काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको...

पोखरा:       गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।  पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो ।  पोखरा महानगरपालिका वडा नंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो ।  पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं. २३ ले स्वागत गरेको थियो । अध्यक्ष रामकाजी गुरुङ, कर्मचारी चिरञ्जीवी पौडेलसहितले प्रदेश प्रमुखलाई स्वागत गरी वडाको जानकारी गराए ।  प्रदेश प्रमुख भट्टले पञ्चासे शिरदेखि फेवाफाँटसम्म फैलिएको यस वडा विविधतापूर्ण र महानगरकै ठूलो वडा रहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो । वडाध्यक्ष गुरुङले प्रदेश प्रमुखलाई यस प्रदेशमै पहिलोपटक आफ्नो वडामा स्वागत गर्न पाउँदा हर्ष प्रकट गर्नुभयो ।  पोखरा लेकसाइडदेखि २८ किमिको मोटरबाटोको यात्रा तय गरेपछि पञ्चासे क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको भञ्ज्याङसम्म पुगिन्छ । त्यहाँबाट बढीमा २ घण्टा उकालो पैदलयात्रा गरी पञ्चासेकोट पुगिन्छ । भञ्ज्याङ पुग्न कास्कीको पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन् ।  नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजना अनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुखको टोली पोखरा वडा नं. २३ घाँटीछिनाकै बाटोबाट भञ्ज्याङ पुगेको हो । दम्दमे तमु समाजले बाटैमा प्रदेश प्रमुखलाई स्वागत गरेको थियो । यहाँबाट अघि बढेको टोलीलाई कुद्बी डाँडा गाउँले तमु समाजले पनि स्वागत ग¥यो । तल्लो सिदानेमा होम स्टे सुविधा पनि छ । त्यहाँ स्व. ढकबहादुर गुरुङ स्मृति तमु (गुरुङ) संग्रहालय भ्रमण गराउँदै अर्गानिक खाजा खुवाएर स्वागत गरे ।  सिदाने गाउँबासीले फेवातालको मुहानमध्येको एक हुईं खोलाले गाउँ नै उठाउन लागेको बारे गुनासो पनि पोखे । हर्पन खोलामा मिसिने खोलाहरुले गाउँ नै विस्थापन गर्न लागेको, बर्खामा यसको नियन्त्रण नगरे बाढी र पहिरोका कारण फेवाताल पुरिनेतर्फ बेलैमा सचेत रहन महानगर तथा सरकारको पनि ध्यानाकर्षण उनीहरुले गराए । उपल्लो सिदाने समाजघरले पनि स्वागत ग¥यो भने पञ्चासेद्वार भञ्ज्याङमा पनि गाउँलेले स्वागत गरे ।  प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवद्र्धनको खाँचो औंल्याउनुभयो । पञ्चकोटका साथै सिद्धबाबा मन्दिरको पनि अवलोकन गर्नुभएका उहाँले शतबिज छर्ने दिन बालाचतुर्दशीमा ओहिरिने धार्मिक पर्यटकलाई अरुबेला पनि आकर्षण गर्न योजना नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।  पञ्चासेको एक चिनारी: गण्डकी प्रदेशमा रहेको पञ्चासे क्षेत्रलाई पञ्चधाम, पञ्चासे धाम वा पञ्चकोट भनेर पनि चिनिन्छ । अग्ला पाँचवटा डाँडाहरुको संगम हो पञ्चासे। डाँडाका ति टाकुरामा शिद्धबाबा, धर्मशाला,  महादेव, भ्यू टावर, चौबिसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन् ।  तीन जिल्लाको सीमा क्षेत्रमा रहेको यो मनमोहक प्राकृतिक क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला धवलागिरि, अन्नपूर्ण र मनासुलु हिमचुचुराको सीधा अवलोकन गर्न सकिन्छ । माछापुच्छ«े ठीक बीचमा देखिन्छ । एकै स्थानबाट सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सकिन्छ ।  समुद्र सतहदेखि २५ सय मिटरभन्दा अग्लो स्थानमा रहेको पञ्चासे मध्य पहाडी क्षेत्रको महाभारत शृंखलामा पर्दछ । नेपालको सबैभन्दा बढी पानी क्षेत्र पनि हो ।   पञ्चासे पहाड वरिपरि पाँचवटा नदीका मुहान छन्। जसमध्ये प्रमुख हुन्, हपर्न र अँधेरी खोला (फेवा तालका मुहान नदी)। त्यस्तै स्याङ्जा र पर्वत भएर बग्ने आँधीखोला, जरेखोला र रतीखोलाको उद्गमस्थल पनि पञ्चासे क्षेत्र नै हो ।  चार सयमध्ये एक सय १२ थरीका सुनाखरी यहीँ छन्। यसैले पञ्चासे क्षेत्रलाई सुनाखरीको राजधानी भनिन्छ। रक्तचन्दन, फँलाट, गुराँस र खसु्रका रुख पनि छन् ।  भगवान् शिवजीको वासस्थानका रूपमा पनि लिने गरिन्छ। भगवान् शिवजीलाई पञ्चास्य वा पञ्चमुख पनि भनिन्छ, जसको वासस्थान भएकाले यो ठाउँको नाम पञ्चासे रहन गएको हो ।  यस क्षेत्रमा वैदिक परम्परा अनुसार पूजाआजा गरिने पाञ्चायन देवताको पूजास्थल पनि रहेका छन्। त्यसैले यिनै पाञ्चायन देवताको पूजास्थलका रूपमा यस क्षेत्रको नाम पञ्चासे रहन गएको भन्ने भनाइ छ ।     यस क्षेत्रको वैदिक महत्व र विशिष्टतालाई विभिन्न पौराणिक कथा र मिथकसँग जोडेर पनि मानिसले धारणा बनाएका छन्। महाभारत कथा अनुसार द्वापर युगमा हस्तिनापुर राज्य छाडेर १२ वर्षको वनबासको सजाय भुक्तान गर्ने अवधिमा पाँच पाण्डवले समेत आफ्नो वनबासको केही कालखण्ड यहाँ ध्यान तथा साधनामा बिताएका थिए भन्ने जनश्रुति रहन गएको छ ।  त्यही भनाइका आधारमै यस क्षेत्रको नाम ‘पाँच’ वा ‘पञ्च’ शब्दसँग जोडिएर पञ्चासे रहन गएको मत पनि पाइन्छ ।  बालाचतुर्दर्शीको दिनमा यहाँ सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ। यो दिनमा यहाँ रहेको पञ्चासे तालमा स्नान गर्न र सद्बीज छर्न टाढा टाढाबाट भक्तजन आउँछन् ।    यहाँ नजिकै बैदान ताल छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ ।  जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय बताउँछन् । 

चितवन:    गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । जेठ १३ गतेको नगरपालिकास्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । खोप अभियान स्थगित अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए । अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुनेछ ।

चितवन:    चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ(मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हाम्रा चितवन सम्वाददाता राजेन्द्र आचार्यले जनाएका छन् । काठमाण्डौबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएको र उनिहरुको हालसम्म नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६÷१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो । घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे। गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍का दुवै सदनमा वाचन गरेका थिए । तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन । यसअघि जेठ ८ मा कांग्रेसको अवरोधबीच नै धन्यवाद प्रस्ताव पारित भएको थियो । नीति तथा कार्यक्रम पनि कांग्रेसलाई पेलेरै सरकारले पारित गरेको हो । सत्ता पक्षले आइतबार नीति तथा कार्यक्रम पारित गरेपछि अब यही बुधबार बजेट ल्याउँदैछ । नीति तथा कार्यक्रम माथिको छलफलमा सत्ता पक्षका नेता, अर्थमन्त्री वर्षमान पुन तथा  प्रतिपक्षी नेता प्रेम सुवाल र चित्रबहादुर केसीले मात्र भाग लिए । यद्यपि आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् । तर उनले त्यसो भने पनि कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्‍मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको दाहाले बताए  । सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ । सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीतिमा हिँडेपछि अब बजेट पनि विरोधबीच आउने अनुमान गरिएको छ ।

काठमाडौं:     प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ । ् प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरले अनुमति दिनुभएपछि उहाँले सो सर्वेक्षण पेस गर्नुभएको हो । अर्थमन्त्री पुनले भन्नुभयो, “गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत  विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ ।” मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै उहाँले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारले मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रिय औषतभन्दा माथि रहने अनुमान गरिएको बताउँदै चालु आवमा कूल लगानी २.८ प्रतिशतले बढेर रु १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो । “प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आवको फागुनसम्म औषत उपभोक्ता मुद्रास्फिति ६.०८ प्रतिशत रहेको छ । राजस्व परिचानलमा क्रमशः सुधार हुँदै गएको छ”, उहाँले भन्नुभयो । अर्थमन्त्री पुनले चालु आवको फागुनसम्म सङ्घीय सरकारको राजस्व सङ्कलन ९.७ प्रतिशतले बढेर रु छ खर्ब ३९ अर्ब पाँच करोड पुगेको जानकारी दिँदै यस अवधिमा सङ्घीय खर्च २।९ प्रतिशतले वृद्धि भई रु आठ खर्ब एक अर्ब ५८ करोड पुगेको उल्लेख गर्नुभयो । “विसं २०८० फागुनसम्म कूल सार्वजनिक ऋण रु २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “आव २०७९/८० मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत रु तीन खर्ब ९७ अर्ब २६ करोड र राजस्व बाँडफाँडमार्फत रु एक खर्ब २० अर्ब २६ करोड गरी रु पाँच खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।” वित्तीय क्षेत्र सुधार हुँदै गएको बताउँदै उहाँले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र निक्षेप एवम् कर्जाको व्यापार दर घट्दै गएको उल्लेख गर्नुभयो । चालु आवको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो ।  अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको सञ्जालमा विस्तार, विद्युतीय माध्यमबाट हुने कारोबार, वित्तीय साक्षरता प्रवर्द्धनसँगै प्रतिशाखा जनसङ्ख्या दुई हजार पाँच सय १५ पुगेको जानकारी दिनुभयो ।

पोखरा:      पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ । पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी रहेको बताइन् । ‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो ।’ – प्राचार्य श्रेष्ठले भनिन्– ‘स्पोर्टस् मीट बाहेक अरु कार्यक्रमले विद्यार्थीहरुलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको छ ।’ हरेक बर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसीएममा यो वर्षदेखि ुपिसीएम फेस्टिवलु पनि थपिएको छ । यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए । औपचारिक कार्यक्रम पछि व्यान्ड र डिजेले आफ्नो प्रस्तुति राखेका थिए । आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वर्णिम शाक्य र एसिका गुरूङ तृतीय भए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।

पोखरा:     गायक विनोद वानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार  बेलायत प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उनी बेलायत जान लागेका हुन् । पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक वानियाँ पहिलोपटक बेलायत भ्रमणमा निस्कन लागेकोमा उत्साहित  छन् । त्यहाँ हुने कार्यक्रममा आफ्ना चर्चित गीतहरू  सुनाउदै माहोल रमणीय बनाउने उनको तयारी छ ।   गोर्खा कप आफ्टर पार्टीु उनी सहभागी बन्ने  कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लण्डनमा यो कार्यक्रम हुनेछ। जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुति समेत रहनेछ । कार्यक्रमको आयोजकमा डि एण्ड जि इन्टरटेनमेन्ट, केप्लर इन्टरटेनमेन्ट, सिग्नेचर, गेरे गुरुङ, दिपेश राई, मनोज गुरुङ छन् ।   जुन १ तारिख अल्टरसट लण्डनमा ुमेलोडी विथ विनोद वानियाँु कार्यक्रम हुनेछ । सहारा यूकेको सपोर्टमा हुने कार्यक्रम भव्य बनाउन दीपक खड्का, मीन गुरुङ, तुलाराम गुरूङले मिहेनत गर्दैछन् । कार्यक्रम बेलुका ७ बजेबाट बिहान १ बजेसम्म चल्नेछ । दुवै कार्यक्रममा सहभागी भएर रमाउन लण्डनमा रहेका नेपालीलाई उनले आग्रह गरेका छन् । यसैबीच  गायक वानियाँलाई पोखराको सहारा क्ल्बले एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेको छ । उनी खेल गीत मार्फत समेत चर्चामा छन् । उनले आवाज भरेको पहिलो खेल गीत सहारा क्लबको रहेको थियो । जुन गीतले सहारा क्लबलाई चिनाउन महत्त्वपूर्ण  भुमिका खेल्यो । क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले क्लब र वानियाँको सहकार्य लगायतको विषयमा बोलेका थिए । बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल सहित पूर्वअध्यक्षहरू र वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी बने ।   विदाइ कार्यक्रममा बोल्दै गायक वानियाँले सहारा क्लबले गरेको विश्वासका कारण खेल गीत तर्फको यात्रा सुरु गर्न पाएको बताए । सहकार्यको सुरुवात देखि हालसम्म क्लबले गरेको साथ सपोर्टप्रति आभार व्यक्त गरे । ुक्लबको सदस्यको रुपमा गरेको माया र सद्भावना दुतको रुपमा गरेको बिदाईले थप उत्साह थपेको छु उनले भने ।   २०५७ सालमा ुमाया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका वानियाँको पहिलो एलबम थियो ुमान्छे’ । त्यसपछि ‘डाउट’ र ‘प्रोफाइल’ एलबम बजारमा आए । वानियाँले नेपाली फिल्म ‘दयारानी’ मा गाएको गीत समेत चर्चामा छ ।  

हेटौँडा:    मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो। सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको छैन। मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ। उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

काठमाडौं:    प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु भएलगत्तै नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेको थिए । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको मागबमोजिम संसदीय छानिबन समितिको कार्यदलको बैठक जारी रहेको भन्दै बैठक सञ्चालन सहजीकरणका लागि आग्रह गर्नुभएको थियो । “सांसदहरुले बोल्न पाउनुपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन, बोल्ने वातावरण कसरी बनाउने र बैठकलाई कसरी अगाडि बढाउने भन्ने कुरामा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै जवाफदेही र जिम्मेवार छन्”, उहाँले भन्नुभयो, “त्यो जिम्मेवारीका साथ अगाडि बढ्न सदस्यहरुलाई आसन गर्न आग्रह गर्दछु ।” तर प्रतिपक्षी दलले बैठकमा अवरोध जारी राखेपछि उहाँले आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको घोषणा गर्नुभयो । सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची थियो । त्यस्तै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि समावेश थियो । आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने, सांसद प्रेम सुवालले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा थियो । साथै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र उद्योगमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय भएको थियो । त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने पनि कार्यसूची निर्धारण भएको थियो । आगामी आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र प्रधानमन्त्री दाहालले उक्त छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने विषय पनि कार्यसूचीमा थियो । नीति तथा कार्यक्रममा प्राप्त संशोधनहरु र राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि समावेश थियो ।।