भाद्र कृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णमा भक्तजनको भीड
काठमाडाैं | भदौ १७, २०८१
काठमाडौं: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।
भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यही धार्मिक विश्वासका कारण आज बिहानदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो ।
गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानदेखि सुन्दरीजल–जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारी साधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर प्रवेश गर्ने सुन्दरीजलतर्फको नाकामा चौतारा माइती नेपाल चोक, जोरपाटी प्रवेश गर्ने नाकामा नेपाल मेडिकल कलेज चोक, माकालबारी प्रवेश गर्ने बागमतीको सानोपुल र आरुबारी प्रवेश गर्ने पानी खोल्सामा सवारी रोकिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएको गोकर्णेश्वर नगरपालिका–४ का वडाअध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्र कृष्ण औँसीका दिनमा यहाँ भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिनुभयो ।
गोकर्णेश्वरमा आएका भक्तजनले भने धार्मिक रूपमा महत्वपूर्ण भए पनि गोकर्णेश्वरमा व्यवस्थापन राम्रो नहुँदा दुःख पाएकोे बताउँछन् । रसुवाबाट आएका दर्शनार्थी धर्मचन्द्र पौडेल गाडीको असुविधाले यहाँ आउन दुःख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,” उहाँले भन्नुभयो ।
मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहापाएको धेरै भक्तजन बताउँछन् ।
यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र आफ्ना पिता दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु पाल्साङ लामाले बताउनुभयो ।
बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरुप दर्शन गर्न पाइने विश्वाससमेत रहेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।
पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजाआराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । यसै मान्यताका कारण आज कतिपय भक्तजन गोकर्णेश्वरपछि पशुपतिनाथको दर्शनमा जाने गर्छन् । पशुपतिनाथमा बढी भीड लाग्ने हरितालिका (तीज), बाला चतुर्दशी, शिवरात्रि, साउने सोमबारलगायत पर्वमा पनि पशुपतिनाथको दर्शन गरेर गोकर्णेश्वरको दर्शन गर्न आउने भक्तजन उल्लेख्य हुने गरेका छन् ।
आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरुप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आजै मनाइँदैछ ।
दमौली: नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...
काठमाडौं: नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...