्तुति ऋषिङ्गे भेना सार्वजनिक गरिएको छ ।  आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरालाई समावेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन ।  मिस मगर २०२३ तनहुँ जिल्ला घिरिङ गाउँपालिका डाँडाथोककी नीरा थापाले आफ्नो स्वर्गीय बुवा यम बहादुर थापा र स्वर्गीय दाइहरु तुल बहादुर थापा र प्रेम थापा प्रति समर्पित गरेर उक्त सांगीतिक कोसेली बजारमा ल्याएकी हुन ।  उक्त गीत आफ्नै युटुब च्यानल नीरा थापा मगरबाट सोमबार सार्वजनिक गरिएको छ । थापाले आफ्नो कोसेलीलाई माया गरिदिन आग्रह गर्दै गीतको माध्यामबाट लोक भाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई विश्व सामु चिनाउने उद्देश्यले रहेको बताएकी छिन ।  उक्त गीतमा लिड भोकल दुर्गा गुरुङ र नीरा थापा मगरको रहेको छ भने कोरस भोकल रुपी सिंजाली मगर र रिया गुरुङको रहेको छ ।  रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छनभने खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन । गीतमा पर्सन गुरुङले रेकर्डिङ संयोजन गरेका छनभने सुर साधना स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।  उक्त गितको डाइरेक्सन कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् भने गायिका स्वयं र आनन्द गुरुङको मोडलिङ रहेको छ ।   

गण्डकी: गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हुनमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले ।  लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाचिरहेका कलाकारले दर्शकदीर्घाको मन जिते । नाच अवलोकनका लागि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकसहितका विशिष्ट व्यक्तिहरू पनि किनाराटोल आइपुगेका थिए ।   नौ वर्षको अन्तरालमा गत भदौ ११ मा सुरु भएको हनुमान नाच त्यसयता तेस्रोपटक विधिवत रूपमा नचाइएको हो । भदौ ११ बागलुङ नगरपालिका–३ नारायणचोक, मङ्सिर १५ मा वडा नं २ लोकतान्त्रिकचोक र शनिबार वडा नं ३ किनाराटोलमा नाच निकालिएको हनुमान संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यही फागुन १० गते राधाकृष्णटोलमा नाचको तयारी भइरहेको उहाँले बताउनुभयो ।  नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन र पूजाविधि गरेपछि हुनमान नाच सुरु भएको थियो । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परासमेत रहिआएको छ । नारायणचोकमा मुख्य पूजाआजासहित नाच सुरु गरेपछि बजारका विभिन्न टोलटोलमा पुगेर उक्त नाच देखाउने चलन छ ।  “टोल पूजाका रूपमा त्यो सञ्चालन हुन्छ, माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाउन सकिन्छ”, हनुमान नाचका मूलकजी (व्यवस्थापक) ईश्वरप्रसाद मलेपतिले भन्नुभयो, “टोल पूजा सकिएपछि यसपालिको हनुमान नाचलाई विधिवत रूपमा बिसर्जन गर्छौँ ।” यसअघि विसं २०७२ र विसं २०६३ मा हनुमान नाच देखाइएको उहाँको भनाइ छ ।  मेला–महोत्सवमा झाँकीका रूपमा नाच प्रदर्शन गर्ने गरिएपनि विधिवत रूपमा नाच निकाल्न भन लामो समय कुनुपर्ने अवस्था रहेको परिषद्ले जनाएको छ । हनुमान नाच खर्चिलो मानिन्छ ।  एकैपटक धेरै कलाकार र व्यवस्थापकहरू आवश्यक पर्ने हुँदा तयारीका लागि धेरै समय चाहिने मूलकजी मलेपतिले बताउनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायतका ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । चैतको अन्तिम मङ्गलबार नाच समापन गर्ने पूर्वयोजना रहेपनि वैशाख–जेठसम्म नाच लम्बिने देखिएको उहाँको भनाइ छ ।  के हो ऐतिहासिक हनुमान नाच ? भक्तपुरबाट सुरु भएता पनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।  तीन, पाँच, सात र नौ गरी बिजोर वर्ष पारेर नाच नचाउने परम्परा रहेको उहाँको भनाइ छ ।  पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी छोटाले बताउनुभयो । रामायणका प्रमुख पात्रसमेत रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ ।       “नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गेरर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दस तालमा यो नाच नाचिन्छ”, उहाँले भन्नुभयो, “यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।” बागलुङमा नेवार समुदायको इतिहास झण्डै तीन सय ५० वर्ष पुरानो छ ।  विसं १७ सय ६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । उहाँका अनुसार मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार मात्र नाच्न मिल्ने पराम्परा छ । पछिल्लो समय नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिने गरेका छन् ।   “धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा खर्च बढी हुन्छ”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “नाच सञ्चालनको लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ ।” हनुमान नाच बागलुङकै ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको उहाँले बताउनुभयो ।   देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा नाच नचाइने हुनमान नाचका वाद्यवादक नीरज शाक्यले बताउनुभयो ।    पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उहाँको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ ।  “बाजाको ताल छोपेर नाचिरहेका बेला क्तै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिर दर्शकदीर्घामा रहेका व्यक्तिलाई पनि वीर उत्रन सक्छ”, उहाँले भन्नुभयो, “वीर उत्रेर शरीर काँप्ने, दौडने, भाग्ने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।” हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताउनुभयो ।  “हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाच र सङ्गीतद्वारा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो । बलियो हुने र आवाज राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हुनमान नाचका मुख्य कलाकार ९ज्यामाको० नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् ।        नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित छ । पछिल्लो समय युवा पुस्ता पनि हनुमान नाचप्रति आकर्षित छन् । हनुमान नाच सुरु हुनुपूर्व हप्तौँसम्म नाचको पूर्वअभ्यास हुने गर्छ । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट हनुमानको कला र विधि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।    हुनमान नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले परिषद्ले बेलाबेलामा प्रशिक्षणसमेत चलाउँदै आएको छ । यसपालि पनि प्रशिक्षणबाट नाच र वाद्यवादनतर्फ झण्डै ५० जना किशोर र युवा छानिएका थिए । उनीहरू नै अहिले हनुमान नाचमा कलाकारका रूपमा सहभागी छन् ।  विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो । 

पोखरा:   इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ ।    सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो फागुन १६ र १७ गते हुने पोखरा अडिसनको बारेमा बिहीबार पोखरामा मिट एण्ड ग्रीट आयोजना गरि जानकारी दिइएको छ । पोखरामा हुने अडिसन पोखरा बहुमुखी क्याम्पसमा हुने आयोजकले जनाएको छ ।   विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ ।    फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ ।   अडिसनका बारेमा जानकारी दिन आयोजित पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले अमेरिकाबाट भर्चुवल माध्यमबाट सम्वोधन गर्दै नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । ‘हाम्रो कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ –उनले भने ।   कार्यक्रममा बोल्दै फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको जानकारी दिए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे ।   सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी () बाट आवेदन दिन सक्ने छन् ।   विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस जनालाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ ।   साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छ भने, दोस्रो हुनेलाई २५ लाख रुपैया र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।   पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रमको अध्यक्षता गरेका फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले स्वागत मन्तव्य राखेका थिएभने हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, कलाकार तथा समाजसेवी लक्ष्मण श्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।   सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुंग निर्णायक (जज) को भूमिकामा छन् ।    यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को जजहरुमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेत् शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् ।    त्यस्तै दुवै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठ अनुबन्धित भैसकेका छन् ।  

पोखरा:   ‘द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा म्युजिक भिडियो गीत विमोचन गर्ने भएको छ ।   आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले बताए ।    उनका अनुसार उक्त दिन ‘जाली रुमाल र असारे महिना’ बोलको गीत सार्वजनिक गरिनेछ ।    भोकलिस्ट गुरुङले आफ्नो गाउँठाउँको सिर्जनालाई संगीतको माध्यमबाट प्रस्तुत गरिएकाले घान्द्रुकबाटै विमोचन गर्न लागिएको बताए ।    लब्सन गुरुङको निर्देशनमा बनेको ‘जाली रुपमाल’मा सरुन गुरुङले स्वर भरेका छन् ।   कोरस ब्याण्डको रचना तथा संगीत, म्युजिक एरेनजमेन्ट गोपाल रसाइलीले गरेका छन् भने, नविन थापाको छायांकन, ड्रोन विशाल तामाङ) र एकिन गुरुङ र दिनल पाइजा पुनको अभिनय रहेको छ ।   यस्तै ‘असारे महिना’मा छुतमानले आवाज दिएका छन् । यस्तै अमृत गुरुङ, जुना गुरुङ, सुरज गुरुङ र इशु गुरुङको अभिनय रहेको छ ।   ब्याण्डका सदस्यहरुमा सरुन गुरुङ (भोकल तथा मादल) छुतमान गुरुङ (भोकल), विनोद गुरुङ (लिड गितार), सुवास गुरुङ (बेस गितार), मनिष गायक (किबोर्ड), गुप्त गुरुङ (ड्रम) र एकिन गुरुङ ब्याण्ड व्यवस्थापक रहेका छन् ।

पोखरा:   तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्नुभएको छ ।   आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको भट्टले उल्लेख गर्नुभएको छ ।   शुभकामना सन्देश मार्फत् प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’   सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।   सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।   मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।   यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।  

गण्डकी:     अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे ।  पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै...’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाई बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो ।  सपुतको फेसबुक पोस्ट आएको केहीछिनमा थापाले पनि सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ लाई आफ्नो फेसबुकमा साझा गरे । सपुतको प्रशंसा गर्दै थापाले फेसबुकमा लेखेका थिए, “हामी सबै कलाकार एउटै परिवारको दाजुभाइ हौँ, मिलेर अगाडि बढ्ने हाम्रो संस्कार हो, भाइलाई सफलताको अग्रिम शुभकामना ।” थापाले यसो लेखिरहँदा सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा थियो ।  सपुत र थापाले जसरी एकार्काप्रतिको शुभेच्छा र सम्मानभाव दर्शाए आखिर भयो पनि त्यस्तै । सपुतको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो । थापाको गीतले केही दिन युट्युब ट्रेन्टिङको शीर्षस्थान कायम रहँदै मनग्य दर्शक÷स्रोता मन जित्न सफल रह्यो ।  अहिले दोस्रो स्थानमा रहेको उक्त गीतले ६१ लाखभन्दा बढी ‘भ्यूज’ बटुलिसकेको छ । अहिले युट्युब ट्रेन्टिङको पहिलो स्थानमा रहेको सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ ले हालसम्म २८ लाख बढी ‘भ्यूज’ पाएको छ ।  चलचित्र निर्देशकसमेत रहेका सपतुद्वारा निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश उक्त गीतमा सपुत र गायिका शान्तिश्री परियारको स्वर छ ।  चलचित्र ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । रोधीको संस्कृतिमा आधारित उक्त गीतले गाउँले परिवेशको झल्को दिन्छ । गीतको शब्द र सङ्गीत रचना पनि सपुत आफैँले गरेका हुन् । चलचित्र ‘वसन्त’मा उनी आफैँ मुख्य पात्रका रुपमा देखिँदै छन् ।  थापाको गीत ‘दुश्मन हेरेको हेरै...’मा उनीसहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ ।  थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् । गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उनकोको गीत दुई साताअघि र सपुतको गीत एक साताअघि युट्युबमा सार्वजनिक भएको थियो । दुवैले आफ्नै नामको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।   बागलुङको धम्जामा जन्मिएका सपुत र गलकोटमा जन्मिएका थापा साङ्गीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल भएका छन् ।  बहुप्रतिभाशाली कलाकार सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सृजनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्।  विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिन्छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्युजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।  सयौँ गीतमा अभियन र स्वर दिएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’ लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै...’ मा प्रोमोशनल गीत गाएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो...’ गीत पनि चर्चित बनेको थियो ।  छिट्टै प्रदर्शनका आउन लागेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहान्छन् । 

काठमाडौं:   पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ ।  वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाएको बताउनुभयो ।  उहाँले भन्नुभयो,“म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु । मैले निर्माण भइरहेका भन्दा केही फरक कथा र विषयलाई दर्शकसम्म ल्याउने कोसिश गरेको हुँ ।” निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबिच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताउनुभयो ।  सोही कारण उहाँले चलचित्रका अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई समेट्नु भएको छ । उहाँले दुई मात्रको मनोविज्ञान र रहनसहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने बताउनुभयो ।  “चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ”, निर्देशक गौचनले भन्नुभयो । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्र माघ ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । 

पोखरा:   संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन् ।    प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे ।   भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पंगेनीले युवाहरु माझ लोकप्रिय बनेको चिना हेराउदा भन्ने गीत प्रस्तुत गर्दा दर्शहरु बद्री संगै झुमे । बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरु संगै दोहोरी समेत गाएका थिए ।   महोत्सवमा बद्री पंगेनी संगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा ९म्याकुरी० को प्रस्तुतीमार्फत दर्शकहरुले मनोरन्जन लिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुतीमा युवाहरु झुमे ।   महोत्सवको आठाौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुमो उल्लेख्य सहभागिता जनाए ।    महोत्सवमा दर्शकको उपस्थितीसंगै महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार भएको महोत्स्व अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।   महोत्सवको नवौं दिन आज भने लोकदोहोरीतर्फ श्याम राना, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगर र हाँस्य ब्यंग्यतर्फ पुर्खे बाको प्रस्तुती रहने महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।    त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ रक हेड्सको प्रस्तुती रहने समेत संयोजक तिमिल्सिनाले जानकारी दिए ।   त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार  कास्की मोडनाइज्ड स्कुल, बाल कल्याण बीचको प्रीतस्पर्धामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

बेनी नगरपालिका– १ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।   अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातिको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् ।   पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् ।   स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत दुई सयदेखि ३५० सम्म लिने गरेको बताए ।   ‘मसँग १५ जोर मगर ड्रेस छन्,’ उनले भने, ‘दिनमा १० देखि १५ जनाले भाडामा लैजानुहुन्छ ।’ रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन् । एउटा तस्बिर खिचेबापत रु. २० लिने गरेको थापाले बताए ।   रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन् ।   केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।   कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।   कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भिड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।   यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए । उत्तरतिर सेता हिमशृंखला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् ।   रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुङे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।