कुमार तामाङ, लमजुङ । माफ गर्नुहोस् महोदय !  यो बजेट शब्दको  ठेट नेपाली समकक्षी  थाहै भएन मलाई  लाग्छ यो शब्द  हाम्रै बोलिचालीको  ‘रकम’ ...

दाङ:    यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् ।  घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु ५ देखि ८ सय र मुढा बनाएर मासिक रु ४ देखि ५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।   घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ ।  साथै उक्त  कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।  “उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भन्नुभयो ।  हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । १ सय जना क्षमताको कारागारमा ४ सय १५ जना बन्दी छन् । 

दाङ:     यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् ।  दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।  घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका ७ जनाले  उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन्  ।  सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो ।    सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताउनुभयो । उहाँले भदौयता २ हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताउनुभयो । उहाँमात्र होइन उहाँको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।   सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गराँै भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताउनुभयो ।  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    

काठमाडौं:    राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो ।  उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक प्राकृतिक सम्पदा, पर्यटन क्षेत्र, कलासंस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ ।  सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको छ । सान्तोङ प्रान्तका पूर्वउप–प्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (नेपाल) र विन्जाओ फोटोग्राफर एसोसिएसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफीसम्बन्धी सामग्र्री आदानप्रदानमा सहकार्य गर्ने सम्झौता भएको एनएफपिजेका केन्द्रीय अध्यक्ष वन्तले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्र मामिला निर्देशक पाइमिईले फोटोग्राफीमार्फत नेपाल–चीनको मैत्रीसम्बन्ध बलियो बनाउनाका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताउनुभयो । एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट २ देशबीचको सम्बन्ध थप सुमधुर बन्नाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पोखरा:   नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ ।  समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार लोकार्पण गर्नुभएको हो। पुस्तकको लोर्कपर्ण गर्दै नगर प्रमुख आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका कला, साहित्य र सृजनाको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा  उल्लेख गर्नुभयो । प्रकृति प्रतिको लेखक पुर्जाको समर्पण उदाहरणीय रहेको उहाँले बताउनुभयो । लेख तथा रचना मार्फत वातावरण प्रति सचेतना जगाउने सन्दर्भमा पुर्जा जस्ता सर्जकहरूको योगदान उल्लेखनीय रहेको गौतमले बताउनुभयो ।   ४६ जना सुरकर्मीहरूको कलाप्रतिको योगदान, संघर्ष र जीवनी बारेमा लेखिएको पुस्तक माथि प्रेस स्वतन्त्रता सेनानी बद्रिबिनोद प्रतिकले टिप्पणी सहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राख्नु भएको थियो ।  समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीका अध्यक्ष रुद्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल लगायतले पुर्जाको कृतिका बारेमा बोल्नु भएको थियो। यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेलीहरू, बस्ती भित्र र साइनो नामका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पुर्जाले सामाजिक, सांस्कृतिक र समसामयिक विषयवस्तुहरूमा कलम चलाउने गर्नुभएको छ । लामो समयदेखि पत्रकारितामा समेत क्रियाशील पुर्जा भुइमान्छेहरुको पक्षमा कलम चलाउन रुचि राख्नुहुन्छ ।

कैलाली:     ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।  आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा  प्रदर्शनीस्थल निर्माणलगायतका विभिन्न कार्यहरू सम्पन्न भइसकेका छन् ।  यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष कुँवरको भनाइ छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।  महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने र  रु १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै , यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।  महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् ।  समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत १८ औँ संस्करणको रूपमा यो महोत्सव आयोजना गर्न लागिएकोे सङ्घका महासचिव ओम विष्टले बताउनुभयो । सधैँका संस्करणमा झै यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक कार्यका लागि छुट्टाइएको उहाँको भनाइ छ ।  महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, र अन्यलाई रु एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ ।  महोत्सवको मुख्य प्रायोजक कृषि विकास बैंक, संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार र प्रवर्द्धकका रूपमा कैलाली जिल्लाका सम्पूर्ण स्थानीय तह रहेका छन् । महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २९ उपसमिति रहेका छन् । 

फिक्कल:  माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् ।   धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ ।   यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताउनुभयो ।   “यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँं होटल र होमस्टे छन् । ती सबै धार्मिक पर्यटकले भरिभराउ छ”, उहाँले भन्नुभयो, “यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।”   धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उहाँले बताउनुभयो ।   अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताउनुभयो ।   “यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ”, उहाँले भन्नुभयो, “होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।”   त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताउनुभयो ।   “यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ”, अध्यक्ष राईले भन्नुभयो ।   जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ ।   माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।   किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ । माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो ।   बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ ।   लिम्बू भाषामा माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर)ले छानेको ठाउँ हो । त्यस क्षेत्रलाई धर्मगुरु आत्मानन्द लिङ्देनले कर्मथलो बनाएका छन् ।   झापाको दमकबाट करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर माङ्सेबुङ पुग्न सकिन्छ

काठमाडौं:     अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफँैलाई’ सार्वजनिक गर्नुभएको छ ।      आर्मी अफिसर्स क्लबमा शनिबार १ कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।      गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गर्नुभएको छ ।  आयुमी २ वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गर्नुभएको थियो । सङ्गीतमा उहाँ आफ्नो परिवारको तेस्रो पुस्ता हुनुहुन्छ ।  उहाँकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका हुनुहुन्थ्यो भने बाजे लोकबहादुर तामाङ लोकगायक हुनुहुन्थ्यो ।       आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित हुनुहुन्छ । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताउनुभयो ।

धरान:     बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला  थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ ।  उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।  थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । उहाँ सुनाउनुहुन्छ । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो ।  उहाँले १० जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उहाँले सुनाउनुभयो ।    एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उहाँले रु ४ हजारदेखि रु ५ लाखसम्मका थाङ्का  बिक्री गर्दै आउनुभएको छ ।

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन् ।  राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गरेका हुन् । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् भने अनुप गुरुङले खिचेका हुन् । म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको अभिनय रहेको छ । महिलामाथि दमन हुँदा पुरुष कसरी रक्षाकवच बन्छ त्यसलाई गीतको म्युजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ । म्युजिक भिडियोले समाजको वेथालाई बोलेको छ । निर्देशन सँगै कथामा समेत रोहन नेपालीले मेहेनत गरेका छन् । उनका अनुसार मनमाया गाउँको कथा हो । गीतमा रमाइलो भन्दा पनि सन्देश प्रवाह गर्न खोजिएको उनले बताए । मनमाया गीतले सबैको मन छुनेमा उनी आशावादी छन् । कलाकार मिलन शंकरले आफुले अहिलेसम्म थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको तर गाउँले परिवेशको कथामा पहिलो पटक देखिएको उल्लेख गरे । मनमायाका लागि आफु प्रस्तुत भएको पात्र नयाँ भएको भनाई उनको छ । नयाँ धुन र शब्दको संगम राम्रो भएकाले पनि मनमायाले आम जनमानसको माया पाउने उनले बताए । गायक तथा संगीतकार विनोद बानियाँले पोखरामा पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भएको देख्न पाउँदा खुशी लागेको बताए । मनमायाको अडियो देखि भिडियो सम्मको तारिफ गर्दै पोखराका सिर्जनालाई चलायमान बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकतालाई उनले औल्याएका छन् ।   चलचित्र निर्देशक नेत्र गुरुङले मनमाया गीतमा मेहेनत देखिएको बताए । गीतको मर्मानुसारको कथा प्रस्तुत भएको र कलाकारको अभिनय समेत तारिफयोग्य रहेको भनाई उनको छ ।  गीतमा मौलिकता हुँदा समय सान्दर्भिक सिर्जना प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् ।  मनमाया हाइलाइटस नेपाल युटुब मार्फत सार्वजनिक भएको छ ।