काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको...

काठमाडौं:     सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताउनुभयो । सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत खर्च हुन नसकेको, लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुलगायत वर्षौंदेखि अर्थतन्त्रमा देखिएका समस्या निराकरणका लागि सुधारका नयाँ कार्यक्रममार्फत समृद्धिको आकाङ्क्षा पूरा गर्ने गरी बजेट ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ ।

काठमाडौं:     आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।  हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।

रूकुम पश्चिम:    यार्सागुम्बा टिप्न डोल्पा गएकी रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ गोतामकोटकी जमूना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ। डोल्पाको काइके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए। उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन्।  ‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फर्किदै गर्दा मृत्यु भएको हो,’ वडाध्यक्ष विष्टले भने, ‘सशस्त्र प्रहरी बलको सहयोगमा र्गए राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो।’ अहिले अस्पतालमा पोष्टमर्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टमर्टम पश्चात् शव गोतामकोटमा ल्याइने बताए।

काठमाडौं:    नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गर्नुभएको थियो भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका(संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उहाँको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो । समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।

काठमाडौं:     उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार अधिवक्ता अनुप भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।  अधिवक्ता भट्टराईद्वारा दायर रिटमा गृहमन्त्रीले अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्था उनलाई पदबाट निलम्बन गर्न माग गरिएको हो । रिटमा भनिएको छ, ‘‘विपक्षी उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकुल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाऊँ ।’’ यो रिटमा जेठ १६ गतेका लागि पेशी तोकिएको छ ।

बागलुङ:       सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो ।  पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।  बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताउनुभयो ।  “पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ”, आयोजनाका इञ्जिनियर अरुण खत्रीले भन्नुभयो, “पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।” पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले आज बिहानैदेखि काम थालेका छन् ।  बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।  सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।

गोरखा:      सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । यससँगै चीनतर्फ बिओपीको सङ्ख्या १० वटा पुगेको सशस्त्रका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नंं। २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १६४ किलोमिटर उत्तरतर्फ रहेको छ । नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानीलगायत कार्यहरु गर्नेछ । समुन्द्री सतहतबाट करीव तीन हजार ८७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ ।   यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोलासहित नौ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । हाल भारततर्फ दुई सय ४४ र चीनतर्फ १० गरी बिओपीको सङ्ख्या दुई सय ५४ वटा पुगेको छ ।

चितवन:    नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।  मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् ।  पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रिजालका अनुसार काठमाडौँबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका हुन् ।

दार्चुला:   दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका –५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् ।  अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवै जनालाई बगाएको मार्मा गाउँपालिका –५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ ।