काठमाडौं: राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिनुभएको छ । बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य पूजा चौधरीले मिटरब्याजीको कानुन बने पनि न्याय नपाएको भन्दै कानुन कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो । पीडितले छिटो न्याय पाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभा सदस्य रुक्मणि कोइरालाले तनहुँमा भारतीय बस खसेर भएको दुर्घटना तथा खोटाङबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनामा परेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारले पहल थाल्नुपर्ने सुझाव दिनुभयो । सांसद रेणु चन्दले सुदूरपश्चिम क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । “सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य बडिमालिका र त्रिवेणी क्षेत्रमा राम्रो सञ्चार सुविधा, खानेपानीको पहुँच, अन्य पूर्वाधारको विकास हुनुपनर्छ”, उहाँले भन्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडापन रोक्नुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुदेवी पुडासैनीले सडक दुर्घटना न्यूनीकरण गर्न उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले बूढानीलकण्ठस्थित करुणा अस्पतालमा गत असार ३१ गते दुई शिशुको मृत्यु भएको घट्नाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गर्नुभयो । सांसद कृष्णप्रसाद अधिकारीले देशभर विपद्मा एक सय ९७ जनाको ज्यान गएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा बैङ्किङ कसुर र चेक अनादरसम्बन्धी घटना उल्लेख्य रुपमा बढेको बताउनुभयो । उक्त घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित गर्न यो विधेयक कानुनका रुपमा कार्यान्वयनमा आउनुपर्ने उहाँको धारणा छ । विधेयकले चेक अनादरजस्ता बैङ्किङ कसुरजन्य कार्यमा आर्थिक जरिवानालाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । अर्थ समितिको आजको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बैङ्किङ कसुरमा जेल सजायभन्दा पनि आर्थिक जरिवाना गर्नेगरी कानुन आउनुपर्ने बताउनुभयो । विश्वव्यापी रुपमा पनि चेक अनादरजस्ता अपराधमा आर्थिक जरिवानाको व्यवस्था रहेको उहाँको भनाइ छ । त्यस्तै, संसद् र संसदीय समितिका कार्यहरु प्रभावकारी रुपमा अघि बढ्न नसकेको डा वाग्लेले बताउनुभयो । संसद्मा दर्ता भएका र समितिमा छलफलमा आएका विधेयकहरु चाँडो टुङ्ग्याइनुपर्नेमा उहाँले जोड दिनुभयो । अर्का सांसद पदम गिरीले संसद्को विधायिकी भूमिका कमजोर भएको धारणा राख्नुभयो । समितिको बैठक प्रभावकारी हुन नसक्दा धेरैवटा विधेयक अड्किएर बसेको उहाँको भनाइ छ । गत वर्ष साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो । तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले विसं २०८० असोज १६ गते यो विधेयक संसद्मा दर्ता गर्नुभएको थियो । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाट समेत बैङ्किङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको हो । कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैङ्क खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन”, विधेयकमा भनिएको छ । चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैङ्क तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ । यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैङ्कले बढीमा ३० दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सो को अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । त्यसरी सूचना दिएको जानकारी खुलाई बैङ्कले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । “तीस दिनको म्याद समाप्त भएपछि चेक बोक्ने व्यक्तिले रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम नदेखिएमा बैङ्कले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको प्रमाणित गरी चेक फिर्ता दिनुपर्नेछ”, विधेयकमा उल्लेख छ । विधेयकमार्फत चेक अनादरसम्बन्धी बैङ्किङ कसुरको जरिवानामा संशोधन गर्न लागिएको छ । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ मा चेक अनादर भएमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था रहेको छ तर विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगोबमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद सजाय तोक्नेगरी मस्यौदा तयार पारिएको छ । विधेयकमा रु पाँच लाखसम्म बिगो भए एक महिनासम्म कैद, रु पाँच देखि १० लाखसम्म बिगो भए तीन महिनासम्म कैद, रु १० लाख देखि ५० लाखसम्म बिगो भए छ महिनासम्म कैद र रु ५० लाखभन्दा बढी जतिसुकै बिगो भएमा दुई वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै, चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था ल्याउन लागिएको छ ।
सङ्खुवासभा: ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस हुनुभएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ । मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस हुनुभएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस हुनुभएको थियो । मृतकको शवपरीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ । शवपरीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताउनुभयो ।
नवलपरासी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । “विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ”, उहाँले भन्नुभयो, “परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ ।” “प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने छ”, मन्त्री भट्टराईले भन्नुभयो । अन्तक्र्रिया कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो ।
सिन्धुली: शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । आज बिहान घटनास्थलमा पुग्नुभएका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीनजना अझै बेपत्ता छन् । बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् । गाडीमा चारजना सवार थिए । हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
रामेछाप: दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुषको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ । यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
म्याग्दी: बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको निष्कर्ष निकालेका परियार दम्पती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् । “छोरीको खोजबिन र न्यायका लागि भौतारिन थालेको करिब आठ महिना भयो”, फूलमाया भन्नुहुन्छ, “साउन २७ गते गाउँ नजिकैको आँखखेत कालीमुलको जङ्गलमा गाडेको, सडेगलेको अवस्थामा भेटिएको शव, सिक्री, स्वीटर, चप्पललगायत सामग्री मीनाकै भए पनि सबै दोषीलाई पक्राउ र अनुसन्धानमा भएको ढिलाइले कतै न्याय नपाइने त होइन भन्ने शङ्कामा छौँ ।” चन्द्रबहादुर र फूलमायाका तीन छोरी र एक छोरामध्ये कान्छी मीना तोरीपानीको गलेश्वर मावि कक्षा १२ मा पढ्थिन् । गङ्गटो खोज्न गएका स्थानीयले देखेको बेनी नगरपालिका–९ र १० नम्बर वडाको सिमानामा पर्ने उत्तिसको जङ्गलमा भेट्टाएको शव र सामग्रीलाई सङ्कलन गरेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेको छ । मीनाको ज्यान लिने कार्यमा संलग्नलाई कारबाहीको सुनिश्चित नभएसम्म शव दाहसंस्कार नगरी बेनी अस्पतालका शवगृहमा राखेको मीनाकी भाउजु कमला बर्देवा परियारले बताउनुभयो । “अहिलेसम्म हत्याराहरू सार्वजनिक गरिएको छैन, एउटा मान्छले मात्र यसरी घटना घटाएको होइन, न्यायका लागि धाउँदाधाउँदै थाकिसकेका छौँ”, कमलाले भन्नुभयो, “छिमेकी राम खत्रीको प्रेममा रहेकी मीना करिब छ महिनाको गर्भवती भएको उनीहरू दुईजनाबीच बेपत्ता हुँदाको राति भएको म्यासेन्जर कुराकानीबाट प्रमाणित भएको छ”, २५ वर्षीय राम विवाहित हुन् । अनुसन्धानको उपलब्धि परिवार, आफन्त र नातागोता सबैको क्षमताले भ्याएसम्म खोजतलास गर्दा मीनाको अवस्थाबारे पत्ता लाग्न नसकेपछि २०८० साल पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए । अनुसन्धानकै क्रममा मीना र रामको ‘म्यासेन्जर’ कुराकानी भेटिएपछि माघ २१ गते मीनाका बुबा चन्द्रबहादुरले रामले छोरीलाई बेपत्ता बनाएको किटानी जाहेरी दिनुभयो । जाहेरी परेको दुई दिनपछि माघ २३ गते मुद्दा दर्ता गरेको प्रहरीले सोही दिन आरोपी रामलाई पक्राउ गरेको थियो । व्यक्ति बेपत्ता पार्ने कसुरमा जिल्ला अदालतको २०८० फागुन १७ गतेको थुनछेक आदेशबाट राम पुर्पक्षका लागि कारागार चलान भएका थिए । शव भेटिएपछि घटनाले नयाँ मोड लियो साउन २७ गते मीनाको शव भेटिएपछि यो घटनाले नयाँ मोड लिएको छ । थुनामा रहेका रामसहित उनका परिवारका सदस्य र आफन्तसहित पाँचजनालाई प्रतिवादी बनाएर मीनाका परिवारले साउन ३० गते दर्ता गरेको किटानी जाहेरीका आधारमा थप तीनजनालाई फरक–फरक मितिमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको निरीक्षक राजन रायमाझीले बताउनुभयो । “पहिले व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “मीनासँगको प्रेम सम्बन्ध स्वीकार गरेका आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी वयान दिएका छन्”, फरार एकजनाको खोजी भइरहेको छ । चिकित्सकको शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानीलगायत तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो । उहाँका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुणसमेत रहेको पुष्टि भएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरिएको रायमाझीले बताउनुभयो । ‘न्यायका लागि हारगुहार’ मीना हराएदेखि नै यस घटनामा प्रहरी प्रशासनले गम्भीरताका साथ अनुसन्धान र खोजतलास नगरेका कारण अवस्था पत्ता लगाउन र न्यायमा ढिलाइ भएको भन्दै पीडित पक्षले तत्कालीन गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता, सांसद र अधिकारकर्मीलाई भेटेर दबाब दिएका थिए । पक्राउ परेका आरोपीलाई सार्वजनिक, थप आरोपी पक्राउ, सत्यतथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो एक हप्तायता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ । अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएपछि नियोजित रूपमा हत्या गरेको प्रमाण भेटिए पनि प्रहरीले गहिरो गरी अनुसन्धान नगरेका कारण न्यायका लागि हारगुहार गर्नुपरेको संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका सल्लाहकार लालु किसानले बताउनुभयो । “दलित भएकै कारण किटानी लिएर जाँदा यो र त्यो मिलेन भन्दै पन्छाउने काम भयो, सांसद र मन्त्रीलाई गुहार मागेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो”, उहाँले भन्नुभयो, “न्याय पाइन्छ भनेर आश्वस्त हुनसक्ने अवस्था नभएकाले दबाब र खबरदारी गरिरहेका छौँ ।” संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले शुक्रबार बेनीमा राजनीतिक दल र जनप्रतिनिधिसँग मीना हत्या प्रकरणमा दोषीमाथि हदैसम्मको कारबाही हुने सुनिश्चिताको प्रतिबद्धताका लागि छलफल तथा अन्तक्र्रिया गरेको थियो । दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिन आ–आफ्नो क्षेत्रबाट सम्बन्धित निकायमा ध्यानकर्षण गराउने छलफलमा सहभागी राजनीतिक दल र जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सङ्घर्ष समितिका अध्यक्ष पदम किसानले मीनाको हत्या घटनामा संलग्नलाई कारबाहीको सुनिश्चितता नभएसम्म विभिन्न दबाबमूलक कार्यक्रमलाई जारी राख्ने र आवश्यक परे चरणबद्ध आन्दोलन गरिने बताउनुभयो । संविधान र कानुनले जातीय विभेद तथा छुवाछूतलाई अपराध माने पनि अन्तरजातीय प्रेम र विवाहका कारण व्यक्तिको हत्या, आत्महत्या, विस्थापित हुने अवस्था आउनुले पीडा र समाजमा अझै चेतनाको स्तर उकास्नुपर्ने आवश्यकता महसुस भएको दलित अगुवा टेकबहादुर विश्वकर्माले बताउनुभयो ।

