काठमाडौं: नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्ला)ई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको हो । को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो । बहुपति प्रथामा आधारित यो बृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । करिब चार वर्षको छायाङ्कनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो । निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा ‘को–हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा हो भन्नुभयो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो ।
पोखरा: मगर संस्कृतिमा आधारित रहेर निर्माण भएको चलचित्र ‘दिलसरा’ ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ गर्ने भएको छ । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा क्रियाशिल तथा समुदायमा उदाहरणीय कार्य गर्दै आइरहेका मगर समुदायका प्रभावशाली महिला खोजी कार्यको शुरुवात गर्ने भएको हो । विभिन्न क्षेत्रमा सक्रिय रही प्रकाशमा कम आएका जुनसुकै उमेर समुहका नयाँ पुराना प्रतिभावान मगर महिलाको योगदानलाई कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । ‘दिलसरा’ विशेषगरी नारी कथानक चलचित्र भएकोले ‘दिलसरा’ पात्रको प्रतिनिधित्व गर्ने महिलाहरु जो आफ्नो क्षेत्रमा संघर्षरत छन् र समाज र राष्ट्रलाई अग्रदिशातर्फ लान अभिप्रेरित गर्न सक्छन् त्यस्ता महिलाहरुको खोजी गरी समाज र राष्ट्रमा नै चिनाउने चलचित्र टिमको उद्देश्य रहेको छ । खोजी अभियानका संयोजक तथा ‘दिलसरा’ चलचित्र निर्माता जुना थापा मगरका अनुसार यसका लागि शिक्षा, राजनीति, समाजसेवी, उद्योग व्यवसाय, स्वास्थ्य, साहित्य, खेलकुद, सञ्चार, भाषा कला तथा संस्कृति, कृषि, पर्यटन, सूचना प्रविधि, गीतसंगीत, कानून तथा प्रशासन, सुरक्षा लगायत क्षेत्रमा रही समुदाय तथा मुलुकलाई टेवा पु¥याएका प्रभावशाली मगर महिला मध्येबाट खोजी गरिने छ । ‘प्रभावशाली मगर महिला २०८१’ मा सहभागिता जनाउन चाहने महिलाले आफूले गरेको विभिन्न कामको विवरण सहित इच्छुकले गुगल तथा इमेल मार्फत् फारम भर्न सकिने छ । साथै फारम डाउनलोड गरेर स्क्यान गरी [email protected] मा इमेल गर्न पनि सकिनेछ । अनलाइन फारम भर्न असमर्थ भएको अवस्थामा ‘दिलसरा’ चलचित्र युनिटसंग सम्पर्क गर्न सकिनेछ । यसका लागि विस्तृत विवरण वा जानकारी आवश्यक परेको खण्डमा ९८५६०३२६५३, ९८४६०५१३४८ र ९८४६०४६७७१ मा सम्पर्क गर्न चलचित्र टिमले आग्रह गरेका छन् । छनोट भएका उत्कृष्ठ ‘प्रभावशाली मगर महिला २०८१’ को अन्तिम परिणाम २०८२ साल बैशाखको पहिलो साता प्रकाशित गरिनेछ । छनोट प्रक्रिया लोकप्रियता र जजराउण्डको आधारमा हुनेछ । उत्कृष्ठ महिलाका लागि उचित पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । ‘मेनेको फिल्म्स एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्र दिलसराको निर्देशन अशोक आले मगरले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता प्रेम थापा मगर रहेका छन् भने निर्माता हर्क आले मगर, जुना थापा मगर तथा मिना थापा मगर रहेका छन् । कथा जुना थापा मगर र पटकथा मिना थापा मगरको रहेको चलचित्रमा नृत्य निर्देशकका रुपमा केशव आले मगर रहेका छन् । चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु) भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ । चलचित्र पोखरा महानगरपालिकाको वडा नम्बर २१ मा रहेको निर्मल पोखरी र चिलाउने खर्क गाउँमा छायांकन गरिएको छ । उक्त चलचित्रको यही भाद्र ३ गते पोखराको सभागृह हलमा प्रदर्शन हुँदै छ भने देशव्यापी रुपमा पनि छिट्टै प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।
नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ। नेपथ्य छैठौं पटक आफ्ना गीत सुनाउनका लागि अमेरिका जान लागेको हो। ब्याण्डले यसपालीको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरका भब्य मञ्चहरुमा आफूलाई प्रस्तुत गर्नेछ। सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ मा कोलोराडोको राजधानी डेनभर सहरमा आफूलाई उभ्याउने छ । यहाँ नेपथ्यले पहिलोपटक साँगीतिक पाइला टेक्न लागेको हो। डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ। त्यसपछिको दोश्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ। तेश्रो प्रस्तुतीको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्याण्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो सहर पनि नेपथ्यका लागि पहिलो अनुभव हुनेछ। त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ। उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो। यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ। विशाल एवं भब्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरुलाइ अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्याण्डले लिएको छ। त्यसपछि भने ब्याण्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ। अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाली भने बेग्लै हल ‘टर्मिनल फाइभ’मा आफ्ना लोकरक धुनहरु पस्कने छ। त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ। न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ १’को प्रेक्षालयमा प्रस्तुती दिनेछ। अमेरिकाका फरक फरक सहरहरुमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ। ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने छ। यसै सहरको ‘द फोरम अडिटोरियम’मा अमेरिकाको श्रृंखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ।
पोखरा: नेपाल आइडल सिजन ५ का विजेता करण परियार लेकसाइडमा गुञ्जिदैं छन् । पोखरा ६ लेकसाइडस्थित प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा आज बेलुकी करण परियार तथा द व्याण्डले प्रस्तुती दिनेछन् । नेपाल आइडलको विजेता बनेपछि परियार पोखरामा पहिलो पटक आउन लागेका हुन् । परियारलाई द व्याण्ड तथासुनिल बस्याल र सञ्जित सेवानले साथ दिनेछन् ।
गण्डकी: गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला चलचित्र ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त हुनुहुन्छ । निर्देशकका रुपमा उहाँले गत वैशाखमा आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभएको थियो । उक्त चलचित्रको शीर्षक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । आगामी भदौ तेस्रो सातादेखि चलचित्रको छायाँकन सुरु हुने उहाँले जानकारी दिनुभयो । “अहिले छायांकन पूर्वको तयारी भइरहेको छ, कलाकार छनोटदेखि स्क्रिप्ट, छायाँङ्कनस्थल टुङ्गोमा पु¥याउनेलगायत प्रि–प्रडक्सनको काम भइरहेको छ”, सपूतले भन्नुभयो, “चलचित्रको अधिकांश छायाँङ्कन बागलुङ बजार र आसपासको गाउँमा गर्ने तयारी भइरहेको छ, काठमाडौँ र तराईमा पनि केही भाग छायाँङ्कन हुनेछ ।” चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ । उहाँले आफ्नो फेसबुकमा केही दिनअघि लेख्नुभएको थियो, “चलचित्र ‘वसन्त’ गीतहरुबाट बन्ने छ र गीतहरु जीवन जस्तै हुनेछन् । छिनछिनमै बदलिरहने तर हामीसँगै हुने हाम्रो हाँसो र आँशु जस्तै । हावा र पानी जस्तै । जन्मिएर भर्खर हास्न थालेको आफ्नो सन्तान जस्तै । हेरिरहूँ लाग्ने । ‘वसन्त’ कथाले भन्दा बढी विचार, भावना र संवेदनाहरुले बन्नेछ । आशा छ तपाईंलाई आफ्नै लाग्नेछ ।” गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लाग्नुभएको हो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफैँ मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उहाँको भनाइ छ । चलचित्र निर्देशनलाई उहाँले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याउनुभयो । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपूतलाई दर्शकले रुचाएका छन् । “अभिनेताका रुपमा ‘परदेशी २’ लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपूतले भन्नुभयो, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।” चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उहाँले सुनाउनुभयो । “चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ । सपूतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताउनुभयो । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपूतले बताउनुभयो । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको सपूतले बताउनुभयो । चलचित्रको दोस्रो मुख्य पात्र ‘शान्ति’ का रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनुहुने छ । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पार्नुभएको छ । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’ लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । मौलिक गीत ‘गलबन्दी’ बाट चर्चाको उचाइमा पुग्नुभएका उहाँका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।
पोखरा: एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीसम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो । श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल, इन्द्रपुरी टोल, जनप्रियमार्ग हुँदै पुन श्रीकृष्ण प्रणमी मन्दिरमा पुगी सम्पन्न भएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार आगामी श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीको दिनसम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रामार्फत पोखराको विभिन्न ठाउहरुको परिक्रमा गरिएको हो । उक्त प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज ज्यूको मुखारविन्दबाट संगीतमय कथा प्रवचन हुनेछ ।
काठमाडौं: विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ । छायाङ्कनको क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा, सर’ राख्नुभएको छ । निर्देशक रौनियारले चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद् यात्राको आरम्भको रूपमा व्याख्या गर्नुभएको छ । “अघिल्ला चलचित्र झै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्ररम्भ हुँदैछ । यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । यसअघि सन् २०१६ मा उहाँकै ‘ह्वाइट सन’ ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गर्नुभएको ‘द रेड सुटकेस’ छनोट भएको थियो । विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’ लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ । यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरूङ, नीरज श्रेष्ठ, पशुपति राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
काठमाडौं: सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ । मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ । तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन । यहाँ त मण्डला नाटकघरमा शनिबारदेखि मञ्चन सुरु भएको नाटक ‘मेषी दण्ड’ (मेखी दण्ड)बारेमा चर्चा गर्न खोजिएको हो । आफूइतरको भाषा नजान्दा समुदायले भागेको समस्या नाटकमार्फत देखाउने प्रयास गरिएको छ । किराँत राई समुदायअन्तर्गतको खालिङ राई भाषीमाथि करिब एक सय ५० देखि दुई सय वर्षअघि तत्कालीन शासकहरुले कसरी निर्मम दमन गरे भन्ने नाटकमा देख्न सकिन्छ । नेपाली भाषा नजान्दाको घटनालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको नाटक हो ‘मेषी दण्ड’ । सोलुखुम्बुको सुदूरउत्तरी गाउँ हालको माप्य दूधकोशी गाउँपालिकाको राप्छा गाउँको कथा हो यो । नाटक सोही गाउँका कवि तथा नाटककार गिलु रातोसले लेख्नुभएको हो । जसलाई कलात्मक ढङ्गबाट निर्देशन गर्नुभएको छ अनिल सुब्बाले । लेख्य इतिहास नभए पनि किराँत समुदायको मौखिक इतिहास अर्थात् मिथक जीवित पाइन्छ । पुर्खाहरुका अनुसार सम्भवतः नेपाल–तिब्बत युद्धका बेला हुनुपर्दछ, तत्कालीन श्री ३ सरकारका फौजहरु सोलुखुम्बुको नाङपाला नाका जाने आउने क्रममा राप्छा गाउँमा आइपुगेका थिए । खालिङ भाषी समुदायले भरिएको राप्छामा उनीहरुले राज्यको नीति निर्देशनहरु उर्दी गरे । तर, त्यहाँ कोही पनि नेपाली भाषा जान्दैनथे । शासकहरुले जे भने पनि उनीहरुले ‘मेषी माका’ अर्थात् ‘त्यही त हजुर’ भनेर जवाफ फर्काए । राणा शासकहरुले मेषी माकाको अर्थ बुझेनन् । नेपाली भाषा बोल्न नजानेको भन्दै उनीहरु रुष्ट भए । त्यसपछि त्यहाँ बसोबास गर्ने खालिङहरुलाई बर्सेनि मेषी दण्ड तिर्नुपर्ने आदेश गरे । सोही समयदेखि राप्छाका खालिङ समुदायले राणाशासन अन्त्य नभएसम्म मेषी दण्डबापत श्री ३ सरकारलाई जरिवाना बुझाइरहे । यसरी एउटा आदिवासी जनजाति समुदायमाथि तत्कालीन शासकहरुले भाषाकै कारण कसरी दमन गरे भन्ने विषयलाई करिब डेढ घण्टा लामो नाटकबाट बुझ्न सकिन्छ । नाटक यही साउन २७ गतेसम्म सोमबारबाहेक नियमित मञ्चन हुने मण्डला नाटकघरले जनाएको छ । नाटकका मुख्य पात्रका रुपमा खालिङ समुदायका तालुकदार सुजम्बर र उनैले नेपाली भाषा सिक्न अन्यत्रबाट राप्छा ल्याएका सिंहवीर कार्की छन् । नेपाली भाषा बोल्न जाने मेषी दण्ड तिर्नुनपर्ने आशामा भाषा सिक्नकै लागि आफूले आवाद गरेको भूमि सिंहवीर कार्कीलाई सुम्पिएर गाउँको प्रमुख बनाउछन् । कार्की गाउँ प्रमुख भएपछिका सामाजिक द्वन्द्व नाटकमा प्रस्तुत गरिएको छ । सिंहवीरले आफूमात्र नभई आफ्ना पण्डित, कपडा सिलाउने दमार्इं, फलाम पिट्ने विश्वकर्मासहित राप्छा पुगेपछि खालिङ राईहरुमा कसरी धार्मिक, सांस्कृतिक हस्तक्षेप र प्रभाव प¥यो ? खालिङ समुदायभित्रको एकता कसरी खल्बलियो र सामाजिक विभेदका कस्ता रङहरु देखा परे ? शान्त तलाउ जस्तो आफ्नै लयमा बाँचिरहेको राप्छामा सिंहवीरको प्रवेशसँगै कसरी उथलपुथल सुरु भयो रु भन्ने विषय नाटकमा देख्न सकिन्छ । राई समुदायमा पनि फलामको काम गर्ने, कपडा सिउने व्यक्ति हुन्थे । तर, उनीहरुमा कुनै विभेद वा छुवाछुत हुन्न थियो । कतिपयका लागि यस्ता नयाँ जानकारी मेषी दण्डले दिएको छ । नाटकमा कलाकारद्वारा प्रस्तुत खालिङ भाषा र लवज, वेषभूषा, शैलीले नाटकलाई जीवन्त बनाएको छ । मुन्दुमी परम्परा, उधौली उभौलीमा नाचिने नृत्य, सङ्गीत र रैथाने जीवनशैलीले जोकोहीलाई स्थानीय परिवेशमा पु¥याउँछ । नाटकमा प्रस्तुत कतिपय नृत्य र कथाको संयोजन सामान्य दर्शकले सजिलै बुझ्न सक्दैनन् । साकेला सिलीमा राई मात्र नभएर अन्य खस जातिजस्ता देखिने अनुहार भएकाले दर्शकलाई थोरै अस्वाभाविक लाग्नसक्छ । सिंहवीर कार्कीका नाति र शिरिषलालका नातिनीबीचको प्रेम सम्बन्ध अचानक देखाइँदा कथाको सिलसिला थोरै नमिले जस्तो अनुभव दर्शकले गर्न सक्छन् । पात्रका रुपमा सुजम्बरको श्रीमतीको अभिनय गर्नुभएकी जुनमफूल (प्रतिना राई)ले दर्शकको ध्यान खिच्न सफल हुनुभएको छ । प्रयुक्त रङ, प्रकाश, स्थान, तत्कालिक समुदायको भावभङ्गिमाले नाटकको मूल कथालाई न्याय गरेको छ । लेखक गिलु रातोसको पहिलो नाटक लेखन भए पनि नाटककारका रुपमा रातोस् परिपक्व देखिनुभएको छ । नाटकको वास्तविक स्वाद लिन एकपटक मण्डला पुग्नैपर्ने हुन्छ । त्यसो त इतिहासमा संसारभर आदिवासी समुदायमाथि अनेकन् दमन भएका छन् । दमनका विविध रुप छन् । आदिवासीमाथि शासकहरुले भाषा, संस्कृति, धर्म, जात, वर्णमाथि प्रहार गर्दा आदिवासीको अस्तित्व क्षत्विक्षत हुँदै आएको छ । नेपालमा विसं १९१० को मुलुकी ऐनमा तामाङ जातिलाई मासिन्याको रुपमा उल्लेख गर्नु नेपालका लागि एउटा जबर्जस्त उदाहरण छँदैछ । सोही ऐनले गाईगोरु बधलाई निषेध गर्नु आदिवासीका प्राचीन धर्ममाथिको प्रहार थियो । भाषामाथिको दमनविरुद्ध काठमाडौँ उपत्यकाका नेवार समुदायहरुले लामो समयदेखि विद्रोह गर्दै आएको इतिहास छ । शाहवंशको आगमनपछि काठमाडौँ उपत्यकामा गोर्खाली भाषा अदालतको भाषा बन्यो । नेपाल भाषा ९नेवारी०लाई प्रशासनको भाषाका रूपमा प्रतिस्थापित गरियो । शाह वंशीय राजाले दमनकारी नीति अवलम्बन गरे । नेपाल भाषीले राणा वंश (१८४६–१९५१ इस्वी) को दमनकारी नीतिअन्तर्गत भारी पीडा भोगे । सन् १९०६ मा नेपाल भाषामा लेखिएका कानूनी कागजातहरू लागू गर्न नसकिने घोषित गरियो । यो भाषामा कुनै पनि प्रमाण अवैध घोषित गरियो । शासकहरूले नेवारी साहित्य प्रतिबन्ध लगाए र लेखकहरूलाई जेल पठाइयो । सन् १९४४ मा नेपाल भाषामा लेख्ने लेखकहरुलाई देशबाट निष्कासित गरियो । मातृभाषामाथिको दमनको एउटा उदाहरण हो यो । विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि रेडियो नेपालमा नेपाल भाषाको समाचार र कार्यक्रम प्रसारण हुन्थ्यो । पञ्चायतसँगै रेडियो नेपालबाट उक्त भाषाको समाचार र कार्यक्रम दुवै हटाइयो । उपत्यकाका नेपाल भाषीहरुले विभिन्न चरणमा आन्दोलन गरे । सोही आक्रोशले विसं २०४६ सालको जनआन्दोलन सफलता प्राप्तिमा नेवार समुदायको भूमिका अह्म रह्यो । यसरी भाषाकै कारण भएका दमनहरुको शृङ्खलामा खालिङहरुमाथि भएको दमनलाई मेषी दण्डले नाटकका माध्यमबाट अभिलेखित गरेको छ । पछिल्ला वर्षमा आदिवासी तथा पिछडिएका समुदायको पहिचानसँग जोडिएका विविध आन्दोलन राजनीतिकभन्दा बढी कलाका माध्यमबाट तुलनात्मक रुपमा सशक्त देखिएका छन् । मण्डलामै मञ्चन भएका पछिल्ला नाटकहरु बाखाम्मा, खुवालुङ त्यसका उदाहरण हुन् । मेषी दण्ड त्यही आन्दोलनको एउटा निरन्तरता हो । यस नाटकमा रमिता राई, सौजन लिम्बू, प्रतिना राई, मणि के राई, अरुण पौडेल, पूर्णबहादुर गन्दर्भ, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, शायोक मुकारुङ, संजिप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रविण मगरलगायतले अभिनय गरेका छन् । नाटकको अन्त्यमा कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आफ्नै स्वरमा वाचित कविताले नाटकलाई थप सशक्त बनाएको छ । राईको कविताको एउटा अंशले भन्छ.. ओ आगन्तुक युगौँदेखि बोकिरहेछु मैले आफ्नो शरीरमाथि तिम्रो जुत्ताको डाम भोगिरहेछु तिम्रो दण्ड विधान लामो निन्द्रापछि बल्ल म ब्युँतिएको छु सम्झ अब म ब्युँतिएपछि सुरु हुनेछ अर्को कथा...