पोखरा: पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ । ग १९ प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भीर घाइते भएका छन् । बिहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना घाइते भएका हुन् । उनीहरुको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको छ । दुवै जना अचेत अवस्थामा छन् ।
पोखरा: जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले राज्यले जिल्ला समन्वय समितिलाई अपहेलित गरेको बताएका छन् । समन्वय प्रमुख पौडेलले गत आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘अहिले देशभर नै राज्य, संघ र प्रदेश सरकारले अपहेलित गरेको संस्थामा जिल्ला समन्वय समिति पर्छ’, समन्वय प्रमुख पौडेलले भने, ‘अहिले अधिकांस क्षेत्र संघ र स्थानीय तहलाई दिएको छ, हामीलाई संघले २३ र प्रदेश सरकारले १० लाख मात्र दिएको छ ।’ उनले अहिले कृषि ज्ञान केन्द्रलाई पैसा बाड्ने कार्यालयकोरुपमा स्थापित गराएको समेत बताएका छन् । ‘यहाँहरुलाई थाहा छ, २०७२ को संविधानले दुई जिल्ला हेर्ने गरी कृषि ज्ञान बनाएको थियो, विज्ञ कर्मचारी राख्ने सरकारको प्रावधान थियो’, उनले भने, ‘कृषि ज्ञान केन्द्रलाई रुपान्तरण गरेर जिल्ला जिल्लामा आयो, जिल्ला जिल्लामा आउँदा पैसा बाँड्ने कार्यालयको रुपमा आएको छ ।’ समन्वय प्रमुख पौडेलले कृषि निर्देशनालयमा पनि कृषि निर्देशक बस्ने भनिए पनि अहिले यसलाई पनि पैसा बाँड्ने कार्यालय बनाइएको उनको आरोप छ । उनले कास्कीमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु अवैधानिक भएको बताए । ‘ढुङ्गा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ बमोजिम गठित जिल्ला अनुगमन समितिले कास्कीको केही क्रसर उद्योगको अनुगमन गरेको थियौ’, उनले भने, ‘कास्कीमा सञ्चालन भएका क्रसर व्यवसायी मापदण्डमा छैनन् सबै अवैधानिक हुन् ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता मालले योजना अनुगमनमा जाँदा समन्वयमा प्राविधिक नहुँदा काम कारवाहीमा समस्या भएको बताईन् । ‘स्थानीय र प्रदेश सरकारलाई करारमा प्राविधिक कर्मचारी राख्ने सक्ने व्यवस्था छ तर जिल्ला समन्वयलाई त्यो अधिकारी छैन’, उनले भनिन्, ‘जिल्ला समन्वयमा प्राविधिक अभावका कारण योजनाको अनुगमनमा जाँदा काम कारवाहीमा असहज भएको छ ।’
नवलपुर: नवलपुरमा डेंगुको सङ्क्रमण उच्च जोखिममा रहेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा ३६६ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आगामी दुई महिना थप सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको छ । डेंगुको जोखिमपूर्ण जिल्लाहरूमध्ये गण्डकी प्रदेशको नवलपुर पनि एक हो । यहाँ अहिले नै डेंगु सङ्क्रमण बढिसकेको नभए पनि जोखिम भने बढ्दो छ । भर्खरै मनसुन सक्रिय भएकाले लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय बल्ल सुरु भएको मध्य विन्दु जिल्ला अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले बताउनुभयो । डा कँडेलले भन्नुभयो, ‘‘निरन्तरको वर्षा र पानीले सङ्क्रमण बढ्ने जोखिम छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज ए जिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।’’ जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख डा। केशवप्रसाद चापागाईँका अनुसार नवलपुरमा सबैभन्दा बढी असोज र कात्तिक महिनामा डेंगुका बिरामी देखिएका छन् । आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि फागुनमा एक सय ५६ जना महिला र २ सय १० पुरुष गरी ३ सय ६६ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । जसमध्ये असोजमा एक सय ५ जना र कात्तिकमा एक सय ११ जना रहेका कार्यालय प्रमुख डा। चापागाईँले जानकारी दिनुभयो । गत आवमा नवलपुरमा डेंगुबाट १ जनाको मृत्यु भएको छ भने एक जना अहिले अस्पतालमा उपचाररत छन् । मेसु डा। कँडेलका अनुसार बर्खा लागेकाले देशभर डेंगुको सङ्क्रमण बल्ल सुरु भएकाले सतर्क हुन जरुरी छ । ‘मनसुन सकिने बेलासम्म सङ्क्रमण बढ्दै जान्छ, डा। कँडेलले भन्नुभयो, यो समयमा लामखुट्टेको लार्भा नियन्त्रण गर्न नसक्ने हो भने नियन्त्रण गर्न नसक्ने गरी यसले महामारीको रूप लिन सक्छ, त्यसैले आम नागरिक आफै सतर्क भएर सरसफाइमा ध्यान दिन जरुरी छ ।’ डेंगुको जोखिम कम गर्नका लागि प्रयास गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका प्रमुख डा कँडेलले भन्नुभयो, ‘जनचेतना जगाउने, लामखुट्टेका वासस्थान खोजेर नष्ट गर्ने काम भइरहेको छ, स्थिति थप भयावह बन्दै गएमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर औषधि छर्किने काम गर्छौ ।’
पोखरा: पोखरामा एक युवती बेपत्ता भएकी छिन् । कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा पोखरा महानगपालिका २७ डाँडाकोनाकका १३ वर्षीया निरुता थापा रहेकी छिन् । उनी गत महिनाको २२ गतेदेखि बेपत्ता रहेको कास्की प्रहरीले बताएको छ । प्रहरीका अनुसार घरमा कसैलाई नसोधी हिडेकी थिइन् । दुईहप्ता हुदाँ बितिसक्दासमेत सम्पर्कमा नआएपछि कास्की प्रहरीलाई खोजिदिन भन्दै निरुताको परिवारले गुहारेको छ । कास्की प्रहरीले पनि सामाजिक सञ्जालमा सूचना जारी गर्दै आम नागरिकलाई खोजतलासमा सघाउ पुर्याउन आग्रह गरेको छ ।
गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्। गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्। यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, धादिङ र गोरखाका संघीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्। कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए। प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ। सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ। घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ। आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आएका थिए। चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने उल्लेख गर्नुभएको छ । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् । सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ । आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । केही दिन पहिले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वाधार करमार्फत उठेको रकम मुआब्जा वितरण लगायतका काममा खर्च भएको जानकारी गराएका थिए। सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइलाई नै कम्पनीमा रुपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा जगत श्रेष्ठलाई नियुक्त गरेको थियो।
पोखरा: कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । कास्कीको पोखरा लगायतका स्थानमा बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको मिर्सालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का महसुस भएपछि पोखराबासीहरु घर बाहिरसमेत निस्केका थिए ।
पोखरा: गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र बहादुर थापा मगरले कर्मचारीहरुले जनताको चाहाना र मनोभावना बुझेर काम गरेमा मात्र नागरिकले सरकारका सकरात्मक कामप्रति अनुभुति गर्न सकिने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन कास्कीले माछापुच्छ्रे गाउँपालिका अस्थाममा आयोजित बार्षिक प्रगति समक्षिा एवं अन्तरक्रियाको उद्घाटन पछि बोल्दै मन्त्री थापा मगरले यस्तो बताएका हुन् । उनले कर्मचारी प्रशासन भनेको मुलुकको स्थायी सरकार रहेकाले सुशासन, पारदर्शिता र जनमुखी कार्यको लागि पहिलो आधार रहेको बताए । मन्त्री थापाले जनताका काम गर्न कानुनका छिद्र खोज्ने र रस्व, दिर्घ हेरेर मात्र होइन्, कानुनलाई व्यवहारिक रुपमा हेरेर पनि कर्मचारीले जनतालाई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले उच्च मुल्याङ्कन गर्ने बताउँदै सरुवा–बढुवामा पनि न्याय हुने उल्लेख गरे । मन्त्री थापाले कर्मचारी एउटा मोटरको इन्जिन हो भने सरकार चालक हो, चालकलाई सफल बनाउने वा असफल बनाउने भन्ने इन्जिनको भुमिका रहे जस्तै सरकार सफल बनाउन कर्मचारीको योगदान उल्लेखनिय रहने स्पष्ट पारे । गण्डकी प्रदेश सरकारले वन ऐन ल्याउन नसक्दा बिकास निर्माणमा पार्ने प्रभावदेखि लिएर विदेशी काठको आयातले ठूलो धनराशी बाहिरिएकाले यसै सदनमा वन ऐन ल्याउन तयारी गरिरहेको खुलासा समेत मन्त्री थापाले गरे । यस्तै कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले सरकारले गर्ने सेवाप्रवाहको माध्यम नै कर्मचारी रहेकोले सरकारका नितिकार्यक्रम प्रभावकारी ढंगले अगाडी बढ्ने बताए । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं प्रशासनिक विज्ञ बाबुराम आचार्यले सरकारले कर्मचारीको मनोबल उच्च बनाइ सँगसँगै लान सकेमात्र सरकारले लिएको लक्ष्य पूरा हुन सक्ने बताए । नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले राजनीतिक अस्थिरताले कर्मचारीतन्त्रमा पनि अस्थिरताको वातावरण निम्त्याउने बताए । नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारीको हकहितका लागि युनियनका गतिविधि आवश्यक रहेको बताउँदै संघिय निजामति ऐन समयमा आउन नसक्दा कर्मचारी मात्र नभए मुलुकको बिकास प्रक्रिया पनि पछाडि परेको बताए ।