पोखरा:    प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिले दिएका निर्देशन प्रदेश सरकारले पालना गर्नुपर्नेमा जोड दिइएको छ ।  संसदीय पत्रकार मञ्च, गण्डकीले गण्डकी प्रदेशसभा सचिवालय र संसद् सहयोग परियोजन...

पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएका छन् ।   तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कारबाट आज (शुक्रबार) नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठ पुरस्कृत भएका हुन्  ।    कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुड, पुरस्कार दाता कर्मकुमारी गुरुड, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु तथा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले नगद राशी रु १० हजार, फेटा, भाङ्ग्रा र सम्मानपत्र अर्पण गरे ।   सो अवसरमा बोल्दै प्रमुख अतिथि मन बहादुर गुरुङले पुरस्कृत श्रेष्ठलाई बधाई ज्ञापनसहित स्वच्छ पत्रकारितामा अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।    पुरस्कृत श्रेष्ठ एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोताका रुपमा कार्यरत छन् ।   उनलाई पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले सिफारिस गरेको थियो ।   यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।   सो पुरस्कार अर्पण कार्यक्रमकै अवसरमा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो ।  

पोखरा:   गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा भोलि (शुक्रबार) बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, भनिएको छ ।   

पाेखरा:   बिहान ८ बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो ।   सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए ।    कार्यालयमा अघिपछि जस्तो भीडभाड थिएन । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिइरहेका थिए । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा सोमबार बिहान पुग्दा देखिएको दृश्य हो यो । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत महिनादेखि बिहानी सेवा सुरु गरेको थियो ।   अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १०  बजेअघि नै सेवा लिइसक्छन् । घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । ‘लाइसेन्स’को राजस्व तिर्न पुग्नुभएका पोखरा–१० अमरसिंहका विकल क्षेत्रीले १५ मिनेटजति लाममा उभिनुपरेको सुनाए । 'पहिले यही काममा लागि बिहान १० देखि ३ बजेसम्म कुर्नुपरेको थियो', उनले भने, 'अहिले धेरै सहज भएको छ, लाममा धेरै उभिनुपर्दैन ।'   पोखरा–२७ लेखनाथका सुरज चापागाईँ पनि बिहानै कार्यालयलको सेवा पाउँदा मख्ख देखिए । गाडीको ‘लाइसेन्स’का लागि स्वास्थ्य परीक्षणको प्रमाणीकरण लिने झ्यालमा उनी एक्लै थिए । 'बिहान यताको काम सकेर दिउँसो आफ्नो काममा जान पाइयो, यातायात कार्यालयको सेवा अहिले धेरै सहज बनेको छ', उनले भने, 'लाइन्सेन्सको राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएपछि अब झन् छिटोछरितो हुन्छ ।'   कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले राजस्व बुझाउनेदेखि लाइसेन्सको प्रयोगात्मक परीक्षा ‘ट्रायल’सम्मका सेवा बिहानैदेखि सुरु हुने बताए । '८ बजे नै कर्मचारी सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीको चहलपहल बढिसक्छ', उनले भने, 'पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे नै त्यो कम भइसक्छ ।'   दश बजे एकैसाथ सेवाग्राही आउँदा कार्यालयलाई लाम व्यवस्थापन गर्नै कठिन हुने अवस्था थियो । यसै पनि यातायात कार्यालय सेवाग्राहीको बढी चाप हुने ठाउँ हो । कार्यालय प्रमुख जीतेन्द्रजङ्ग केसीले बिहानी सेवासँगै हालै सुरु भएको अनलाइन भुक्तानीले सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने उल्लेख गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत बिहीबार देशमै पहिलोपटक यसै कार्यालयबाट उक्त सेवाको शुभारम्भ गरेको थियो ।   'अनलाइन भुक्तानी सेवा सुरु भइसकेको छ, नयाँ प्रणाली भएकाले हामी अभ्यस्त हुन केही समय लाग्ला, तर यसले सेवाग्राहीलाई ठूलो टेवा मिल्छ, कार्यालयमा हुने भीड घटाउन पनि मद्दत पुग्छ', प्रमुख केसीले भने, 'लाइसेन्स बनाउन, नवीकरण गर्न कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य हुँदैछ, छिट्टै सवारी दर्ता र नवीकरणमा पनि विद्युतीय भुक्तानी सेवा सुरु गर्ने तयारी छ ।'   कार्यालयले लाइसेन्स परीक्षाका लागि गाडी र मोटरसाइकलको गरेर दैनिक पाँच सय १९ कोटा तोकेको छ । लाइसेन्सको परीक्षाबाहेक दैनिक सयौँ सेवाग्राहीले बायोमेट्रिक, लाइसेन्स नवीकरण, वर्ग थप, स्वास्थ्य परीक्षणको प्रमाणीकरण, राजस्व भुक्तानीलगायत सेवा लिन्छन् ।    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयको अनलाइन सेवालाई थप व्यवस्थित गर्दै लगिने बताए । उनले कार्यालयमा हुने सेवाग्राहीको चाप व्यवस्थापन गर्न र छिटोछरितो सेवा दिन सबैखाले उपाय अपनाइने उल्लेख गरे ।   कास्कीसहित बागलुङ, तनहुँ र नवलपुरमा यातायात व्यवस्था कार्यालय छन् । मुख्यगरी प्रदेश राजधानीमा रहेको कास्की कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्छ । यातायात कार्यालयबाट हुने सेवा प्रवाहलाई लिएर जनस्तरबाट पनि बेलाबेला आलोचना हुने गरेको थियो । बिचौलियाको चलखेलदेखि सेवा प्रवाहमा हुने ढिलासुस्तीले उक्त कार्यालयको छविमाथि पनि प्रश्न उठाउने गरिन्थ्यो ।   मन्त्रालयका प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापकीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताए । उनका अनुसार बागलुङ कार्यालयबाट पनि छिट्टै चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदैछ ।    'लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले ११ वर्षदेखि चार पाङ्ग्रेको ट्रायल हुन सकिरहेको थिएन, अब त्यो छिट्टै सुरु हुन्छ, मन्त्रालयले पनि यसमा विशेष चासो र पहल लिइरहेको छ', उनले भने, 'बागलुङमा परीक्षा सञ्चालन हुँदा कास्की कार्यालयमा देखिएको चाप पनि केही घट्छ ।' बागलुङ कार्यालयले धवलागिरि क्षेत्रका बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङलाई सेवा दिँदै आएको छ । लाइसेन्सको अनलाइन भुक्तानी सेवा पनि कास्कीसहित चारै जिल्लाका कार्यालयमा विस्तार गर्ने मन्त्रालयको योजना छ ।    प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलेले विद्युतीय सेवामा कास्की कार्यालय देशमै अगाडि रहेको बताए । 'कार्यालयका सबै ढड्डालाई अनलाइनमा राख्नेदेखि अनलाइन राजस्व भुक्तानीसम्मको सुरु यहीँबाट भएको छ', उनले भने, 'अनलाइन सेवा प्रभावकारी बनाउन सकियो भने यातायात कार्यालयप्रति लाग्ने गरेको आरोपको पनि आफैँ अन्त्य हुन्छ ।'   मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको बताए । 'बिहानैदेखि कार्यालयको सेवा दिँदा पनि भीडभाड कम भएको छ, सेवामा सहजता थपिएको छ, सेवाग्राही सन्तुष्ट नै रहेको हामीले पाएका छौँ', उनले भने, 'हाम्रो जोड अनलाइन सेवामै छ, यसले बिचौलियाको पनि अन्त्य गर्छ ।' 

पोखरा:  पोखरा महानगरपालिका १० स्थित अमरसिंहमा ‘अमर पोलिक्लिनिक’ सञ्चालनमा आएको छ ।   डा. सुस्मित काफ्ले, डा. मनिष किरण श्रेष्ठ (पोखराको एकमात्र इन्टरभेन्सन रेडियोजोलिस्ट) डा. हरिकृष्ण भण्डारी, मिलन बहादुर अधिकारी र डा. मदन थापाको सँयुक्त लगानीमा आजदेखि पोलिक्लिक सञ्चालनमा ल्याइएको हो ।   सो पोलिक्निकको उद्घाटन पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले  गरे  । सो अवसरमा बोल्दै वडाध्यक्ष गुरुङले व्यवसायिक सफलताको कामना गरे । उनले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम थपेको धारणा राखेका थिए ।   यस्तै डा. बुद्धि बहादुर थापाले स्वास्थ्यको क्षेत्रमा नवीनतम तरिकाले सेवा प्रदान गर्नुपर्ने बताए ।    आजदेखि सञ्चालनमा आएको पोलिक्निकमा अब्जर्भेसन रुम, ओपिडी सेवा (सबै विभाग), भिडियो एक्सरे, एक्सरे (बिआर), मुटुको भिडियो एक्सरे, इसिजी, गुणस्तरीय ल्याब सेवा, फार्मेसी सेवाको व्यवस्था रहेको छ ।   पोलिक्निकका सञ्चालक तथा डा. सुस्मित काफ्लेका अनुसार सबै विभागको विशेषज्ञ तथा चिकित्सकको व्यवस्था रहेको छ ।    

 राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च लिन्न भनेर पनि अहिले लिन खोजेपछि अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश सांकेतिक विरोधमा उत्रिएको छ ।      अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा आज पोखराको नदीपुरस्थित प्रदेशको सभा भवन अगाडी राष्ट्रपतिलाई सहयोग गर्न भन्दै १ रुपैयाँका दरले चन्दा उठाउँदै छन् ।      उनीहरुले राष्ट्रपतिले सुरुमा उपचार खर्च नलिने बताएपनि हाल पराराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासा गर्न ताकेता गरेपछि पौडेललाई थप सहयोग जुटाइदिन चन्दा उठाउन सुरु गरेको बताए ।    ‘राष्ट्रपतिज्यूले आफ्नो अडान र बोली फेर्नुभयो’ अनेरास्ववियु गण्डकीका सहसंयोजक सुशन घिमिरेले भने ‘उहाँलाई सहयोग गर्न १ रुपैयाँ उठाएर हामीले व्यंग्यात्मक विरोध गरेका हौं ।’ घिमिरेले देशभित्रै उपचार गर्न लायकको अस्पताल निर्माणमा ध्यान दिन आग्रह गर्दै उपचारकै नाममा राष्ट्रिय ढुकुटीमा आँखा गाड्ने प्रवृत्ति गलत भएको जनाए ।      विरोधस्वरुप गरिएको कार्यक्रम प्रदेशका सबै जिल्लामा एकसाथ सुरु गरेको उनले बताए । ‘संकलित रकम मुख्यमन्त्रीमार्फत राष्ट्रपतिलाई दिइनेछ’ घिमिरेले भने ।    राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पेटको उपचार गर्दा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको भन्दै भर्पाई गरिदिन अर्थमा पत्राचार गरेका छन् ।    पौडेल बैशाख ६ गते उपचारका लागि दिल्ली गएर बैशाख १७ मा फर्किएका थिए । 

पोखरा:    नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग सुरु हुन पाँच दिन बाँकी हुदा प्रदेश खेलकुद परिषद् गण्डकीले महिला/पुरुष टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबलमा सहभागी हुन् गण्डकी प्रदेशले १८ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य आर्थिक सहयोगमा असार २३ देखि ३० गते त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालनमा हुने एनभिए लिगमा गत वर्ष क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  गण्डकी प्रदेश खेलकुद परिषद्ले असार १४ देखि १६ सम्म आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबलमा खेलाडीको प्रर्दशनलाई हेरेर ८ जिल्लाका १८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको हो ।  महिला टोलीको बन्द प्रशिक्षणमा म्याग्दीका ७,पर्वतका ३, नवलपुर र बागलुङ २/२, कास्की, गोरखा, लमजुङ र स्याङ्जाका १/१ जना खेलाडी बन्द प्रशिक्षणमा परेका हुन् । बन्द प्रशिक्षणमा अरुणा शाही (राष्ट्रिय महिला टोली कप्तान), सस्मिता पुन, रेविना घर्ति, एलिसा रोका, पवित्रा शिर्पाली, सजिना बुढाथोकी, मनिषा तिलिजा, पुजासेन ठकुरी, लक्ष्मी राना, रोश्मिना गुरुङ, हिमाली रोका, हिरा बुढा, रोमा महतो, पृथ्वी मगर,कविता गर्बुजा, सोइन थापा र विमला गुरुङ बन्द प्रशिक्षणमा परेका हुन् ।  गण्डकी प्रदेश महिला भलिबलका प्रशिक्षक मलिन रोकाले केही दिनको बन्द प्रशिक्षणबाट अन्तिम १२ जना छनोट हुने जानकारी दिए ।  यस्तै गण्डकी प्रदेश पुरुष भलिबलका प्रशिक्षक रमेश केसीले गत वर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई अरु बन्द प्रशिक्षणमा बोलाएको जानकारी दिए ।  ‘गण्डकी प्रदेश पुरुष टोलीमा कुनै हेरफेर गरिएको छैन्, गतवर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ’, प्रशिक्षक केसीले भने, ‘वर्षा याम भएकाले खेलाडीहरु आज वा भोलि बिहानसम्म पोखरा आइपुग्ने जानकारी दिएका छन् अनि बन्द प्रशिक्षण सुरु गछौं ।’ घरेलु दर्शकले गण्डकी प्रदेशमा खोजेका खेलाडीहरु अन्य क्लबका अनुबन्धित भएकाले समेत्न नसकिएको र सम्भव भएसम्म तीन जना बिदेशी खेलाडी टिममा राख्ने प्रशिक्षक केसीले बताए ।  लिगबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाडौं, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागदश स्पोर्टस क्लब रामेछापले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।  महिला तर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीको सहभागिता रहनेछ ।  

पोखरा:     प्रदेश खेलकुद परिषद् गण्डकीले ११ वटै जिल्लाका खेलकुुद विकास समितिलाई अतिथिको सम्मानमा खादा, दोसल्ला प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको छ ।  पोखरामा असार १६ गते बसेको परिषद्को बैठकले खेलकुदको कार्यकक्रममा खादा तथा दोसल्लाको प्रयोग निरुत्साहन गर्न ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको हो ।  गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवम् प्रदेश खेलकुद परिषद्का अध्यक्ष सुशिला सिंखण्डाको अध्यक्षतामा बसेको बैठकले परिषद् र जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा हुने प्रतियोगिताको प्रमुख अतिथि, अतिथि र पाहुनाहरुलाई स्वागत सम्मानमा खादा तथा दोसल्लाको प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको हो ।  प्रदेश खेलकुद परिषद् गण्डकीले खेल संघसंस्थाहरुलाई निर्णय कार्यान्वयन गर्न समेत आग्रह गरेको छ ।     

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।  जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।  तेस्रो भएको बागलुङले नगद  ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यस्तै उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वतबीच खेल भइरहेको छ ।  जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ र पर्वत र स्याङ्जालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो ।