चितवन: डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।
काठमाडौं: भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवस यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतसमेतबाट हजारौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन् ।
पोखरा: गण्डकी प्रदेशमा २ मन्त्रालय थपिने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिले भएको मन्त्रालयलाई टुक्राएर ९ मन्त्रालय बनाइने पत्रकार सम्मेलन गर्दैजानकारी दिए । उनका अनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई छुट्याएर उद्योग पर्यटन र वन तथा वातावरण मन्त्रालय बनाइएको छ । भने, यसअघि रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई अलग–अलग गरिएको छ । मुख्यमन्त्री पाण्डेका अनुसार आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट दुई मन्त्रालय थपेर ९ मन्त्रालय बनाउने निर्णय गरेको हो । गण्डकीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटापनि निरन्तरता दिनकै लागि मन्त्रालय थपेको मुख्यमन्त्री पाण्डेले संकेत गरे । उनले यसअघि पनि आफुलाई संकट परेको बेला सहयोग गरेको भन्दै नहटाउने धारणा राख्दै आएका थिए । उनका अनुसार ति दुईजनालाई कांग्रेसकै कोटाबाट मन्त्री बनाउने सहमति जुटेको छ । यता नेकपा एमालेले भने मन्त्री कसलाई बनाउने भन्दै कसरत थालेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ र एमालेका २२ सांसद छन् । स्वतन्त्र सांसद र नेसपा सांसद पनि मन्त्रीमा निरन्तर हुने भएपछि पाण्डे सरकारलाई ५१ संसद्को समर्थन हुने देखिएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सँग सभामुखसहित ७ सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन् ।
गलकोट (बागलुङ): सात वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चलित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुन:सञ्चालनमा ल्याइएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सक्रियतामा घरबास सञ्चालकलाई आवश्यक सीप र तालिम सिकाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई पुराना र दुई नयाँ घरबास सञ्चालनमा ल्याइएको हो l कोरोना महामारी, पूर्वाधार अभाव, प्रचारप्रसार तथा तालिम प्राप्त जनशक्ति नहुँदा सुस्ताएका यहाँका घरबास पुनःसञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । काठेखोला गाउँपालिकाभित्र स्थापना भइसकेर नियमित नभएका दुई र नयाँ दुई घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको फाउण्डेसनका सचिव उमेश गौतमले जानकारी दिनुभयो । काठेखोला गाउँपालिकामा चार स्थानमा स्तरीय घरबास सञ्चालन गर्ने उद्देश्यले चार घरबासका अहिले ८० जनालाई खानाका विभिन्न परिकार बनाउने, सञ्चालनको तरिका तथा पहुनाको स्वागतदेखि बिदाइसम्मको प्रक्रिया सिकाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार तालिमपछि सञ्चालक पूर्वाधार निर्माणमा केन्द्रित भएका छन् । शिवधुरी र बौर सामुदायिक घरबासलाई पुन:सञ्चालनको तयारी भइरहेको छ भने धम्जा देउराली र खानीगाउँ सामुदायिक घरबासमा पूर्वाधार निर्माण भइरहेको गौतमले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदारी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा पर्या–पर्यटनमार्फत सीमान्तकृत युवा र महिलालाई रोजगारी सिर्जना गरी आयआर्जनसँग जोड्न घरबास सञ्चालनका लागि सहयोग पु¥याइएको फाउण्डेसनका सचिव गौतमले बताउनुभयो । घरबासलाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्यले तालिम दिइएको बताउँदै उहाँले सञ्चालकलाई घरबास व्यवस्थापन, स्थानीय पथप्रदर्शनसम्बन्धी जानकारी, आतिथ्यतालगायत विषयमा तालिम दिइएको उहाँले जानकारी दिनुभयो । “विसं २०७५ मा जिल्लामा घरबास सञ्चालनको लहड नै चल्यो, पछि धेरै घरबास उचित व्यवस्थापन हुन नसक्दा बन्द भए, कतिपयले घरबास र होटलबीच फरक छुट्याउन सकेनन्”, सचिव गौतमले भन्नुभयो, “अहिले काठेखोलामा स्तरीय घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नियमित सञ्चालनको तयारी थालेका छौँ l स्थानीय महिला तथा युवालाई आयआर्जनमा सघाउँदै पर्यटनसम्बन्धी गतिविधि बढाउन, घरबासलाई दिगो बनाउने अभियानमा छौँ l उहाँहरुलाई पाक कला, पथप्रदर्शन र स्वागत, सत्कारको विषयमा जानकारी गराएको छौँ । काठेखोला गाउँपालिकाले घरबास प्रवर्द्धनका लागि सहकार्य गरेको गौतमले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा चार वटा घरबास सञ्चालनमा ल्याइएको छ । फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनका अनुसार काठेखोलामा सात वर्षअघि दर्ता भएर नियमित हुन नसकेका शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनः सक्रिय गराइएको हो । पर्यटकीय क्षेत्रहरुमा घरबासका कारण आगन्तुकको आगमन हुने भएकाले स्वरोजगारसँगै पर्यटन प्रवर्द्धन गर्न धम्जाको पर्यटकीय सम्भावना बोकेको देउरालीमा सामुदायिक घरबास सञ्चालन गर्न थालिएको स्थानीय मेखबहादुर थापाले बताउनुभयो । धम्जामा यसअघि बेलढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ । उहाँले पहिलो चरणमा १० घरबाट घरबास सञ्चालनको काम थालिएको बताउँदै तीनदिने घरबास व्यवस्थापन तालिम लिइसकेको जानकारी दिनुभयो । उहाँले घरलाई घरबासमा परिणत गर्न सरसफाइ, सुत्ने तथा भान्सा कोठा, शौचालय र स्नान घर निर्माणमा यहाँका स्थानीय जुटेको बताउनुभयो । धम्जाको देउराली गाउँ ताराखोला, तङ्ग्राम र धम्जाको केन्द्रमा पर्ने भएकाले पर्यटक भित्र्याउन समस्या नरहेको थापाको भनाइ छ । स्थानीय हिमालसागर श्रेष्ठले पहिलेदेखि देउराली व्यापारिक थलो भएको बताउँदै पर्यटकलाई व्यवस्थित खाने, बस्ने तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गराउने उद्देश्यले घरबास सञ्चालन गर्न थालिएको बताउनुभयो । व्यवस्थित घरबासको अभाव खड्किएको काठेखोला–८ लेखानीमा खानीगाउँ सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । फाउण्डेसनको सहयोगमा लेखानीका २० घरबास सञ्चालकलाई सक्रिय बनाएर तालिम दिइएको घरबास सञ्चालन तथा प्रवर्द्धनको साझेदार संस्था काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो । घरबासमार्फत बसाइँसराइले सुनसान बन्न थालेका गाउँलाई जागरुक बनाउन स्थानीय तहले महिलालाई पाक कला तथा सीप विकास तालिम दिइरहेको उहाँले जानकारी दिनुभयो । न्यून आयस्रोत भएका महिला र युवालाई लक्षितगरी घरबास सञ्चालनका लागि सञ्चालकलाई सक्रिय बनाइएको उपाध्यक्ष थापाको भनाइ छ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारगरी आन्तरिक पर्यटन भित्र्याउने, स्थानीय उत्पादनसँग जोड्ने, उत्पादनलाई बजारीकरण गर्ने र स्थानीय पथप्रर्दशनसम्बन्धी सीप सिकाउनाले घरबास दिगो रुपमा सञ्चालनमा आउने काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । पर्यटकलाई चिया बगानदेखि हिमशृङ्खाला देखाउन सकिने भएकाले सात वर्षअघि स्थापना गरिएका यहाँका घरबासलाई पुनःसक्रिय बनाइएको उहाँले जानकारी दिनुभयो ।
बाँके: नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउनुभएको छ । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गर्नुभयो । “म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।” आफूलाई अध्यक्ष भइरहने रहर नभएको उहाँले दाबी गर्नुभयो । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उहाँको भनाइ छ । “अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उहाँले भन्नुभयो, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।” पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । “हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो”, उहाँले भन्नुभयो, “त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।” अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताउनुभयो । उहाँले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनुभयो । प्रेस सेन्टर बाँकेका कार्यवाहक अध्यक्ष सङ्गीन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाललगायत नेताहरूको सहभागिता थियो ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
लमजुङ: पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो । उहाँका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् । यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो । बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ । साथै यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्दछन् । बर्खा लागेयता दर्जनौँपटक यो सडकका विभिन्न स्थानमा पहिरो पटकपटक सडक अवरुद्ध बनाउँदा यात्रीलाई सास्ती भएको छ ।
चितवन: भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताउनुभयो । दुर्घटनामा तीनजना घाइते यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था मध्यम छ । उहाँका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ । यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

